बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कथा

चन्द्रे अब बाँच्दैन

शनिबार, १६ वैशाख २०८०, ०५ : ३६
शनिबार, १६ वैशाख २०८०

सधैँझैँ मर्निङ वाक गरेर फर्केर चिया र दुनोट खाँदै थिएँ । जब नजिकैका दुई महिलाका संवाद सुने । चिनी हालेको चिया पनि खल्लो लाग्यो । 

म चियाको चुस्की भन्दा पनि उनीहरूको कुरामा दिलचस्पी लिन थाले । एक जना महिलाले च्वः च्वः गर्दै वाक्य टुङ्ग्याइन् ‘चन्द्रे अब बाँच्दैन । अघि पछि यताउता छट्पटिरन्थ्यो । अब त अन्तिम सास पनि छटपटिएरै जाने भो । उ त्यो चौतारीमा रगत छादेर छटपटाइराछ रे ।’

अर्की महिलाले थप्दै भनिन्,‘बिचराको कोही थिएन । रक्सी न खा, रक्सीले ज्यान खाला भन्यो । खाइ दे त हाइसन्चै हुन्थ्यो नि आमै भन्थ्यो । भगवान्ले पनि कति चाँडै सुनेछन् कुन्नि ।’

मलाई यी सब कुनै दन्त्यकथाको कुरा गरेजस्तो लाग्यो । मन भित्रभित्रै पिरोलियो । अब त मुखमा चियाको एक घुट्की पनि खान मन लागेन । आफै यसरी डुबेछु कि चियामा डुबाएको दुनोट पनि धेरै डुबेर चुँडिसकेछ । 

झसङ्ग भएर सोधेँ, ‘कहाँ के भएछ आन्टी ?’ 

‘अघि मास्तिर आउँदा देखेनौ, चन्द्रे त्या मर्न आँट्या छ रे । घर खोटाङ हो कि कता भन्थे । कोही छैन, त्यसको आफ्नो। मरे पनि लास के गर्ने हो ?’

‘मरे पछि लास के गर्ने हो ?’ यो वाक्यले अवाक् भएँ । एक त कोही नहुनेको मर्दा पनि कोही नहुनुको पीडा । त्यसमाथि झन् त्यहाँ मान्छे बाँच्न अन्तिम सङ्घर्ष गर्दैछ । अस्पताल पुर्‍याउनु कता हो कता । यता मान्छेलाई मरेपछि ठेगान लगाउनुको चिन्ता पो छ । हैट, मानवता कता पो हरायो । 

अब त आँखा पिलपिल गर्न थालिसक्यो । चिया यसै छोडेर हिँडे । मन अमिलो भयो । अलि पर मान्छेहरू माथि रोडबाट तल चियाइरहेका थिए । जादुवालाले जादु देखाउँदा लाम लागेर जादु हेर्नेहरूको भीड लागेजस्तै त्यहाँ पनि झन्डै ५० भन्दा बढी मानिसहरू मूकदर्शक बनेर सडक नाटक हेरे जस्तो हेरिरहेका थिए । 

तल चन्द्रे बिचरा थाहा छैन होसमा थियो या बेहोसीमा थियो । ती मान्छेहरूको लागि रङ्गमञ्च देखाइरहेको थियो । 

तल धोवीघाटको ढुङ्गेधारा । माथि वर र पिपलको चौतारी । सायद ऊ अघिपछि पनि यही सुत्थ्यो । वर र पिपलको साथी बन्न आएको थियो । सायद उ चराहरुको पनि साथी थियो होला । 

आफ्नो दौंतरीको पीडा खप्न नसकेर होला । माथि रुखमा बसेर चराले दुःख बाँडिदिएका थिए । चन्द्रे आफ्नो दुःख व्यक्त गर्ने, बोल्न सक्ने अवस्थामा थिएन । त्यसैले होला डालीमा बसेर चराहरू च्याः च्याः गर्दै थिए । 

त्यो रङ्गमञ्चमा चौतारी पछाडि मन्दिर छ । अनि मन्दिरको आँगनमा सेतो फर्ममाथि गद्दाले ओढेर नाटक रचिरहेको थियो चन्द्रे । वरपर रगतले लतपतिएको आँगन । अनि भुनभुनाइरहेका ती झिँगा । 

    सायद ती झिँगाले उसलाई साहस दिएको हुनुपर्छ । बेला बेला हात चलमलाउँथ्यो । मान्छे त ५० मिटर दुरीबाट हेरिरहेका थिए । उसको नजिक जान कोही मानिरहेको थिएन । त्यसैले पनि ती झिँगाले मान्छेको धर्म निभाउँदै थिए होलान् । माथि रोडबाट उ उ हात चलाइराछ । सास अझै बाँकी छ, मर्‍या छैन भन्दै सबै उसको मृत्युको पर्खाइमा थिए । 

मैले गएर सोधेँ, ‘कसैले एम्बुलेन्स बोलाउनु भो ?’ 

एक जना आन्टीले भनिन्, ‘एम्बुलेन्स बोलाए पनि त्यत्रो पैसा कसले तिर्दिन्छ ? उपचार गर्नु परेन ?’ 

ओहो ! मान्छे कति ढुङ्गा भैसकेछन् । यहाँ कसैको प्राणभन्दा पैसा प्यारो छ । 

यो झम्सीखेल एरियामा महँगा महँगा कार, घरहरू मात्रै छन् सोच्थे । यहाँ त मन पनि कति महँगो रैछ । काँडाले त के घोच्थ्यो र ! जति त्यो आन्टीको कुराले घोच्यो । मन भक्कानिएर आयो । 

आफूसँग पैसा भइदिएको भए यी म गर्छु भन्थेँ होला । पत्रिका किन्नलाई गोजीमा १० रुपैयाँ मात्र थियो । सोच विचार गरेर भनेँ, ‘सबैले चिन्नु हुँदो रैछ । मिलेर पैसा उठाएर गरे भइहाल्यो नि !’ 

फेरि आन्टी कड्किइन्, ‘एकजना मान्छे कुर्न जानु परेन, को जान्छ ?’ 

मैले भनेँ, ‘म जाउँला नि ।’ 

त्यतिकैमा एकजना दाई आएर उसको घरतिरको उसलाई चिन्ने एकजना रैछन्, आउँदै छन् । तिनले आफ्नो मान्छेलाई खबर गर्देका छन् । आउँदै छन् रे भने ।

म अचम्म परें । कोही नभएर आकाशलाई छानो मानेर सुतेको, अब धर्तीकै बिरानो हुन लागिसकेको मान्छेको अझै पनि आफ्नो मान्छेको खोजी हुँदै थियो । यति बुझिसकेपछि भगवान्कै काखमा पल्टिएर पनि भगवान्को साथ नपाएको चन्द्रेको अवस्था हेर्न नसक्ने भएँ । 

अब यो सहरमा मान्छे–मान्छेको बीचमा बसेर पनि आफ्नो मान्छे नहुनुको पीडा महसुस भयो । अब सह्य भएन । टाउको घुमाउला जस्तो आफै लडौँला जस्तो भयो । १०० मा फोन गरे विस्तृत जानकारी दिएँ । 

उताबाट ‘हामी आउँछौ’ भनियो । पत्रिका किनेर घर आएँ । एक गिलास पानी खाएँ । पत्रिका पढ्नै सकिन । मन सम्हाल्नै सकिन । कसैलाई भन्ने आँट पनि आएन । आँखाभरि आँसु भरियो । ल्यापटप खोले । यही लेख लेखेपछि मन अलिकति हलुका भयो ।

अरू देशमा कोही पनि नहुनेको राज्य हुन्छ । आत्मस्वाभिमान सहितको मर्ने अधिकार हुन्छ । तर मेरो देशमा मर्न पनि सुखले पाइँदैन । भन्न त कोही नहुनेको भगवान् हुन्छ भन्छन् । तर त्यो पनि नहुने रैछन् । सम्बन्धित निकायको ध्यान जाओस् । चन्द्रे मृत्युविजयी होस् । सबै देख्दा देख्दै र जान्दा जान्दै पनि एकदमै नित्थो महसुस भयो । केही गर्न सकिनँ । यस्तो आत्मग्लानि कसैलाई खेप्न नपरोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हृदयन्द्र जंग शाही
हृदयन्द्र जंग शाही
लेखकबाट थप