सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
गर्मी

गर्मीले सरुवा रोगसँगै किटजन्य रोगको बढ्यो खतरा

मङ्गलबार, २३ जेठ २०८०, १० : ०४
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा तापक्रमले थ्रेसहोल्ड नाघेको छ ।  विभागले तराईका केही जिल्लामा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम बढ्दै गएकाले स्वास्थ्यमा असर पुर्‍याउने हुँदा सचेत हुन आग्रह गरेको छ । 

जेठ २२ गते सोमबार १२ बजेसम्म तराईका ५ जिल्लामा ४०  डिग्री सेल्सियस भन्दा बढी तापक्रम थियो । जसअनुसार रुपन्देही ४०.८, बाँके ४०.७, धनुषा ४०.५, बारा ४०.५ र मोरङ ४० डिग्री सेल्सियस रहेको थियो । अधिक गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । यस्तै, तराई क्षेत्रमा विद्यालयसमेत बन्द भएका छन् । 

यता काठमाडौँमा पनि तापक्रमले थ्रेसहोल्ड पार गरेको छ । काठमाडौँमा सोमबार तापक्रम ३२ डिग्री सेल्सियस थियो । विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार काठमाडौँमा  ३१.३ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा गर्मी हुन्छ । ३२ डिग्री भन्दा धेरै तापक्रम भएमा धेरै तातो भनिन्छ । ३३.५ डिग्री सेल्सियस भन्दा बढी भएमा अत्यधिक तातो हुन्छ । 

सोमबार पोखरामा ३३.४ डिग्री सेल्सियस, धनकुटामा ३०.८ डिग्री सेल्सियस तापक्रम पुगेको छ । 

तातो, धेरै तातो र अत्यधिक तातो भएका ठाउँहरू  

tap

विभागका वरिष्ठ मौसमविद् डा. कँडेलले तराई र मध्यपहाडी जिल्लाका केही जिल्लामा तापक्रमले थ्रेससहोल्ड पार गरेको बताइन् । थ्रेसहोल्ड पार गरेका जिल्लामा लगातार तीन दिनसम्म तातो हावा अनि सोही तापक्रम स्तर रहेमा ‘लू’ अवस्था सिर्जना हुने उनले बताइन् । 

‘लू’ लाई वर्गीकरण गरिएको छ । तीन दिनसम्म लगातार तातो हावा, धेरै तातो हावा र अत्यधिक तातो हावा लागेमा ‘लू’ को अवस्था मानिन्छ ।

फिजिसियन डा रोशन कुमार झाले ‘लू’ तातो हावा लाग्दा सावधानी अपनाउनुपर्ने बताए । हिट स्ट्रोक अर्थात् ‘लू’ ३८ डिग्री सेन्टिग्रेड भन्दा धेरै तापमान भएमा शारीरिक रूपमा अनेक समस्या देखिन सुरु हुने डा. झाको भनाई छ । 

गर्मीले ज्यानै जान सक्छ

गर्मी बढेसँगै पिउने पानी तथा खानेकुरामा अनि घर बाहिर काम गर्दा विशेष ध्यान नदिँदा अस्पतालमा विभिन्न किसिमका बिरामी पुग्न थालेको डा. झा  बताउँछन् ।  

उता सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले गर्मी समयमा विभिन्न सरुवाजन्य रोगले प्रकोपको रूप लिन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने बताउँछन् ।  

खानेकुरा तथा पानीमा जीवाणुहरू मिसिई प्रदूषित भएमा टाइफाइड, झाडापखाला लगायतका रोग फैलिन सक्ने उनले बताए । झाडापखाला लक्षण हुने हैजा रोग विश्वव्यापी चासो भएको घातक रोग भएको उनको भनाइ छ । ‘खानेकुरा, खानेपानीमा ध्यान नदिएमा हैजा जस्ता घातक रोग फैलिएमा एक घण्टाभित्र ज्यानसमेत जान सक्छ ।’ उनले भने । 

गर्मी र वर्षात्मा दूषित खानेपानी र खानपानले भाइरल इन्फेक्सनका कारण हेपटाइटिस ए र इ लाग्ने सम्भावना बढेको डा. पुनले बताए ।

किटजन्य रोगको जोखिम

गर्मीसँगै वर्षाजन्य किटजन्य रोग देखिने भएकाले सचेत हुन डा. पुनको आग्रह छ । वर्षाको समय स्क्रब टाइफस, डेंगु, चिकनगुनिया लगायत रोगको जोखिम रहन सक्ने उनले बताए । गर्मी बढ्दा र वर्षा सुरु हुँदा सर्पदंसको जोखिमसमेत हुन्छ ।

फिजिसियन डा झा डेंगुका केश देखिई रहेकाले गर्मीपछि पानी परेमा डेंगु जोखिम बढ्ने अनुमान लगाउँछन् । 

उनी भन्छन्, ‘डेंगुका केश बढ्नु अघि सम्बन्धित निकाय सजग हुनुपर्छ । लगातार केश धेरै देखिन थलेपछि नियन्त्रणका लागि काम सुरु गरेर प्रभावकारी हुँदैन ।’

सरुवा रोग विशेषज्ञ डा पुनले लामखुट्टे वयस्क भएपछि नियन्त्रणमा लिन समस्या हुने भएकाले लार्भादेखि नै खोजेर नष्ट गर्नुपर्ने बताए । 

उनले भने ‘टायर, पानी राखिएका ड्रममा ध्यान दिनुपर्छ ।  पछिल्लो समय जीवनशैली परिवर्तन भएको छ । घर घरमा कौसी खेती र गमलामा फुल लगाउन राखिएको पानीमा डेंगु सार्ने लामखुट्टेको वृद्धि विकास हुने जोखिम बढेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप