शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ सम्पन्न

सञ्जयले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल, सिनियरतर्फको उपाधि भगवान कोइरालालाई

game
आइतबार, १० वैशाख २०८०, १० : ००
आइतबार, १० वैशाख २०८०

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ काठमाडौंमा सम्पन्न भएको छ । एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद दुवै कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

आर्थिक परिसंवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिमा विचार, सिद्धान्त, मूल्य र मान्यताको विषय हराउँदै गएको बताएका थिए ।

उपभोक्तावाद र तत्काल नाफा–नोक्सानतिर अघि बढ्दा राष्ट्र र आम जनताको हित प्राथमिकतामा नपरेको उनले बताए । उनले जनता र समाजको हितभन्दा तत्कालीन विषय र नाफा–नोक्सान प्राथमिकतामा परेको उल्लेख गरे ।

उनले नेपालको मौलिकतामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । “हाम्रो सोचमा स्पष्टताको अभाव छ । हामी जाने कुन बाटो ? नेपाली बाटो । अन्तर्राष्ट्रिय क्षेत्रमा भएका विचार, दर्शन, मूल्य, मान्यता अध्ययन त गर्नैपर्छ,” उनले भने, “तर, सबैभन्दा बढी नेपालको मौलिकतामा ध्यान केन्द्रित नगरी विदेशमुखी भएका छौँ ।”

विदेशी राम्रो, नेपाली नराम्रो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनले बताए ।  अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले देश संघीयतामा गए पनि सिंहदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको बताए । 

नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा मिलाएर बनाएको संविधान भएको उनको भनाइ छ ।

उनले सबै क्षेत्रको सामूहिक प्रयासले बैंकको ब्याजदर घट्न थालेको बताएका थिए । विभिन्न निकायसँग लगातार अन्तरक्रिया गर्दा ब्याजदर घट्न थालेको र राजस्व संकलन बढ्न थालेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले विदेशी मुद्राको सञ्चिति पनि बढ्दै गएको बताए । 
सुधार हुँदै गए पनि अर्थतन्त्रले गुणात्मक ढंगले सकारात्मक दिशा लिन नसकेको र नेपाली मौलिक बाटो समात्यो भन्ने अवस्थामा पुगिनसकेको उनले उल्लेख गरे ।

उनले निजी क्षेत्रलाई बाँध्ने कानुन नबनाइने बताए । आर्थिक परिसंवाद कार्यक्रममा उनले उद्योगी र व्यवसायीलाई त्रासमा राखेर आर्थिक उन्नति नहुने बताए ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले जनअपेक्षाअनुरूप अर्थतन्त्र सुधार गर्नु अहिलेको प्राथमिकता र मुख्य एजेन्डा भएको बताए ।

उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिनामा आफ्नो अरू एजेन्डा नभएको बताए । उनले आफू जवाफदेही भएर अहिले देखिएको समस्या समाधान गर्न कडा मिहिनेत गरिरहेको उल्लेख गरे ।

सीमित साधनस्रोतबाट समस्या समाधान गर्न बजेट ल्याउने काम गरिरहेको डा. महतले बताए ।  
अर्थमन्त्री डा.  महतले आफूले अर्थतन्त्रमा नीतिगत हस्तक्षेपको योजना बनाएको बताए ।

अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक : गभर्नर अधिकारी 
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा उतारचढाव आउनु स्वाभाविक भएको बताए । 

उनले मान्छेको जीवनमा पनि उचारचढाव आउने भन्दै त्यसलाई थेग्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
अर्थतन्त्रमा भएको असहजतालाई सहजीकरण गर्ने विषय राज्यले सोच्ने उनले बताए ।

गभर्नर अधिकारीले अहिले तरलता सहज हुँदै गएको बताए । लगानीयोग्य रकम बढेकाले उद्योगीलाई ‘फाइनान्सियल रिसोर्स’ अभाव नहुने उनको भनाइ छ ।
यसैगरी अर्थविद् अच्युत वाग्लेले कार्यक्रममा मुख्य कार्यपत्र प्रस्तुत गर्दै नागरिकले कर तिर्ने वातावरण नभएको बताए ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले ऋणमा सबैको पहुँच नभएको उल्लेख गरे ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न नमिल्ने बताए ।
“निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैन,” उनले भने, “अख्तियारसम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाई आयोगको दायरामा ल्याउने कुरा सविधानविपरीत छ ।” 

संविधानको धारा २३९ अनुसार निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नमिल्ने भन्दै उनले यस विषयमा सरकार र दलहरू संवेदनशील हुनुपर्नेमा जोड दिए ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले ब्याजको लागत घटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए । 
यसैगरी नेपाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष राजेश अग्रवालले पछिल्ल्लो समय उद्योगी–व्यवसायी निराश रहेको बताए । उनले नीति तथा कानुन उद्योगीलाई प्रोत्साहन गर्ने खालको हुनुपर्ने उनले बताए ।

यसैगरी चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ९० प्रतिशत साना तथा मझौला उद्योगको उत्पादन, प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नुपर्ने बताए ।

कार्यक्रममा उनले भने, “देशमा रहेको ९० प्रतिशत साना तथा मझौला उद्योगको उत्पादन, प्रोत्साहन र प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्नुपर्छ ।”

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको बेला त्रिदेशीय जलविद्युत् निर्यातको विषयमा छलफल हुनुपर्नेमा जोड दिए ।
अर्थविज्ञ कल्पना खनालले सेवा क्षेत्रलाई डिजिटलाइजेसनमा जोड्न आवश्यक रहेको बताइन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ लका एलएलएम कार्यक्रम संयोजक शिवकुमार गिरीले नेपालमा वैदेशिक लगानीसम्बन्धी नीतिगत तहमै विभिन्न किसिमको समस्या रहेको बताए ।
सञ्जयले जिते एनसेल बाह्रखरी गल्फमा सुनको बल

यसैबीच शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन्  
काठमाडौंको गोकर्ण गल्फ क्लब सम्पन्न प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘टी–अफ’ गरेर उद्घाटन गरेका थिए । 

१८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडेका थिए । १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रान्ट नाइन १९ अंक जोडेका थिए भने ब्याक नाइनमा २१ अंक जोडेका थिए । 

उपाधि जित्ने सञ्जय र टासी छिरिङले समान ४० अंक जोडेका थिए । जसमा सञ्जयले ब्याक नाइनमा जोडेको २१ अंकले टासिलाई उपाधिबाट पन्छाउन सफल भए । टासी छिरिङले ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल भएका थिए । 

यससँगै जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जिते । टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन् । टासीले ६ बर्डी प्रहार गरेका थिए । 

पुरुषतर्फ बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे । बाबुले ३८ अंक जोडेका थिए । प्रतियोगितामा डा. भगवान कोइरालाले ३७ अंक जोडेर सिनियरतर्फको उपाधि जिते ।

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । कश्मिरा शाह दोस्रो भइन् । कश्मिराले ३३ अंक जोडेकी थिइन् ।

क्लोजेष्ट टु द पिनको उपाधि राज प्रधानले जिते । दशौँ होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी जित्न राज दुई इन्चले चुकेका थिए । लङ्गेष्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जिते । उनले ३१० यार्डको ड्राइभ प्रहार गरेका थिए । 

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज र केही विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ७ महिला र १०७ पुरुष गल्फरले प्रतिस्पर्धा गरेका थिए । 
विजेता गल्फरलाई प्रधानसेनापति प्रभुराम शर्मा, गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध सम्पादक ज्ञानेश्वर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप