शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन

सरकारलाई ‘बिचौलिया र तस्करले चलाएको’ आरोप, तैपनि समर्थन कायम
बुधबार, ३१ वैशाख २०८२, २१ : ००
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • जसपा अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई बिचौलिया र तस्करहरूको सरकार भएको आरोप लगाए।
  • यादवले सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा असफल भएको आरोप लगाए, जसपाले समर्थन कायमै राखेको छ।
  • जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशमा सरकारलाई असहयोग गर्यो, जसले गर्दा ओली र यादवबीचको दुरी बढेको छ।
  • जसपा नेपालले कांग्रेससँग सहकार्य गरेको र आगामी चुनावमा गठबन्धन बनाउने प्रयास गरेको छ।

काठमाडौँ । वैशाख २७ गते जनकपुरमा आयोजित एक कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई बिचौलिया र तस्करहरूले चलाएको आरोप लगाए । 

वैशाख २९ गते मोरङको एक कार्यक्रममा उनले देशमा कुशासन र भ्रष्टाचार हाबी भएको आरोप लगाउँदै वर्तमान सरकार पूर्ण रूपले असफल भइसकेको दाबी गरे । 

जसपा नेपालका अध्यक्ष यादवले जनकपुर र मोरङमा मात्र होइन, हालै सिराहा, सुनसरी, सप्तरी, पर्सा, रौतहट, महोत्तरीमा पनि सरकारबारे यस्तै टिप्पणी गरेका छन् । पार्टीको विभिन्न तहको अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको आलोचना गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसपा नेपालले समर्थन गर्दै आएको छ । आफ्नै समर्थन रहेको सरकारका बारेमा जसपा नेपालका अध्यक्ष यादवको टिप्पणी भने विपक्षी दलकै जस्तो रहने गरेको छ ।

  • सरकारबारे के भने उपेन्द्र यादवले ?

गत सोमबार विराटनगरमा जसपा नेपालको मोरङ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैँले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम गर्न नसकेर पूर्ण असफल भएको दाबी गरे ।

सबै नियुक्ति, नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म बिचौलियाहरू नै निर्णायक भएको भन्दै अध्यक्ष यादवले सबैखाले नियुक्ति लेनदेनका आधारमा हुने गरेको आरोप लगाए । उनले व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण यो सरकार गठन भएको भन्दै लुटतन्त्र र कमिसनतन्त्रको चलखेल बढेको टिप्पणी गरे । 

सिराहामा आयोजित कार्यक्रममा अध्यक्ष यादवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो संसद्मै नेपाली नेताहरूलाई ‘फ्रड लिडर’ भनेर सम्बोधन गरिसकेकाले वर्तमान सरकारले नेपालमा मात्र होइन, विश्वस्तरमा विश्वास गुमाइसकेको टिप्पणी गरे । 

उल्लेखनीय छ, जसपा नेपालका अध्यक्ष यादवले ‘विश्वस्तरमै विश्वास गुमाइसकेको’ भनेको सरकारलाई पार्टीका तर्फबाट दिँदै आएको समर्थन कायम नै राखेका छन् । यतिमात्र होइन, बिचौलिया तथा तस्करले चलाएको भनेर सरकारबारे टिप्पणी गरेका यादवले समर्थन फिर्ता लिने आँट किन गरिरहेका छैनन् भन्ने प्रश्न पनि उठिरहेको छ ।

जसपा नेपालका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी नदिएका होइनन् । आवश्यक परे जुनसुकै बेला समर्थन फिर्ता लिने अभिव्यक्ति उनले पटक–पटक दिँदै आएका छन् । यद्यपि आफ्नो समर्थन कायमै रहेको सरकारको आलोचना गरेर उनले दोहोरो भूमिका निर्वाह गरिरहेको कतिपयको टिप्पणी छ ।

यसबारे रातोपाटीले राखेको जिज्ञासामा जसपा नेपालका महासचिव रामकुमार शर्माले सरकारलाई समर्थन गर्नु र नगर्नुको कुनै अर्थ नरहेको बताए । आवश्यक भएमा जुनसुकै बेला समर्थन फिर्ता लिन सकिने उनको भनाइ छ ।

महासचिव शर्माले भने, ‘हो, सरकार पूर्ण रूपमा असफल भइसकेको छ । यो सरकार बिचौलिया तथा तस्करहरूले चलाइरहेका छन् । संघीयता, लोकतन्त्रप्रति यो सरकारको सरोकार छैन ।’

जसपा नेपालका प्रवक्ता मनिष सुमनले एउटा परस्थितिमा जसपा नेपालले वर्तमान सरकारलाई समर्थन दिएको प्रस्ट पार्दै अहिले प्रधानमन्त्रीलाई विश्वासको सङ्कट उत्पन्न नभएको तर सरकारलाई विश्वासको मत आवश्यक परेमा जसपा नेपालले पुनर्विचार गर्ने बताए । 

प्रधानमन्त्री ओलीले सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका कारण समर्थन गरेको तर ती कुनै प्रतिबद्धता पूरा नभएको प्रवक्ता सुमनको भनाइ छ ।

सरकारलाई समर्थन दिएका कारण संसदमा आफूहरू सत्तापक्षतिर बसेको उनले बताए । सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्दै आएको उनले प्रस्ट पारे । वर्तमान सरकारलाई जसपा नेपालले समर्थन गरे पनि सरकारबाट कुनै लाभ नलिएको उनको भनाइ छ । केन्द्रदेखि प्रदेशसम्मका कुनै पनि सरकारमा आफ्नो पार्टी सामेल नरहेको उनले बताए ।

  • सरकारलाई असहयोग

भूमि सम्बन्धी अध्यादेशमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई जसपा नेपालले पछाडि हट्न बाध्य बनायो । राष्ट्रिय सभाबाट सो अध्यादेश पारित गर्न जसपा नेपालको समर्थन आवश्यक थियो । जसपा नेपालले उक्त अध्यादेश कुनै पनि हालतमा पारित नगर्ने अडान लिएपछि सरकार सो अध्यादेशलाई ‘होल्ड’ गर्न बाध्य भयो । 

बुधबार नियमित प्रक्रियाबाट भूमि सम्बन्धी विधेयक सदनमा प्रस्तुत गरिएको छ । भूमि सम्बन्धी अध्यादेशलाई असफल बनाउनुलाई जसपा नेपालले आफ्नो ठुलो सफलताको रूपमा लिएको छ । अध्यादेशमा असहयोग गरेको विषयलाई लिएर प्रधानमन्त्री ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबिच झन् दुरी बढेको छ । 

जसपा नेपालका महासचिव शर्माले सरकारलाई समर्थन गरेकै कारण उसका सबै गतिविधिलाई समर्थन गर्नु पर्दैन भन्ने कुरा भूमि सम्बन्धी अध्यादेश प्रकरणबाट पुष्टि भएको बताए । उनले जसपा नेपाल लोकतन्त्र र संघीयताप्रति प्रतिबद्ध रहेको र त्यसका लागि कसैसँग सम्झौता नगर्ने बताए । 

  • प्रचण्डका कारण ओलीलाई साथ

जसपा नेपालका अध्यक्ष यादव विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण प्रधानमन्त्री ओलीलाई साथ दिन बाध्य भएका हुन् । जसपा नेपालका नेताहरूका अनुसार प्रचण्ड प्रधानमन्त्री रहँदा जसपा नेपाल विभाजन भएकाले अध्यक्ष यादव प्रचण्डप्रति असन्तुष्ट रहँदै आएका छन् ।

सरकारलाई समर्थन नगर्दा प्रचण्डकै कित्तामा जानुपर्ने अवस्था देखिएका कारण जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका नेता बताउँछन् ।

महासचिव शर्माले दुवै कम्युनिस्ट पार्टी संघीयता र लोकतन्त्रप्रति इमानदार नरहेको बताए । उनले भने, ‘सङ्घीयता र गणतन्त्रप्रति माओवादी र एमाले इमानदार छैनन् । त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जसपा नेपाललाई ठुलो घात गरेको कारण वर्तमान सरकारलाई समर्थन गरेका हौँ ।’

  • कांग्रेससँग जसपा नेपालको सहकार्य 

जसपा नेपालको सम्बन्ध यतिबेला सत्ता पक्ष र विपक्षीमध्ये कुनै पनि दलसँग राम्रो छैन । जसपा नेपालबाट विभाजन भएर बनेको जसपालाई प्रधानमन्त्री ओलीले राजनीतिक रूपमा संरक्षण दिइरहेको जसपा नेपालका नेता बताउँछन् ।

वर्तमान सरकारमा लोकतन्त्र, संघीयता, समावेशी र धर्मनिरपेक्षताप्रति थोरै भएपनि कांग्रेस इमानदार देखिएकाले सरकारप्रति समर्थन कायम राखेको उनीहरूको भनाइ छ ।

२०७९ को चुनावपछि जसपा नेपालले कांग्रेससँग सहकार्य गर्नुका साथै लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जसपा नेपाल विभाजन गराएपछि कांग्रेससँग जसपा नेपाल अझ निकट भएको थियो । 

कांग्रेस र एमालेबिच गठबन्धन बनेर सोही आधारमा सरकार गठन भएपछि जसपा नेपालले एकातिर कांग्रेससँगको आफ्नो सम्बन्ध र अर्कोतिर प्रचण्डप्रतिको आक्रोशका कारण सरकारलाई समर्थन गरेको थियो । ओली नेतृत्वको सरकारमा जसपा नेपाल सहभागी हुनसमेत चाहेको थियो । संघीय सरकारमा सामेल नभए पनि मधेस प्रदेश सरकारको नेतृत्व लिन प्रयास गरेको थियो । त्यसमा कांग्रेस सकारात्मक रहे पनि प्रधानमन्त्री ओलीले संघीय सरकारमा जसपा नेपाललाई सामेल नगराउने अडान लिए । उनले मधेस सरकारमा समेत जसपा नेपाललाई नेतृत्व दिन नसकिने भन्दै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन लगाए ।

महासचिव शर्माले एमाले र माओवादी केन्द्रसँग आफूहरूको सहकार्य नहुने तर कांग्रेससँग सहकार्यको ढोका खुला रहेको प्रस्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप