शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता

बुधबार, ३१ वैशाख २०८२, १८ : ०४
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानका लागि स्थापित मायाको पहिचान नेपालले समलिङ्गी जोडीको विवाह दर्तालाई न्यायको विजयको रूपमा लिएको छ।
  • सुशीला रम्तेल र प्रमीला तामाङले कानुनी रूपमा विवाह दर्ता गराए, जसलाई मायाको पहिचान नेपाल र ओरेक नेपालको संयुक्त प्रयास र समुदायको ऐक्यबद्धताले सघाएको थियो।
  • जोडीको अपहरण र दुर्व्यवहारपछि, सिन्धुलीको सुनकोसी गाउँपालिकाका सचिवले विवाह दर्ता गर्न एक हप्तामा प्रमाणपत्र जारी गरे।
  • सर्वोच्च अदालतको आदेश र गृह मन्त्रालयको परिपत्रले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको छ, जसले प्रेम र समानतालाई जोड दिन्छ।

काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापित मायाको पहिचान नेपालले प्रहरीको संरक्षणमा परिवारको अपहरणमा परेका समलिङ्गी जोडीको सुरक्षित पुनर्मिलन र विवाह दर्ता हुनु न्याय र प्रेमको विजय भएको बताएको छ।

संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले विज्ञप्ति निकालेर मायाको पहिचान नेपाल र ओरेक नेपालको संयुक्त प्रयास र समुदायको ऐक्यबद्धताले गर्दा सुशीला रम्तेल र उनकी पार्टनर प्रमीला तामाङले कानुनी रूपमा विवाह दर्ता गराउन सफल भएका उल्लेख गरेका हुन्। 

‘हामी सुशीला र प्रमीलालाई हार्दिक बधाई दिन चाहन्छौँ। उनीहरूको साहसिक सङ्घर्षले अन्य धेरैलाई हिम्मत दिनेछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘साथै, हामी यो पनि कामना गर्छौँ कि अबदेखि कुनै पनि व्यक्तिलाई आफ्नो यौनिक पहिचान वा प्रेम सम्बन्धका कारण अपमान, अपहरण वा दुर्व्यवहार सहन नपरोस् ।’

यसअघि दुवै परिवारबिच मिलापत्र कागजमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको तर प्रमीला तामाङको परिवारले पछि मिलापत्र कागजमा हस्ताक्षर गर्न मानेन।  नागरिकतामा दुवैको महिला भएकाले विवाह दर्ता गर्न अध्ययन गर्ने बताएका सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ६ का सचिव डण्डपाणि भण्डारीले ठ्याक्कै एक सातामा प्रमाणपत्र जारी गर्न तयार भए।

दुई वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वडा नं. ६ निवासी सुशीला रम्तेल र धादिङ गल्छी गाउँपालिका वडा नं.५ निवासी प्रमीला तामाङले अन्ततः समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेका छन्।

सर्वोच्च अदालतले २०८० साल असार १२ गते समलिङ्गी विवाह गर्न अन्तरिम आदेश दिएको थियो। गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको २०८१ वैशाख १२ गते ७५३ वटा स्थानीय तहमा समलिङ्गी तेस्रोलिंगीको विवाह दर्ता गर्न परिपत्र जारी गरेको थियो।

प्रेस विज्ञप्ति

गत वैशाख २६ गते ललितपुरको प्रहरी परिसरभित्रै समलिङ्गी महिलामाथि भएको अपहरण, दुर्व्यवहार र प्रहरीको संलग्नतामा भएको मानवअधिकार उल्लंघनविरुद्ध आवाज उठाइएको थियो। पीडित जोडीमध्ये एक सदस्य, प्रतिमा तामाङलाई आफ्नै दाजु–भाउजूले जबरजस्ती लगेका थिए, त्यो पनि प्रहरीको उपस्थितिमा। यस घटनाले हाम्रो समाजमा अझै कति गहिरो लैङ्गिक र यौनिक पूर्वाग्रह रहेको स्पष्ट देखाएको थियो।

तर, आशा र सङ्घर्षले आफ्नो बाटो आफै खोल्ने रहेछ। मायाको पहिचान नेपाल र ओरेक नेपालको सहयोगमा यो जोडीले फेरि सुरक्षित वातावरण प्राप्त गरेको छ। हाम्रो संयुक्त प्रयास र समुदायको ऐक्यबद्धताले गर्दा आज सुशीला रम्तेल र उनकी पार्टनर प्रमीला तामाङले कानुनी रूपमा विवाह दर्ता गराउन सफल भएका छन्।

एकातिर परिवारको बन्धन, अर्कोतिर सुनकोसी गाउँपालिका सचिव डण्डपाणि भण्डारीको अबुझ पनले समलिङ्गी जोडी विवाह दर्ता गर्न वञ्चित थिए। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई मायाको पहिचान नेपालको टोलीले विवाह दर्ता गर्न सहज हुने व्यवस्थाका लागि आग्रह गरेको थियो। निर्देशक केशरीले सहयोगी भूमिका निर्वाह गरेर वडा सचिवलाई निर्देशन दिएपछि विवाह दर्ता भएको हो। नत्र वडा सचिवले अनेक बहानाबाजी गर्दै आएका थिए।

यो विवाह दर्ता केवल दुई व्यक्तिको प्रेमको मान्यता मात्र होइन, यो नेपालको संविधान, मानवअधिकार र सर्वोच्च अदालतको आदेशलाई मूर्तरूप दिने ऐतिहासिक क्षण हो। विशेष गरी, २०८० असार १२ गतेको सर्वोच्च अदालतको आदेशले समलिङ्गी जोडीलाई विवाह गर्न दिने कानुनी अधिकार सुनिश्चित गरेपछि यो एक थप उदाहरण हो जसले देखाउँछ — प्रेममा विभेद होइन, समानता हुनुपर्छ।

हामी सुशीला र प्रमीलालाई हार्दिक बधाई दिन चाहन्छौँ। उनीहरूको साहसिक सङ्घर्षले अन्य धेरैलाई हिम्मत दिनेछ। साथै, हामी यो पनि कामना गर्छौँ कि अबदेखि कुनै पनि व्यक्तिलाई आफ्नो यौनिक पहिचान वा प्रेम सम्बन्धका कारण अपमान, अपहरण वा दुर्व्यवहार सहन नपरोस्।

हामी राज्यका सबै अङ्गहरूलाई सम्झाउन चाहन्छौँ — व्यक्तिगत स्वतन्त्रता, प्रेम र मानवअधिकारको संरक्षण गर्नु सरकारको नैतिक र कानुनी दायित्व हो।

प्रेम जितोस्, न्याय टिकिरहोस्।

सुनिलबाबु पन्त

पूर्वसंविधानसभा सदस्य,

कार्यकारी निर्देशक,

मायाको पहिचान नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप