बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

९ खेलाडीको एभिनरमाथि मनाङको गोल वर्षा, खप्तड गोल्डकपको फाइनलमा

बुधबार, १५ चैत २०७९, २० : २१
बुधबार, १५ चैत २०७९

धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

कागजात पुरा नभएर क्यामरुनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो । मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रिक गरे । मनाङका लागि खेलको १२ औँ मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सीमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो । 

पहिलो हाफमा फfउल गरेका जोर्डन जुनियरले पहेँलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्‍यो । त्यसको केही मिनेट पछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टिम सात जनामा सीमित रहन पुगेको थियो । 

खेलको ५४ औँ मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । यस्तै ५९ औँ, ६७ औँ र ७७ औँ मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको ८१ औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छैटौँ गोल गरे । 

क्यामरुनले आज खेलाडीको अनुपस्थितिमा पनि  मैदानमा केही अवसर बनायो तर गोल गर्न सकेन । 

मनाङका सायीजमलले आजको खेलको ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते ।

जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्ने छ । बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीचो दोस्रो सेमिफाइनलको विजेतासँग मनाङले उपाधिका लागि खेल्ने छ । दोस्रो सेमिफाइनल खेल बिहीबार दिउसो ३ः३० बजे सुरु हुनेछ । 

मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप