बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
नारी दिवस

सार्वजनिक स्थानका महिला शौचालयमा किन लाइन लामो हुन्छ ?

बुधबार, २४ फागुन २०७९, १७ : ०२
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । नारी दिवसको संघारमा (मंगलबार) नेपाल समाजवादी पार्टीले नारीमाथि हुने हिंसाका सन्दर्भमा दुई प्रस्तुति सहितको कार्यक्रममा गर्‍यो । कार्यक्रममा कविता राईले प्रविधि तथा इन्टरनेटका माध्यमबाट महिलामाथि हुने हिंसा, विभेद, नियन्त्रण र यसमा महिलाको पहुँच सम्बन्धमा प्रस्ट्याएकी थिइन् । 

यस्तै, उत्तमबाबु श्रेष्ठले पुरुषवादी र पुँजीवादी विश्वले महिलालाई कसरी पाखा राख्दै आएको छ भन्ने औँल्याएका थिए । उनले आफ्नो मौखिक प्रस्तुतिबाट भाले र पोथी जातिको प्रकृतिलाई समेत उधुन्ने कोसिस गरेका थिए । समाजमा देखिने र व्यवहारमा रहेका साना–साना विषयले ठूलाठूला विभेद सिर्जना गरिरहने उनको तर्क थियो । 

उनले सार्वजनिक स्थानमा महिला र पुरुषका लागि छुट्ट्याइएको शौचालयमा देखिने सामान्य लाग्ने दृश्यलाई उदाहरण दिँदै भने, ‘हामीकहाँ सार्वजनिक स्थानमा हुने महिला शौचालयमा लाइन लामो किन हुन्छ ? किनभने, महिलालाई पिसाब फेर्न ९० सेकेन्ड जति लाग्छ भने पुरुषलाई करिब ५०–६० सेकेन्ड । महिलाले आफ्ना बच्चालाई समेत दिसा–पिसाब गराउनुपर्ने हुन सक्छ । महिलाको पोसाक, शारीरिक बनोटका कारण शौचालयमा बढी समय लिनुपर्ने हुन्छ । महिला र पुरुषको शौचालयमा बराबर स्पेस होस् तर पुरुषको शौचालयमा पिसाब फेर्नका लागि स्पेस छुट्टै हुन्छ । बराबर स्पेस भएर मात्रै नहुँदो रहेछ, महिलाका लागि केही बढी स्पेस आवश्यक हुन्छ भनेर बुझ्नुपर्छ ।’

335061007_166147459562751_8412683070054467917_n

उनका अनुसार, हङकङमा पछिल्लो समय सार्वजनिक स्थानमा शौचालय बनाउँदा महिलालाई डेढ गुना बढी स्पेस दिने कानुन नै ल्याइएको छ । उनले अर्को उदाहरण पेस गरेका थिए– विश्वप्रसिद्ध ११ पियानोवादक छनोट गर्दा नौ पुरुष र तीन महिला रहेको, उनीहरूका हात र औँलाको साइज (आकार) एकै रहेको । पियानोको स्केल पुरुषहरूको हातलाई आधार मानेर बनाइएकाले ती लामो हात भएका महिलालाई केही सहज भएको रहेछ । 

उनले अरु पनि उदाहरण पेस गरेका थिए– हातले लेख्ने कलमको साइज, कारको सिट र पछिल्लो समय स्मार्ट फोनको सरदर साइज (५.३ इन्च) समेत पुरुषको शरीरको आकारसँग मेल खाने गरी बनाइएको हुन्छ । त्यसैले मोबाइल फोन चलाउन महिलालाई असहज हुने वा हात दुख्ने हुन्छ । यस्तै, गाडी दुर्घटनामा महिलाको मृत्यु बढी हुने गरेको पाइन्छ । औषधिको परीक्षण गर्दा भाले प्राणी (मुसा, बाँदर लगायत)माथि गरिन्छ । जसकारण कतिपय औषधिको सेवन पुरुषको तुलनामा महिलालाई ओभर डोज हुने र औषधिको साइड इफेक्ट पनि महिलालाई बढी हुने गर्छ । 

‘आर्टिफिसिएल इन्टेलिजेन्स अन्तर्गत आवाज दिएर स्मार्ट फोन लगायत यन्त्रलाई काम लगाउन सकिन्छ । यसमा पनि जान–अन्जानमै होस्, पुरुषको आवाजको आधारमा सफ्टवेयर बनेको रहेछ,’ उनले भने, ‘पुरुषको आवाज छिटो पहिचान हुने गर्छ ।’ उनले केही लैंगिक र जैविक भिन्नता दर्शाउँदै यही संकेत गर्दै थिए– पुरुषवादी सोच र सत्ताले गरेका विकासमा महिलाहरू कतै न कतै पीडित हुनुपरेको छ । 

सिकारी युगमा पुरुषले सिकार गर्ने र महिलाले सिकार बटुल्ने (हन्टिङ एन्ड ग्यादरिङ) स्वभाव देखाएको पाइन्छ । महिलाको तुलनामा पुरुष बढी आक्रामक हुने र महिला बढी भावनात्मक तथा संवेदनशील हुनुको जग सिकारी युगमै पुग्ने उनको तर्क थियो । 

उनले अर्को उदाहरण पेस गरेका थिए– संसारमा वार्षिक रूपमा सरदर पाँच लाख मानिसको हत्या (राजनीतिक युद्धबिना) भएको देखिन्छ । जसमा लगभग ८० प्रतिशत हत्या पुरुषले पुरुषलाई गरेको देखिन्छ । मानिससँगै अन्य केही जनावरका बच्चा आपसमा खेल्दा पनि भाले आक्रामक हुने गरेको पाइन्छ । भालेले अर्कोलाई धक्का दिएर आक्रामक ढंगले खेल्छन् भने पोथी बच्चाहरू एग्रेसिभ नभई खेलेको पाइन्छ । एग्रेसिभ बिहेबियर पुरुषमा बढी देखिने प्रकृतिले यस्तो भएको भन्ने उनको भनाइ थियो । पछिल्लो समय, विभेदको प्रकृति केलाएर न्याय खोज्न अनुसन्धान र अभ्यास भएका छन्, त्यसैले उत्तमबाबुले प्रस्तुत गरेका कतिपय उदाहरण अचेल गुगलमा पनि भेटिन्छन् ।  

पुरुषवादी सोचको जग

विश्वमा चर्चित अधिकांश खेलहरू पुरुष प्रकृतिका वा पुरुषवादी छन् । ढाल्ने, हान्ने, लडाउने, छल्ने खेलमा पुरुष अघि देखिन्छन् । क्रिकेट खेल पनि साम्राज्यवादको नीतिमा आधारित देखिन्छ । यस खेलले कुनै राज्यको केन्द्रमै हान्ने र कसैले आफ्नो राज्यको केन्द्रमा हानिहाल्यो भने उसलाई सिमाना कटाउने भन्ने दर्शन दिन्छ । 

हामीकहाँ हुने स्थानीय स्तरका खेललाई तपाईंले ख्याल गर्नुभएको होला— खेलहरू प्रायः स्कुल–स्कुल, वडा–वडा, पालिका–पालिका, जिल्ला–जिल्ला हुँदै अगाडि बढेको देखिन्छ । हेर्नुस्, यसको प्रकृति नै राज्य जित्दै अगाडि बढ्ने लडाइँजस्तो छ । पहिलो विश्वयुद्धपछि देश–देशबीचको खेल (खासगरी फुटबल) अगाडि बढ्यो, किन ? किनकि खेलमै भए पनि जितेर देखाउने अहंको उपज थियो त्यो ।

तपाईं भन्नुहोला, दिमाग लगाउने खेल पनि छन् । दिमाग लगाउने खेल पनि उही सिकार र आक्रमणबाटै सुरु भएका हुन् । मान्छेले मात्रै होइन, अर्को जीवको सिकार गरी बाँच्ने प्राणीले आफ्नो सिकार पक्रन वा शत्रुदेखि बच्नकै लागि युक्ति र जुक्ति लगाउँछ । 

प्रकृतिले भाले र पोथीको कार्यविभाजन गरेको छ । जस्तो : सन्तान जन्माउने, हुर्काउने र दूध चुसाउने आदि जिम्मेवारी अधिकांश पोथी जातिलाई पर्छ । यद्यपि, विवेकशील मानव जातिलाई सिकाउन स्वयं प्रकृतिले प्रयत्न गरेको पाइन्छ । केही पन्छी जातिमा गुँड बनाउनदेखि ओथेरा बस्ने र बचेरा हुर्काउने काम भाले र पोथी दुवै मिलेर गर्छन् । 

२६ भदौ २०७८ को नागरिक दैनिकमा ‘महिलाको छाती’ शीर्षकको मेरो लेख छापिएको छ । जसमा उल्लेख छ, ‘ अधिकांश जनावरका भालेले समूहमा पोथीलाई भोग गर्न ज्यानकै बाजी राखेर अर्को भालेसँग लड्छन् । यतिसम्म कि भालेले पोथीलाई भोग्न पहिले स्वयं पोथीलाई जित्नुपर्ने हुन्छ । तपाईंले वरपर देख्नुभएकै होला, कुखुराको भालेलाई पोथीले तबसम्म पत्याउँदिनँ, जबसम्म भाले राम्रोसँग बास्न जान्दैन । बास्न सिक्दै गरेको वा राम्रोसँग बास्न नजानेको भालेसँग पोथी लड्छे । लडाइँमा जित्यो भने मात्र भालेले पोथीलाई भोग्न पाउँछ । यही नियम गाई र बहरमा पनि देखिन्छ । अर्थात् पोथीलाई भोग गर्नका लागि भाले समूहमै सबैभन्दा बलियो हुनुपर्छ ।

यहाँनेर यो निष्कर्ष निकाल्न सकिन्छ, प्रकृतिले नै स्वस्थ भालेबाट सन्तान उत्पादन गर्न चाहन्छ, ताकि सन्तान पनि स्वस्थ नै जन्मियोस् । समूहमा सबैलाई जित्न सक्ने भाले निश्चय नै सबै प्रकारले स्वस्थ हुन्छ । तर, विवेक भएको मानिसको हकमा पशु प्रवृत्ति लागू हुँदैन र भएन । तर, राज्यको उत्पत्तिसँगै विभिन्न समूहमा युद्ध हुँदा हार्ने समूहका पुरुषलाई जनावर सरह दास र महिलालाई यौनदासी बनाउने प्रचलन थियो ।’

सिकार, लडाइँ र खेलको विषय माथि आएको छ । मानव सभ्यताको जग हो– सिकार, लडाइँ र खेल । अमेरिकी लेखक सेल्डन चेनीको पुस्तक ‘द थिएटर : थ्री थाउजेन्ड एयर्स अफ ड्रामा, एक्टिङ एन्ड स्टेजक्राफ्ट’ अनुसार, सिकार समाएको घटना समूहलाई बताउनका लागि मानिसले अभिनय (एक प्रकारको खेल भनौँ) गथ्र्यो । तपाईंले देखेको हुनुपर्छ– कुकुरका साना छाउरा, बाख्राका पाठा आदि पनि आपसमा लडेको अभिनय गरेर खेल्छन् । खेल, लडाइँ र सिकार भाले जातिले मात्रै गर्छन् भन्ने होइन, पोथी जातिले पनि गर्छन् । तर, मानव जातिको हकमा, खासगरी पुरुषवादी सत्ता र चिन्तनका कारण सिकार, लडाइँ र खेलहरू पुरुषको प्राकृतिक हकजस्तो बनाइयो । 

आज पुँजीवादी विश्वले बालबालिकाको खेलौना पनि महिला र पुरुष दुवैका लागि बनाइदिएको छ । परिवार र समाजले छोरी वा छोराले खेल्ने–खेलाउने वस्तुमा नियन्त्रण गर्छ । जस्तो : छोरीलाई डल (पुतली) दिन्छ, छोरालाई बन्दुक । यसरी घर–परिवार र समाजदेखि नै छोरीलाई नियन्त्रण गर्ने प्रयास हुन्छ । छोरीको दिमागमा डर वा भय भर्ने प्रयास घर–समाजदेखि सुरु हुँदै आएको छ । 

अर्कोतिर, बहादुर हुने, स्त्रीको सुरक्षा गर्ने लगायत हौसला र जिम्मेवारीमा छोरालाई मानसिक रूपमा तयार गर्न खोजिन्छ । यसले छोराको दिमागमा नकारात्मक असर पर्न पनि सक्छ अर्थात् विषाक्त पुरुषत्व (टक्सिक मस्कुलिनिटी)तिर ऊ अग्रसर हुन सक्छ । जित्नैपर्ने, महिलालाई नियन्त्रणमा राख्नैपर्ने जस्ता सोच र व्यवहार उसमा विकास हुन सक्छ । 

पुरुषवादी समाजले पुरुषलाई मानसिक रूपमा अलि बढी दबाब दिएको पनि छ– उसलाई जित्नैपर्छ, पाउनैपर्छ, कमाउनैपर्छ । हिजो सिकारी युगमा वनको जन्तु मात्रै ‘सिकार’ थियो । आज ‘सिकार’ भन्नाले राम्रो जागिर, राम्रो पढाइ, ठूलो पद वा प्रतिष्ठा, ठूलो कम्पनी, धेरै कमाई आदि परेका छन् । यो ‘सिकार’को लडाइँमा सानैदेखि छोराछोरी दुवैलाई बराबर रूपमा तयार गर्नुपरेको छ, योसँँगै सामाजिक न्याय र समाजवादका कुरा आउनेछन् । महिला र पुरुषसँगै अन्य लिंगका मानिसको न्यायलाई समाज र राज्यले बुझ्नुपर्छ । 

प्रकृतिकै कुरा गर्दा, बाघ पछि गएर जतिसुकै खतरनाक सिकारी बनोस्, उसलाई सानोमा सिकार खेल्न सिकाउने उसकी आमाले नै हुन्छे । के उसले पोथी जाति (बघिनी)माथि नै हिंसा वा खतरा हुने छोरो जन्माउन चाहन्छे ? 

पुरुषवादी सत्ता, सोच र चिन्तन हाबी हुँदा कसरी महिलालाई असहज र अन्याय हुने विकास भएको रहेछ भन्ने माथि उत्तमबाबुले प्रस्तुत गरेका उदाहरणले देखाउँछ । हिजो हामीकहाँ पुरुष अभिजातले लेखेका कानुन पनि महिला र दलितलाई विभेद गर्ने खालका थिए । अब हाम्रो बहस जडमै पुग्नुपर्छ । समस्या कहाँ छन्, त्यहाँ केलाउनुपर्छ र महिला–पुरुषलाई बराबर अंश र वंशको हक दिलाउन समाज र राज्य अग्रसर हुनुपर्छ । आज कैयौँ समुदायमा अंशले दाइजोको रूप लिएको छ, जहाँ साँच्चिकै दाइजो प्रथा छ, त्यहाँ गरिबकी छोरीको विवाह हुनै समस्या छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप