शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
पुँजी बजार

पुँजी बजारलाई अर्थमन्त्रीको भरोसा, १७ खर्बको नोक्सान फिर्ता होला ?

सर्वोच्चमा विचाराधीन लाइसेन्सको मुद्दा छिटो टुङ्ग्याउन माग
आइतबार, १९ चैत २०७९, १५ : २३
आइतबार, १९ चैत २०७९

काठमाडौँ । धितोपत्र बजार अर्थात् पुँजी बजारमा आम लगानीकर्ताहरू चिन्तित बनेका छन् । कुनै बेला ४४ खर्बमाथि पुगिसकेको मार्केट क्यापिटलाइजेशन (सेयर बजारको पुँजी) २७ खर्ब हाराहारीमा झरेपछि लगानीकर्ताहरू चिन्तित बन्न पुगेका हुन् ।

पछिल्लो एक वर्षमा लगानीकर्ताहरूले झण्डै १७ खर्ब रुपैयाँ बराबरको लगानी गुमाउनु परेको बजार विश्लेषक एवं लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

‘सरकारी गलत नीतिकै कारण धितोपत्र बजारले अनपेक्षित दुर्घटना बेहोर्नु परेको छ । झण्डै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को हाराहारी पुगिसकेको सेयर बजारमा सरकारी तवरबाटै प्रहार हुने काम भयो । नत्र आफ्नै रफ्तारमा अघि बढिरहेको सेयर बजारमा ४–१२ को नीति लिन राष्ट्र बैंकलाई किन आवश्यक पर्‍यो ?’

मार्जिन लेण्डिङ (सेयर धितो कर्जा) मा राष्ट्र बैंकले व्यवस्था गरेको ४ देखि १२ करोडको सीमाप्रति असन्तुष्टि जनाउँदै रौनियारले भने, ‘यो नीति नै सेयर बजारलाई तहसनहस पार्ने खेल हो ।’ यद्यपि, पछिल्लो पटक केन्द्रीय बैंकले ४–१२ को तल्लो सीमा खारेज गर्दै माथिल्लो सीमा १२ करोड भने यथावत् राखेको छ ।

पछिल्लो पटक बढेको आर्थिक मन्दी, धमाधम बैंकहरुले कर्जाको ब्याजदर बढाएसँगै सेयर बजार ओरालो लाग्न पुगेको उनको भनाइ छ । ‘अहिलेको ब्याजदर कुनै डिमाण्ड र सप्लाइले बढाएको होइन, यो त राष्ट्र बैंकको नीतिले बढाएको हो वा बढाइएको हो,’ रौनियारले भने, ‘यसले सेयर बजारमात्र होइन, अन्य प्रायः सबै आर्थिक क्षेत्र तहसनहस हुने स्थितिमा पुगेको छ । यसको जवाफदेहिता कसले लिने ?’ उनले प्रतिप्रश्न गरे ।

कोभिड–१९ को तीव्र सङ्क्रमणका बिच लकडाउनमा पनि सेयर बजारले राम्रो प्रतिफल प्राप्त गरिरहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा ‘अल टाइम हाई’ रहँदै नेप्से सूचक ३२ सय अंक नजिक पुगेको थियो । यद्यपि, यो अंक क्रमशः घटेर अहिले १९ सयमा झर्न पुगेको छ ।

अहिलेको ब्याजदरले उद्योग, व्यवसायीहरू समेत तीव्र संकटमा छन् । पुरानो कर्जाको ब्याजदर बढेर तिर्न नसक्ने अवस्थामा पुगेका छन् भने आर्थिक मन्दीका बाबजुद बढेको ब्याजदरमा कर्जा लिएर लगानी गर्ने स्थितिमा छैनन् । जसको प्रभाव अन्ततोगत्वा मुलुकको आर्थिक उपार्जनमा परिरहेको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन ‘नेपाल बैंकर्स संघ’ का अध्यक्ष सुनिल केसी भने बजारको डिमाण्ड र सप्लाइकै कारण ब्याजदर बढेको जिकिर गर्दै यो अस्वाभाविक नभएको तर्क गर्छन् ।

‘१० वर्षअघिको ब्याजदर र अहिलेको ब्याजदर लगभग उस्तै छ । २०६९ असारमा बैंकको ब्याजदर औसत १३.६० प्रतिशत थियो । अहिले पनि कर्जाको ब्याजदर औसत १३.०३ प्रतिशतमात्र छ । त्यसैले अस्वाभाविक रूपमा ब्याजदर बढ्यो भन्नु त्यति न्यायोचित हुँदैन,’ केसीले भने । बजारको डिमाण्ड र सप्लाइकै कारण पछिल्लो समय ब्याजदर बढेको बताउँदै केसीले यसलाई कसरी कम गर्न सकिन्छ भनेर बैंकहरु लागिरहेको बताए ।

यद्यपि, संघकै तथ्याङ्क अनुसार बैंकको ब्याजदर पछिल्लो १० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । २०७८ असारमा बैंकको कर्जाको औसत ब्याजदर ८.४३ प्रतिशत रहेकोमा २०७९ माघसम्ममा बढेर १३.०३ प्रतिशत पुगेको छ । १० वर्ष अघि २०६९ असारमा भने यस्तो ब्याजदर १३.६० प्रतिशत थियो ।

संयममता अपनाउन अध्यक्ष हमालको आग्रह

घट्दो सेयर बजारलाई लिएर अत्तालिएका लगानीकर्ताहरूलाई आश्वस्त पार्दै नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारमा पुनः सुनौलो दिन आउने बताएका छन् । गत बुधबार राजधानीमा लगानीकर्ताहरूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले आर्थिक समस्याका बिच सेयर बजार पनि डाउन हुन पुगेको बताउँदै छिटै कोल्टे फेर्ने बताए ।

‘अहिलेको परिस्थितिबाट आत्तिहाल्नु पर्दैन । केही समय धैर्य र संयमता अपनाउँ, पक्कै सुनौलो दिन फर्किनेछ,’ हमालले भने, ‘बरु बजारको वास्तविक स्थिति बुझेरमात्र लगानी गरौँ ।’

बजारको ट्रेण्ड नबुझी लगानी गर्दा साना लगानीकर्ताहरू बढी मारमा परेको उनको भनाइ थियो । सेयर बजारको सबलीकरण र स्थायित्वका लागि ब्रोकर कम्पनीहरू सक्षम हुन आवश्यक रहेको बताउँदै हमालले आफू बोर्डको अध्यक्ष भएर आएलगत्तै ब्रोकर लाइसेन्स, स्टक एक्सचेञ्ज लगायतमा खुला नीति लिइएको बताए ।

‘कुनै पनि क्षेत्र बलियो हुन त्यसको नीति र सिस्टम बलियो चाहिन्छ, न कि कोटा प्रणाली । धितोपत्र बजारको विकास एवं विस्तारका लागि ब्रोकर कम्पनीहरू बलियो बन्न आवश्यक छ । यसैले सुरुवाती दिनमै मैले ब्रोकर कम्पनीहरूको पुँजी वृद्धि गर्नुपर्छ भनेरै नीति बनाएँ,’ उनले भने, ‘यसमा कोटा प्रणालीभन्दा पनि खुला नीति अपनाएर पुँजी वृद्धि गरायो भने खास उपलब्धि हासिल हुन्छ ।’

तर, नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्जसँगै ब्रोकर लाइसेन्सका लागि खुल्ला गरिएको आवेदन विरुद्ध सर्वोच्चमा मुद्दा परेको भन्दै उनले यसको छिटै किनारा लाग्नेमा आफू विश्वस्त रहेको बताए ।

आम लगानीकर्ताहरू पनि सर्वोच्चमा विचाराधीन मुद्दाको छिटो टुंगो लगाउन माग गरिरहेका छन् ।

अर्थमन्त्री डा.महतसँग लगानीकर्ताहरुको अपेक्षा

तीव्र आर्थिक मन्दीका बिच खस्किँदो सेयर बजारले नवनियुक्त अर्थमन्त्री डा.प्रकाश शरण महतसँग ठूलो अपेक्षा राखेको छ । प्रायः कम्युनिस्ट नेतृत्व भन्दा प्रजातान्त्रिक नेतृत्वमै बढी विश्वास राख्ने धितोपत्र बजार नेपाली कांग्रेसका डा.महत अर्थमन्त्री बनेसँगै उत्साहित छ ।

अर्थमन्त्री डा.महतले बजारको वास्तविक समस्या बुझेर त्यसको समाधानमा लाग्नेमा आम लगानीकर्ताहरू आशावादी छन् । अर्थमन्त्रीले प्रधानमन्त्री र राष्ट्र बैंकलाई समेत विश्वासमा लिएर अर्थतन्त्र सुधारमा लाग्नुपर्ने बजार विश्लेषक छोटेलाल रौनियार बताउँछन् ।

‘अबको भरोसा भनेको अर्थमन्त्रीसँगै हो । उहाँले बजारको समस्या समाधान गर्न र मुलुकको अर्थतन्त्र सही ट्रयाकमा लैजान नेतृत्वदायी भूमिका खेल्नुहुन्छ भन्ने मेरो अपेक्षा छ,’ उनले भने, ‘तरलता अभाव र उच्च ब्याजदरका कारण सिर्जित समस्या समाधानमा उहाँ लाग्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो ।’

लामो समयपछि अर्थतन्त्र बुझेको विज्ञ अर्थमन्त्री मुलुकले पाएको भन्दै लगानीकर्ताहरू अर्थमन्त्री डा. महतको सक्रियतामा मुलुकको अर्थतन्त्रले कोल्टे फेर्ने अपेक्षा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप