आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

विजय यात्राः पाइलट, कलाकारितापछि अब राजनीति !

शनिबार, ०२ असार २०८०

काठमाडौँ । विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । पाइलटका रूपमा अलग्गै पहिचान छ उनको । 

साहसी, आँटिलो स्वभावका उनको कलाकारितामा पनि अलग्गै उचाइ छ । कलाकारिता र पाइलटमा आफूलाई प्रमाणित गरिसकेका उनको अबको बाटो राजनीतिक यात्रामा छ ।

आखिर राजनीतिमा नै किन प्रवेश गर्ने सोचमा छन् त उनी ?

हरेक नेपालीका लागि लडाई लड्ने उद्देश्यले आफूले राजनीति रोज्न लागेको विजयले बताए । ‘यो देश मेरो पनि हो । म चोखो मनले राजनीतिमा आउन खोज्दैछु’, उनले भने ‘दुइ चारजना ठुलालाई खुसी बनाउन र चाकडी गर्न होइन, जनतालाई साथ दिन, उनीहरूको आवाज बन्नलाई हो ।’ 

राज्यमा राम्रो नीति, नियम बनाउनसमेत आफूले राजनीतिमा आउने निर्णय लिएको उनले सुनाए ।

राजनीतिमा प्रवेशको सोच बनाए पनि आफूले कुन पार्टीबाट, कसरी राजनीति अगाडि बढाउने त्यो हालसम्म निश्चित गरेका छैनन् उनले । 

आफ्नो विज्ञता उपयोग गर्ने ठाउँ पाए अहिलेका राजनीतिक पार्टी, नभए स्वतन्त्र ढंगबाट राजनीति गर्ने सोच छ उनको । भन्छन्, ‘म सामान्य कार्यकर्ता भएर राजनीतिमा आउँदिन । एउटा दस्तक दिने हिसावले होमिन्छु ।’ 

त्यसो त गत वर्षको चुनावबाटै राजनीतिमा होमिन चाहन्थे उनी । तर व्यक्तिगत कामले गर्दा त्यो सम्भव भएन रे । 

‘अबको ४ वर्षभित्र म राजनीतिमा हुन्छु । चाहेमा गर्न नसकिने भन्ने केही छैन । राजनीतिमा केही गरेर देखाउँछु’ लामाले थपे । 

विजय पछिल्लो समय नियमित पाइलट कर्मको अलावा फिल्म ‘अन्तिम संस्कार’को काममा पनि व्यस्त छन् । यही असार ८ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘अन्तिम संस्कार’ मा उनको मुख्य भूमिका छ । फिल्मको अहिले प्रचारप्रसार तीव्र गतिमा चलिरहेको छ । 

सोही क्रममा विजय लामाले अभिनय, मोडलिङ र आफ्नो नियमित उडान दैनिकीबारे राटोपाटीसँग अनुभव साटेका छन् । 

bijay lama

सेन्टर क्यारेक्टर  

‘अन्तिम संस्कार’ प्रदीप शाही निर्देशित फिल्म हो । प्रदीपले यसअघि ‘गोर्खाः विनिथ विथ ब्रेभरी’ दिएका थिए । उक्त फिल्मको ट्रेलरबाट प्रभावित विजयलाई प्रदीपसँग काम गर्ने इच्छा थियो । त्यो अन्तिम संस्कारले पुरा गरिदियो । निर्देशक र फिल्मको कथा मन परेकोले फिल्ममा आफू जोडिएको विजयले सुनाए ।

‘अन्तिम संस्कार’को सेन्टर क्यारेक्टर नै लामा हुन् । ‘फिल्मको हिरो भन्दिन, फिल्मभित्र जति क्यारेक्टर छ, त्यो मसँग ठोकिन्छ’, उनले फिल्मबारे भने, ‘फिल्मको कथा एकदमै राम्रो छ । अहिले खोल्न मिल्दैन ।’ फिल्ममा  आफ्नो च्यालेन्जिङ भूमिका रहेको उनले जानकारी दिए ।

फिल्ममा उनको अलावा दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राईलगायत कलाकार छन् । उनी सबै कलाकारको साथमा प्रचार प्रसारको दौडमा छन् । 

‘हाम्रो फिल्म विदेशका ठुला लगानीका फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले, फिल्मको व्यवसाय राम्रो हुन सकिरहेको छैन’, विजयले भने, ‘हाम्रो देशमा अहिले नेपाली फिल्म कम हेर्छन् । हामी सबैलाई फिल्म हेर्न बनाउन लागि परेका छौ ।’ 

‘अन्तिम संस्कार’ नामबाटै जो कोहीले फिल्म आर्यघाटको कथामा होला भनेर अनुमान गर्न सक्छन् । तर होइन, फिल्म हत्याको कथामा बनेको छ ।

‘हामी सधैँ गाउँको कथा, प्रेम रोमान्सको कथा हेर्दा दिक्क भएका छौ’, उनले भने, ‘केही फरक स्वाद पस्किने कोसिस फिल्मले गरेको छ ।’

‘मानिसलाई मृत्युदेखि सधैँ डर हुन्छ । त्यसैले, उसले मृत्युको बारेमा बोल्न, कुरा गर्न चाहँदैन’, उनले थपे, ‘अन्तिम संस्कार’ मृत्युपछिको जन्म हो । मुक्ति प्राप्तिको मार्ग हो ।’ जीवनको सबैभन्दा ठुलो सत्य मृत्यु हो । यही मृत्युपछिको पवित्र संस्कार ‘अन्तिम संस्कार’ समेत फिल्ममा रहेको उनले बताए ।

343421172_212338298205643_2216353446268904044_n

अब निर्देशन

विसं २०४० को फिल्म ‘आदर्श नारी’बाट अभिनेताको  रूपमा यात्रा सुरु गरेका हुन् विजयले । त्यो यात्रा अहिले पनि अनवरत रूपमा जारी छ । 

उनी अभिनयलाई पाइलट पछिको दोस्रो पेसा ठान्छन् । ६० बढी नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनय गरेका उनीसँग हिरोदेखि भिलेनसम्म, सहायकदेखि चरित्र अभिनेतासँग अभिनय अनुभव छ । 

‘मैले अभिनय गरेको फिल्मको सङ्ख्या धेरै हुन सक्थ्यो । म अझै धेरै फिल्म खेल्थे होला । मैले समय दिन सक्दिन भन्दै निर्माता, निर्देशक मसँग कुरै नगरी मेरो भूमिका अरुलाई दिदा रहेछन्’, उनले गुनासो पोखे । 

गायक, टेलिभिजन प्रस्तोताको रूपमा समेत चिनिएका उनको आफ्नो युट्युब पनि छ । छिट्टै प्रस्तोताको रूपमा पनि देखिने तयारी छ उनको ।

कतिपय कलाकार आफ्नो कलाकारिताबाट सन्टुष्ट छैनन् । के पाएँ र ? के दियो र ? यस्तै यस्तै गुनासो पोख्छन् । विजय भने अभिनयबाट सन्तुष्ट छन् । कलाकार भएर धेरै चरित्र बाँच्न, फरक फरक अनुभव गर्न पाएको उनले सुनाए ।

कलाका धेरै विधामा क्रियाशील विजयको अव फिल्म निर्देशन गर्ने सोच पलाएको छ । त्यसका लागि केही प्रोजेक्टमा कामसमेत सुरु गरेका छन् उनले ।

‘टेलिसिरियल, म्युजिक भिडियो, विज्ञापन निर्देशक र धेरै अभिनय गरेको अनुभव छ मसँग । त्यो सबै अनुभव निर्देशनमा खन्याउन खोज्दै छु’, विजयले भने ‘‘निरमाया’ भन्ने फिल्मको तयारी लगभग सकिएको छ । यसबाटै निर्देशनमा मेरो डेब्यु हुन्छ कि ।’

नेपालमा ठुला जहाज उडाउने ४ जनामात्र पाइलट छन्, तीमध्यका एक हुन् विजय । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध उनी १९८८ बाट नेपाल एयरलाइन्सका विमान उडाउँदै आएका छन् । सुरुमा राष्ट्रिय र अहिले अन्तर्राष्ट्रिय उडानमा उनी सक्रिय छन् ।

विमान उडाएर करिब ३० देशमा पुगेका विजयले कोरोना समयमा जोखिम मोलेर विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याएका थिए, यसबाट उनी सबैको तारिफको पात्र बनेका थिए ।

आफ्नो पेशाबारे उनी भन्छन्, ‘भन्न त मैले डाक्टर बन्छु भनेको थिए । पाइलट बन्छु कहिल्यै भनेको थिइनँ ।’ 

पाइलट कर्मको सिलसिलामा थुप्रै पटक जोखिमको सामना गरेका छन् उनले । कतिको प्रश्न हुन सक्छ । लामो समयदेखिको पाइलट पेसाबाट उनी दिक्क छन् कि ? 

‘यो मेरो मनपर्ने पेसा हो । यसमा दिक्क भन्ने हुँदै हुन्न । यसमा धेरै च्यालेन्जिङ छ’, उने अगाडि भने, ‘यो एउटा यस्तो पेसा हो, जुन नकारात्मक सोचबाट सुरुवात हुन्छ ।’ जहाज स्टार्ट गर्दा गर्दै पड्कियो भने के होला ?, ल्यान्ड गर्दा गर्दै पाङ्ग्रा खुस्कियो भने के होला ? 

टेकओभर गर्ने बित्तिकै एकातिरको पखेटा झर्‍यो भने के होला ? माथि जाँदा जाँदै इन्धन सकियो भने के गर्ने ?, मौसम चेन्ज भयो भने के गर्ने ?’ प्लेन चढ्ने बित्तिकै दर्जनौँ नकारात्मक कुरा मनमा उब्जिने उनले अनुभव राखे ।

‘त्यो नकारात्मक भित्र पनि सकारात्मक खोज्ने पेसा हो पाइलट । ती नकारात्मक कुरा सबै नियालेर प्रयोग गर्दा नै सुरक्षित भइन्छ’, उनले भने ‘डरलाई भर मानेर काम गर्नुपर्छ, यसलाई शक्तिमा परिणत गर्नुपर्छ ।’

पाइलटको रूपमा पहिले पहिले आन्तरिक उडानमा विकट ठाउँमा जान रुचाउने उनी अहिले लामो अन्तर्राष्ट्रिय लामो रमाउन थालेका छन् । भने ,‘जति लामो फ्लाइट भयो, उति च्यालेन्ज हुन्छ । च्यालेन्ज मलाई धेरै मनपर्छ ।’

उडानको सिलसिलामा धेरै पटक जोखिमको सामना पनि गर्नु परेको छ उनले । अपर्झट निर्णय गरेर जोखिमबाट बचेको अनुभव पनि छ ।

‘एक समय उडानकै क्रममा म बिमारी भएँ, उडान अन्य देशको थियो, दिल्लीमा अवतरण गरे । अर्को काठमाडौँबाट नेपालगञ्ज उडेको थिएँ, प्लेनमा समस्या आएको कारण पोखरामा अवतरण गर्नुपर्‍यो,’ उनले उडानको दुई किस्सा सुनाए । 

‘भवितव्य कहिल्यै नाच्दै आउँदैन । लुकेर आउँछ, कतिखेर विस्फोट गराउँछ थाहा हुँदैन,’ विजयले कुराकानीको बिट मारे, ‘हामीले आफ्नो क्षमता नै जोखिम अवस्थामा देखाउने हो । हाम्रो तालिम नै त्यही विषयमा हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया