आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य क्षेत्र

सञ्चालनमा नआउँदै भत्कियो अस्पतालको भौतिक संरचना

दुर्व्यसनीको अड्डा बन्यो डुमरिया अस्पताल
बिहीबार, ०२ चैत २०७९, ०६ : ४३
बिहीबार, ०२ चैत २०७९

जनकपुरधाम । धनुषाको पूर्वी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि १६ वर्ष अघि अस्पताल बनाउने घोषणा भयो । तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सहिद सुर्यनाथ रानको २२ औं स्मृतिसभामा आयोजित कार्यक्रममा अस्पताल बनाउने उद्घोष गरे ।

आवश्यक प्रक्रिया पूरा गरी अस्पताल सञ्चालनका लागि चाहिने भौतिक संरचना पनि तयार भयो । तर, हालसम्म अस्पताल सञ्चालन हुन सकेको छैन । बरु अस्पतालका लागि बनाइएका भौतिक संरचना बेवारिसे अवस्थामा भत्किन थालेका छन् ।

अहिले अस्पताल परिसर तथा भवनहरु दुर्व्यसनीमा लागेका युवाहरुका लागि गाँजा खाने अड्डा बनेको छ । सहिदनगर नगरपालिका–८, डुमरियास्थित अस्पताल भवनमा मंगलबार पुग्दा स्थानीय युवाहरु गाँजा खाइरहेका थिए भने परिसरभित्र बाख्रा चर्दै थिए ।

भोलि गुरमैता, बबन गोहितमान, नथुनियाँ बनरैत, ओपेन्द्र मरिक, देबनारायण रान यादव, रंजन यादव, बेचन गुरमैता, शिवनारायण राम, माघो माझी, बुधन बनरैत, गुलचन लखनदेई, बिल्टु गुरमैता, देबसुनर देवी, महाबीर गुरमैता, बिन्दी गुरमैतासहित १५ जनाले अस्पताल निर्माणका लागि जग्गा दान गरेका थिए । करिब एक बिगाहा ऐलानी र स्थानीयले दिएको बाँकी जग्गा गरी करिब दुई बिगाहा जग्गा अस्पतालको नाममा नामसारी भयो ।

अस्पताल सञ्चालनको माग गर्दै स्थानीयले पटक–पटक आन्दोलन गरे पनि सुनुवाइ भएन । त्यस क्षेत्रका निवर्तमान सांसद उमाशंकर अरगरियाले पनि सो अस्पताल सञ्चालन गराउन पटकपटक संसदमा आवाज उठाए । तर अहिलेसम्म अस्पताल सञ्चालनमा कसैले चासो देखाएका छैनन् ।

तत्पश्चात सोही ठाउँका सहिद सूर्यनाथ रानको नाममा जिल्ला अस्पताल बन्ने भयो । करिब ४ करोड लागतमा भौतिक संरचना पनि २०७२ सालमै निर्माण सम्पन्न भइसकेको छ । तर अस्पताल सञ्चालन नहुँदै भत्किएपछि अहिले जग्गादाताहरु मात्रै होइन, स्थानीयहरु समेत चिन्तित भएका छन् ।

सो क्षेत्रका बासिन्दालाई अहिले पनि ३० किलोमिटरको दूरी तय गरेर प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन जानुपर्ने बाध्यता छ । भौतिक संरचना तयार भइसकेको लामो समय बिते पनि अस्पताल किन सञ्चालन भएन भन्नेबारे स्थानीयवासी बेखबर छन् ।

सहिदको सपनामा खिया लाग्यो

डुमरियामा सहिदको नाउँमा अस्पताल बन्ने भएपछि स्थानीयले आफ्नो निजी जग्गा दान गरे । उनीहरुले दान गरेको जग्गामा भौतिक संचरना निर्माण त भयो तर, अस्पताल संचालनमा आएन । अस्पतालको मुल गेटमा लागेको खिया देखाउँदै एक जग्गादाता भन्छन्, ‘हेर्नुस् त, यो सहिदको सपनामा खिया लागेको होइन र ?’

IMG_20230314_170121

अस्पतालका लागि निर्माण भएको भवनको हरेक कोठामा पंखा, अट्याच शौचालय र बेसिन जडान भएको छ । निर्माण भएका ती भवनमा बेसिन रहे पनि धारा गायब छन् । पंखा भए पनि त्यसलाई चलाउने स्वीच फुटिसकेको छ । त्यस्तै कोठाहरुमा लगाइएको मार्बल फुटिसकेका छन् । अस्पताल भवनको कोठामा ढोका भाँचिएको, फुटेको देख्न सकिन्छ । कोठाहरुमा दिसापिसाब गरेर दुर्गन्धित बनाइएको छ ।

IMG_20230314_170330

अस्पताल सञ्चालनको माग गर्दै स्थानीयले पटक–पटक आन्दोलन गरे पनि सुनुवाइ भएन । त्यस क्षेत्रका निवर्तमान सांसद उमाशंकर अरगरियाले पनि सो अस्पताल सञ्चालन गराउन पटकपटक संसदमा आवाज उठाए । तर अहिलेसम्म अस्पताल सञ्चालनमा कसैले चासो देखाएका छैनन् ।

२०७७ चैत २ गते मधेस प्रदेश सरकारले त्यस अस्पताललाई ५० शय्याको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने निर्णय ग¥यो । सोही निर्णयमा जोडिएका अन्य अस्पताल स्तरोन्नति भए पनि यो अस्पताल हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादव मात्रै नभएर उनकै पार्टीले नेतृत्व गरेको मधेस प्रदेश सरकार पनि यो अस्पताल सञ्चालन हुन नदिन त्यतिकै जिम्मेवार रहेको अरगरिया बताउँछन् ।

अस्पताल सञ्चालन नहुनुमा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव दोषी रहेको धनुषा निर्वाचन क्षेत्र १ का निवर्तमान सांसद उमाशंकर अरगरियाको आरोप छ । उनी भन्छन्, ‘मलाई ड्यामेज गरे हुन्छ तर सहिदको नाम ड्यामेज नगरुन्, स्थानीयले आफ्नो व्यक्तिगत जग्गा दिएर आफ्नै गाउँठाउँमा अस्पताल बनाउन देखेको सपना ड्यामेज नगरुन् । मलाई यत्ति भन्नु छ– अस्पतालमा राजनीति नहोस् ।’

अध्यक्ष यादवसँग आफ्नो सम्बन्ध बिग्रिनुको कारण पनि डुमरिया अस्पताल नै रहेको उनको दाबी छ । ‘उहाँसँग मेरो अरु कुनै स्वार्थ थिएन । न पदको, न केही,’ उनले भने, ‘उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेकै बेला उक्त जिल्ला अस्पताललाई प्राथमिक तहस्तरको अस्पतालमा घटुवा गरिएको हो ।’

IMG_20230314_170233

जसपा अध्यक्ष उपेन्द्र यादव मात्रै नभएर उनकै पार्टीले नेतृत्व गरेको मधेस प्रदेश सरकार पनि यो अस्पताल सञ्चालन हुन नदिन त्यतिकै जिम्मेवार रहेको अरगरिया बताउँछन् । अहिले प्रदेश सरकारलाई नै दुई सय शय्यासम्मको अस्पतालको अधिकार दिइए पनि प्रदेश सरकारको बेवास्ताका कारण यो अस्पताल सञ्चालन हुन नसकेको उनको भनाइ छ ।

‘अस्पताल सञ्चालन नभए आन्दोलन हुन्छ’

सो अस्पताल सञ्चालन भएमा धनुषा जिल्लाका करिब २० वटा गाउँ र सिरहा जिल्लाको करिब २५ वटा गाउँका सर्वसाधारण लाभान्वित हुन्छन् । प्रदेश सरकारले अस्पताल यथाशीघ्र सञ्चालनमा नल्याए छिट्टै आन्दोलनको घोषणा गर्ने अरगरियाको चेतावनी छ । उनले अस्पताल यथाशीघ्र सञ्चालनमा नआए प्रदेश सरकार विरुद्ध संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने चेतावनी दिए ।

IMG_20230314_170411

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप