शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

नेपाल कमर्स क्याम्पसमा लफडा, भएको के हो ?

शनिबार, ११ चैत २०७९, २० : ४८
शनिबार, ११ चैत २०७९

काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा शनिवार निर्वाचन गराउने सहमति भयो । सोही आधारमा आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । यता निर्वाचन समितिले मतदानको कार्यतालिका सार्वजनिक गरेको थियो । 

उता निर्वाचन अधिकृत तुलसी रेग्मी गएरातिदेखि नै सम्पर्कविहीन बने । क्याम्पस प्रमुख प्राध्यापक ध्रुवप्रसाद सिलवाल समेतले समेत कसैको फोन उठाएनन् । 

बिहान ८ बजेसम्म लगभग ४०० हाराहारीमा विद्यार्थीहरू मतदान गर्ने भन्दै क्याम्पसमा जम्मा भइसकेका थिए । तर, निर्वाचन अधिकृत सम्पर्कविहीन बनेपछि अन्योल कायमै थियो । क्याम्पस प्रमुख नेकपा एमाले निकट मानिन्छन् । त्यसैले निर्वाचन गराउन सहज होस् भने नेपाली कांग्रेस निकट रेग्मीलाई निर्वाचन अधिकृत तोकिएको थियो । तर, उनी निर्वाचन गराउनुको साटो फोन अफ गरेर सम्पर्कविहीन बने । 

लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि निर्वाचन समितिले समितिका सदस्य सचिव लालबहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोक्यो । र निर्वाचन अधिकृतले बिहान साढे ११ बजेदेखि साढे ५ बजेसम्म मतदान हुने भनेर सूचना जारी गरियो । 

त्यही आधारमा विद्यार्थीहरू मतदान गर्ने भन्दै लाइनमा बसे । तर, भित्र प्रवेश गर्नका लागि प्रहरीले गेट नै खोलेन । विद्यार्थीलाई गेटमा नै रोकेर प्रहरीले निर्वाचन विरोधी हर्कत देखाएको विद्यार्थीहरूको आरोप छ । लामो समयसम्म पनि गेट नखोलेपछि विद्यार्थीहरू आन्दोलित बने । उनीहरूले नाराबाजी समेत गरे । 

स्ववियु निर्वाचनका लागि मतदानका लागि विद्यार्थी लाइन बसिरहेका बेला नेविसंघका कार्यकर्ताले मतपत्र च्याते ।  मतपत्र च्यातिएपछि लाइनमा बसेका विद्यार्थीलाई प्रहरीले तितरबितर पारेको थियो । मतपत्र च्यात्ने तीन जना नेविसंघका कार्यकर्ताले प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सुरक्षाको जिम्मा पाएको डीएसपीले नै सुरक्षाको जिम्मा लिन नसक्ने बताउनु, सारा प्रशासन सत्ता समर्थित विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु, रातारात निर्वाचन अधिकृतलाई भगाउनु, सत्तारुढ विद्यार्थी संगठनहरु निर्वाचन भाँड्न लाग्नुको पछाडि राज्य सत्ता नै निर्वाचन हुन नदिने खेलमा लागेको अनेरास्ववियुका उम्मेदवार प्रवीण गिरीको भनाई छ ।  

उता सत्ता गठबन्धन आबद्ध विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने तथा सर्वदलीय बैठक बसेर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेका थिए । नेविसंघ एनसीसीका नेता अनसुल केसीले अनेरास्ववियुले फर्जी मतदाता तयार गरेका कारण आजको विवाद भएको दाबी गरे । उनले सर्वदलीय बैठक नबोलाई निर्वाचन अधिकृतले मत्रपत्रमा हस्ताक्षर गरेपछि त्यसलाई च्यातिएको स्पष्ट पारे । 

अबेरसम्म पनि मतदान हुन नसकेपछि क्याम्पसले निर्वाचन स्थगित गरिएको सूचना जारी गरेको छ । क्याम्पस प्रमुख सिलवालले एक विज्ञप्ति जारी गर्दै असहज र असामान्य परिस्थितिका कारण निर्वाचन गर्न नसकिएको बताए । 

हालको परिस्थितिका कारण निर्वाचन सम्बन्धी काम कारबाही अगाडि बढाउन सक्ने अवस्था नभएको निष्कर्षसहित निर्वाचन स्थगित गर्ने निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचन आचारसंहिता अनुगमन तथा समन्वय समितिको संयुक्त बैठकले निर्णय गरेको थियो ।  

निर्वाचन स्थगित भएपछि अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै निर्वाचन विरोधी सत्ता गठबन्धन र गठबन्धन निकट विद्यार्थी संगठनहरुको गैर जिम्मेवारपन विरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै आफू जुनसुकै हालतमा पनि हार्ने अवस्था देखिएपछि उनीहरू निर्वाचनबाट डराएको बताए । विद्यार्थी आन्दोलनको विरासत स्ववियु जोगाउन सडक संघर्षमा उत्रन सबैमा आग्रह गरे । 

एनसीसीमा स्ववियु अध्यक्षका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । जहाँ नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूबाट बागी उम्मेदवारी परेको छ । एनसीसीमा नेविसंघको भागमा परेको थियो । अनेरास्ववियुका महासचिव नरेश रोकाले अब अदालत जाने बताए । निर्वाचन गराउन माग गर्दै अदालतबाट आदेश लिनुको विकल्प नभएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप