आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गलत अभ्यासले संसद र सरकारले प्रभावकारी रुपमा काम गर्न सकेन : अध्यक्ष तिमिल्सिना

बुधबार, २४ फागुन २०७९, १४ : ५१
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद र सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । बुधवार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताए ।

सरकार अप्ठयारोमा पर्दा संसद विघटन गर्नेकुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने बताए । उनले नेपालमा विगतमा पटकपटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले बिरोधाभाष भइरहेको बताए । उनले सरकार सञ्चालन गर्नेहरुले ढंग पुर्याएर संसद चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाजेको आरोप लगाए ।

उनले सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरुले नै अन्देखा गर्ने गरेको बताए । उनले केही राजनीतिक दलहरुले संसद विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रुपमा लिइरहेको बताए । अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताए  । उनले राजनीतिक दलहरुले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएर मात्रै कतै नपुग्ने दाबी गरे ।

उनले भने, ‘नेपालमा हामी राजनीति गर्नेहरुले पनि बारम्बार ऐन, कानून, संविधान बनाउँदा पनि एउटा अतिमा जान्छौँ । हाम्रो चलाउने ढंग नहुने अनि दोष सिस्टमलाई दिने । उदाहरणको लागि संसद विघटन गर्नेकुरा दुनियाँमा जहाँ पनि जनप्रतिनिधिमुलक संस्था ठिकै ढंगले जाँदा कहीँ केही भयो भने सरकारले संसद विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा त्यो भइरहेको थियो । संविधान बनाउँदा के भयो भने यो नेपालमा पटकपटक विघटन भयो भनेर विघटन नै नगर्ने बनाउँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ । आफूले ढंग पुर्याएर चलाउन नसक्ने अनि कागजतमा दोष दिएर कहीँ चल्छ । अनि १२/१५ वटा पार्टी मिलेका छन्, नचलेपनि घस्रेर ५ वर्ष त केही गर्नु हुँदैन, अहिले विघटन नगर्ने कुरा सबैभन्दा ठूलो क्रान्तिकारी, परिवर्तनगामी हुने भनेको छ । संविधानले त्यही भनेपछि त त्यही भन्नुपर्छ । तर कस्तो विडम्बना केही नगरेर, केही नदिने, भागबण्डा गरेको छ, पार्टी फुटायो, एउटा पार्टी फुटाउन अध्यादेश ल्याएको छ, अर्को पार्टी जोड्न अध्यादेश ल्यायो, भागबण्डा गर्यो, मन्त्री बाँड्यो, त्यस्तो गरेपछि विघटन नगराएर बचाउनुपर्ने । बरु चुनाव गरयो, अर्को कोही नयाँ आउँथ्यो, नयाँ आएर बहुमत ल्याउँथ्यो, त्यस्तो भएन । हामी आफ्ना बानी सुधार नगर्ने, नियम, ऐन, कानूनलाई दोष दिने । परिवर्तन गर्ने भन्ने, परिवर्तनको चक्र घुमाएर मात्रै हामी कहाँँ पुग्छौँ ।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभइ झनै अल्झाएर राख्ने परिपाटी हाबी हुँदै गएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेको बताए । उनले देशको परिवर्तन भाषणामा मात्रै सिमित भएको उल्लेख गर्दै देशको सामान्य नागरिकले अझै सुशासनको अनुभुति गर्न नसकेको दाबी गरे  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप