बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
ए डिभिजन लिग

‘ए’ डिभिजन लिग : एपीएफ र खुमलटारका लागि दुर्भाग्यपूर्ण

आइतबार, २८ जेठ २०८०, १२ : ४८
आइतबार, २८ जेठ २०८०

 काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएको छ । चर्च ब्वाइज युनाइटेड क्लबले अन्तिम चरणको खेलअघि नै उपाधि जितिसकेको थियो । ‘बी’ बाट माथिल्लो डिभिजनमै उक्लिएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि जितेर चर्च ब्वाइज युनाइटेड क्लबले इतिहास रचेको हो ।

अन्तिम चरणको खेलले भने रेलिगेसनमा पर्ने टोलीको टुंगो लगाएको छ । जारी सिजनको लिग विभागीय क्लब एपीएफ र खुमलटारका लागि भने दुर्भाग्यपूर्ण रह्यो । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र खुमलटार क्लब रेलिगेसनमा परे ।

एकातिर माथिल्लो डिभिजन उक्लिएकै सिजन चर्च ब्वाइजले उपाधि चुम्यो र अर्कोतिर, माथिल्लो डिभिजनमा उक्लिएकै सिजन खुमलटार पुनः ‘बी’ डिभिजनमा झर्‍यो । यस अर्थमा खुमलटारका लागि यो सिजनको लिग झनै पीडादायक बन्यो ।

‘बी’ डिभिजन लिगको विजेता बन्दै चर्च ब्वाइज र उपविजेताका रूपमा खुमलटार युथ क्लब ‘ए’ डिभिजनमा उक्लिएका थिए । ‘बी’ डिभिजनमा चर्च ब्वाइजले १३ खेलबाट २९ अङ्क जोडेको थियो । चर्च ब्वाइजले नौ जित, दुई बराबरी र दुई हारको नतिजा निकालेको थियो ।

church boys

खुमलटारले भने ‘बी’ डिभिजनमा १३ खेलबाट २२ अङ्क जोडेको थियो । खुमलटारले सात जित, एक बराबरी र पाँच हारको नतिजा निकालेको थियो । खुमलटार र रानी पोखरी कर्नर टिम (आरसीटी)को समान २२/२२ अङ्क रहे पनि ‘हेड टु हेड’मा खुमलटारले बाजी मारेको थियो ।

तर, ‘ए’ डिभिजन लिगमा भने खुमलटारले सोचेजस्तो प्रदर्शन गर्न सकेन । दोहोरो लिग प्रणालीमा खेलाइएको ‘ए’ डिभिजनमा खुमलटारले २६ खेलबाट २७ अंकमात्र जोड्न सक्यो । खुमलटारले केवल आठ खेलमा जित हासिल गर्‍यो । तीन खेलमा बराबरीमा रोकिएको खुमटलाटर १५ खेलमा पराजित हुन पुग्यो । यो पक्कै पनि निराशाजनक प्रदर्शन हो ।

अर्कोतिर, विभागीय टोली एपीएफका लागि पनि यो लिग दुःखद रह्यो । एपीएफ क्लबले २६ खेलबाट ३० अंकमात्र जोड्न सक्यो । एपीएफ क्लबले आठ जित, ६ बराबरी र १२ हारको नतिजा निकाल्यो । फ्रेन्ड्स क्लबको पनि ३० अङ्क नै थियो । तर, ‘हेड टु हेड’ र गोलअन्तरमा पनि पछि परेकाले एपीएफ क्लब रेलिगेसनमा परेको हो ।

आफ्नो अन्तिम खेलमा थ्रिस्टार क्लब पराजित भएको भए एपीएफ क्लब रेलिगेसनबाट जोगिने थियो । यस्तो अवस्थामा थ्रिस्टार क्लब रेलिगेनमा पर्ने थियो । तर, आफ्नो अन्तिम खेलमा थ्रिस्टार क्लबले जाउलाखेल युथ क्लबलाई हरायो ।

353385913_563343479291475_4921568550641425322_n

यस्तो रह्यो अङ्क तालिका : चर्च ब्वाइज पहिलो र खुमलटार अन्तिम

यो सिजनको ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड क्लब च्याम्पियन बन्यो । चर्च ब्वाइजले २६ खेलबाट ४८ अङ्क जोड्यो । चर्च ब्वाइजले १३ खेलमा जित, नौ खेलमा बराबरी र चार खेलमा हारको नतिजा निकाल्यो । चर्च ब्वाइजले विपक्षीको पोष्टमा ३४ गोल गर्‍यो भने १५ गोल खायो । 

 यसैगरी मच्छिन्द्र क्लब उपविजेता बन्यो । मच्छिन्द्रले २६ खेलबाट ४५ अङ्क जोड्यो । मच्छिन्द्रले १२ खेलमा जित, नौ खेलमा बराबरी र पाँच खेलमा हारको नतिजा निकाल्यो । मच्छिन्द्रले प्रतियोगिता अवधिभरमा विपक्षीको पोष्टमा ४१ गोल गर्‍यो भने २६ गोल खायो ।

विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भयो । पुलिस क्लबले २६ खेलबाट ४१ अङ्क जोड्यो । पुलिस क्लबले १२ खेलमा जित, पाँच खेलमा बराबरी र नौ खेलमा हारको नतिजा निकाल्यो । पुलिस क्लबले विपक्षीको पोष्टमा २९ गोल गर्‍यो भने ३० गोल खायो ।

 जाउलाखेल युथ क्लब चौथो भयो । जाउलाखेलले २६ खेलबाट ३७ अङ्क जोड्यो । १० खेलमा जित हासिल गरेको जाउलाखेलले सात खेलमा बराबरी र नौ खेलमा हारको नतिजा निकाल्यो । जाउलाखेलले विपक्षीको पोष्टमा ३९ गोल गर्‍यो भने ३३ गोल खायो ।

 यसैगरी सातदोबाटो युथ क्लब पाँचौँ भयो । सातदोबाटोले १० जित, पाँच बराबरी र ११ हारबाट कुल ३५ अङ्क जोड्यो । सातदोबाटोले विपक्षीको पोष्टमा २८ गोल गर्‍यो भने २८ गोल नै खायो । न्यु रोड टिम (एनआरटी) छैटौं भयो । एनआरटीले आठ जित, १० बराबरी र आठ हारबाट ३४ अङ्क बटुल्यो । एनआरटीले विपक्षीको पोष्टमा ३३ गोल गर्‍यो भने ३७ गोल खायो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौँ भयो । आर्मी क्लबले आठ जित, १० बराबरी र आठ हारबाट ३४ अङ्क बटुल्यो । आर्मीले विपक्षीको पोष्टमा ३० गोल गर्‍यो भने २९ गोल खायो । मनाङ् मस्र्याङ्दी क्लब आठौं स्थानमा रह्यो । सात जित, ११ बराबरी र आठ हारबाट ३२ अङ्क हात पार्‍यो । मनाङले विपक्षीको पोष्टमा २५ गोल गर्‍यो भने २८ गोल खायो ।

थ्रिस्टार क्लब नवौँ भयो । थ्रिस्टारले सात जित, ११ बराबरी र आठ हारको नतिजाबाट कूल ३२ अङ्क बटुल्यो । थ्रिस्टारले विपक्षीको पोष्टमा १८ गोल गर्‍यो भने १८ गोल नै खायो । संकटा क्लब तालिकाको १०औँ स्थानमा रह्यो । संकटाले सात जित, ११ बराबरी र आठ हारको नतिजाबाट ३२ अङ्क बटुल्यो । संकटाले विपक्षीको पोष्टमा २७ गोल गर्‍यो भने ३० गोल खायो ।

यसैगरी हिमालयन शेर्पा क्लब तालिकाको ११औँ स्थानमा रह्यो । हिमालयन शेर्पाले सात जित, १० बराबरी र नौ हारबाट ३१ अङ्क जोड्यो । हिमालयन शेर्पाले विपक्षीको पोष्टमा २८ गोल गर्‍यो भने ३५ गोल खायो । फ्रेन्ड्स क्लब १२औँ भयो । फ्रेन्ड्स क्लबले सात जित, नौ बराबरी र १० हारबाट ३० अङ्क बटुल्यो । फ्रेन्ड्स क्लबले विपक्षीको पोष्टमा ४२ गोल गर्‍यो भने ३७ गोल खायो ।

विभागीय टोली एपीएफ क्लब १३औँ भयो । एपीएफ क्लबले आठ जित, ६ बराबरी र १२ हारबाट ३० अङ्क जोड्यो । एपीएफ क्लबले विपक्षीको पोष्टमा २९ गोल गर्‍यो भने ३६ गोल खायो । खुमलटार क्लब अन्तिम स्थानमा रह्यो । खुमलटारले आठ जित, तीन बराबरी र १५ हारबाट २७ अङ्क जोड्यो । खुमलटारले विपक्षीको पोष्टमा ३४ गोल गर्‍यो भने ५४ गोल खायो ।

353371620_563192109306612_6132679382979429738_n

मच्छिन्द्रका ओलावाले सर्वाधिक गोलकर्ता

 यो सिजनको ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र क्लबका ओलावाले हाफिजले सर्वाधिक २३ गोल गरे । उनी नाइजेरियाका खेलाडी हुन् । खुमलटारका खेलाडी मेसोउके ओलोमोउ सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । क्यामरुनका खेलाडी ओलोमोउले १८ गोल गरे ।

यसैगरी जाउलाखेल युथ क्लबका एनकोतो मासोआबीले १६ गोल गरे । मासोआबी लेसोथोका खेलाडी हुन् । फ्रेन्ड्स क्लबका विदेशी खेलाडी रफिक अमिनु सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा रहे । घानाका खेलाडी अमिनुले हालसम्म १४ गोल गरे ।

यसैगरी सातदोबाटो क्लबका  दिपकराज ठकुरी सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पाँचौँ स्थानमा रहे । उनले जारी सिजनको लिगमा १२ गोल गरे । खुमलटारका स्टेफन बिनोङले १० गोल गरे । क्यामरुनका खेलाडी बिनोङ सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा छैटौं स्थानमा रहे । मनाङ मस्र्याङ्दी क्लबका कोफी टिमोथी कोउडोले नौ गोल गरे । उनी टोगोका खेलाडी हुन् ।

यसैगरी एपीएफ क्लबका अर्मान्ड बेडुम, जाउलाखेलका फोडे फोफाना, नेपाल पुलिस क्लबका मोसेस टिउम र त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठले आठ/आठ गोल गरे । यो सिजनको लिगमा मच्छिन्द्र क्लबका नाइजेरियन खेलाडी ओलावाले हाफिजले दुईवटा ह्याट्रिक गरे ।

मच्छिन्द्र क्लबले खुमलटारलाई ७—३ गोलले हराउँदा उनले ह्याट्रिकसहित पाँच गोल गरेका थिए । मच्छिन्द्र क्लबले सातदोबाटोलाई ३—१ गोलले हराउँदा पनि ओलावाले हाफिजले ह्याट्रिक गरेका थिए । खुमलटारले जाउलाखेललाई ४—२ गोलले हराउँदा खुमलटारका लागि क्यामरुनका खेलाडी स्टेफन बिनोङले ह्याट्रिक गरेका थिए ।

यसैगरी नेपाली खेलाडी अञ्जन विष्टले पनि एक खेलमा ह्याट्रिक गरेका छन् । चर्च ब्वाइज क्लबका विष्टले न्यु रोड टिमविरुद्घको खेलमा ह्याट्रिक गरेका हुन् । उक्त खेलमा चर्च ब्वाइज ४—१ गोलले विजयी भएको थियो ।

ANFA

अनन्त उत्कृष्ट र लाकेन उदीयमान खेलाडी

यो सिजनको ‘ए’ डिभिजन लिगमा उपाधि विजेता चर्च ब्वाइज क्लबका अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनलाई ‘प्लेयर अफ दि सिजन’ अवार्ड प्रदान गरियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्‍यो ।

थ्रिस्टार क्लबका लाकेन लिम्बुले उदीयमान खेलाडीको पुरस्कार पाए । उनलाई एन्फाले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्‍यो । विभागीय टोली नेपाल पुलिस क्लबले ‘फेयर प्ले’ टोलीको पुरस्कार पायो । पुलिस क्लबले तीन लाख रुपैयाँ नगद पुरस्कार हात पार्‍यो ।

 यसैगरी मच्छिन्द्र क्लबका ओलावाले हाफिजले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए । उनले प्रतियोगितामा दुई ह्याट्रिकसहित २३ गोल गरेका थिए । उनले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । क्यामरुनका खेलाडी यभेस प्रिसो सर्वोत्कृष्ट गोलरक्षक घोषित भए । उनी चर्च ब्वाइज युनाइटेड क्लबका खेलाडी हुन् । सर्वोत्कृष्ट गोलरक्षक घोषित भएवापत उनले पनि दुई लाख रुपैयाँ नगद पुरस्कार पाए ।

जो हालसम्म लिग च्याम्पियन बने

 नेपालमा २०११ सालदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भएको हो । लिगको पहिलो संस्करणको उपाधि महाबीर क्लबले जितेको थियो । हालसम्म ‘ए’ डिभिजन लिगको ४५ वटा संस्करण सम्पन्न भइसकेका छन् ।

मनाङ मर्स्याङ्दी क्लबले हालसम्म सर्वाधिक आठ पटक ‘ए’ डिभिजन लिगको उपाधि चुमेको छ । मनाङ मर्स्याङ्दीले २०४२/४३ सिजनमा पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको थियो । त्यसपछि २०४३/४४ सिजनको उपाधि पनि मनाङ मर्स्याङ्दीले नै जित्यो । 

 २०४५ सालमा ‘ए’ डिभिजन लिग आयोजना भएन । २०४६ सालमा तेस्रो पटक मनाङ मर्स्याङ्दीले ‘ए’ डिभिजन लिगको उपाधि चुम्यो । २०५७ सालमा मनाङ मर्स्याङ्दीले चौथो उपाधि जित्यो भने २०६० सालमा पाँचौँ उपाधि हात पार्‍यो ।

मनाङ मर्स्याङ्दीले २०६२ सालमा छैटौँ, २०७० सालमा सातौँ र २०७५ सालमा आठौँ पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । त्यसयता भने मनाङ मर्स्याङ्दी क्लबले ‘ए’ डिभिजन लिगको उपाधि जित्न सकेको छैन ।

 यसैगरी रानीपोखरी कर्नर टिम (आरसीटी) ले हालसम्म ६ पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । आरसीटीले २०२८ देखि २०३० सालसम्म लगातार तीन पटक ‘ए’ डिभिजन लिगको उपाधि चुमेको थियो । त्यसपछि आरसीटीले २०३६, २०३८ र २०४८ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जित्यो । त्यसयता भने आरसीटीले ‘ए’ डिभिजन लिगको उपाधि चुम्न सकेको छैन ।

 यसैगरी नेपाल पुलिस क्लबले हालसम्म पाँच पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ । २०१२ सालमा पुलिस फोर्सको नाममा पहिलो पटक पुलिस क्लबले उपाधि जितेको थियो । २०१३ सालमा पनि पुलिस फोर्सले नै उपाधि जित्यो । २०६८ सालमा महेन्द्र पुलिस क्लबको नाममा पुलिस क्लबले तेस्रो पटक उपाधि जित्यो । त्यसपछि पुलिस क्लबले २०६६/६७ सिजन र २०६८ सालमा ‘ए’ डिभिजन लिगको उपाधि चुम्यो ।

 यसैगरी न्यु रोड टिम (एनआरटी) र थ्रिस्टार क्लबले चार/चार पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् । एनआरटीले २०१७ सालमा पहिलो र २०१९ सालमा दोस्रो पटक उपाधि जितेको थियो । २०३५ सालमा तेस्रो पटक उपाधि चुमेको एनआरटीले चौथो उपाधि भने २०५२ सालमा हात पारेको थियो ।

 थ्रिस्टार क्लबले भने २०५४ सालमा पहिलो, २०५५ सालमा दोस्रो, २०६१ सालमा तेस्रो र २०६९ सालमा चौथो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । महावीर क्लब र संकटा क्लबले तीन/तीन पटक उपाधि जितेका छन् । महावीर क्लबले २०११, २०२३ र २०२६ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । संकटा क्लबले भने २०३७, २०४० र २०४२ सालमा उपाधि हात पारेको थियो ।

 यसैगरी अन्नपूर्ण क्लब, देउराली क्लब र मच्छिन्द्र क्लबले दुई/दुई पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् । अन्नपूर्ण क्लबले २०३४ र २०३९ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो । देउराली क्लबले २०२५ र २०२७ सालमा उपाधि हात पारेको थियो । मच्छिन्द्र क्लबले भने २०७६ र २०७८ सालमा उपाधि जितेको थियो ।

 यसैगरी आर्मी क्लब, विद्या व्यामा, ब्वाइज युनियन क्लब, फ्रेन्ड्स युनियन, सुनाखरी एथलेटिक क्लब र चर्च ब्वाइज युनाइटेडले एक/एक पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् । २०१४ सालमा आर्मी—११ को नाममा आर्मी क्लबले उपाधि जितेको थियो ।

 यसैगरी २०२० सालको उपाधि विद्या व्यामाले हात पारेको थियो । २०३२ सालमा ब्वाइज युनियन च्याम्पियन बनेको थियो । २०२४ सालमा फ्रेन्ड्स युनियन विजेता बनेको थियो । २०३३ सालमा सुनाखरी एथलेटिक क्लब च्याम्पियन बनेको थियो । चर्च ब्वाइज क्लबले भने यो सिजन (२०७९ साल) को उपाधि चुमेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप