मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा घोषणासभा

ओलीले समाजवादी मोर्चाबाट तर्सिनु पर्दैन : उपेन्द्र यादव

सोमबार, ०४ असार २०८०, १८ : २४
सोमबार, ०४ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन् । ओलीप्रति सङ्केत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताएका हुन् ।  सोमबार काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटकपटक दोहोर्याए ।

परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढ्नका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो । अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरूका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी समेत दिए । 

उनले भने, ‘यहाँ मोर्चा, गठबन्धन बन्दै, भत्किँदै गएकाले मान्छेलाई अलिकति क्या हो, कसो हो ? भन्ने लागेको पनि हुन सक्दछ । त्यो आशङ्का हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत साबित गर्दै यो मोर्चा निश्चित उद्देश्यका लागि  निर्माण गरिएको मोर्चा हो । र, यसलाई सबैले सहयोग गर्नु हुनेछ । र, यसले आफ्नो लक्ष्यतर्फ अगाडि बढ्ने कुरामा मत ढुक्क छु । हाम्रो प्रयास रहनेछ । र, यो गठबन्धनले, मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्ने जरुरी छैन । हामी परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढ्न चाहन्छौँ । यो कसैको विरुद्धमा लक्षित छैन । त्यस कारणले कोही नतर्सिए हुन्छ । धेरै मान्छेहरू अहिले नै केही साथीहरू यसो घोषणा हुनुभन्दा अगाडि नै बरबराउन थाल्नुभएको थियो । मिडियाहरू बरबराएको पढ्न, सुन्न पाइयो । त्यस्तो नबरबराउँदा हुन्छ । हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढ्छौँ । तर, प्रतिगमनकारी शक्तिहरू, जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, विगतका आन्दोलनका संघर्ष र बलिदानलाई समाप्त पार्ने खेल खेलेका छन् । निश्चित रूपमा तिनको विरुद्धमा यो मोर्चा उभिनेछ । आवश्यक परे संघर्ष पनि गर्नेछ ।’

अध्यक्ष यादवले राजनीतिक अस्थिरता र अन्यौलतालाई अन्त्य गरी मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटो हुँदै जातीय, वर्गीय, लैंगिक, क्षेत्रीय आदिको आधारमा भइरहेका विभेद र असमानतालाई अन्त्य गर्दै एउटा समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नका लागि नै यो मोर्चा गठन भएको जिकिर समेत गरे ।

उनले भने, ‘हामीले मुलुकमा राजनीतिक लोकतन्त्रको साथसाथै यो लोकतन्त्रलाई समावेशी लोकतन्त्रमा रूपान्तरण गर्दै लोकतन्त्र वास्तवमा सामाजिक पनि हुनुपर्छ । आर्थिक पनि हुनु पर्दछ । र, सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक प्रणालीलाई विकसित गर्दै समाजको ध्येय प्राप्त गर्ने उद्देश्यको लागि अगाडि बढ्नका लागि यो मोर्चाको गठन गरिएको हो । र, यसै दिशामा अव हामी चार दल मिलेर यी साझा कुराहरूमा हामी अगाडि बढ्ने । सबै दलका आ–आफ्ना विचार, दृष्टिकोणहरू छन् । ती दृष्टिकोणहरू आ–आफ्ना रहिरहन्छन् । तर, साझा मुद्दालाई लिएर अगाडि बढ्ने यो प्रतिविद्धताका साथ निर्माण भएको मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क पार्न, निश्चित हुन हामीले भूमिका खेल्नुपर्दछ ।’ 

अध्यक्ष यादवले आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित गराउने प्रयास भएको भन्दै त्यसका विरुद्ध संघर्ष गर्न पनि सबैलाई तयार रहन आग्रह गरे । उनले संविधानमा रहेका त्रुटि, कमीकमजोरीलाई सच्याउँदै लैजाने काममा पनि मोर्चाले काम गर्ने बताए । राष्ट्रको हित, जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको पनि अध्यक्ष यादवले दाबी गरे । अध्यक्ष यादवले सबै समुदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप