शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

दैजी–छेला औद्योगिक क्षेत्रको प्रगति : शिलान्यासको २ वर्षपछि बल्ल सम्पर्क कार्यालय

काम कम, गफ बढी
शनिबार, १३ फागुन २०७९, १२ : ११
शनिबार, १३ फागुन २०७९

धनगढी । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १० गते कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका– २ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे ।

शिलान्यासको २ वर्षपछि सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले फागुन ८ गते सम्पर्क कार्यालय स्थापना गरे ।

उसो त दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माणका लागि सरकारी चर्चा हुन थालेको ५ दशकभन्दा बढी समय भयो । तर कामभन्दा बढी चर्चामात्र हुँदै आएको हो । सम्पर्क कार्यालय स्थापनाले स्थानीयमा खुशीभन्दा अक्रोश पैदा गरिदिएको छ । कामभन्दा बढी चर्चा हुन थालेपछि स्थानीयमा असन्तुष्टि बढेको हो ।

राज्यको बेवास्ताले लामो समय बिते पनि कामले गति नलिँदा स्थानीयमा द्विविधा समेत उत्तिकै बढेको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–२ का ललित ओझाले भने, ‘चर्चा उहिल्यैदेखि चल्दैआएको छ । चुनावअघि त झनै चुनावी एजेण्डा नै बनेर आउँछन् । औद्योगिक क्षेत्र बन्नेमा हामीचाहिँ विश्वस्त छैनौँ । गोदावरीमा सुदूरपश्चिमको राजधानी र यहाँ औद्योगिक क्षेत्र बनाउनु भनेको उस्तै हो ।’

वेदकोट नगरपालिकास्थित चुरे फेदीको जनचेतना र वेदकोट सामुदायिक वन क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको परिकल्पना गरिएको छ । जहाँ ३५५ बिगाहा जमिनमा औद्योगिक क्षेत्र स्थापना हुने बताइएको छ । यसका लागि ४५ हजारभन्दा बढी रूख कटान गर्नुपर्ने भएको छ ।

स्थानीय ललिता विकले पनि नेताको भाषणको कुनै भर नभएको बताइन् । वर्षौँदेखि बन्ने कुरा सुन्दै आए पनि काम केही नभएको उल्लेख गर्दै उनले अब बनेपछि मात्रै पत्याउने बताइन् ।

तर सम्पर्क कार्यालय उद्घाटन गर्दै मन्त्री भण्डारीले भने, ‘औद्योगिक क्षेत्रको कामलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ । औद्योगिकीकरणको विकास सरकारको प्राथमिकतामा छ ।’

कार्यालय स्थापनासँंगै औद्योगिक क्षेत्रको कामले पनि गति लिने मन्त्री भण्डारीको भनाइ थियो । तर अहिलेसम्म जमिनको भोगाधिकारदेखि वन क्षेत्रमा पर्ने रूख कटानको कामले समेत पूर्णता पाएको छैन ।

वेदकोट नगरपालिकास्थित चुरे फेदीको जनचेतना र वेदकोट सामुदायिक वन क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको परिकल्पना गरिएको छ । जहाँ ३५५ बिगाहा जमिनमा औद्योगिक क्षेत्र स्थापना हुने बताइएको छ । यसका लागि ४५ हजारभन्दा बढी रूख कटान गर्नुपर्ने भएको छ ।

औद्योगिक क्षेत्रका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार एक हजार बिगाहामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरे पनि पहिलो चरणमा ३५५ बिगाहामा काम सुरु गरिनेछ । बाटो, ड्रेन र भौतिक संरचना निर्माण हुने स्थानमा मात्र रूख काटिनेछ ।

यस्तो बन्दैछ औद्योगिक क्षेत्र

विस्तृत परियोजना प्रतिवेदन अनुसार ३ सय ५५ बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणका लागि हालसम्म रुख छपान तथा नम्बरिङ्गको काम मात्रै गरिएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रसाद तिवारीले ४ सय हेक्टर वन क्षेत्रस्थित ४५ हजार रुखको नम्बरिङ्ग भइसकेको र थप नम्बरिङ्गको काम पनि जारी रहेको सुनाए । पहिलेको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) भन्दा बढी रुख रहेकाले पुरक ईआए समेत गर्नुपर्ने देखिएको तिवारीको भनाइ छ ।

दैजी–छेला औद्योगिक क्षेत्र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने देखिए पनि निर्माणको प्रक्रियामा धेरै वर्षसम्म अलमल भएको कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंगबहादुर मल्ल बताउँछन् । तथापि हालै सम्पर्क कार्यालय स्थापनाले केही आशा पलाएको उनले बताए ।

आर्थिक वर्ष २०७९-२०८० मा प्रक्रियागत कार्यले कटानको कार्य हुन नसक्ने बताउँदै तिवारीले रुखको नम्बरिङ्गपछि मूल्याङ्कनसहितको लगत विवरण तहगत कार्यालय हुँदै मन्त्रालयसम्म पठाउने कार्यमा मात्रै सीमित हुने सुनाए । रुख कटानका लागि मन्त्रालयबाटै बोलपत्र आह्वान हुने समेत तिवारीको भनाइ छ ।

विस्तृत परियोजना प्रतिवेदन अनुसार औद्योगिक प्लटहरु ३२ दशमलव ८८ र सडक १६ दशमलव ४७ प्रतिशत रहने गरी डिजाइन गरिएको छ ।

औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्र २३, वन कार्यालय क्षेत्र २ दशमलव १६, प्रशासकीय तथा सेवा क्षेत्र १ एक दशमलव ५४, हेलिप्याड, पेट्रोल पम्प, सवारी साधनहरुको पार्किङ २ दशमलव ५३, सशस्त्र सुरक्षा बलका लागि ३ दशमलव ३६, आवासीय क्षेत्र ३ दशमलव ९०, विद्युतीय सबस्टेशन २ दशमलव १५ तथा जल लगायत अन्य क्षेत्रका लागि ११ दशमलव ९१ प्रतिशत क्षेत्र छुट्याइएको छ ।

दैजी–छेला औद्योगिक क्षेत्र सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने देखिए पनि निर्माणको प्रक्रियामा धेरै वर्षसम्म अलमल भएको कञ्चनपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जंगबहादुर मल्ल बताउँछन् । तथापि हालै सम्पर्क कार्यालय स्थापनाले केही आशा पलाएको उनले बताए ।

उनले भने, ‘वनका कारण औद्योगिक क्षेत्र निर्माणमा समस्या भइरहेको अवस्था थियो । अब रुख छपान र कटानको फाइल वन मन्त्रालयबाट स्वीकृत भइसकेकाले निर्माणले छिट्टै गति लिनेमा निजी क्षेत्र आशावादी देखिएको छ ।’ 

कञ्चनपुर उद्योग वाणिज्य संघले २०५२ सालदेखि औद्योगिक क्षेत्र स्थापनालाई एजेण्डाकै रुपमा उठाउँदै आएको बताउँदै मल्लले २ वर्ष अगाडि शिलान्यास भएको र हाल सम्पर्क कार्यालय स्थापनाले औद्योगिक क्षेत्र निर्माणको परिकल्पना साकार हुने विश्वास व्यक्त गरे ।

औद्योगिक क्षेत्र निर्माणले यस क्षेत्रको व्यापार व्यवसाय फस्टाउनुको साथै रोजगारी सिर्जना भइ देश विकासमा कोसेढुंगा सावित हुने उनको भनाइ छ । उनले भने, ‘भारतको औद्योगिक शहर रुद्रपुर यहाँबाट ४० किलोमिटरको दुरीमा रहँदारहँदै पनि हजारौं किलोमिटर दुरीबाट यन्त्र उपकरण ल्याउनुपर्ने अवस्था छ । यहाँ लगानी भित्र्याउनेदेखि कलकारखाना स्थापना गरी रोजगारी सिर्जनामा टेवा पुग्ने देखिन्छ । जसको लागि राज्यले तदरुकता देखाउन जरुरी छ ।’

दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योग २३, मझौला उद्योग ४४ र ठूला उद्योग ३३ गरी १ सयवटा उद्योग स्थापना गरिने भएको छ ।

साना उद्योग स्थापनाका लागि ८ देखि १०, मझौला उद्योग स्थापनाका लागि १० देखि २० र ठूला उद्योग स्थापनाका लागि १ बिगाहादेखि ५ बिगाहाघा क्षेत्रफल छुट्याइएको छ । झण्डै ८ अर्ब लागतमा निर्माण हुने औद्योगिक क्षेत्रमा कृषि, खनिज तथा विद्युतजन्य उद्योग स्थापना गरिनेछ । फलफूल तथा तरकारी, मासु प्रशोधन, जडिबुटीजन्य, सूर्तीजन्य, कुखुरापालन, चिनी, दूग्धजन्य, मैदा, चाउचाउ, शिशु खाद्य, कागज, काष्ठजन्य, टेक्सटाईल, गार्मेन्ट, फलाम तथा स्टिल, कस्मेटिक, निर्माण सम्बन्धी उद्योगहरु स्थापना गर्ने योजना छ ।

औद्योगिक क्षेत्रभित्र उद्योग दर्ता, भन्सार तथा कार्यालय स्थापना गर्न मिल्ने पूर्वाधार डिजाइन गरिएको छ । पूर्वाधारतर्फ ४ लेनको मुख्य सडक, साईकल लेन र पैदल यात्रु लेन, वर्षा र ढलको पानीको लागि छुट्टै ड्रेन, फोहोर पानी प्रशोधन केन्द्र, सिंगल इन्ट्री र सिंगल एक्जिटको व्यवस्था, २४ घण्टा सुरक्षा, ४० मेगावाट विद्युतको छुट्टै फिडर लाइन, उद्योग संघ, बैंक, शिशु स्याहार केन्द्र, एटिएम, डिस्प्ले सेन्टर, स्वास्थ्य क्लिनिक र एकीकृत भन्सार चेकपोष्टको समेत व्यवस्था हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।

उक्त क्षेत्र पूर्व पश्चिम राजमार्गबाट ६ किलोमिटरको दूरीमा छ भने दैजी–जोगबुढा राजमार्गसँग जोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप