शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

उपेन्द्र यादवको संसद्‍मा होला इन्ट्री ?

शुक्रबार, १२ फागुन २०७९, १५ : २८
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेताहरूको प्रतिक्रियालाई सही मान्ने हो भने उपराष्ट्रपति जसपाले पाउने देखिएको छ । आज बिहान बालुवाटारमा बसेको चार दलीय (काँग्रेस, माओवादी, नेकपा (एस) र जसपा) बैठकमा पुरानो गठबन्धन (पाँच दलीय) ब्युँताउने सहमति भएसँगै राष्ट्रपति काँग्रेस, चार वर्ष प्रधानमन्त्री माओवादी, एक वर्ष प्रधानमन्त्री नेकपा एकीकृत समाजवादी पार्टी र उपराष्ट्रपति जसपाले पाउने सहमतिको खाका तयार भइसकेको छ । आजै पाँच बजे बस्ने चार दलको बैठकले यसलाई मूर्त रूप दिने सहमति भएको छ । 

यद्यपि राष्ट्रपतिमा काँग्रेस र एकीकृत समाजवादी पार्टी कुरा टुङ्ग्याउन अझै बाँकी छ । शक्ति बाँडफाँटमा काँग्रेसले राष्ट्रपतिमा मात्र चित्त नबुझाउने नेताहरूले तर्क गरिरहेका छन् भने एकीकृत समाजवादी पार्टीले एक वर्ष प्रधानमन्त्रीमा  विश्वस्त हुन सकेको छैन ।

जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले उपराष्ट्रपति पाउने निश्चित भएको तर लिखित सहमति नभएसम्म यसै भन्न नसकिने बताए ।

जसपाले उपराष्ट्रपति पाउने भएपछि सो पार्टीका अध्यक्ष उपेन्द्र यादवका लागि संसद्मा आउने बाटो खुला भएको छ । पार्टीका एक कार्यकारिणी सदस्यका अनुसार उपराष्ट्रपति पाउने निश्चित भएपछि सप्तरी–१ बाट प्रतिनिधि सभामा चुनाव जितेका नवलकिशोर साह र बारा–२ बाट प्रतिनिधि सभामा चुनाव जितेका रामसहाय यादवमध्ये एकजनालाई राजीनामा दिन लगाएर उपराष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको आन्तरिक तयारी छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले उपराष्ट्रपति पाउने निश्चित भएको तर लिखित सहमति नभएसम्म यसै भन्न नसकिने बताए । उनले भने, ‘जसपाले उपराष्ट्रपति पाउनेमा सबै दल सहमत भएका छन् तर लिखित सम्झौता हुन बाँकी छ । हेरौँ आज साँझको बैठकले के हुन्छ ।’ 

राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट हुने कुरा छ । लिङ्ग अनुसार राष्ट्रपति–उपराष्ट्रपति भयो भने जसपामा संसदीय सिट खाली हुने अवस्था छैन । यदि फरक समुदायबाट हुने भयो भने संसदीय क्षेत्र खाली हुनसक्छ त्यसबाट पार्टीका अध्यक्ष यादव संसद्मा आउन सक्ने सम्भावना रहेको उनले बताए ।  

सप्तरी र बारामध्ये उपेन्द्र यादवको चाहना बाराबाट नै चुनाव लड्ने हो ।

जसपाका नवलकिशोर साह र रामसहाय यादवमध्ये एकजनाले राजीनामा दिएको क्षेत्रमा उपचुनाव हुनेछ र त्यहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जिताएर संसद् ल्याउने पार्टीले तयारी गरेको छ । सप्तरी र बारामध्ये उपेन्द्र यादवको चाहना बाराबाट नै चुनाव लड्ने हो । यसअघिको चुनावमा पनि उनी बाराबाट नै चुनाव लड्ने चाहना राखेका थिए । तर सप्तरीका जसपाका नेताहरूले सप्तरी सबैभन्दा सुरक्षित रहेको र यहीँबाट चुनाव जित्ने निश्चित रहेको भन्दै उपेन्द्र यादवलाई कन्भिन्स गरेका थिए । 

तर यादव जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भए । उनी पराजित भएसँगै उपचुनावबाट संसद्मा जाने तयारी थालेका थिए । त्यसका लागि अनौपचारिक रूपमा पार्टीभित्र वा बाहिर परामर्श सुरु गरेका थिए । त्यसमध्ये सबैभन्दा सुरक्षित बारा क्षेत्र नम्बर २ नै रह्यो । त्यहाँबाट जितेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएपछि खाली हुने क्षेत्रबाट चुनाव जितेर आउने चाहना उपेन्द्र यादवको थियो । 

त्यसका लागि उनले सुरुदेखि नै उपराष्ट्रपतिका लागि दाबी गर्दै आइरहेका थिए । माओवादी–एमाले गठबन्धनमा उनले उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राख्दै आए । तर एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष यादवसँग कुनै सल्लाह नै नगरी भागबण्डा गरेका थिए । त्यसबाट असन्तुष्ट जसपा अध्यक्ष यादव सरकारमा समेत आफ्नो दललाई पठाएनन् । उपराष्ट्रपति नपाएसम्म सरकारमा सहभागी नहुने उनी अडान लिएर बसेका थिए । 

पछिल्लो समीकरण फेरबदलमा उनले उपराष्ट्रपतिमा आफ्नो अडान कायम राखेपछि त्यसमा सहमति भएको पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए । उनले भने, ‘हामी सुरुदेखि उपराष्ट्रपतिका लागि दाबी गर्दै आइरहेका थियौँ, दलहरूसँग छलफल भइरहेको थियो । दलका नेताहरू सकारात्मक नै थिए पछिल्लो छलफलले लगभग जसपालाई उपराष्ट्रपति दिने सहमति भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप