सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

अनुमति सकियो, बबई नदीमा गिट्टी झिक्न तस्करको मेला कायमै

शनिबार, ०२ असार २०८०, ०६ : ४४
शनिबार, ०२ असार २०८०

दाङ । स्थानीयवासी – हेलो सर !
प्रहरी– हजुर ! 

स्थानीयवासी– नदीमा टिप्परको मेला लागेको छ । रोक्नुु पर्‍यो । 
प्रहरी– मेला लागेको प्रमाण केही छ ?

स्थानीयवासी – छ सर, वीपी भानु पारस कन्स्ट्रसनको बिल । जसमा जेठ ३२ गते दिउसो ३ः५५ समय गाडी नं. रा १ ख ३५१० लेखिएको छ । 
प्रहरी : स्थानीय सरकारले अनुमति दिएको छ । त्यो कुरा थाहा भएन । 

स्थानीयवासी : उत्खननको अनुमति जेठ २५–३१ गतेसम्म, एक हजार घनमिटर मात्रै हो । एउटा जेभिसी, १० वटा टिप्परलाई अनुमति थियो । यहाँ त पाँच वटा जेसिभीसहित दर्जनौँ टिप्पर खोलामा छन् । 
प्रहरी : हामीलाई थाहा भएन । मलाई हाम्रो हाकिमको आदेश छैन । 

तुुलसीपुर उपमहानगरपालिका–१२ शितलपुरका एक स्थानीय र प्रहरीबीचको संवाद हो यो । 
बबई नदीको शितलपुर घाट र पुल पूर्व–पश्चिमतर्फ केही दिन यता नदीजन्य पदार्थको भइरहेको अबैध उत्खनन रोकिदिन स्थानीयवासीले गरेको खबर हो । तर, प्रहरीले त्यो खबरको कुनै प्रवाह गरेन । 

उक्त क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि तुुलसीपुर उपमहानगरपालिकाले तिरुपाते निर्माण कम्पनीलाई जेठ २५ देखि ३१ गतेसम्म हप्ता दिन प्रत्येक दिन बिहान ६ देखि साँझ ६ बजेसम्म तुुलसीपुर  बबई नदीको शितलपुर पुलदेखि पूर्वतर्फ एक हजार घनमिटर नदीजन्य पदार्थ उत्खननको अनुमति दिएको थियो ।  

निर्माण कम्पनीले नदीजन्य उत्खनन तथा ढुवानीका लागि बा २ क ५५६० नम्वरको एक्साभेक्टर सहित रा १ ख २३२८, रा १ ख ११२४, रा १ ख २४३१, रा १ ख १३११, रा १ ख २७०४, रा १ ख २५५६, रा १ ख १२३६, रा १ ख १०५७, ना ८ ख ६९०९ नम्वरको १० वटा टिप्पर मात्रै प्रयोग गर्ने अनुमति लिएको थियो । 

तर, उक्त अनुमतिका नाममा अहिले उक्त क्षेत्रमा दर्जनौ टिप्पर, एक्साभेक्टर उत्खनन र ढुुवानी गरिरहेका छन् । न उत्खनन, न ओसारपोसार अनुुमति तर दिनरात बबई नदीको शितलपुर घाटमा अवैध उत्खनन भइरहेको छ । 

utkhanan

कर्मचारी र प्रहरीको पहरा 

निश्चित क्षेत्रमा निश्चित परिमाण उत्खनन गर्न निश्चित समयसीमा स्थानीय सरकारले निश्चित कम्पनीलाई दिए पनि त्यो समयसीमा अनुुमति सकिसकेको छ । उत्खननको अनुमति सकिए पनि उक्त क्षेत्रमा उत्खनन हुुँदै आइरहेको छ । 

जथाभावी उत्खननले वर्षात्को समयमा प्रभाव पार्छ कि भन्ने त्रासमा स्थानीय छन् । अवैध उत्खनन नियन्त्रणका लागि स्थानीय सरकार र प्रशासनसँग स्थानीयवासी हारगुहार गरिरहेका छन् । तर सुनुवाई हुनु सट्टा अवैध उत्खननका लागि स्थानीय सरकार र प्रहरी प्रशासनले नै पहरा दिदै आइरहेका छन् । 

सोही ठाउँ निवासी एक व्यक्ति नाम नखुलाउने शर्तमा रातोपाटीलाई भने– ‘उपमहानगरपालिकाका कर्मचारी राती खोलामै थिए । सादा पोशाकका प्रहरी पनि यही देखिन्थे । नदीजन्य पदार्थको उत्खनन रातभर, दिनभर चलिरहेको छ ।’ 
उनले थपे– ‘गाडी यता गाउँमा राख्छन्, होटेलमा बस्छन् । कोही आए खोलामा जान्छन् । प्रहरी यही, कर्र्मचारी यही । अनि कसलाई उजुरी गर्ने हामीले ?’ 

नदीजन्य वस्तुको अवैध चोरी पैठारी नियन्त्रणका लागि जनप्रतिनिधिहरुले आवश्यक नीति निर्देशन दिए पनि त्यसमा कार्यन्वयनको अभाव देखिएको तुुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले विवशता पोखिन् ।

‘यसका लागि समिति निर्माण गरेका छौं । समितिले खै किन देखेको छैन । हामीले सबै ठाउँ भ्याउन सक्दैनौं,’ उनले भनिन् ।

प्राकृतिक साधनको दोहन गर्न पाइँदैनः प्रहरी प्रमुख 

प्राकृतिक साधन स्रोतको दोहन अप्राकृतिक तवर तरिकाबाट भएमा त्यो कानुन विपरीत हुने भएकाले कसैले अनुमतिका नाममा वा अनुमति बिना नै नदीजन्य वस्तुुको चोरी पैठारी गरेमा कानुुनी कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले बताए ।  

उनले भने– ‘तोकिएको समयसीमा भन्दा अघिपछि नदीजन्य वस्तुुको उत्खनन अबैध काम गरेको थाहा पाए प्रहरीले कसैलाई छोड्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप