बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
वान एक्स बेट प्रकरण

‘वान एक्स बेट’का एजेन्ट दिनेश खड्का र ५ कलाकारमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

एक अर्बभन्दा बढीको कारोबार
बुधबार, २० असार २०८०, २० : ०४
बुधबार, २० असार २०८०

काठमाडौँ । ‘वान एक्स बेट’का नेपाली एजेन्ट दिनेश खड्कासहित १३ जना विरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । 

बुधबार कैलाली घर भएका २९ वर्षीय दिनेश खड्कासहित १३ जनामाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले रातोपाटीलाई बताए ।

सट्टेबाजी खेलाएको आरोपमा जेठ ३० मा कैलाली घर भएका २९ वर्षीय दिनेश खड्का, उनकी पत्नी अनिता धिताल, नुवाकोटका आशिष लामिछाने, भक्तपुरका दिपेश श्रेष्ठ र कञ्चनपुरका दिनेश चन्दलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसपछि वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार र युट्युबर पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकारहरु पवन खतिवडा ‘म्याकुरी’, बेगम नेपाली (भटभटे माइला), मरिचमान श्रेष्ठ (बल्छी), राजु पौडेल (राजु मास्टर) र सरोज घिमिरे (ढेडुबुढो) लाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

वान एक्स बेटको प्रचार गरेको आरोपमा युट्युबर गणेश देवकोटा, जलन घर्ती मगर र अलिस राई पक्राउ परेका थिए ।

सट्टेबाजी गराएर दिनेश खड्काले सबैभन्दा धेरै कारोबार गरेको भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार खड्काले १२ वटा खातामार्फत ६४ करोड र ४२ वटा खाता प्रयोग गरेर थप ३१ करोड ३२ लाख कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । दिपेश श्रेष्ठले ५ करोड कारोबार गरेको भेटिएको छ ।

आरोपितहरुले १ अर्ब ५ करोडभन्दा धेरेको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीले उनीहरुलाई ‘सट्टेबाजी गर्न नहुने’ कसुरमा सजाय र बिगो मागदाबी लिन सरकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाएको छ । वान एक्स बेटका एजेन्ट खड्काले क्रिप्टो करेन्सीको कारोबार पनि गरेको अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप