शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले कोरोनाको कुरै हुँदैन चीनमा

आइतबार, २४ वैशाख २०८०, १४ : ५१
आइतबार, २४ वैशाख २०८०

चीन । कोभिड–१९ (कोरोना) महामारी सुरु भएको तीन वर्ष पाँच महिना बितिसकेको छ । यो महामारीको उत्पत्ति भएको भनिएको चीनमा अहिले भने कोरोनाको कुरै हुँदैन ।

चीनका राष्ट्रिय सञ्चारमाध्यम र चिनियाँ नागरिक समेत महामारीलाई भुल्न चाहन्छन् । यतिबेला चीनमा सबै क्षेत्र खुला गरिएको छ भने मास्क अनिवार्य लगाउनु पर्ने नियम खारेज भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिडको विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा गरेको विषयलाई चिनियाँ सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।   

एक अर्ब ४० करोड हाराहारी जनसंख्या रहेको चीनले कोरोना नियन्त्रणमा आइसकेको खबर प्रसारण गरेपछि जनता थप निर्धक्क भएर हिँड्न थालेका हुन् । अहिले चीन सन् २०२० (कोरोना महामारी) भन्दा अगाडिकै अवस्थामा फर्किसकेको छ । सहर बजार, मल, सार्वजनिक खुल्ला क्षेत्रमा रहेका बजार सबै पहिलेजस्तै नियमित छन् । चीनका सबैजसो सहरमा अवस्था एउटै छ ।

चीनमा अचेल कोरोना महामारीका बारे कुनै समाचार सुनिँदैन, लेखिँदैन । चीनको एकमात्र अंग्रेजी टेलिभिजन च्यानल सीजीटीएन (चाइना गोल्बल टेभिभिजन नेटवर्क) मा हरेक दिन चीनको भन्दा भारतको जनसंख्या बढी भएको बहस, अन्तर्राष्ट्रिय ब्यापार, चीनको आर्थिक सफलताका बारेमा मात्र समाचार सुनिन्छ । कोरोनाबारे कुनै समाचार छैन । शनिबार विश्व स्वास्थ्य संगठनले कोभिड महामारीको आपतकाल हटाएको खबरलाई भने सो सञ्चारमाध्यमले प्राथमिकता दिएको थियो । 

चीनको एकमात्र सरकारी रेडियो ‘चाइना रेडियो इन्टरनेशनल’ (सीआरआई)को नेपाली, हिन्दी र अंग्रेजी तीन वटै संस्करणमा कोरोनाबारे कुनै समाचार छैन । चाइना रेडियो इन्टरनेशनल नेपाली सेवामा कार्यरत पत्रकार लक्ष्मी लम्साल भन्छन्, ‘अहिले चीनमा कोरोनाको कुरै हुँदैन ।’ 

कोरोना महामारीको बेला चिनियाँहरु बजार जान, बाहिर निस्कदा मोबाइलमा क्युआर कोड देखाएर मात्र प्रवेश गर्नुपर्ने नियम थियो । तर, अहिले त्यो नियम खारेज भइसकेको छ ।

सबै चिनियाँ नागरिकले कोभिड विरुद्धको खोप तीन पटक लगाइसकेका छन् । महामारीको बेला सबै चिनियाँले आफ्नो मोबाइलमा खोप लगाएको विवरण, कति पटक पीसीआर गरेको भन्ने जानकारी आफ्नो मोबाइलमा राखेर हिँड्ने गरेका थिए ।

कोरोना महामारीका बेला चीनले जहाँ र जुन क्षेत्रमा संक्रमित देखिएको छ, त्यही क्षेत्रमा तत्काल लकडाउन र त्यस क्षेत्रमा रहेका जनताको पीसीआर परीक्षण गर्ने विधि अपनाएको थियो । एक जनामात्र संक्रमित देखियो भने तत्काल त्यो क्षेत्रमा सिल्ड र मोबाइल ट्रयाकिङ गरेर कुन व्यक्तिले कहाँको यात्रा गरेको छ, सबै सूचना संकलन गरी तत्काल पहिचान गर्ने र संक्रमणको ‘चेन ब्रेक’ गर्ने नीति लिएको थियो ।

महामारीका बेला हरेक चिनियाँलाई मास्क अनिवार्य थियो । तर, अहिले धेरै चिनियाँले मास्क लगाउन छाडेको युनानमा चिकित्साशास्त्र अध्ययरत नेपाली चिकित्सक डा निशा कुशुम सिम्खडाले बताइन् । स्वास्थ्य केन्द्र र अस्पतालहरुमा भने मास्क लगाउने गरिन्छ तर, अनिवार्य भने छैन ।   

चीनले महामारीको समयमा नियन्त्रण र रोकथामका लागि जनस्वास्थ्यका कडा नियम राखेको थियो । सो नियमलाई गत जनवरीमा खुकुलो तुल्याएपछि धेरै चिनियाँ संक्रमित भएका थिए । तर, त्यसबेला महामारी अन्तिम बिन्दुमा पुगेको अवस्था थियो । चिनियाँ महामारी विशेषज्ञहरुको सल्लाहअनुसार चीनले बिस्तारै सबै क्षेत्र खुला गर्दै गएको थियो ।

सन् २०२० को जनवरी २२ मा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि सो सहरमा मात्र ७६ दिन लामो बन्दाबन्दी (लकडाउन) गरिएको थियो । त्यहाँ कोरोना संक्रमण नियन्त्रणमा आएपछि मात्र केही खुला गरिएको थियो ।

मे दिवसका अवसरमा चीन खुल्ला भएको सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दिइएको पाँच दिने बिदामा २७ करोड ४० लाख चिनियाँ आन्तरिक पर्यटकका रुपमा देशका विभिन्न क्षेत्रमा घुमफिर गरेका छन् ।

चीनको संस्कृति एवं पर्यटन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ पछि कुनै खास अवसरमा आन्तरिक पर्यटकको संख्या यो नै सर्वाधिक हो ।

पाँच दिनको छुट्टीलाई चिनियाँहरुले ‘सुनौलो सप्ताह’ भनेका थिए । चीनको संस्कृति एवं पर्यटन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो यात्रामा १ खर्ब, ४८ अर्ब ५ करोड ६० लाख चिनियाँ युआन पुगेको थियो । देशभर १६ हजार तीन सय ७१ आन्तरिक विमान र ११ हजार २ सय १७ रेलबाट उनीहरुले यात्रा गरेका छन् ।

यो छुट्टीमा ३ हजार पाँच सय चिनियाँले विदेश यात्रा गरेका छन् । त्यसमध्ये सबैजसो दक्षिण एसियाली देशको यात्रामा निस्केका छन् ।

चीनका पर्यटकीय क्षेत्र रहेका प्रान्तहरुले यस पटक आन्तरिक यात्रीहरुलाई निःशुल्क पानी वितरण र फूलले स्वागत गरेका थिए ।

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि सबै प्रान्तमा रहेका सुपरमार्केटमा किनमेलमा विशेष छुटको समेत व्यवस्था गरिएको थियो । कोभिडपछि खुला भएका चीनका सबैजसो प्रान्तले आन्तरिक पर्यटनका लागि अनुरोधसमेत गरेका छन् ।

रेल चढेर लाओस

यस पटकको छुट्टीमा केही चिनियाँले आफ्नो देशबाट द्रूत गतिको रेल चढेर विदेश यात्रा गरेका छन् । युनान प्रान्तको खुमनिगबाट लाओससम्म सिधा रेल सेवा सुरु भएपछि यसपटक चिनियाँहरु छुट्टी मनाउन लाओस पुगेका हुन् ।

युनानको खुमनिगबाट एक हजार २३५ किलोमिटर दुरीको चीन–लाओस रेल यात्रा १० घण्टा ३० मिनेटमा तय हुन्छ । सन् २०२१ देखि यो रेल सेवा सुरु भएको थियो ।

चीनले भियतनाम, रुस, मध्य मंगोलिया, कजाकिस्तानसम्म रेल सेवा विस्तार गरेको छ । तर, द्रूत गतिको रेल सेवा भने युनानदेखि लाओससम्म मात्र छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप