बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

...जसका कारण केही उद्योगले गति लिए

सोमबार, २१ फागुन २०७४, १४ : १६
सोमबार, २१ फागुन २०७४

प्रचण्डको प्रधानमन्त्रित्व कालमा आशालाग्दा मन्त्रीका रूपमा नेपाली काँग्रेसबाट दुई युवा नेताले मन्त्रिमण्डलमा प्रवेश पाएका थिए । स्वास्थ्यमन्त्रीका रूपमा गगन थापा र उद्योगका मन्त्रीका रूपमा नविन्द्रराज जोशी ।

स्वास्थ्य मन्त्रीका रूपमा थापाले गरेका सुधारका कामहरूको चर्चा हुने गरे पनि जोशीका कार्यले भने भनेजति चर्चा पाएनन् ।

रुग्ण र बन्द भएका उद्योगलाई पुनर्जीवन दिनका लागि जोशीले आफ्नो कार्यकालमा भरमग्दुुर प्रयास गरेको थिए ।

जोशीको कामको प्रतिफलले केही उद्योगहरूले नयाँ जीवन पाएका छन् ।

जोशीको पहलमा पुनर्जीवन पाएका केही उद्योगले सञ्चालन नाफा पनि कमाउन थालेका छन् ।

जोशी उद्योगमन्त्री हुनुभन्दा अघि उदयपुर सिमेन्ट कारखाना घाटामा सञ्चालित थियो भने नेपाल औषधि लिमिटेडले सात वर्षदेखि सिटामोलको उत्पादन बन्द गरेको थियो ।

२०७३ को साउनमा उद्योगमन्त्री बनेका जोशीको कार्यकाल गत जेठमा सकिएको थियो । नौ महिने कार्यकालमा जोशीले बन्द रहेका र घाटामा सञ्चालित उद्योगहरूलाई पहिलो प्राथमिकतामा राखेका थिए ।

नविन्द्रले के गरे ?
उद्योगमन्त्रीका रूपमा जोशीले कार्यभार सम्हालेको समयमा उदयपुर सिमेन्ट कारखाना ४० करोड घाटामा थियो भने सिटामोलको उत्पादन बन्द अवस्थामा थियो ।

उदयपुर सिमेन्ट कारखाना निरन्तरको घाटाले बन्द हुने अवस्थामा पुगेको थियो ।

नेपालमा उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण छ भन्ने उनलाई लागेको थियो । सरकारले उद्योग सञ्चालनका लागि सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने सङ्कल्प थियो ।

सरकारको स्वास्थ्य र शिक्षामा सबैभन्दा बढी दायित्व रहेको उनले बताए । बन्द रहेको सिटामोलको उत्पादनका लागि उनले तदरुकता देखाए । नेपालीहरूका लागि सिटामोल ब्रान्ड नाम पनि हो । सिटामोल औषधिका रूपमा धेरै खपत भएको हुन्छ ।

बन्द रहेका उत्पादन सुचारु हुनाले रोजगारी पनि सिर्जना हुनुका साथै आम नागरिकले रिजनेबल मूल्यमा सिटामोल प्राप्त गर्ने हुनाले  सिटामोलको उत्पादनलाई उच्च प्राथमिकता दिएको उनले बताए ।

सरकारी उद्योग तथा संस्थानहरू धराशायी हुनुको मुख्य कारण राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र अनावश्यक कर्मचारीको भार रहेका छन् । जोशीले मन्त्रीमा नियुक्त भइसकेपछि उद्योगहरूको वस्तुस्थिति बुझ्दा तिनै कारणले उद्योगहरूले गति लिन नसकेको निक्र्यौल गरे । अन्तरआत्मामा केही गर्छु भन्ने सङ्कल्प छ भने गर्न सकिने धेरै रहेको उनको बुझाइ छ ।

नेपाल औषधि लिमिटेडमा जोशी पहिलो पटक पुग्दा बन्द अवस्थामा थियो । लिमिटेडका महाप्रवन्धकको पदमा कोही थिएनन् । उनले महाप्रवन्धक नयाँ नियुक्त गरे । महाप्रवन्धकलाई योग्यता र अनुभवका आधारमा छनौट गरे । आफै छनोट नगरी जोशीले डा. भगवान कोइरालाको छनौट टोलीलाई अधिकार दिए । छनोट भएका नयाँ जीएमलाई ‘बेइमानी हुनुहुँदैन’ यति मात्रै भने ।   उनले ‘कर्मचारीलाई काम गरे खान पाउने र काम नगरे खान नपाउने’ कडा निर्देशन दिए । धेरै मेसिनहरू काम लाग्दैनन् भनी थन्क्याइएको थियो । जीवन पैसाभन्दा पनि महत्वपूर्ण भएकाले सिटामोल उत्पादन गर्नुपर्छ भन्ने उनलाई लाग्यो । निजी तथा बाहिरी कम्पनीसँग सरकारले प्रतिस्पर्धा गर्नसक्ने आत्मबल भएकै कारण तत्परता लिएको उनले बताए । मानव जीवनसँग जोडिएका केही संवेदनशील विषयले पनि हामी सक्छौँ भन्ने आत्मविश्वास जागेको बताए ।

उदयपुर, हेटौँडा कारखानामा जोशीले कर्मचारीमा परिवर्तन गर्नुपर्ने कारण देखेनन् । भएकै कर्मचारीहरूलाई उत्पादन र गुणस्तरमा जोड दिन आग्रह गरे । माथिल्लो निकायबाट उनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । हिजो के भएको थियो, उनले सोधेनन् । भविष्य राम्रो हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

उनले मन्त्रीकालमा गरेको अर्को अनुभव छ– संस्थान तथा सरकारी उद्योगहरू डुब्नुपर्ने कारण नै छैन । उनले भने ‘उस्तै कार्य, उही लगानी, उही बजार–कसरी घाटा हुन्छ ? त्यसले के देखायो भने कहीँ न कहीँ समस्या छ ।’ समस्या राजनीतिक दलका नेताको कार्यशैलीमा भएको जोशीको ठहर छ ।


 
ती उद्योग अहिले कस्ता भए ?
सरकारी लगानीमा स्थापित नेपाल औषधि लिमिटेडले गत सोमबारदेखि आफ्नो उत्पादन पुनः सुरु गरेको छ । सोमबारदेखि परीक्षण उत्पादन सुरु गरेको लिमिटेडले व्यावसायिक रूपमा भने फागुनको अन्तिम सातादेखि बजारमा उत्पादन पठाउने भएको छ । विसं. २०६६ देखि बन्द रहेको कम्पनीले हरेक महिना एक÷एक उत्पादन थप्दै जाने बताइएको छ । विगतमा एक सय २० प्रकारका औषधी उत्पादन गरेको कम्पनीले पछिल्लो समय जीवनजल मात्रै उत्पादन गर्दै आएको थियो ।

०२९ मा सरकारी तवरमा सञ्चालित उद्योग ०५८ देखि घाटामा जान थालेको थियो । पूर्वमन्त्री जोशीको पहलका कारण उद्योगले गति लिएको छ ।

४० करोड घाटामा गएको उदयपुर सिमेन्टलाई जोशीको सक्रियतामा २४ घण्टा नै सञ्चालनमा ल्याइएको थियो । असल व्यवस्थापनका कारण उद्योगले उत्पादनमा वृद्धि गर्दै ११ करोड नाफा कमाएको छ ।

नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा रहेको उदयपुर सिमेन्ट कारखाना  ०४५ मा जापान सरकारको सहयोगमा निर्माण भएको थियो । कारखानामा चरम राजनीति हावी भएपछि निरन्तर घाटामा सञ्चालित थियो । प्रर्याप्त बिजुली र जोशीको भूमिकाले कारखानाले दोब्बरभन्दा बढी उत्पादन क्षमता बढाएको छ ।
 
‘कार्यावधि छोटो हुँदा धेरै गर्न चाहेर पनि सकिन्न’
 लगानी बोर्डबाट १४ खर्ब लगानीको माग गरेको थिएँ । त्यसलाई लक्षित क्षेत्रमा लगानी गर्ने समय नै भएन । दश वर्षभित्र सबै युवाहरूलाई रोजगार दिन सक्छु भनेर कार्यक्रमसहित लागेको थिएँ । हेटौँडा सिमेन्टका लागि नियम कानुुन बनाउँछु भन्दा कसैले खिसीटिउरी पनि गरे । अरूमा र ममा फरक छ भनी म गर्नसक्छु भनी पत्रकारहरूलाई बुझाउनुपर्यो ।

वीरगञ्ज चिनी कारखाना र गोरखकाली टायर उद्योगलाई पुनर्जीवनका लागि पहल गरेको थिएँ तर कार्यकाल सकियो । मोरङको जुटमिल भने आफ्नो हैसियतले गर्न नसक्ने अवस्थामा थियो ।

जनताले राम्रो काम गरेको भन्दा गौरवान्वित हुने उनले बताए । ‘पुनः यस्तै काम गर्ने प्रेरणा पाएको छु’ भन्दै उनी खुसी देखिए । प्रतिनिधिसभामा झिनो मतले पराजित जोशीले किन हारे, अहिलेसम्म उनले भेउ पाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप