शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने

बुधबार, २४ जेठ २०८०, १७ : ४६
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । काठमाडौँमा तीनसम्म अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा यहीँ जेठ २५ गतेदेखि २७ गतेसम्म ‘एसियन इन्स्योरेन्स मिट, २०२३’ को आयोजना हुने भएको हो । ‘बिल्डिङ अफ इन्स्योरेन्स अफ इन्स्योरेन्स टुवार्टस् इमर्जिङ रिक्स’ मुद्दामा केन्द्रित सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरका बीमा सम्बन्धी संघ संस्था इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभिजर आईएआईएस), एसियन डेभलपमेन्ट बैङ्क (एडिबी) र एसिस् टू इन्स्योरेन्स इनिटेटिभ (ए-२आईआई) को सहयोग रहेको प्राधिकरणले जनाएको छ । 

विश्वमा नवीनतम विकास सँगसँगै बीमा क्षेत्रमा देखा परेका नयाँ नयाँ जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्राधिकरणले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोेखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्यूनीकरणसम्बन्धी आपसी अनुभव, जोखिम न्यूनीकरणका लागि क्षमता अभिवृद्धि, बीमा क्षेत्रको भावी गन्तव्य लगायतका विषयमा प्रस्तुतीकरण एवम् छलफल हुने कार्यक्रम रहेको छ ।

यसैगरी, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारबाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरू बीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जबाफदेही किसिमले अघि बढाउने लगायत विषयमा समेत छलफल हुने प्राधिकरणले जनाएको छ । 

सम्मेलनमा रिक्स बेस स्लोभेन्सीको कार्यान्वयन, बीमामा नवीनतम डिजिटल प्रणाली अवलम्बन, बीमा व्यवसायको विकासका लागि नियामक निकायको क्षमता अभिवृद्धि, बीमा क्षेत्रमा जलवायु परिवर्तनका कारण आउने चुनौतीहरूको न्यूनीकरणका लागि नियामक निकाय, बीमक र पुनर्बीमकहरूको भूमिका, भूकम्प बीमाका सम्बन्धमा एसियाली अनुभव, कृषि बीमाको विकास तथा अभ्यास, जोखिममा आधारित सुपरिवेक्षण सम्बन्धी संरचना, जीवन बीमा व्यवसायका अभ्यास, अवसर र चुनौती लगायतका विषयहरूमा बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक र बीमा विज्ञहरूबाट कार्यपत्रहरू प्रस्तुति र कार्यपत्रहरू माथि छलफल एवम् अन्तरक्रिया हुने कार्यक्रम रहेको छ ।

तीन दिनसम्म हुने सम्मेलनमा पहिलो दिन नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इन्डोनेसिया, मालदिभ्स, थाइल्यान्ड, चीन (मकाओ), जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहनेछ । सम्मेलनमा करिब ३५० जनाको सहभागिता रहने प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप