शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाराका लागि रमेश खरेल नौलो होइन’

शुक्रबार, ०१ वैशाख २०८०, ११ : ५७
शुक्रबार, ०१ वैशाख २०८०

नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेल यतिबेला बारामा छन् । उनी यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा उम्मेदवार छन् । चुनाव प्रचार अभियान अन्तर्गत उनी आम मतदाताको घरघर पुग्दै उनीहरुको गुनासो सुन्ने र आफ्ना एजेण्डा सुनाउन व्यस्त छन् । उनी बारा–२ का नागरिकको समस्या समाधान गर्न सक्ने एकमात्र सक्षम पात्र आफू भएको दाबी गर्छन् ।

बारामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन त्यति बलियो छैन । तर, पनि उनी आफूले चुनाव जित्न सक्ने दाबी गर्दै आएका छन् । बाराका जनताको सेवामा आफूले पु¥याएको योगदानको आधारमा मत दिने उनको विश्वास छ ।

उनी सो क्षेत्रमा ‘एसपी रमेश खरेल’ का रुपमा परिचित छन् । प्रहरी सेवामा रहँदा पर्सा जिल्ला प्रहरी कार्यालयका रुपमा उनले केही समय सो क्षेत्रमा बिताएका थिए । पर्सा जिल्लामा रहेर प्रहरीको कमाण्ड सम्हालेको अवस्थालाई फाइदा उठाउने पक्षमा उनी देखिन्छन् ।

यद्यपि बाराका मतदाताले उम्मेदवारहरुको भूगोललाई पनि मापदण्ड बनाउने संकेत देखिएको छ । जातीय भावना र मधेसी मुलको नागरिकहरुका बाहुल्यता रहेको उक्त क्षेत्रमा उनलाई निकै चुनौती छन् ।

सत्ता गठबन्धनका बलिया उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोतम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा पनि सोही क्षेत्रबाट चुनाव लड्दैछन् । इमानदारिताको आधारमा जनताले आफूलाई मत दिने खरेलको दाबी छ ।

चुनावमा केन्द्रित भएर खरेलसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

चुनावी अभियान कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?

हामी अहिले जनताको घरघरमा पुगिरहेका छौं । उहाँहरुलाई भनिरहेका छौं, समय आइसक्यो । इमान र बेइमान छुट्याउने समय आइसकेको छ । इमानदार र राम्रो मान्छेलाई भोहाल्नुस् । त्यसका लागि मेरो इतिहास हेर्नु र अन्य उम्मेदवारको इतिहास पनि हेर्नुहोस् । इतिहास हेरेर निर्णय गर्नुहोस् भन्दै हामी बारा–२ को गाउँगाउँ पुगिरहेका छौं ।

कस्ता कार्यक्रम नागरिकमाझ लगिरहनु भएको छ ?

अहिले हामीले जनतालाई सचेत गर्ने, ‘सेन्सटाइज’ गर्ने, ठाउँठाउँमा मास मिटिङ र परिचयात्मक कार्यक्रम लिएर अघि बढिरहेका छौं । जनताको समस्या के छ बुझ्ने, भूगोल र बस्तुस्थितिबारे बुझ्ने र जनतालाई आफ्ना कुरा भन्ने कार्यक्रमहरु छन् ।

तपाई आमनागरिकको घरदैलोमा पुग्दै गर्दा उनीहरुको अपेक्षा कस्तो पाउनुभयो ?

ओहो ! धेरै छ । ठुलो छ । जनताहरु निराश छन् । जनताप्रति ठुलो अन्याय भएको छ । उहाँहरुको दोहन भएको छ । यति सुगम ठाउँ छ बारा । बारा त काठमाडौं, मोरङपछि देशको तेस्रो धनी जिल्ला हो । यहाँका गाउँगाउँ टोलटोलको वातावरण अति नै स्वच्छ छ । यहाँको अवस्था हेरेर ३३ वर्षसम्म शासन सत्ता चलाउनेहरुलाई मैले त धिक्कारेँ । उनीहरुले गरेको अन्यायले मलाई त नाम लिन पनि मन लाग्दैन । उनीहरुले शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रमा गरेको अन्याय हेर्नुस् त ! यहाँको विकास र नागरिकहरुको लिभिङ स्टाण्डर्ड हेर्दा मलाई धिक्कार्न मन लाग्छ । मलाई त अनुहार हेर्न पनि मन लाग्दैन ।

नेतृत्वसँग नागरिकको थुप्रै गुनासो छन् । उहाँहरुको अपेक्षालाई नेतृत्वले चासो नदिँदाको पीडा ठुलो छ । यसलाई सम्बोधन गर्न र नागरिकको अपेक्षालाई न्याय गर्न सक्षम हुनुहुन्छ ?

टफ छ । सजिलो छैन । तर, पोजेटिभ र हेल्दी इच्छाशक्तिका साथ हामीसँग उपलब्ध रिसोर्सेसहरुलाई दुरुपयोग नगरी, भ्रष्टाचार नगरी यहाँ धेरै उपलब्धि हासिल गर्न सकिन्छ । यहाँ रिसोर्सेसको कमी होइन, मनस्थितिको कमी हो । भ्रष्टाचारका कारणले समस्या भएको हो । गाह्रो छ । एकैपटक उनीहरुको अपेक्षा र चाहनालाई पूरा गर्न गाह्रो छ । तर, गर्न सकिन्छ । सम्भव छ । गरिरहेका छन् भन्ने भान उहाँहरुलाई दिलाउन सक्नु पर्छ ।

नागरिकको गुनासो सम्बोधन गर्न नसक्नुमा नेतृत्वको कमजोरीचाहिँ कहाँ रह्यो ?

सबैभन्दा ठुलो र एउटै कुरा भनेको भ्रष्टाचार । जहाँ पनि भ्रष्टाचार, आर्थिक कुरा आउने बित्तिकै सबैलाई खल्तीमा चाहिने । नागरिकसँग मतलव नै छैन । तपाईले देखिरहनु भएको होला, अहिले सुधार गर्न कति गाह्रो भइरहेको छ । कति ठुलो र महँगो चुनाव हुँदैछ, त्यो तपाईलाई थाहा नै होला । त्यो पैसा कहाँबाट आयो ? भ्रष्टाचार, दोहन, जसरी पनि कब्जा गर्ने मानसिकता छ । पावरमा जाने अनि दोहन गर्ने, ‘नेपाल आमा’को दोहन गर्ने ।

नागरिकको गुनासो र समस्या समाधानका लागि तपाईले कस्ता योजना ल्याउनु भएको छ त ?

मेरो योजनामा मैले सामान्य विषयमात्र समावेश गरेको छु । मैले नसक्ने कुरामा ‘प्रोमिस’ गरेको छैन । मकहाँ भएका रिसोर्सेजहरुलाई अप्टिमम पारदर्शी ढंगबाट काम गर्ने मेरो सोच छ । अहिले हेर्नुहोस्, केन्द्र छ, प्रदेश छ अनि स्थानीय सरकार छ । म एउटा सांसद भएर नीति बनाउने हो । यस्तो नीति बनाउने हो, यस्तो इस्टिच्यूशन डेभलप गर्ने हो कि त्यो तल्लो लेभलको स्थानीय सरकारले कुनै पनि कस्टमा भ्रष्टाचार गर्न नसकोस् । कुनै पनि काममा प्रदेश र केन्द्रले भ्रष्टाचार गर्न नसकोस् । यस्तो नीति र सिस्टम डेभलप गर्ने हो । विकास गर्नलाई सांसदसँग पैसा हुँदैन । समन्वय र सहकार्य गरेर काम गर्ने हो । स्थानीय र प्रदेश सरकारलाई के गर्न सकिन्छ भनेर विकासका योजनामाथि छलफल गर्ने हो । केन्द्रले पैसा पठाउने र यति पैसा आयो, यो पैसाले के गर्ने, यति यति काम गर्ने भनेर सिस्टम बनाउने हो । र केन्द्र सरकारले त्यसको पारदर्शी ढंगले अनुगमन गर्ने हो । नागरिकहरुको दैनिक जीवनस्तर उकास्न केन्द्रबाट आउने बजेटलाई कार्यान्वयमा सहजता बनाउने हो । नहर छ, पानी छैन । सडक धुलाम्य छ । कृषि प्रधान देशमा मल छैन । यस्ता समस्यालाई सहजता प्रदान गर्न पहल गर्ने हो । किन मल आउँदैन ? माथि कमिसनको खेल हुन्छ । जसले गर्दा किसानहरुले समयमा मल पाउँदैनन् । यस्ता विषयमा आवाज उठाउने हो । जनताको सुख दुःखमा नजिक भएर काम गर्ने, सक्ने कुराका लागि संघ र प्रदेश तथा स्थानीय तहसँग समन्वय गर्ने हो । मेरो सांसद इमानदार छ, काम गरिरहेको छ भन्ने नागरिकहरुलाई आश्वस्त पार्न सकियो भने पनि धेरै परिवर्तन ल्याउन सकिन्छ भन्ने लाग्छ ।

चुनावको चुनौती कतिको महसुस गर्नुभएको छ ?

धेरै छ । ठुलो एरिया छ । सीमित रिसोर्सेस छ । फेरि हामी ‘इथिक्स वेस्ड पोलिटिक्स’ गर्न चाहन्छौं । ‘इन्ट्रिग्रिटी’मा रहेर पोलिटिक्स गर्न चाहन्छौं । २९ लाखको सिलिङ छ । मान्छेहरु यति बिग्रिएका छन् । यहाँ तपाई आफै खोज्नुस् । करोडौं जनतालाई दोहन गरेको पैसा खर्च गर्न सुरु भइसकेको छ । पार्टीहरु त्यसमा लागिसके । मान्छेहरु ठेकेदार, विचौलियाहरु प्रयोग गरेर सोझा जनतालाई प्रभावमा पार्ने, दबाब दिने, धम्क्याउने जस्ता काम भइरहन्छन् । त्यसैले चुनाव ‘टफ’ छ । अहिलेदेखि दोहन ३०÷३५ वर्षदेखि मनी, मसल र म्यानिपुलेशनमा चलेको निर्वाचन ‘टफ’ छ । तर, हामी फेस गर्छौं र म्यानेज गर्छौं भन्नेमा विश्वस्त छौं ।

तपाई सत्ता र राजनीति सुधारको लागि भन्दै निर्वाचनको दौडमा हुनुहुन्छ । तपाई रास्वपाको उम्मेदवार, यो पार्टी पनि स्थापनाको छोटो समयमा थुप्रै विवादमा परिसकेको छ । यसलाई कसरी चिर्नु हुन्छ ?

विवादमाथि अनुसन्धान गर्न र निर्णय गर्ने निकाय छ । जो बदमास छ, त्यसलाई कानुनको दायरामा ल्याउनु पर्छ । हामी ‘रुल अफ ल’का लागि लडिरहेका छौं । दण्डहीनता अन्त्य हुनुपर्छ भनेर लडिरहेका छौं । हामी त यो ‘इन्स्टिच्युसन’ बलियो होस्, यसले राम्रोसँग अनुसन्धान गरोस् र गल्ती गर्नेलाई कानुनी दायरामा ल्याओस् भनेर लागिरहेका छौं । रास्वपाका विवादहरुलाई अहिले नै यसै हो भन्न सकिन्नँ । यो हतार हुन्छ । अनुसन्धानले के देखाउँछ, थाहा भइहाल्छ । कुनै पनि ठाउँमा, कुनै पनि पार्टीमा बदमास मानिसको स्थान हुँदैन । उनीहरुलाई कानुनको दायरामा ल्याउनु पर्छ । हामी जुन कुरा गर्छौं, त्यो लागु गर्नुपर्छ भन्नेमा विश्वास राख्छौं ।

गत मंसिर ४ मा भएको निर्वाचनमा तपाई काठमाडौं–१ बाट उम्मेदवार हुनुहुन्थ्यो । त्यहाँका नागरिकले तपाईलाई रुचाएनन् र पराजित हुनुभयो । अब फेरि बारा–२ मा उम्मेदवार हुनुहुन्छ । तपाईलाई यहाँका नागरिकले किन मत दिने ?

मलाई बाराका नागरिकले मत दिने थुप्रै आधार छन् । म बाराको लागि नौलो मान्छे होइन । मधेसले मलाई राम्रोसँग चिनेको छ । मैले यहाँ प्रशस्त सेवा पु¥याएको छु । यहाँका नागरिकहरुले मलाई ‘एसपी खरेल’ भनेर चिन्नु हुन्छ । एसपी खरेल हुँदा हामीले यस्तो सेवा पायौं, शान्ति सुरक्षा, अमनचयन कायम भयो, सुशासन कायम भयो भनेर उहाँहरु भन्नुहुन्छ । यस्तो इमानदार मान्छेलाई भोट दिनुपर्छ भनिरहनु भएको छ । एउटै कुरा, बारा–२ का दाजुभाइको मुखमा छ– इमानदारिता, इमानदारिता, इमानदारिता ।

इमानदार मान्छेलाई भोट दिनुपर्छ भन्ने कुरा सबैतिर छ । त्यसैले मलाई तपाई आफैँ कम्पेयर गर्नुस्, मैले भन्नु पर्दैन– ए बी सी र डी मा रमेश खरेल कुन दर्जामा पर्छ ? त्यसकारण मलाई विश्वास छ उहाँहरुको अहिलेको भोटिङ प्याटर्नमा एउटै शब्द इमानदारिता भएका कारणले रमेश खरेल त्यसको लागि डिजर्भिङ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप
सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप