शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

बुधबार, २० वैशाख २०८०, ०६ : ११
बुधबार, २० वैशाख २०८०

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् ।

एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ ।

सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने लामिछाने छलफल अगाडि बढाएका हुन् ।

रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको बताए । अहिले नै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउँदै उनले थप निर्णय पार्टीको बैठकबाट नै हुने बताए ।

‘राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ । तर, एमालेले गरेको प्रस्ताव कतिको विश्वास गर्न सकिन्छ हेरौं न । छलफल भइरहेको छ, अन्तिम निर्णय त पार्टी केन्द्रीय समितिले गरेअनुसार नै हुने हो,’ अर्यालले भने । यो समाचार राजधानी दैनिकमा छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप