बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व बढाउन र चुहावट नियन्त्रण गर्न गृह र अर्थ मन्त्रालयले समन्वय गर्ने

सोमबार, २० चैत २०७९, २१ : ११
सोमबार, २० चैत २०७९

काठमाडौँ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व चुहावट नियन्त्रणमा प्रभावकारीरुपमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् । राजस्व सङ्कलनको विद्यमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा दुई मन्त्रालयबीच  प्रभावकारी समन्वय कायम गर्दै स्थानीय संयन्त्रलाई सक्रिय बनाई राजस्व परिचालनलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको हो ।

बैठकमा गृहमन्त्री श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न गृह मन्त्रालयको संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गरिने उल्लेख गर्दै स्वार्थरहित भई आ-आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले कर्मचारीहरूलाई कुनै राजनैतिक दबाब र प्रभावमा नपरी ढुक्कसँग उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए ।

उक्त अवसरमा अर्थमन्त्री महतले राजस्व सङ्कलनका हिसाबले हामी अत्यन्तै चुनौतीपूर्ण घडीमा रहेको हुँदा सबैले आ-आफ्नो जिम्मेवारी अनुरूपको कार्य इमानदारीपूर्वकता सम्पादन गर्दै राजस्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि समन्वयात्मक रूपमा अधिकतम प्रयास केन्द्रित गर्न निर्देशन दिए । 

उनले यसका लागि राजनैतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्दै राजस्व चुहावट नियन्त्रणसँग सम्बन्धित सबै निकायलाई इमानदारीका साथ आ-आफ्नो क्षमताको उच्चतम प्रयोग गर्नुपर्ने जिकिर गरे । 

आजको बैठकमा राजस्व सङ्कलनमा देखिएको चुनौती, राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा भएका प्रयासको विषयमा समेत छलफल एवं समीक्षा गरिएको थियो। कार्यक्रममा अर्थ सचिव, सचिव(राजस्व), गृह सचिव, सुरक्षा निकायका प्रमुख, राजस्व प्रशासन सम्बद्ध विभागका महानिर्देशकहरू लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप