शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेको अवरोधले नीति तथा कार्यक्रमको अन्तिम जवाफ प्रभावित

शुक्रबार, १२ जेठ २०८०, १५ : ०३
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेको अवरोधकाबीच संघीय संसदमा जारी नीति तथा कार्यक्रममाथिको अन्तिम छलफल प्रभावित हुन पुगेको छ । 

शुक्रबार सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा उठेको सवाल तथा प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । तर, संसद् सुचारु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले गत बुधबारको सभामा सत्ता पक्ष सांसदले राखेको विचारमाथि आपत्ति जनाउँदै संसद् अवरुद्ध गरेको छ । 

जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभिन्न भष्टाचारको काण्ड भएको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री कालमा व्यापक भ्रष्टाचार भएको बिचार राखेका थिए । नेपालको वैदेशिक ऋणको आकार ७ खर्बबाट एकै पटक १७ खरब पुगेको र यति, ओम्नी, भ्याक्सिन काण्डसँगै पशुपतिनाथको मन्दिरमा लगाइएको सुनको जलहरी समेत नक्कली रहेको भन्ने बाहिर उनले आरोप लगाएका थिए । 

योसँगै शुक्रबार संसद् बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक पदम गिरीले सो आरोप सरकारले पुष्टि गर्नुपर्ने र त्यसबारे जवाफ दिनुपर्ने माग गरेका छन् । अन्यथा माफी माग्नुपर्ने र सांसद दाहालले भनेको कुरा संसद्को रेकर्डबाट हटाउन समेत एमालेका सांसदहरूले माग राखिराखेका छन् । 

सोही समयमा सांसद दाहालको बचाउ गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा भ्रष्टाचार विषयमा बोल्न पाइने बताएपछि एमाले सांसदहरूले सभामुखको अगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । त्यसपछि सभामुखले २० मिनेटका लागि स्थगित भएको बैठक अझै सुचारु हुन सकेको छैन । 

योसँगै शुक्रबारका लागि तय गरिएको सरकारको जवाफ समेत प्रभावित हुन पुगेको छ । संसदमा उठेको प्रश्न जिज्ञासा तथा सवालको प्रधानमन्त्रीले जवाफ दिएपछि आजै संघीय संसदबाट आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम पास गर्ने कार्यतालिका रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप