शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपालाई राष्ट्रपति, जसपालाई उपराष्ट्रपति !

बुधबार, १० फागुन २०७९, १८ : ००
बुधबार, १० फागुन २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रपतिका लागि दलहरूसँग समक्ष प्रस्ताव राखिरहँदा जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपति पदका लागि आफ्नो दाबी पेस गरेको छ । 

जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक समुदायको हुनुपर्ने भन्दै उपराष्ट्रपतिमा दाबी गरेका हुन् । राष्ट्रपति पहाडी समुदायबाट बने उपराष्ट्रपति मधेसी समुदायबाट हुनुपर्ने अध्यक्ष यादवको दाबी छ । 

जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले उपराष्ट्रपतिमा जसपाको दाबी रहेको र पार्टीले विभिन्न दलहरूसँग यस विषयमा छलफल चलिरहेको बताए । उनले भने, ‘ठुला दलहरू के गर्छन् थाहा छैन, तर हामीले उपराष्ट्रपतिमा हाम्रो दाबी रहन्छ भनेका छौँ ।’ संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेकाले मधेसबाट उपराष्ट्रपति हुनुपर्ने दाबी जसपाको रहेको उनले बताए । 

जसपाका प्रचार विभाग प्रमुख बस्नेतले पनि जसपाले नै उपराष्ट्रपति पाउने पर्ने बताए । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा सरकारमा सहभागिताबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीले उपराष्ट्रपति पाएपछि मात्र सरकारमा जाने नजाने बारेमा सोच्न सक्छ । जसपा सरकारमा सम्मानजनक अवस्थामा सहभागी हुन चाहन्छ त्यसमा हामीले उपराष्ट्रपति बटमलाइन बनाएका छौँ ।’ 

राष्ट्रपतिका लागि जसपा राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताउँदै उनले यस विषयहरूमा पार्टीमा कुनै आधिकारिक निर्णय भने नभएको बताए । ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको चर्चासँगै दलहरूको बीचमा छलफल सुरु भएको छ । त्यसैमा उपराष्ट्रपतिको विषयमा पनि छलफल हुनेछ,’ उनले भने । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति बनाउँदा उपराष्ट्रपतिको विषय पनि त्यसैमा टुङ्ग्याउनुपर्ने उनले बताए ।  

दुई दिनसम्म चलेको जसपाको कार्यकारिणी समितिको बैठकमा राष्ट्रपतिको विषय राष्ट्रिय सहमतिमा नै टुङ्ग्याउनु पर्ने छलफल भएको थियो । तर त्यसको बारेमा जसपाले हाल कुनै निर्णय गरेको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा तीन ठुला दलले के निर्णय गर्छ, त्यसको आधारमा जसपाले आधिकारिक निर्णय गर्ने बताइएको छ । 

उता राष्ट्रपतिमा सहयोग गर्नका लागि लोसपाले जसपासँग आग्रह गर्ने भएको छ । जनमत र नागरिक उन्मुक्तिसँग छलफल गरिसकेको लोसपाले जसपासँग आज वा भोलिसम्म छलफल गर्ने सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले बताए । कांग्रेस, एमाले र माओवादी केन्द्रसँग पनि छलफल गरिसकेको लोसपाले ती दलहरूबाट सकारात्मक प्रतिक्रिया आएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप