बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
अभिभावक

बालबालिकालाई अभिभावकले गर्ने सच्चा प्रेम कस्तो हुनुपर्छ ?

बुधबार, ३१ जेठ २०८०, ११ : २६
बुधबार, ३१ जेठ २०८०

शीर्षक देख्नेबित्तिकै हामीलाई लाग्न सक्छ– बालबालिकाहरू देख्दा कसलाई प्रेम भाव नआउला ? प्रेम पनि यसरी गर्ने भनी सिकाइनुपर्ला र ? कसलाई थाहा छैन, आफ्ना बालबालिकालाई प्रेम गर्ने तरिका ? 

हामीले आफ्ना सन्तानलाई गर्ने प्रेमबारे चर्चा गरौँ– उनीहरू जे माग्छन् त्यही दिन्छौँ । जहाँ जाने भन्छन् त्यहीँ लगिदिन्छौँ । कतै छुस्स लडिहाले भने तुरुन्त उठाउँछौँ । माया गरेर बोलाउँछौँ, सुमसुम्याउँछौँ । कति पनि रुन दिँदैनौँ । ऊभन्दा कमजोर अर्थात् उसलाई अल्झाउने, बिल्झाउने मान्छे वा वस्तुलाई ‘पाई गर’ भनेर फुल्याउँछौँ । ऊसँगै हाँसिदिन्छौँ, आदि–इत्यादि ।

यस्तै, आफ्ना सन्तानलाई केही काम नलगाउने र खानेकुरा खाऊ कि खाऊ भनेर कर गर्ने पनि गर्छौं । नखाए हातैमा वा मुखैमा राखिदिन्छौँ । भान्छामा पाकेको खाना खान्न भनेमा होटलमा लैजान्छौँ वा घरमा चाउचाउ पकाएर अथवा अरू तयारी कुरा खुवाउँछौँ । योभन्दा बढी कति माया गर्ने भन्ने लाग्न सक्छ । 

यस्तै, पढाइमा राम्रो गरेर बढी अंक ल्याउँदा उनीहरूले जे भन्छन् त्यही दिएर पुरस्कृत गर्छौं । कम अंक ल्याएमा फलानोभन्दा कम हुनुभएन, उसलाई जसरी पनि जित्नुपर्छ भनेर तुलना गर्छौं । जुन समय पनि उसलाई फुर्काउँछौँ । 

योसँग खेल, त्योसँग नखेल, नबोल भन्दै सजग पार्छौं । यस्ता र उस्ता कुरा फलानालाई नभन भन्छौँ । अझ घातक कुरा– बालाई वा आमालाई वा सर-मिसलाई भनिदिन्छु, पुलिसलाई भनिदिन्छु भनी डर देखाउँछौँ । 

आमाबाबु फुर्सद पायो कि मोबाइल चलाउँछन् र बच्चालाई पढ, होमवर्क गर भनी निर्देशन दिन्छन् । मोबाइलबाट पानी बत्तीको बिल तिरिँदै छ भने पनि उसको मद्दत लिएझैँ गरेर संलग्न गराउँदा राम्रो हुन्छ । आफ्नो मोबाइलमा युट्युब अनि विभिन्न प्रकारका एप नै नराख्ने ।

अब सोचौँ, के यही हो बालबालिकालाई प्रेम गर्ने तरिका ? बालबालिकाले त प्रेमपूर्वक व्यवहारबाट नयाँ कुरा सिक्नुपर्छ, प्रतिभा प्रस्फुटन गर्न सक्नुपर्छ । यस्तै, उसलाई सामाजिक मूल्य-मान्यता र नैतिक शिक्षाको ज्ञान होस् । आफ्नो काम आफैँ गर्न सक्ने होस र जोस उसमा आओस् । उमेर अनुसार आएका बाधा–व्यवधान आफैँ समाधान गर्न सक्ने उपाय सोच्न सकोस् । धनी, गरिब वा भिन्न समुदायका आफ्ना सहपाठी र छिमेकीहरू साथी हुन् भनेर घुलमिल गर्न सकोस् । किसान, मजदुर, डकर्मी–सिकर्मी, प्रहरी, व्यापारी सबै समाजका लागि नभई नहुने सीपयुक्त व्यक्ति हुन् भनेर सम्मान गर्न सिकोस् । पसिनाको मूल्य बुझोस् । यी होइनन् र अभिभावके सोच्नुपर्ने विषय ?

यस्तै बालबालिकालाई भोजन खेर नफाल्न सिकाउनुपर्छ, अन्न र फलफूल उत्पादन गर्दै गरेको, हिलो–मैलो लागेको किसानलाई चिनाउनुपर्छ, बिउ रोप्दादेखि बाली भित्र्याउँदा समेतको श्रम देखाउन र बुझाउनुपर्छ । आफूले भोजन गरिरहेका वस्तुको उत्पादन सम्बन्धमा बुझेमा ऊ किसान र मजदुरप्रति अनुग्रहित हुन सक्छ ।

जापानको अभ्यास यहाँ उल्लेख गरौँ-  त्यहाँका स्कुले बच्चालाई हरेक उत्पादन जस्तो: अन्न र फलफूल, तरकारीजस्ता खेतीको काम देखाउन र गराउन फिल्डमा नै लगिने रहेछ । किसानहरू स्रोत व्यक्तिको रूपमा हुँदा रहेछन् । स्थानीय किसानसँग स्कुलको शैक्षिक सत्र सुरु हुने बेला नै के के बाली देखाउन सक्छ भनेर सम्झौता हुने रहेछ । किसानले बाली लगाउने, गोडमेल गर्ने, थन्क्याउने समयको अनुमानित मिति पेस गरेपछि प्रस्ताव स्वीकृत हुने र सोही अनुसार तालिका मिलाएर देखाउन र गराउन लगिने रहेछ । फलतः जापानी बालबच्चा सानैदेखि खानेकुरालाई अत्यन्त सम्मान गर्ने र महत्त्व दिने गर्दारहेछन् ।

यस्तै किसानको माग, किसानलाई सरकारले जग्गा उपलब्ध गराउने प्रक्रिया, किसानको परिवारबाट जति व्यक्ति संलग्न हुन्छन्, उनीहरूले पाउने तलब–भत्ता वा पेन्सन आदिबारे पनि जापानमा बालबालिकालाई जानकारी दिने गरिँदो रहेछ । 

हामीकहाँ बालबालिकालाई भन्ने गरिन्छ, ‘राम्रोसँग पढ नत्र मै जस्तो (कुनै पेसा अपनाउने) हुनेछौ ।’ यसो भनेर हामीले आफ्नो पेसाकै साख गिराइरहेका हुन्छौँ । यसो भन्ने अभिभावकलाई छोराछोरीले सधैँ पीडित देख्छन् । त्यसैले बालबालिकाको अगाडि आफ्नो पेसालाई कहिल्यै होँच्याउने गल्ती गर्न हुँदैन । 

बच्चाहरूले पैसा माग्दा ‘छैन, दिन्नँ’ बाट सुरु गर्नु राम्रो होइन । उनीहरूलाई पैसा किन र केका लागि चाहिएको हो भनी जिज्ञासापूर्वक सोध्नुपर्छ । आवश्यक परेको कारण थाहा पाएर रकम दिँदा उनीहरूलाई भन्नुपर्छ– ‘तिम्रो यो काम यति कारणले राम्रो भएकाले दिँदै छु ।’ उसले गर्न खोजेको कामको गुण–दोष केलाउन उसैलाई लगाउने गर्नुपर्छ । यसो गर्नाले छोराछाोरीलाई आमाबाबुप्रति हीनताबोध हुँदैन । 

यस्तै पढाइको गुणस्तर अथवा प्राप्ताङ्कलाई लिएर प्रेरित गर्न सकिन्छ-  उनीहरूसँगै बसेर यसअघिका सबै मार्कसिट हेर्ने र हरेक विषयमा हिजो र आजको तुलना आफैँ गर्न लगाउने । सन्तुलित अंक भए वा नभएको कुरामा सम्झाइदिने गर्नुपर्छ । प्रतिस्पर्धा अरूसँग होइन, आफैँसँग गर्नुपर्छ भनी बुझाउन सकिन्छ । पढाइ राम्रो बनाउन हामीले के कस्तो मद्दत गर्नुपर्छ भनेर सोध्ने र उनीहरूले के सुधार गर्नुपर्छ खोज्न लगाउने । बढी अंक ल्याउनु मात्र ठूलो कुरा होइन, बुझ्नु, सिक्नु र जानेका कुरा सकभर व्यवहारमा लागू गर्नुपर्छ भनी उत्प्रेरित गर्नुपर्छ । 

अतिरिक्त क्रियाकलापमध्ये उनीहरूलाई कुन विधा मनपर्छ, त्यो कुरा अभिभावकले बुझ्नुपर्ने हुन्छ । तिमीलाई के मनपर्छ मात्र भन्दा उसलाई जानकारी नहुन सक्छ । विभिन्न खेल, नृत्य, संगीत, चित्रकला आदिका बारेमा देखाएर वा बुझाएर उनीहरूको चाख बुझ्न सकिन्छ । पढाइ सँगसँगै कुनै अर्को एक विधामा लगाउन सकियो भने ऊ बरालिने, समयको दुरुपयोग गर्ने, कुसंगतमा लाग्ने सम्भावना कम हुन्छ । 

आमाबाबुका कुरा छोराछोरीले ध्यानपूर्वक सुनिरहेका हुन्छन् । त्यसमाथि पनि ठूलो स्वर गरेको कुरा र खासखुस गरेका कुरामा बालबालिका बढी जिज्ञासु हुन्छन् । तिमीलाई यो कुरा चाहिन्न, उता जाऊ भन्नुभन्दा उसले पत्तै नपाई कुरालाई अर्कैतिर मोड्नुपर्ने हुन्छ ।

आफ्ना छोराछोरीका मिल्ने साथीहरूसँग र तिनका अभिभावक पनि चिनाजानी हुनुपर्छ, सकभर एकापसमा बोलचाल र घुलमिल भएको राम्रो । कुनै दिन आफ्नो सन्तान फलानो साथीकहाँ हुन्छु भनेको छ भने त्यही घरमा फोन गर्ने, कुरा गर्ने गर्नुपर्छ । यसो गर्दा सामाजिक सम्बन्धको विकास पनि हुन्छ र छोराछोरीको इमानदारिताको जाँच पनि हुन्छ । 

बच्चाको उमेर अनुसार घरायसी काम ‘यसो गर र त्यसो गर’ भन्नुभन्दा आमाबाबुले गरेरै छोराछोरीलाई देखाउनुपर्छ । जस्तो : आफ्ना कट्टु–मोजा धुने लगायत काम आफैँ गर भन्न सकिन्छ, तर ती काम घरमा सबैले गरेको हुनुपर्छ । बुवा वा अरुले गरेका छैनन् भने बालबालिका खासगरी छोराले गर्न मान्दैनन्, कामको नाममा पानी सारेर पनि खाँदैनन् । छोराले यस्ता काम आमा वा दिदीबहिनीबाट गराइरहेको हुन्छ । यसले गर्दा ऊ सीपहीन र अल्छी बन्दै जान्छ । समय हेरेर फलफूल झिक, पखाल, काट खाऊ भन्नुपर्छ । आवश्यकता अनुसार आफूले खाएका भाँडा पखाल्न वा मिलाएर राख्न बानी लगाउनुपर्छ ।

आमाबाबुका कुरा छोराछोरीले ध्यानपूर्वक सुनिरहेका हुन्छन् । त्यसमाथि पनि ठूलो स्वर गरेको कुरा र खासखुस गरेका कुरामा बालबालिका बढी जिज्ञासु हुन्छन् । तिमीलाई यो कुरा चाहिन्न, उता जाऊ भन्नुभन्दा उसले पत्तै नपाई कुरालाई अर्कैतिर मोड्नुपर्ने हुन्छ । आमाबाबुका स–साना विमतिका कुरालाई पनि ठूलो रूपमा लिन्छन् बच्चाहरूले । त्यसमाथि त झन् झगडा गरेको थाहा पाए भने उनीहरूको बालसुलभता डामाडोल हुन्छ । 

आफ्ना बाबुआमाले हजुरबा–हजुरआमालाई गरेको व्यवहारको छाप अकाट्य हुन्छ उनीहरूमा । वृद्घ हजुरबा–हजुरआमाको सेवामा तिनलाई पनि संलग्न गराउने र आफूले पनि उदाहरणीय व्यवहार प्रस्तुत गर्ने गर्नुपर्छ । 

आजकालको अर्को जटिल विषय बनेर आएको छ, मोबाइलको प्रयोग । आमाबाबु फुर्सद पायो कि मोबाइल चलाउँछन् र बच्चालाई पढ, होमवर्क गर भनी निर्देशन दिन्छन् । मोबाइलबाट पानी बत्तीको बिल तिरिँदै छ भने पनि उसको मद्दत लिएझैँ गरेर संलग्न गराउँदा राम्रो हुन्छ । आफ्नो मोबाइलमा युट्युब अनि विभिन्न प्रकारका एप नै नराख्ने । उनीहरूको आइप्याडमा पनि बच्चाले हेर्ने एपहरू मात्र राखिदिने । पासवर्ड कहिल्यै नदिने र हेर्ने टाइम लिमिट पनि राखिदिनुपर्छ । 

आजकल उमेर अनुसारका कथा चुट्किलादेखि बच्चाका प्रतिभा प्रस्फुटित गर्ने खालका पुस्तक पाइन्छन् । पाँच वर्षदेखि माथिका बच्चाहरू अत्यन्त उत्सुक हुने हुँदा उनीहरूको क्षमता अभिवृद्धिका लागि जीवनभर प्रयोग गर्न सकिने व्यायाम, प्राणायाम र ध्यानका लागि प्रेरित गर्न सकिन्छ । यसका लागि ‘नवप्रतिभा विज्ञान’जस्ता कार्यक्रम पनि छन् । 

सानै समयदेखि ध्यान सिकाइयो भने बच्चाहरू उमेर अनुसार परिपक्व बन्दै जान्छन्, सामाजिक बन्छन् । उनीहरू आफ्नै रोजाइ र क्षमताको पहिचान गर्दै सिकाइमा गहिरिन सक्छन् । आफ्नो लक्ष्यमा काम गर्न सक्छन् । लक्ष्य नै विचारलाई गन्तव्यमा पु-याउने कुलो हो ।

यी त भए केही सामान्य उदाहरण । दैनिक जीवनमा यस्ता खालका व्यावहारिक पक्ष प्रशस्त छन् । जे भन्यो त्यही पु-याएर, फिटिक्क काम गर्न नलाएर, सदा फुर्काउने मात्र काम गरेर आफ्नो बालबच्चालाई परजीवी नबनाऊँ । उमेर अनुसार आउने बाधा–व्यवधानमा परिचित गराउँदै सानादेखि ठूलो सीपको विचार उत्पन्न गर्ने प्रतिभासम्मलाई मलजल पु¥याऊँ । अभिभावकले गर्ने सच्चा प्रेम यही हुनेछ ।

(लेखक पण्डित जीवन विज्ञान संस्थाकी प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप