मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
सारांश
- सन् २०२६ को विश्वकपमा नयाँ पुस्ताका खेलाडीहरूले पनि ठूलो प्रभाव पारिरहेका छन् ।
- सेनेगलका इब्राहिम एम्बाये १८ वर्ष १४३ दिनको उमेरमा गोल गर्दै विश्वकप इतिहासकै चौथो कान्छा गोलकर्ता बने ।
- यस विश्वकपमा धेरै युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई स्थापित गरेका छन् ।
विश्वकपका अनुभवी खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो मात्र होइन, सन् २०२६ को विश्वकपमा नयाँ पुस्ताका खेलाडीहरूले पनि ठूलो प्रभाव पारिरहेका छन् ।
संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको विश्वकपका लागि छनोट भएका २१ वर्ष वा सोभन्दा कम उमेरका ८५ खेलाडीमध्ये धेरैले यो अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेका छन् । उनीहरू कुनै सङ्कोचबिना उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सेनेगलका इब्राहिम एम्बायेले जुन १६ मा न्युजर्सीमा फ्रान्सविरुद्ध ३–१ ले पराजित भएको खेलमा अन्तिम समयमा सान्त्वना गोल गरे । १८ वर्ष १४३ दिनको उमेरमा गोल गर्दै उनी विश्वकप इतिहासकै चौथो कान्छा गोलकर्ता बन्न सफल भए । त्यसको पाँच दिनपछि लामिन यामालले १८ वर्ष ३४३ दिनको उमेरमा एटलान्टामा साउदी अरेबियाविरुद्ध स्पेनको ४–० को जितमा टोलीका लागि पहिलो गोल गरे । यद्यपि, केही अन्य युवा खेलाडीहरू पनि छन्, जो धेरै चर्चामा नआए पनि मैदानमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
मेक्सिकोका किशोर आक्रामक मिडफिल्डर गिल्बेर्टो मोरा जन्मिँदा मेसी, रोनाल्डो र लुका मोड्रिचले सन् २००६ को विश्वकप खेलिसकेका थिए । मोरा जुन ११ मा दक्षिण अफ्रिकामाथि २–० को जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा १७ वर्ष २४० दिनका थिए । योसँगै उनी विश्वकपमा आयोजक राष्ट्रका तर्फबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
लामिन यामाल विश्वकपका प्रमुख खेलाडी हुने अनुमान पहिलेदेखि नै गरिएको थियो । तर समूह चरणबाट अरू पनि नयाँ युवा स्टारहरू उदाएका छन् । धेरैको ध्यान खिच्न सफल पाँच युवा खेलाडीहरू यसप्रकार छन्ः
अयुब बुआद्दी (मोरक्को, १८ वर्ष)
जुन १३ मा ब्राजिलविरुद्ध विश्वकपमा डेब्यु गर्दा लिलका मिडफिल्डर अयुब बुआद्दीले ६६ पास पूरा गरे । यससँगै उनी यस शताब्दीमा विश्वकपको एकै खेलमा ५० भन्दा बढी पास पूरा गर्ने दोस्रो सबैभन्दा कान्छा खेलाडी बने ।

ब्राजिलविरुद्धको खेल विश्लेषणका क्रममा इङ्गल्यान्डका पूर्वकप्तान एलन शियररले उनको प्रदर्शनबाट प्रभावित हुँदै भनेका छन्, ‘बुआद्दी बल नियन्त्रणमा निकै संयमित देखिए र मिडफिल्डबाट खेलको लय नियन्त्रण गर्ने प्रयास गरे ।’
पछि यी किशोर खेलाडी सन् १९६६ यताकै इतिहासमा १८ वर्ष वा सोभन्दा कम उमेरमा दुई खेलमा ५० भन्दा बढी पास पूरा गर्ने पहिलो खेलाडी बने । स्कटल्यान्डविरुद्धको खेलमा उनले ६४ पास पूरा गरेका थिए ।
यान डियोमान्दे (आइभरी कोस्ट, १९ वर्ष)
पेरिस सेन्ट–जर्मेन र लिभरपुल दुवै यान डियोमान्देलाई अनुबन्ध गर्न इच्छुक छन् । यस विश्वकपमा उनको उत्कृष्ट ड्रिब्लिङ क्षमता हेर्दा उनीप्रतिको यो आकर्षण स्वाभाविक देखिन्छ । आरबी लाइपजिगका यी किशोर खेलाडीले इक्वेडरमाथि १–० को जितमा पाँचवटा गोलको अवसर सिर्जना गरे भने जर्मनीसँग २–१ ले पराजित भएको खेलमा दुई निर्णायक पास (असिस्ट) दिए ।

टोटनह्याम र ब्रेन्टफोर्डका पूर्वप्रशिक्षक थोमस फ्र्याङ्कले बीबीसी स्पोर्टसँग भनेका छन्, ‘अहिले सबैको चर्चाको केन्द्र डियोमान्दे बनेका छन् । उनले मैदानमा जे गर्न सक्छन्, त्यो मेरो दिमागमा अमिट भएर बसेको छ ।’
यसअघि लगातार तीन विश्वकपमा समूह चरणबाटै बाहिरिएको आइभरी कोस्ट यसपटक पहिलो पटक नकआउट चरणमा पुगेको छ, जसको प्रमुख श्रेय डियोमान्देलाई पनि जान्छ ।
जोहान मान्जाम्बी (स्विट्जरल्यान्ड, २० वर्ष)
जोहान मान्जाम्बी कुनै समय आफ्नो युवा टोलीका गोलरक्षक थिए । उनका पहिलो फुटबल आदर्श जर्मनीका म्यानुएल नोएर थिए । तर अहिले उनी एक सिर्जनात्मक मिडफिल्डर बनेका छन्, जसलाई आक्रमणमा अघि बढ्न र गोल गर्न मनपर्छ ।

स्विट्जरल्यान्डले समूह चरणमा गरेको सात गोलमध्ये तीन गोल मान्जाम्बीले नै गरे ।
२० वर्ष २४७ दिनको उमेरमा उनी विश्वकप इतिहासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर एउटै खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । साथै विश्वकपमा स्विट्जरल्यान्डका लागि यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी हुन् ।
यो उपलब्धि उनले जुन १८ मा बोस्निया–हर्जेगोभिना विरुद्ध हासिल गरेका थिए । उनी ७१औँ मिनेटमा मैदान प्रवेश गर्दा खेल ०–० को बराबरीमा थियो, त्यसपछि स्विट्जरल्यान्डले ४–१ को जित निकाल्यो ।
यस शताब्दीमा विश्वकपमा २१ वर्षमुनिका खेलाडीमध्ये चार वा सोभन्दा बढी गोलमा प्रत्यक्ष योगदान दिने केवल तीन खेलाडीमध्ये मान्जाम्बी पनि एक हुन् । उनीअघि सन् २०१८ मा किलियन एम्बाप्पे (४) र सन् २०१० मा थोमस मुलर (८) ले यस्तो उपलब्धि हासिल गरेका थिए ।
केरिम अलाजबेगोभिच (बोस्निया–हर्जेगोभिना, १८ वर्ष)
१८ वर्ष २७६ दिनका केरिम अलाजबेगोभिचले जुन २४ मा कतारविरुद्ध पेनाल्टी बक्सबाहिरबाट शानदार गोल गरे । योसँगै उनी सन् १९६६ यताकै विश्वकप इतिहासमा बक्सबाहिरबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
यसअघि यो कीर्तिमान सन् २०१८ मा क्रोएसियाविरुद्ध १९ वर्ष २०७ दिनको उमेरमा गोल गर्ने किलियन एम्बाप्पेको नाममा थियो । गत सिजन रेड बुल साल्जबर्गबाट खेलेका यी युवा खेलाडीले बोस्निया–हर्जेगोभिनाका तीनवटै समूह चरणका खेल खेले, जसमध्ये दुई खेलमा उनी सुरुआती रोजाइमै थिए । टोली नकआउट चरणमा पुगेको छ र जुलाई १ मा क्यालिफोर्नियामा सह–आयोजक संयुक्त राज्य अमेरिकासँग खेल्नेछ ।

कतारमाथि ३–१ को जित निकाल्दा अलाजबेगोभिचले सबैभन्दा धेरै १७ ट्याकल गरे, जसमध्ये १० मा उनी सफल रहे । उनले नै सबैभन्दा धेरै ६ पटक सफल ड्रिब्लिङ गरे, सबैभन्दा बढी चार फाउल जिते र दुवै टोलीका खेलाडीमध्ये संयुक्त रूपमा सबैभन्दा धेरै दुई गोलका अवसर सिर्जना गरे ।
नेस्टोरी इरानकुन्डा (अस्ट्रेलिया, २० वर्ष)
२० वर्ष १२५ दिनका नेस्टोरी इरानकुन्डाले टर्कीमाथि २–० को जितमा पहिलो गोल गर्दै विश्वकपमा अस्ट्रेलियाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए । विश्वकप डेब्युमै अस्ट्रेलियाका लागि गोल गर्ने उनी जोन अलोइसी, टिम काहिल र क्रेग गुडविनपछि चौथो खेलाडी हुन् ।

इरानकुन्डाले भने, ‘यो अविश्वसनीय छ । मेरो सपना पूरा भएको छ ।’
सन् २००६ मा तान्जानियाको शरणार्थी शिविरमा जन्मिएका इरानकुन्डाका बुरुन्डी मूलका आमाबुबा गृहयुद्धका कारण आफ्नो देश छाड्न बाध्य भएका थिए । वाटफोर्डका समर्थकहरू इरानकुन्डाका बारेमा राम्रोसँग जानकार छन् । उनले २०२५–२६ सिजनमा च्याम्पियनसिपमा वाटफोर्डका लागि चार गोल गरेका थिए । नियमित रूपमा पहिलो रोजाइको टोलीबाट खेल्नका लागि उनी सन् २०२५ मा बायर्न म्युनिखबाट वाटफोर्ड पुगेका थिए ।
बीबीसीबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण