शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

वैदिक कथा :  विभेद

शुक्रबार, २२ असार २०८०, १७ : २४
शुक्रबार, २२ असार २०८०

वैदिक सनातन धर्ममा नारी र पुरुषबीचको विभेद प्रायः सुनिन्छ । विभेद छ भन्ने पनि छन्, छैन भन्ने पनि छन् । भाइबहिनीहरूको जानकारीका लागि यसैको वास्तविकता सम्बन्धी यहाँ एउटा कथा प्रस्तुत गरिएको छ । 

नेपालका भूमि पुत्र महर्षि याज्ञवल्क्य प्रकाण्ड वैदिक विद्वान्मा पर्छन् । राजा जनकको दरवारी गहना मानिने यी विद्वान् मिथिला निवासी मानिन्छन् । उनका मैत्रेयी र कात्यायनी नामका दुई पत्नी थिए । उनी जब ७५ वर्षका भए तब संन्यास लिने विचार गरे । वैदिक सनातन धर्ममा ७५ वर्षपछिको उमेरलाई संन्यास आश्रमको समय मानिएकाले त्यस्तो विचार गरेका हुन् । त्यसैले उनले पत्नीहरूलाई बोलाएर भने–

‘अब संन्यास आश्रममा जाने बेला भएकाले तिमीहरूलाई बोलाएको हुँ । मेरो उपस्थितिमा तिमीहरू मिलेर बसेका छौ । आपसमा झगडा गरेको कहिल्यै सुनेको छैन । म चाहन्छु यस्तो मेलमिलाप मेरो अनुपस्थितिमा पनि कायमै रहोस् । त्यसैले सारा धन सम्पत्ती तिमीहरूलाई बराबर बाडिदिन चाहन्छु । प्रायः झगडा सम्पत्तीको नाममा हुने भएकाले त्यस्तो नहोस् भनेर बराबर बाँड्ने विचार गरेको हुँ ।’

कात्यायनी सामान्य गृहिणी थिइन् । याज्ञवल्क्यको कुराले खासै फरक परेन तर मैत्रेयी विदुषी थिइन् । उनले भने सामान्य रूपमा लिन सकिनन् र प्रतिक्रिया जनाउँदै भनिन्–

‘ठिकै छ संन्यास आश्रममा जान चाहनुहुन्छ भने जान सक्नुहुन्छ रोक्दिन तर पहिले यो बताउनुस् कि तपाईँको सम्पत्तीले हामीलाई आत्मसन्तुष्टि मिल्छ ?’

मैत्रेयीको कुरा सुनेर याज्ञवल्क्य एकछिन् अनकनाए । उनलाई लाग्यो कुरा त सही हो धनसम्पत्तीले आत्मशान्ति हुँदैन । किनकि प्रेम भन्ने कुरो धनसम्पत्तीसित नभई आत्मासित  हुन्छ । त्यसैले सम्झाउँदै भने–

‘मैत्रेयी ! संसारमा कोही पनि धनसम्पत्तीबाट सन्तुष्ट हुँदैनन् । किनभने प्रेम भौतिक सम्पत्तीसँग नभई आत्मासित हुन्छ । त्यसैले संसारमा न पतिले पत्नीसँग पत्नीकै लागि प्रेम गरेका हुन्छन् न पत्नीले पतिसँग पतिकै लागि प्रेम गरेकी हुन्छिन् । न बाबुले छोरासँग छोराकै लागि प्रेम गरेका हुन्छन् न छोराले बाबुसँग बाबुकै लागि प्रेम गरेका हुन्छन् । न आमाले छोरासँग छोराकै लागि प्रेम गरेकी हुन्छिन् न छोराले आमासँग आमाकै लागि प्रेम गरेका हुन्छन् । दिदीबहिनी, दाजुभाइ, इष्टमित्र, करकुटुम्बसँगको प्रेम पनि त्यस्तै हो । कसैले पनि कसैका लागि प्रेम गरेका हुँदैनन् । अपितु आफ्नै आत्मासँग नै गरेका हुन्छन् । जब प्रेम नै आत्मसँग हुन्छ भने धनसम्पत्तीबाट सन्तुष्टि मिल्ने प्रश्नै रहन्न ।’

याज्ञवल्क्यको कुरा सुनेर मेत्रेयीले लामो सास फेर्दैैैै भनिन्–

‘त्यसो भए हामीलाई त्यस्तो चीज दिएर किन पन्छिन खोज्दै हुनुहुन्छ ? वेदका ज्ञाता हुनुहुन्छ, प्रकाण्ड विद्वान्मा पर्नुहुन्छ स्वर्थी भन्न त सक्दिन तर कुरा भने त्यस्तै गरिरहनुभएको छ । हो धर्मशास्त्रले संन्यास आश्रमको कुरा गरेको छ तर त्यस्तो अवस्था त सबैमा लागू हुनुपर्ने हो नि होइन र ? पतिले ७५ वर्षपछि संन्यास आश्रममा जानुपर्छ भने पत्नीले चाहिँ पर्दैन ? तपाईँ जाने हो भने हामीलाई पनि जान दिनुपर्ने हुन्छ । धर्ममा पनि कतै नारी र पुरुषमा भेद हुन्छ ? हुन्छ भने कुन धर्मशास्त्रले त्यस्तो भनेको छ देखाउन सक्नुहुन्छ । होइन भने हामी पनि तपाईँसँगै संन्यास आश्रममा जान चाहन्छौँ ।’

मैत्रेयीको कुरा सुनेर याज्ञवल्क्यले थप सम्झाउँदै भने–

‘मैत्रेयी ! तिम्रो कुरा पनि सही हो तर धर्मशास्त्रमा पुरुषलाई मात्र आश्रम धर्मको व्यवस्था गरिएको छ, नारीलाई छैन । त्यसैले तिमीहरूलाई गृहस्थीमै रहन आग्रह गरेको हुँ ।’

याज्ञवल्क्यको कुरालाई मैत्रेयीले सिधै नकार्दैै भनिन्–

‘कहाँ त्यस्तो हुन्छ ? धर्मशास्त्रमा उल्लेख छैन भने गर्नुपर्छ । आखिर धर्मशास्त्र लेख्ने भनेको पनि तपाईँहरूजस्तै विद्वान्हरूले हो । व्यवहारमा त नारी र पुरुषबीच भेद गरियो, गरियो कम्तीमा धर्ममा त नगरियोस् ।’

त्यसपछि याज्ञवल्क्यले यथार्थ बुझाउँदै भने–

‘कुरा त्यसो होइन मैत्रेयी ! प्रकृति प्रदत्त विभेद बाहेक नारी र पुरुषबीच न धर्ममा विभेद भएको छ न व्यावहारिक विभेद नै उचित मानेको छ । मात्र के हो भने पुरुषले संन्यास धर्ममा गएर जुन स्थान पाउन सक्छन् त्यस्तो स्थान नारीजातिले गृहस्थीमै बसेर पनि पाउन सक्छन् । यसको अर्थ यो होइन कि उनीहरूलाई संन्यास आश्रममा जानै निषेध गरिएको छ । चाहनेहरू जान सक्छन्, गएका पनि छन् । तथापि यथार्थ के हो भने नारीजाति यति बढी त्याग, सेवा र समर्पणधर्मी हुन्छन् कि त्यसैको माध्यमबाट गृहस्थीमै बसेर पनि संन्यास आश्रमजन्य लाभ लिन सक्छन् । त्यसैले यस्तो कुरा गरेको हुँ ।’

याज्ञवल्क्यको कुरा सुनेर मेत्रेयीको चित्त बुझ्यो । उनीहरूले गृहस्थीमै रहेर नारीसुलभ त्याग, सेवा र समर्पणको माध्यमबाट मुक्तिलाभ गरे । याज्ञवल्क्यले संन्यास आश्रमको धर्म निर्वाह गरी मुक्ति पाए ।  

वृहदारण्यक उपनिषदमा आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर धर्मशास्त्रमा नारी र पुरुषबीच विभेद छैन भन्ने कुरा भने सत्य हो । नारी र पुरुषबीच केही प्राकृतिक भिन्नता छ । सोही अनुसार हुने प्राकृतिक विभेद अन्य कुनै पनि कुरामा पनि विभेद छैन । यदि कहिँकतै त्यस्तो भएको छ भने त्यो विकृति हो । यस्तो काम मानिसले नै गर्ने भएकाले त्यसलाई सुधार्ने काम पनि मानिसकै हो ।

 

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप