‘युवतीहरूले अंकल भन्न थाले, बिहे त एक दिन पक्कै जुर्ला कि’

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा दोस्रो पटक प्रतिनिधि सभा सदस्यको भूमिकामा छन् । ओखलढुङ्गाको तत्कालीन थाक्ले गाविस वडा नम्बर २ मा २०२६ साल पुस २४ गते बारीमा आमा कोदोको नल काट्न जाँदा जन्मिएका खतिवडाको न्वारनको नाम लीलानाथ खतिवडा हो ।
बाल्यकालमा उनी मामाघरमा बसेर पढे । मामाघरका हजुरबुवा लक्ष्मीप्रसाद दाहाल उपप्रधानपञ्च थिए । यता घरका हजुरबुवा लीलानाथ खतिवडा भने पुराण भन्ने पण्डित थिए । सानैदेखि पढाइमा तेज रहेका खतिवडाले स्कुले जीवनदेखि क्याम्पस तहसम्म सधैँ सफल उनले पढाइमा बीएल, एमएसम्मको अध्ययन हासिल गरे ।
स्कुले जीवनमा विद्यालयमा गरिने अतिरिक्त क्रियाकलापमा खतिवडा सबै अगाडि हुन्थे । वादविवाद प्रतियोगिता, निबन्ध प्रतियोगिताजस्ता अतिरिक्त क्रियाकलापहरूमा उनी सधैँ प्रथम स्थान हासिल गर्थे ।
विद्यालयको परीक्षामा सधैँ पहिलो श्रेणीमा उत्तीर्ण हुँदै आएका उनी एसएलसी परीक्षमा गणित विषयमा आएको नम्बर सम्झँदा अहिले पनि उनी खिन्न हुन्छन् । जुनसुकै कक्षाको परीक्षामा गणितमा ९८, ९९ सम्म नम्बर ल्याउने उनको एसएलसी परीक्षामा गणितमा ३२ नम्बर मात्र आयो, ५ नम्बर नपुगेर उनले प्रथम श्रेणीमा उत्तीर्ण गर्ने अवसर गुमाएका थिए ।
उनले स्मरण गरे, ‘मैले साधारण स्कुलमा पढेको हुँ, गणितमा ९७, ९८, ९९ सम्म नम्बर आउँथ्यो, जहिले पनि टप नै गर्थें तर एसएलसीमा गणितमा मेरो ठ्याक्कै ३२ मात्र आयो । मैले रिटोटलिङ पनि गरिनँ, ५ नम्बर नपुगेका कारण मेरो फस्ट डिभिजन पुगेन । त्यो बेलासम्म ओखलढुङ्गा जिल्लाबाट कसैले पनि फस्ट डिभिजनमा पास गरेको थिएन, हाम्रो पालामा मात्र १४ जना हो कि १७ जना विद्यार्थीले पास गरेका थिए ।’
२०४२ सालमा उनी पहिलो पटक २७२ रुपैयाँ लिएर काठमाडौँ आए । त्यतिबेला बस चढ्न ओखलढुङ्गाबाट हिँडेर उदयपुरको कटारी पुग्नुपथ्र्यो । कटारीबाट १५ रुपैयाँ बस भाडा तिरे काठमाडौँ आइपुगे ।
एसएलसी उत्तीर्ण गरेपछि बुवाले सिन्धुलीमा जग्गा पास गर्न जाँदा उनले पहिलो पटक मोटर गाडी देखेका थिए । जनकपुर पुगेका बेला उनले पहिलो पटक बिजुली बत्ति देखेको उनको स्मरणमा अझै ताजा छ ।
२०४२ सालमा काठमाडौँ आएपछि उनी अरू २ जना साथीसँग डेरामा बस्न थाले । त्यतिबेला कोठाभाडा १५० सय रुपैयाँ मात्रै थियो । उनको भागमा कोठाभाडा ५० रुपैयाँ थियो । तीन जनालाई खाना खानका लागि पनि एक महिनामा १५० रुपैयाँले पुग्ने गरेको उनले सुनाए ।
किसुनजीलाई भेटेपछि उनको आग्रहमा खतिवडाले कांग्रेस पार्टी कार्यालयमा काम गर्न थाले । हरेक दिन २ बजेपछि पार्टी जानुपथ्र्यो । पार्टी अफिसमा काम गरेको उनले दुई सय रुपैयाँ तलब पनि पाउन थाले ।
त्यतिबेला कानुन पढ्ने कुरा लोकप्रिय थियो । उनी ताहचलमा ल क्याम्पसमा भर्ना भए । पढ्न थालेसँगै उनी कामको खोजीमा पनि थिए । काम खोज्दै जाँदा उनले सिस्टमेटिक एडभर्टाइजिङ एजेन्सीले प्रकाशन गरेको टेलिफोन नम्बर भएको डारेक्टरी बेच्ने काम पाएका थिए । सो कम्पनीले टेलिफोन डारेक्टोरी प्रकाशन गरेको थियो, जसको मूल्य ५० रुपैयाँ थियो ।
एक दिन रामहरि डारेक्टरी बेच्नका लागि दरबार मार्गमा हिँडिरहेका बेला बाटोमा एक जना मान्छे हिँड्दै आएको देखे । ती मान्छेलाई डारेक्टरी बेच्न उनी पछि पछि लागे । ती मान्छे जमलस्थित एक कार्यालयमा छिरे । उनी पनि सँगै छिरे । त्यहाँ पुगेपछि ती मान्छे गणेशमान सिंह भएको थाहा पाए । कार्यालयमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँगै बसेको देखे । उनलाई कार्यालयमा देखेपछि बीचमा बसेका कृष्णप्रसादले ‘ए बाबु, तिम्रो घर कहाँ हो ?’ भनेर सोधे । उनले आफ्नो घर ओखलढुङ्गा भएको र एसएलसी पास गरेर काठमाडौँ आएको सुनाए ।
त्यो समय एसएलसी पास गरेर काठमाडौँ आएको मान्छेलाई राम्रो मान्छे मानिने उनले सुनाए ।
सांसद खतिवडाले स्मरण गरे, ‘किसुनजीले भीमबहादुर अधिकारीलाई चिन्छौँ भनेर सोध्नुभयो । मैले उहाँले मलाई पढाउनुभएको हो भनेँ । किसुनजीले भीमबहादुरलाई मैले पढाएको भन्नुभयो । त्यति कुरा गरेर त्यो दिन म त्यहाँबाट फर्किएँ । भोलिपल्टदेखि मलाई त्यो ठाउँमा जान रहर लाग्न थाल्यो । मैले दैनिक २० वटा डारेक्टरी बेच्ने गरेकोमा अर्को दिन साहुसँग थप एउटा मागेर २१ वटा बोकेर हिँडे । त्यो एउटा डारेक्टरी मैले कृष्णप्रसाद भट्टराईलाई सप्रेम उपहार भनेर दिएँ । उहाँ असाध्यै खुसी हुनुभयो । कार्यालयमा वासु, श्याम, योगप्रसाद उपाध्याय र ध्रुवराम भण्डारी हुनुहुन्थ्यो । उहाँले ए धु्रवरामजी हाम्रो पार्टी अफिसमा एउटापनि टेलिफोन डायरी छैन, यो बाबुले ल्याएको रहेछ राखिदिनुस् त भनेर दिनुभयो ।’
त्यो दिन साँझ ४ बजे किसुनजी पार्टी कार्यालयबाट बाहिर निस्केर न्युरोडतिर लागे । लक्ष्मी मिष्ठान्न भण्डारमा लगेर खतिवडालाई समोसा खुवाएर पैसा तिरे । न्युरोड पुगेर उनले भारतीय पत्रिकाहरू किनेको खतिवडाले सुनाए ।
किसुनजीलाई भेटेपछि उनको आग्रहमा खतिवडाले कांग्रेस पार्टी कार्यालयमा काम गर्न थाले । हरेक दिन २ बजेपछि पार्टी जानुपथ्र्यो । पार्टी अफिसमा काम गरेको उनले दुई सय रुपैयाँ तलब पनि पाउन थाले । त्यसपछि उनले डारेक्टरी बेच्ने काम छोडे ।
पत्रिका किन्न जाने र पार्टी कार्यालयमा किसुनजीलाई पत्रिका पढेर सुनाउनेलगायतका काम गर्न थाले । त्यहाँबाट उनको राजनीतिक जीवनको प्रारम्भ भएको थियो । तर स्कुल पढ्ने बेला भने उनी कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अनेरास्ववियुमा आबद्ध थिए । स्कुल पढ्दाताका २०३८ सालमा उनी अनेरास्ववियुको जिल्ला सचिव थिए । पछि उनी कम्युनिस्ट विद्यार्थी सङ्गठन परिवर्तन गरेर कांग्रेसतिर लागेका थिए ।
उनले पार्टीले प्रकाशन गर्ने ‘नेपाल पुकार’लाई जिल्लामा लैजाने काम गरे । किसुनजीका पत्रहरू मनमोहन अधिकारीलगायतका नेताहरूका साथै अन्य सम्बन्धित ठाउँमा पुर्याइदिने काम पनि गरे ।
२०४४ सालमा पञ्चायत विरोधी प्रदर्शनका क्रममा उनी केही दिन जेल परे । २०४६ सालको आन्दोलनका क्रममा पनि जेल परेका थिए ।
त्यो बेलाको अवस्थालाई स्मरण गर्दै उनले भने, ‘२०४६ सालमा पञ्चायती व्यवस्था मुर्दावाद भन्दा हामीलाई पुलिसले समात्यो । प्रहरीले ऋषिकेश शाह, द्रोणप्रसाद आचार्य, नवीन्द्रराज जोशीलगायत हामीलाई हनुमानढोकामा लगेर राख्यो । हामीलाई लागेको मुद्दाबाट छुटाउन तीन हजार रुपैयाँ धरौटी राख्नुपर्ने भयो । किसुनजीले हामीलाई छुटाउन त्यो धरौटी राखिदिनुभएको थियो । छुटेपछि फेरि प्रहरीले पक्राउ गर्न खोजेको थियो तर पुलिसको गाडी अगाडि गणेशमान र किसुनजीले सुतेर अघि बढ्न दिनुभएन । उहाँहरूले थुतेर हामीलाई लानुभयो । त्यसपछि राजनीतिसँग मेरो झन् घनिष्ठता बढेर गयो । त्यसपछि म निरन्तर राजनीतिमा लाग्न थालेँ ।’
उनले पार्टीले प्रकाशन गर्ने ‘नेपाल पुकार’लाई जिल्लामा लैजाने काम गरे । किसुनजीका पत्रहरू मनमोहन अधिकारीलगायतका नेताहरूका साथै अन्य सम्बन्धित ठाउँमा पुर्याइदिने काम पनि गरे । मनमोहन अधिकारीलाई खर्च छैन होला भनेर किसुनजीले दुई सय रुपैयाँ आफूमार्फत पठाएको बताउँदै उनले त्यतिबेला उच्च राजनीतिक संस्कार रहेको स्मरण गरे ।
पार्टी कार्यालयमा काम गर्दै पढाइलाई पनि अघि बढाएका उनले २०४७ सालमा बीएल उत्तीर्ण गरे । यस्तै २०५२ सालमा एमए उत्तीर्ण गरे ।
जापानमा तीन लाख डलरको पुरस्कार
२०४७ सालमा बहुदल आउनेवित्तिकै कृष्णप्रसाद भट्टराईले खतिवडालाई जापानमा एउटा कार्यक्रममा सहभागी हुन पठाए । नेपालमा संविधान बनेको थिएन । जापानका राजाबाट दिइएको त्यहाँको संविधान कृष्णप्रसाद भट्टराईलाई खतिवडाले ल्याइदिएका थिए ।
कार्यक्रममा ‘हाउ टु मेक लभ्ली अर्थ’ शीर्षकमा बोल्ने कार्यक्रम राखिएको थियो । त्यसबारेमा किसुनजीले अङ्ग्रेजीमा एउटा भाषण तयार गरेको खतिवडाले बताए । नेपालदेखि जापान जाँदा हवाईजहाजमा खतिवडाले भट्टराईले लेखेको त्यो भाषण पढिराखे ।
उनले भने, ‘धेरै मान्छे सहभागी भएका थिए त्यो कार्यक्रममा । एक सय ५३ देशका सहभागीहरूले कागज हेरेर पढे । म भर्खर २१ वर्षको सबैभन्दा कलिलो केटो थिएँ । सबैतिरबाट हेड अफ द स्टेट, उच्च पदाधिकारी आएका थिए । त्यतिबेला कम्युनिस्ट, कांग्रेस पार्टीको अन्तरिम सरकारको प्रधानमन्त्री किसुनजी हुनुहुन्थ्यो । किसुनजीले मलगायत राजुराज जोशी, भीष्म कार्की, राकेशलाल सिंह, साहानाले आफ्ना भदा प्रधान थरका व्यक्तिलाई पठाउनुभएको थियो ।’
किसुनजी खतिवडालाई २०५६ सालमा संसदीय निर्वाचनको उम्मेदवार बनाउन चाहन्थे तर अरू नेतालाई पनि पालो दिनुपरेका कारण ५६ सालको सालको चुनावमा आफूले टिकट नपाएको उनले बताए ।
उनले भने, ‘त्यहाँ मैले किसुनजीले लेखेको ‘हाउ टु मेक लभ्ली अर्थ’ भन्ने विषयमा बोलेँ । अरू सबैले कागज हेरेर पढे तर मैले धाराप्रवाह बोलेँ । प्लेनभरि मैले कण्ठ गरेको थिएँ । मैले त्यतिखेर त्यहाँ ती हजार डलरको पुरस्कार पाएँ । क्यानडाका सभामुख पहिलो भएका थिए । दोस्रो को भए सम्झना भएन, तेस्रो नेपालका तर्फबाट म भएको थिएँ । त्यहाँ राजासँग भेट्ने कुरा भयो । पाकिस्तानीले भारतीयलाई राजासँग भेट्न अवरोध गर्ने, पाकिस्तानीले भारतीयलाई जान नदिने अवस्था थियो । तर मलाई भेट्न जान दिने सहमति भयो । राजासँग पनि मेरो भेट भयो । राजालाई भेट्दा केही न केही चिज उपहार दिने चलन हुँदोरहेछ । तर उपहार दिनका लागि मसँग केही पनि भएन । मसँग नेपाली कांग्रेसको चारतारे झन्डाको एउटा लकेट थियो । मैले त्यही लकेट राजाको कोटमा लगाइदिएँ । त्यसलाई त्यहाँको मिडियाले हाइलाइटका साथ प्रकाशन गरेको थियो । भोलिपल्ट त टेलिभिजन, सारा पत्रिकाले मैले दिएको उपहारलाई प्रमुख समाचार बनाएर प्रकाशन प्रसारण गरेका थिए ।’
उनलाई त्यहाँको विश्वविद्यालयमा पढ्नका लागि जापानका एक मन्त्रीले आग्रह गरेका तर किसुनजीले आउनुपर्छ भनेपछि उनी नेपाल फर्किए । किसुनजीलाई उनले पाएको तीन हजार डलर उपहार दिए तर उनले नलिई थप पाँच हजार पुरस्कार दिएर राम्रो गर्यौ बाबु भनेको उनले स्मरण गरे ।
खतिवडाको संसदीय यात्रा
किसुनजी खतिवडालाई २०५६ सालमा संसदीय निर्वाचनको उम्मेदवार बनाउन चाहन्थे तर अरू नेतालाई पनि पालो दिनुपरेका कारण ५६ सालको सालको चुनावमा आफूले टिकट नपाएको उनले बताए ।
उनले भने, ‘त्यतिबेला जमलमा भएको एउटा कार्यक्रममा किसुनजीले भन्नुभएको थियो–ओखलढुङ्गामा म रामहरिजस्ता युवालाई उम्मेदवार बनाउन चाहन्थेँ तर अहिले पुराना साथीहरू छन्, सकिएन भन्नुभयो ।’
२०४८ सालमा भएको चुनावमा भट्टराईले त्यतिबेलाका सबैभन्दा युवाहरू शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, एनपी साउदलगायतले टिकट दिएको उनले बताए । उनी युवालाई अघि बढाउन चाहने नेताका रूपमा रहेको उनले स्मरण गरे ।
२०५६ सालमा किसुनजीले उम्मेदवार बनाउनुपर्ने मान्छे भनेपछि उनी छक्क परे । त्यतिबेला ओखलढुङ्गामा बलबहादुर राई, होमनाथ दाहाललगायत पुराना नेता रहेका कारण भट्टराईले आफूलाई टिकट दिन नसकेको उनले बताए ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा आफूलाई टिकट दिन सबैको सर्वसम्मत चाहना भए पनि माथिल्लो तहबाट दानबहादुर कार्कीलाई ओखलढुङ्गाको उम्मेदवार बनाएको तर २०७० सालको चुनावमा टिकट पाएपछि कुल खसेको मतको ५१ प्रतिशत मत कटाएर चुनाव जितेको उनले बताए ।
उनले आफ्नो पहिलो संसद् यात्राका बारेमा भने–‘त्यतिबेलाको संसद्मा राम्रै भूमिका खेलियो । त्यतिबेलाका सांसदले लगाउने लोगो र परिचयपत्रमा नेपालको सांसद हो भन्ने कुनै सङ्केत परिचय थिएन । त्यसलाई परिमार्जन गरेर नेपालको नक्सा र झन्डा भएको लोगो बनाउनका लागि मैले भूमिका खेलेको थिएँ । संसद्मा सधैँ दौरा सुरुवाल लगाएर जान्थेँ, सधैँ तथ्याङ्कसहित मात्र विषयवस्तुहरू उठाउँथेँ ।’
टोलेगुन्डाको जति पनि हैसियत नभएका केही मान्छे अहिलेको संसद्मा आएका छन् ।
उनले अगाडि भने– ‘लेखा समितिमा बसेँ । त्यतिखेर सोलु करिडोरमा भएको अनियमितता भएको विषयमा ऊर्जा मन्त्री राधा ज्ञवालीको कुरा उठाएँ । अख्तियारले उहाँलाई कारबाही पनि गर्यो । एक जना मन्त्री हुनुहुन्थ्यो पुरुषोत्तम पौडेल, उहाँले विवादित सदस्यसचिवलाई नियुक्त गरेको विषय मैले समितिमा उठाएँ । उहाँ पनि कारबाहीमा पर्नुभयो । त्यतिखेर पर्यटन बोर्डको केस पनि लेखा समितिमा आयो । पर्यटन बोर्डका केशव निरौला कारबाहीमा परेर हट्नुपर्यो । एन्फाको केस आयो, गणेश थापाको पनि राजनीति गयो । लेखा समितिमा बसेर त्यतिखेर राम्रै काम गर्यौँ । त्यतिबेला मैले संसद्मा जान पनि छोडिनँ र जनतामा जान पनि छोडिनँ । त्यतिबेला संसद्मा सबैभन्दा धेरै हाजिरीको रेकर्ड मेरै थियो होला ।’
यो संसद्मा रवि लामिछानेले घडी प्रेमी भन्नुभयो, मैले त व्यक्तिगत कुरा गरेको थिइनँ
केही समयअघि प्रतिनिधि सभाको बैठकमा आफूले गृहमन्त्रीलाई प्रश्न सोध्दा त्यो बेला मन्त्रीको हैसियतमा रहेका रवि लामिछानेले व्यक्तिगत टिप्पणी गरेकोमा सांसद खतिवडाको चित्त दुखेको रहेछ । आफूले संसद्मा एउटा सांसदले निभाउनुपर्ने भूमिका निभाउँदा लामिछाने व्यक्तिगत टिप्पणीमा उत्रिएको गुनासो गरे ।
उनले भने, ‘मैले एउटा सांसदमा हैसियतमा गृहमन्त्रीलाई प्रश्न गर्दा पछि उहाँले मलाई घडीप्रेमी भन्नुभएछ । मैले गृहमन्त्रीका बारेमा प्रश्न उठाएको थिएँ, रवि लामिछानेका बारेमा हैन । उहाँले मेरो व्यक्तिगत चर्चा आलोचना गर्नुभयो । के प्रेमी हुँ, मेरो के लेभल हो मेरो निर्वाचन क्षेत्रमा गएर हेरे हुन्छ । मैले पाउने तलबभत्ता सबै विकास निर्माणमा खर्च गर्दै आएको छु । म कसैका बारेमा केही कमेन्ट गर्न चाहन्न । टोलेगुन्डाको जति पनि हैसियत नभएका केही मान्छे अहिलेको संसद्मा आएका छन् ।’
किसुनजीको लाइनमा छैन, बिहे जुर्न बाँकी नै होला
पछिल्लो समय उनीमाथि आउने धेरै प्रश्न, सुझाव र आशीर्वाद बिहेका बारेमा हुनेगरेको छ । ५३ वर्षको उमेरमा हिँडिरहेका खतिवडा बिहेको साइत जुर्ने पर्खाइमा छन् ।
तपाईं किसुनजीको लाइनमा हो भन्ने जिज्ञासामा सांसद खतिवडाले भने, ‘सङ्गत त्यस्तै भयो, तपाईंले बिहेको प्रसङ्ग उठाउनुभयो, समय बित्दै जाँदा यस्तै हुँदो रहेछ । राजनीतिमा लागेपछि मलाई पनि बिहेतिर त्यति ध्यान गएन । कोही केटीसँग अफयेर भएर छोड्ने हिँड्ने काम पनि भएन । समय बित्दै गएपछि यसो योङ्ग केटी देखिनेले पनि अङ्कल भन्न थाले, आफ्नो उमेर भएका महिलाहरू बालबच्चासहित देखिन थाले । बिहे पनि आवश्यक छ तर अब हुन्छ होला । किसुनजीजस्तै सन्त भएर बस्दिनँ होला । ढिलोछिटो बिहे हुन्छ होला ।’
कलेज पढ्दा, राजनीति गर्दा कसैसँग प्रेम नभएको उनको जिकिर छ । उनले भने, ‘कलेज पढ्दा, राजनीतिमा लाग्दा साथीभाइहरू त धेरै थिए तर प्रेमका लागि भनेर अगाडि बढिएन । माया गरेर, प्रेम गरेर छुटेको अवस्था कलेज पढ्दा त्यस्तो भएन । सङ्गत धेरैसँग भयो तर अरू कुरा भएन ।’
ज्योतिषीका नातिसमेत रहेका सांसद खतिवडाले अहिलेसम्म नभेटेको र नहेरेको चिना को युवतीसँग मिल्ला ? त्यो अझै अनिश्चित छ ।
बिहेको सबैभन्दा धेरै चिन्ता आमाबुवालाई रहेको उनले सुनाए । आमाबुवा मात्र हैन मतदाता, बूढाबूढीले उनलाई आजभोलि बिहे छिट्टै होस् भनेर आशीर्वाद दिनेगरेका छन् ।
उनले हाँस्दै भने, ‘अहिले त बूढाबूढीहरूले आशीर्वाद दिँदा पनि सबैभन्दा पहिला अब त बिहे गर्नु है भन्न थालिसके । भोट माग्न जाँदा चुनाव त जितिहाल्नुहुन्छ, छिट्टै बिहे भएको देख्नपाऊँ भन्ने धेरै हुुनुहुन्थ्यो । धेरै मतदाताले पनि बिहे होस् भनेर आशीर्वाद दिएका छन् ।’
बिहेप्रति आशावादी हुँदै उनले भने, ‘अहिलेको वा अर्को कुनै सालमा बिहे होला भन्ने ठ्याक्कै निश्चित त छैन तर एक दिन होला नि । मान्छेहरूको एउटा भनाइ छ नि तीनवटा कुरा आफूले चाहेर हुँदैन रे । जन्म, मृत्यु र विवाह । यो चाहिँ परिस्थितिले के जुराउँछ, त्यहीअनुसार हुन्छ ।’
बिहेबारे ज्योतिषीलाई देखाउनुभएको छ ? उनले भने, ‘ज्योतिषीलाई अहिलेसम्म केही देखाएको छैन । विश्वास त लाग्छ तर देखाएको छैन । मेरो चिना नै छ कि छैन थाहा छैन । मेरो हजुरबुवा पण्डित भएका कारणले आफैँ चिना त लेख्नुहुन्थ्यो । चिनासिना बोकेर ज्योतिषीलाई हेराउने चलन हुन्छ तर आजसम्म मैले त्यस्तो केही गरेको छैन ।’
उनले सम्झिए, ‘आमासँग पक्कै मेरो चिना हुनुपर्छ ।’
ज्योतिषीका नातिसमेत रहेका सांसद खतिवडाले अहिलेसम्म नभेटेको र नहेरेको चिना को युवतीसँग मिल्ला ? त्यो अझै अनिश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त
-
राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी
-
भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’
-
दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
-
चितवन–२ मा उपनिर्वाचन लड्न एमालेले अझै भेटेन उम्मेदवार !
-
मन्त्री छान्न कांग्रेसले दियो देउवालाई जिम्मा