शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा

आइतबार, ०७ जेठ २०८०, १५ : ३३
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । कवि राजेश ढुङ्गानाको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ कविता सङ्ग्रहमाथि परिचर्चा गरिएको छ । स्रष्टा समाज नेपालले सर्वनाम थिएटरमा शनिबार आयोजना गरेको सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नाटककार अशेष मल्ल, प्राडा कुमार कोइराला, प्राडा सावित्री मल्ल कक्षपति, प्रमोद प्रधान र स्रष्टाकी धर्मपत्नी मीना ढुङ्गानालगायतले उक्त कृतिमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा अशेष मल्लले कवि ढुङ्गाना २०३६ सालको क्रान्तिका समयका सशक्त कवि भएको बताए । “राजेशलाई मैले दुई व्यक्तित्वका रूपमा मैले चिनेको छु, एउटा कवि व्यक्तित्व, अर्को राजनीतिक व्यक्तित्व । २०४६ सालको जनआन्दोलन हुनुभन्दा अगाडि राजेशको धेरै सक्रियता थियो,” उनले भने, “प्रजातन्त्र प्राप्तिका लागि ऊ हरबखत आक्रोशित र आवेगमा हुन्थ्यो, पञ्चायतलाई देखी नसहने खालको थियो । त्यस्तै आवेगले भरिएका कविताहरु उसले सिर्जना गथ्र्यो ।” युवामा हुने आक्रोश र आवेग उनको कविताका छिटाछिटामा पाइने मल्लले बताए । तर प्रजातन्त्र आएपछि  उनी हराएको हो कि भन्ने भइरहेको पनि बताए । 

यसैगरी साहित्यकार प्रमोद प्रधानले कृतिको अध्ययन गर्दा नेपालमा जनमत सङ्ग्रह हुनुभन्दा अगाडिको परिवेशले राजेशलाई कवि बन्न उत्प्ररित गरेको देखिने बताए  । “उहाँका धेरै कवितामा २०३५ र २०४६ सालका क्रान्तिका झिल्का देख्छिन् । प्रजातन्त्र प्राप्तिपछि पनि नेपाली जनतामा देखिएको नैराश्यता, नेपाली संस्कृतिमा देखिएका विकृति र विसङ्गतिमाथिको चिन्ता र प्रहार बनेर उहाँका कविताहरु  आएका छन्,” उनले भने, “२०३६ अघिको नेपाली जनजीवनका विषयका कवितालाई कलात्मक बनाउँदै  त्यसलाई जनस्तरसम्म पुर्याउने सशक्त कविमध्येका एक हुनुहुन्छ राजेश ।” राजेश ढुङ्गाना कवि मात्र नभएर एक कुशल पत्रकारका रूपमा पनि आफूले पाएको उनले बताए । 

कुनै पनि कविका सबै रचना उत्कृष्ट नहुने बताउँदै कार्यक्रममा प्राडा सावित्री कक्षपतिले कवि राजेशका केही कविता रिमाल र देवकोटाका जत्तिकै उत्कृष्ट रहेको बताइन् । “गोपाल प्रसाद रिमालका कविता पनि एक दुई वटाबाहेक कुन चाहिँ धेरै प्रख्यात भएका छन् र ? भूपि शेरचनले पनि धेरै कविता लेखे होलान्, तर दुई चार वटा त उत्कृष्ट भए नि,” उनले भनिन्, “एकाध कविताहरु जन्मिन्छन् चाहे इन्द्रबहादुर राईका हुन्, वैरागी काइँलाका हुन् या रिमालकै हुन् तर तिनले तत्कालीन समय र परिवेशलाई सम्बोधन गरेकाले उत्कृष्ट भएका हुन् । त्यस्तै राजेशका पनि केही कविता उत्कृष्ट छन् ।” उनले अर्को नयाँ कविता सङ्ग्रह प्रकाशनका लागि पनि आग्रह गरिन् ।

सो कार्यक्रममा कृतिकार राजेश ढुङ्गगानाले पाँचवटा कविता वाचन गरेका थिए । यस्तै कृतिका पछिल्लो समय कवि राजेशले कविता लेख्न छोडेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै कविपत्नी मीरा ढुङ्गानाले कृतिकै रूपमा प्रकाशित नभए पनि टुक्राटाक्री कागज र डायरीहरूमा धेरै कविता लेखिएको र चाँडै नयाँ कृति प्रकाशित गरिने पनि जानकारी दिइन् । 

स्रष्टा समाजका कोषाध्यक्ष देविका तिम्सिनाले सञ्चालन गरेको सो परिचर्चा कार्यक्रम रञ्जना निरौलाले स्वागत मन्तव्य दिएकी थिइन् । 

कार्यक्रमको समापन गर्दै स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशित भएको दस वर्षपछि पनि नेपाल स्रष्टा समाजलाई सम्झेर परिचर्चा कार्यक्रम आयोजना गर्ने मौका दिएकोमा सर्जक ढुङ्गानालाई धन्यवाद दिए । सर्वनाम नाटक घरको हलमा दोस्रो पटक राजेश ढुङ्गानाको उपस्थिति भएका बताउँदै बिस वर्षअघि यही सभाहलमा उनको  कृतिको चर्चा गरिको बताए । “यति सशक्त कवि यत्रो लामो समयसम्म हराउनु उहाँलाई मात्रै घाटा होइन, नेपाली साहित्यलाई नै घाटा हो,” रोदनले भने, “हिजोको राजेश ढुङ्गाना बनेर अब आउन म फेरि शुभकामना दिन्छु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप