शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

राजतन्त्रको पक्षमा माहोल बनाउन पूर्वराजाको सुझाव, अब के गर्छ राप्रपा ?

अब राप्रपा आन्दोलनमा होमिन्छ, पूर्वराजाको समर्थन रहन्छ: महामन्त्री राणा
बिहीबार, ०९ चैत २०७९, १३ : २५
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई शीर्ष नेताहरूलाई बोलाएर राजतन्त्रको पक्षमा माहौल बनाउन सुझाव दिएका छन् । झापामा भेट्न पुगेका नेताहरूलाई पूर्वराजाले राजतन्त्रको पक्षमा राप्रपा प्रमुख शक्ति रहेकाले सो पार्टीले एजेण्डा स्थापित गर्न पहलकदमी लिनुपर्ने सुझाएका हुन् ।

भेटको क्रममा देशको वर्तमान राजनीतिक परिस्थिति बिग्रँदै गएकाले अब पनि राजावादी शक्ति चुप लागेर बस्न नहुने धारणा पूर्वराजाले राखेका थिए । स्रोतका अनुसार भेटका क्रममा पूर्वराजाले सुरुमा वर्तमान राजनीतिक परिस्थिति बिग्रेको भन्दै चिन्ता जाहेर गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणासहित अन्य केही राजावादी सहभागी उक्त भेटमा पूर्वराजाले अब चुप लागेर बस्न नहुनेमा जोड दिएका थिए ।

देशमा भ्रष्टाचार बढेको, लोकतान्त्रिक मूल्य र मान्यता हराउँदै गएको, आर्थिक रूपमा देश भयानक सङ्कटतर्फ अघि बढेको धारणा पूर्वराजाको थियो । बेथितिबारे आक्रोशित मुद्रामा प्रस्तुत भएका पूर्वराजाले हिन्दुराष्ट्र पुनर्स्थापनालगायतका सवालमा दुर्गा प्रसाईँको नेतृत्वमा जारी आन्दोलनको बारेमा समेत आफ्नो धारणा राखेका थिए । प्रसाईंको आन्दोलनले मात्रै निकास दिन नसक्ने भन्दै उनले राप्रपासहित सबै मिलेर आन्दोलनमा होमिन सुझाव दिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार पूर्वराजाले राप्रपाले हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने आशयसहितको धारणा समेत राखेका थिए ।

चार नेतासँग भेटअघि निर्देशक समितिका अध्यक्ष लोहनीले शाहसँग छुट्टै भेटवार्ता समेत गरेको बताइएको छ । शाहसँग मंगलबार साँझ करिब २ घण्टा लोहनीले छुट्टै भेटवार्ता गरेको स्रोतको भनाइ छ । 

राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले पूर्वराजासँगको भेटपछि आफूहरू खुसी रहेको प्रतिक्रिया दिए । पूर्वराजाले वर्तमान बेथितिप्रति चिन्ता व्यक्त गरेको र राजतन्त्रको पक्षमा मिलेर अघि बढ्न सुझाव दिएको उनको भनाइ छ । उनले पार्टीले आफ्नो एजेण्डा र मूल्यमान्यताका लागि सडक र सदन दुवैतर्फबाट आन्दोलन गर्ने उल्लेख गर्दै त्यसमा पूर्वराजाको पनि साथ रहने विश्वास व्यक्त गरे ।

‘जुन संस्थालाई हामीले पुनर्स्थापना गर्न खोजेका छौँ । त्यो संस्थाको समर्थन त पक्कै होला नि’, उनले रातोपाटीसँग भने, ‘राजालाई भेटेपछि हामी खुसी छौँ ।’

पूर्वराजासँगको भेटबारे राणासँग गरिएको संक्षिप्त कुराकानी:

तपाईंहरुले पूर्वराजासँग सामूहिक भेटवार्ता गर्नुभयो, के विषयमा छलफल भयो ?

यो स्वाभाविक भेटवार्ता हो । हामीले मानेको, अगाडि सारेको र पुनर्स्थापना गर्न खोजेको संस्थाको प्रमुखसँग भेट्ने, अपडेट गराउने तथा उहाँहरूको पनि राय सुझाव सुन्न भेटघाट गर्न गएका हौँ । यही सन्दर्भमा कुराकानी भएको हो ।

राजसंस्थाले राजनीति गर्ने होइन । सबैको अभिभावकको रूपमा राजा रहनुपर्छ भन्ने हाम्रो भनाइ हो र राजाले पनि आफू प्रत्यक्ष राजनीतिमा आउने कुनै कुरा गर्नुभएको छैन ।

भेटमा पूर्वराजाले के भन्नुभयो ?

आम जनताको, हाम्रो र राजाको धारणा त समान हो । बेथिति नै बेथितिमा देश छ । देशै डुब्न लागेको अवस्था छ । देशको आर्थिक परिस्थितिले देशै श्रीलङ्का हुने हो कि भन्नेदेखि हरेक क्षेत्रमा अन्योल र समस्याग्रस्त छ । त्यसमा हामी र राजा सबै चिन्तित छौँ । उहाँ पनि चिन्तित नै हुनुहुन्छ । पूर्व हेड अफ स्टेटले देशप्रति चिन्ता गर्नु त स्वाभाविक पनि हो ।

त्यस्तै राजाले राप्रपालाई मिलेर अगाडि बढ भनेर सल्लाह दिनुभएको छ । यो देशको बेथितिमा तपाईंहरुले मिलेर देशलाई अगाडि बढाउनुस् भनेर सल्लाह दिनुभएको छ । एजेण्डालाई अगाडि बढाऊ भनेर भन्नुभएको छ । तर, राजा राजनीतिभन्दा बाहिर हुनुहुन्छ । राजा सबैको साझा हो र राप्रपाभन्दा पनि सबैलाई मिलेर अगाडि जाऊ र यो देशलाई लाइनमा ल्याऊ भन्ने छ । तर, हामीसँग त अलिकति नजिक हुने त भइहाल्यो । हामीले नै त्यो संस्थालाई अगाडि बढाउन खोजेका छौँ । हिन्दुराष्ट्रलाई अगाडि बढाउन खोजेका छौँ । यसकारणले राजालाई प्रत्यक्ष राजनीतिमा सहभागी गराउन हामीले खोजेका पनि होइनौँ र हुन पनि हुँदैन ।

दुर्गा प्रसाईँको आन्दोलनमा राजाको सक्रिय सहभागिता होइन । खाली उहाँले परेवा उडाएर, बत्ती बालेर उद्घाटन गर्नुभएको मात्रै हो ।

तपाईंहरुसँगको भेटमा आफ्नो राजनीतिमा सक्रियताबारे राजाले केही भन्नुभयो कि ?

हामी त्यो चाहेकै छैन । राजसंस्थाले राजनीति गर्ने होइन । सबैको अभिभावकको रूपमा राजा रहनुपर्छ भन्ने हाम्रो भनाइ हो र राजाले पनि आफू प्रत्यक्ष राजनीतिमा आउने कुनै कुरा गर्नुभएको छैन । एउटा पार्टीको मात्रै राजा त होइन नि हामीले त्यो गराउन खोज्दैनौँ र गर्दा पनि गर्दैनौँ ।

दुर्गा प्रसाईँलगायतको आन्दोलनमा राजाको पनि साथ छ भनिन्छ, आन्दोलनबारे तपाईंहरुसँग पनि छुट्टै केही छलफल भयो कि ?

एउटै एजेण्डाका लागि हुने आन्दोलनमा मिलेर त लाग्नै पर्ने हो नि । राजसंस्था खोज्ने, हिन्दुराष्ट्र खोज्नेहरू चार ठाउँमा फिँजिएर हुँदैन, मिल्नुपर्छ भन्ने त स्वाभाविकै हो । तर, दुर्गा प्रसाईँको आन्दोलनमा राजाको सक्रिय सहभागिता होइन । खाली उहाँले परेवा उडाएर, बत्ती बालेर उद्घाटन गर्नुभएको मात्रै हो । यसको गलत व्याख्यामात्रै गरेका हुन् मान्छेहरूले । एजेण्डा र मूल्यमान्यता पुनर्स्थापनाकाल लागि मिलेर अघि बढ्न भनेर पूर्वराजाले भन्नु त स्वाभाविकै हो ।

जुन संस्थालाई हामीले पुनर्स्थापना गर्न खोजेका छौँ । त्यो संस्थाको समर्थन त पक्कै होला नि । राजालाई भेटेपछि हामी खुसी छौँ ।

अब कसरी अघि बढ्नुहुन्छ ?

हामी त प्रस्टै थियौँ, अलिदिन सरकारमा अलमलिएको मात्रै हो । बेथिति नै बेथितिमा रहेको देशलाई केही उकास्न सकिन्छ कि भनेर सरकारमा जाने निर्णय गरेका थियौँ  । तर, त्यो गल्ती रहेछ । अब सरकारमा जान नहुने स्थिति देखियो । किनभने त्यत्रो फितलो मनस्थिति र ढुलमुल चरित्रको नेताहरू एक–एक डेढ–डेढ महिनामा समीकरण फेर्ने खेलमा लागेकाले राप्रपा बाहिर बस्नुपर्छ भन्ने हाम्रो ठहर भयो र सरकार र गठबन्धनबाट हामीले आफ्नो समर्थन फिर्ता लियौँ । अब प्रष्ट छौँ कि हामी सडक र सदन दुवै प्रयोग गरेर हाम्रा मूल्य र मान्यतालाई अगाडि बढाउनेमा प्रयासरत छौँ ।

त्यसो भए आन्दोलनमा कसरी र कहिले जाने तयारीमा हुनुहुन्छ ?

एउटा मनस्थिति सबैको बनिसकेको छ । अब बैठकहरू बसेर आन्दोलन कसरी गर्ने र कुन मोडालिटीमा जाने भनेर पार्टीले बसेर छलफल गर्छौँ । आन्दोलनमा जाँदा सबैसँग मिलेर जाने हाम्रो प्रयास हुनेछ । हाम्रो एजेण्डा र हाम्रो मूल्य र मान्यतालाई स्वीकार्ने सबै पार्टी, शक्ति र व्यक्तिहरूलाई आह्वान गरेर अगाडि बढ्छौँ ।

तपाईंहरुको आन्दोलनमा राजाको पनि समर्थन रहन्छ भन्न खोज्नु भएको हो ?

जुन संस्थालाई हामीले पुनर्स्थापना गर्न खोजेका छौँ । त्यो संस्थाको समर्थन त पक्कै होला नि । राजालाई भेटेपछि हामी खुसी छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप