बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
क्राइम

बब्लु पासवान : लाल मोहम्मदको सर्भेलेन्स गराए, भारतबाट सुटर पठाए

हत्याको मुख्य योजनाकार, ड्रग्स डिलरका सञ्चालक
सोमबार, १७ वैशाख २०८१, १६ : ३०
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । पर्साको वीरगन्जबाट पक्राउ गरिएका बब्लु पासवानको ‘कनेक्सन’ गोठाटार घटनासँग जोडिएको छ । ३ असोज २०७९ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । मोहम्मदको हत्या गर्ने योजनाकारमध्ये एकजना पासवान भएको प्रहरीको अनुसन्धानको निष्कर्ष छ ।

भारतको रक्सौल घर भएका पासवान नेपालतर्फ प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीसँग आइतबार वीरगन्ज–१६ मा जम्काभेट भएको थियो । भाग्न खोजेपछि गोली प्रहार गरेर उनलाई पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

भारतीय अंडरवर्ल्ड डन बब्लु श्रीवास्तवसँग निकट छन्, बब्लु पासवान । नेपालमा जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी रअ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । लाल मोहम्मदले पनि भारतीय जाली नोट कारोबार गरेको आरोप छ । नोट कारोबारी सफाया गर्ने मध्येका श्रीवास्तव अहिले जेलमा छन् ।

श्रीवास्तवभन्दा तल्लो लेयरका हुन्, बब्लु पासवान । पासवानको साथबाट प्रहरीले एकथान पेस्तोल र ५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध र हतियार तथा खरखजाना मुद्दा चलाएपछि उनलाई काठमाडौँमा पठाइने एसपी ढुंगेलले बताए ।

 पासवानले गोठाटारमा लाल मोहम्मदको सर्भेलेन्स गराएर सुटर पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बौद्ध स्थित एक होटलमा बसेर भारतीय महिला ममता तिवारी ‘मेरिन’ र मकवानपुरको बकैया गाउँपालिका घर भएकी सुस्मिता स्याङतानले मोहम्मदको गतिविधि निगरानी गरेका हुन् ।

ममता तिवारी ९ वर्ष लागु औषध मुद्दामा जेल बसेर छुटेकी हुन् । उनीहरुलाई डेढ महिनाअघिबाट सर्भेलेन्स गर्न लगाएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

सर्भेलेन्स गरेपछि उनले सुपारी लिएर मोहम्मदको हत्या गर्न टिम परिचालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । ‘मोहम्मदको सर्भेलेन्स गराएपछि भारतबाट पासवानले नै हतियार पठाएको अनुसन्धानबाट देखिन्छ,’ घटनाबारे गठित छानबिन समितिमा बसेर काम गरेका एकजना अधिकृत भन्छन्–‘हतियार र सुटर पनि उनले नै पठाएका हुन् ।’ हत्यामा संलग्न सुटर पक्राउ परेका छैनन् ।

हत्यामा संलग्न आरोपमा प्रहरीले यसअघि सुस्मिता स्याङ्तान, २१ वर्षी महोरम मियाँ र १९ वर्षका रेहान मियाँलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । पासवानले सुपारी लिएर टिम परिचालन गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

बब्लुको वास्तविक नाम गणेश कुमार हो । तर, उनी आफूलाई बब्लु पासवान भनेर चिनाउँछन् । रक्सौलबाट वीरगन्ज हुँदै काठमाडौँतर्फ लागु औषध कोरेक्स पठाउने डिलरका मुख्य सञ्चालक पनि हुन, पासवान । उनी पक्राउ परेसँगै नेपालका कारोबारीले रक्सौलबाट कोरेक्स झिकाउने अध्याय बन्द भएको एसपी ढुंगेलले बताए ।

उनी १३ जेठ २०७३ मा सुरेश केडियाको अपहरणमा पनि संलग्न थिए । रक्सौलमा बसेर उनले तराईका जिल्लामा अपहरणको धन्दा चलाउने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप