मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सरकारको १०० दिन

आफैँ दुई महिना बसेको प्रचण्ड सरकारलाई एमालेको शून्य अंक !

सोमबार, २० चैत २०७९, १५ : १९
सोमबार, २० चैत २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ । पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारले तीन महिनाको अवधिमा गठबन्धन बदल्नबाहेक देश, जनता र राष्ट्रको पक्षमा कुनै पनि काम गर्न नसकेर असफल भएको प्रमुख प्रतिपक्ष एमालेको विश्लेषण छ ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सय दिनसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुले नै यो सरकार कति कमजोर र असफल छ भन्ने पुष्टि भएको बताउँछन् । ‘मन्त्रिमण्डललाई पूर्णता दिनै नसक्ने सरकारको सफलता असफलता मापन गर्न नै जरुरी छैन, बुझ्ने भाषामा भन्नुपर्दा यो सरकार पूर्णतः असफल । असफल भनिसकेपछि यसलाई कुनै अंक दिन जरुरी छैन’, प्रचण्ड नेतृत्वको सरकारमा केही दिन अर्थमन्त्री बनेका पौडेलले भने, ‘किनभने यो सरकारले सफल हुने कुनै काम नै गरेको छैन ।’

एमालेले वर्तमान सरकारले देश, राष्ट्र र जनताका कुनै पनि समस्या सम्बोधन गर्न नसक्ने ठोकुवासमेत गरेको छ । ‘यो सरकारले देश, राष्ट्र र जनताका कुनै पनि समस्या सम्बोधन गर्न सक्दैन र गरेको पनि छैन,’ उनले भने । मुलुकको वर्तमान अर्थतन्त्र कहालिलाग्दो अवस्थामा पुगेको भन्दै उनले प्रधानमन्त्रीले केही दिन अघि अर्थतन्त्रका सूचकांकमा सुधार आएको भनेर गलत सन्देश प्रवाह गरेको आरोप लगाए ।

‘अहिलेको हाम्रोे अर्थतन्त्रका सूचकांकहरुलाई हेर्न गत वर्ष यही समयमा जति राजस्व परिचालन भएको थियो, त्यो हेर्नुपर्छ’, उनले भने, ‘यो वर्षको लक्ष्यको तुलनामा मात्रै होइन, गत वर्षको तुलनामा पनि राजस्व परिचालन कम छ । पुँजीगत खर्च पनि कम छ । राजस्वले साधारण खर्च धान्न सक्ने अवस्था छैन ।’

एमालेले सरकारले निजी क्षेत्रको विश्वास समेत जित्नु त परै जाओस्, एकपछि अर्को गर्दै निजी क्षेत्रको विश्वास टुट्दै गएको जनाएको छ । ‘सरकारसँग निजी क्षेत्रको विश्वास टुटिरहेको छ । खराब कर्जा बढिरहेको छ । उत्पादन र रोजगारी र निर्यात घटिरहेको छ, यी तथ्यांकले बताउँछ कि मुलुकको आर्थिक अवस्था के छ भनेर’, पौडेलले भने ।

उनले यो सरकारले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै एक सय दिनमै सत्ता गठबन्धनमा रहेका दलहरु बाहिरिन थालिसकेकाले यसबाट राजनीतिक स्थिरताको कल्पना गर्न नसकिने बताए । ‘गठबन्धनमा एकपछि अर्को समस्या आउन थालिसक्यो । गठबन्धन आपसी अन्तरद्वन्द्वको जञ्जालमै फस्ने देखिन्छ, हामीले केही गर्नै पर्दैन’, उनले भने, ‘सय दिनसम्म पनि मन्त्रिपरिषदलाई कसरी पूर्णता दिने र भागबण्डा कसरी मिलाउने भनेर समय कटाउनु भनेको यो भन्दा लज्जाको विषय के हुनसक्ला र ?’

sapath_15_96oHWvvXl3

यो सरकारले परराष्ट्र नीतिमा सुधार ल्याउने संकेत समेत नखेखिएको एमालेको भनाइ छ । ‘किनभने यो सरकारले असन्तुलित कदम चाल्ने देखिन्छ’, पौडेलले भने, ‘स्वतन्त्र र असंलग्न परराष्ट्र हाम्रो नीति भए पनि यसले त्यसलाई जोगाउला भन्न सक्ने अवस्था देखिँदैन,’ नेता पौडेलले भने । यो सरकारलाई सुझाव दिनुको अर्थ समेत नरहेको उनले बताए ।

एमालले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै पौडेलले जनता र राष्ट्रका माग, मुद्दाका आवाज उठाउनु नै एमालेको अबको काम हुने बताए । ‘जनताका माझमा पुग्छौं, उनीहरुका आवाज उठाउँदै एमालेलाई अबको चार वर्षमा सबल राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्छौं’, पौडेलको भनाइ छ ।

प्रचण्ड सरकारको सय दिनमा करिब २ महिना एमाले नै यो सरकारमा सामेल थियो । पुस १० गते बनेको प्रचण्ड नेतृत्वको सरकारबाट एमाले फागुन १६ मात्रै बाहिरिएको हो । सुरुमा सरकार गठन हुँदा एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमतले समर्थन गरेका थिए । सरकारलाई समर्थन गरेका जसपा र नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएका थिएनन् । एमाले, रास्वपा र राप्रपाले सरकार छोडेपछि कांग्रेससहित जसपा, लोसपा नागरिक उन्मुक्ति पार्टी शुुक्रबारमात्रै सरकारमा सहभागी बनेका छन् भने जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप