बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

‘वान एक्स बेट’को प्रचारमा कलाकार, ४० लाखसम्म बुझेको प्रहरीको निष्कर्ष

एसएसपी भन्छन्– अब खेल्नेलाई पनि पक्रन्छौं
बुधबार, ०६ असार २०८०, २३ : ०१
बुधबार, ०६ असार २०८०

काठमाडौं । कलाकार सरोज घिमिरे ‘ढेडु बुढो’को युट्युव च्यानलमा जानुभयो भने क्रिकेट लाइभ म्याचको प्रेडिक्सन (पूर्वानुमान) गरेर घरमा बसीबसी पैसा जित्न सकिने विज्ञापन भेटिन्छ ।

केही अगाडि अपलोड गरिएको उक्त विज्ञापनमा भनिएको छ, ‘अहिले आइपिलएल चल्दै छ, अन्य थुप्रै क्रिकेटका लाइभ म्याच पनि चलिरहेका छन् । यी लाइभ म्याचमा गेम खेलेर र गेमको प्रेडिक्सन (पूर्वानुमान) गरेर घरमा बसीबसी पैसा जित्न सक्नुहुन्छ, त्यसका लागि युज गर्नुपर्ने हुन्छ तपाईहरुले हाम्रो प्रोमो कोड, जुन तपाईले स्क्रिप्टमा देख्न सक्नुहुन्छ । र, डिस्क्रिप्सनमा भएको लिंकमा गएर रजिष्ट्रेशन गर्नुभयो भने १३० प्रतिशतसम्म बोनस पनि पाउन सक्नुहुन्छ । जानुस् त, अहिले नै रजिष्ट्रेशन गर्नुस् !’

यस्ता फरक–फरक विज्ञापन उनले अपलोड गरेका टेलिसिरियलमा देख्न सकिन्छ । कलाकार घिमिरेको प्रोमो कोड ‘सरोज–२१’ मार्फत वान एक्स बेटको लिङ्कमा गएर पैसा कमाउने खेललाई ‘सट्टेबाटी’ भनिन्छ । नेपालमा सट्टेबाजी गैरकानुनी मानिन्छ ।

सट्टेबाजीको प्रचार गरेर गैरकानुनी काम गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जना कलाकार, ३ जना युट्युबरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कलाकारहरु पक्राउ पर्नुअघि जेठ ३० मा कैलाली घर भएका २९ वर्षीय दिनेश खड्कासहित ५ जना पक्राउ परेका थिए । उनीहरु ‘वान एक्स बेट’का नेपाली एजेन्ट हुन् ।

Master 3.5 (2080)

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी’, राजु पौडेल (राजु मास्टर) र बेगम नेपाली (भटभटे माईला)ले बेटिङ एप्सको विज्ञापन गरेको रकम अर्का कलाकार ढेडुबुढो मार्फत लिने गरेको प्रहरीलाई बयान दिएका छन् । तर, सरोज घिमिरे (ढेडुबुढो)ले प्रहरीसँगको बयानमा आफू त्यसरी माध्यम नबनेको जिकिर गरेका छन् ।

कलाकार र बेटिङ एजेन्टसँग टेलीग्राम मार्फत कुरा हुने गरेको अनुसन्धानका संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘वान एक्स बेटका एजेन्टले कलाकारको खातामा पैसा डिपोजिट गरिदिने गरेको देखिन्छ ।’

कोरोना संक्रमणका कारण लकडाउन सुरु भएसँगै कलाकारहरुलाई एजेन्टले बेटिङ एप्सको विज्ञापन गर्न प्रयोग गरेको थाहा भएको छ । सुुरुवाती चरणमा ३० देखि ४० हजार रुपैयाँ लिने गरेका कालाकारले पछि ५ लाखसम्म कमिशन लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

साइप्रसमा बनेको वान एक्स बेटको प्रचार गरेर एक जना कलाकारले ४० लाखसम्म लिएको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए ।

‘एक जना कलाकार बराबर ५ लाखदेखि ४० लाखसम्म रकम लिएको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी डा. केसी भन्छन्, ‘आरोपितहरु विरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेका छौं ।’

Alish Rai 3.5 (2080)

कलाकारले आफ्नो युट्युवमा ‘प्रोमो कोड’ राख्ने गरेका छन् । वान एक्स बेटको प्रोमो कोड रजिष्टर्ड गरेपछि खेल्नेलाई धेरै क्वाइन आउँछ । अनि, सट्टेबाजी खेल्नेले रकम गुमाएमा एजेन्टले कमिशन पाउँछन् ।

टेलिग्राम मार्फत सञ्चालकले भनेअनुसार आफैँले विज्ञापन बनाएर युट्युवमा प्रचार गर्ने गरेको कलाकारहरुले प्रहरीलाई बताएका छन् । अधिकांश कलाकारले आफ्नो प्रचार सामग्रीमा भनेका छन्, ‘वान एक्स बेट मार्फत जुवा खेल्नुस्, पैसा जित्नुस् ।’

आरोपित कलाकारले लाइभ फुटबल र क्रिकेटमा सट्टेबाजी खेल्न प्रचार गरेका थिए ।

‘वान एक्स ब्याट’को कनेक्सन खोजिँदै

नेपालमा सञ्चालन हुने ठुला क्रिकेट प्रतियोगितामा ‘वान एक्स ब्याट’को विज्ञापन गरिएको हुन्छ । मानिसहरु झुक्किने गरेका छन्– वान एक्स बेट र ‘ब्याट’ एकै त हैन ?

पक्राउ गरिएका कलाकारले पनि त्यसबारे आफूहरु झुक्किएको प्रहरीलाई बताएका छन् । वान एक्स बेट नेपालमा अवैध भएको थाहा पाएपछि आफूहरुले विज्ञापन बनाउन अस्वीकार गर्दा ‘वान एक्स ब्याट’को उदाहरण दिएर ढेडु बुढोले ‘कन्भिन्स’ गरेको अन्य कलाकारले प्रहरीलाई बयान दिएका छन् ।

सरोज घिमिरे (ढेडु बुढो)ले कलाकारलाई कन्भिन्स गर्दै भनेका थिए, ‘वान एक्स ब्याटको विज्ञापन मैदानमा हुन्छ, त्यहाँ प्रधानमन्त्री जान्छन् अनि, हामीले विज्ञापन गर्न हुँदैन ?’

घिमिरेले त्यसो भनेपछि फेरि प्रमोशन गर्न थालेको कलाकारहरुले बताएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

अनुसन्धानबाट अहिलेसम्म वान एक्स बेट र वान एक्स ब्याटको फरक छुट्याउन नसकिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले अहिलेसम्म वान एक्स ब्याट र वानएक्स बेटको बीचमा कनेक्सन नदेखिएको रातोपाटीलाई बताए । डा. केसीले भने, ‘त्यसमा अनुसन्धान गर्दैछौं ।’

कलाकार र वान एक्स बेटका एजेन्ट दिनेश खड्का सहितका टोलीलाई प्रहरीले एउटै मुद्दा चलाएको छ । तेस्रो पटक जिल्ला अदालत काठमाडौंबाट उनीहरुमाथि अनुसन्धानका लागि ६ दिनको म्याद मिलान गरिएको छ ।

एसएसपी भन्छन्– अब खेल्नेलाई पक्राउ गर्छौं 

वान एक्स बेटमार्फत जुवा खेलाउने एजेन्टहरुलाई पक्राउ गरेर कारबाही अघि बढाउँदै आएको प्रहरीले अब खेल्नेहरुलाई पनि पक्राउ गर्ने भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. केसीले धेरै सट्टेबाजी खेल्नेहरुलाई अनुसन्धान गरेर पक्राउ गरिने बताए । रातोपाटीसँग कुरा गर्दै डा. केसीले भने, ‘अब, धेरै खेल्नेलाई पक्राउ गर्छौं ।’

सट्टेबाजी खेलाएको आरोपमा पक्राउ पर्नेमा कैलाली घर भएका दिनेश खड्का र उनकी पत्नी अनिता धिताल, नुवाकोटका आशिष लामिछाने, भक्तपुरका दिपेश श्रेष्ठ र कञ्चनपुरका दिनेश चन्द छन् ।

प्रचार गरेको आरोपमा पक्राउ पर्नेमा युट्युबर गणेश देवकोटा, जलन घर्तीमगर र अलिस राई छन् । पक्राउ परेका कलाकारहरुमा पवन खतिवडा ‘म्याकुरी’, बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी) र राजु पौडेल (राजु मास्टर) छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप