बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

वान एक्स बेट प्रकरण : मासिक ४० हजार रुपैयाँको विज्ञापनको लोभमा फसे कलाकार र युट्युबर

सोमबार, २५ असार २०८०, १४ : ४९
सोमबार, २५ असार २०८०

काठमाडौँ । सट्टाबाजी गर्ने वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युबरहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतमा आइतबार अभियोग पत्र दायर भएको छ । 

सट्टाबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तरगतको कसूरमा कूल ११ जनाविरुद्ध मुद्दा दायर भएको हो । दिनेश खड्का, अनिता धिमालसहित जलन घर्तिमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, मरिचमान श्रेष्ठ, राजु पौडेल, रोशन खतिवडा, सरोज घिमिरे र कुशल पोखरेल (फरार) विरुद्ध मुद्दा दायर गरिएको छ ।

अभियोग पत्रमा सबै कलाकार र युट्युबरहरुले विज्ञापनबापत पैसा पाउने भनेपछि आफ्नो युट्युब च्यानलहरूमा वान एक्स बेटको प्रचार गरेको बयान दिएको उल्लेख छ । उनीहरुले विज्ञापनबापत ९० हजार रुपैयाँसम्म आर्थिक लाभ लिएको स्वीकार गरेका छन् । उनीहरूलाई इमेल र टेलिग्राममार्फत विज्ञापन राख्ने अफर आएको बयान बताएका छन् । सबैलाई १५–२० सेकेन्डको विज्ञापन बजाउँदा मासिक १५ देखि ४० हजार रुपैयाँ पाउने अफर गरिएको थियो ।

युट्युबर अलिस राईले आफ्नो बयानमा विज्ञापन हाल्दा मासिक १५ देखि २५ हजार आउने भएपछि वान एक्स बेटको विज्ञापन हालेको बताएका छन् । उनका अनुसार विज्ञापन गरेपछि उनको बैंक खातामा रकम जम्मा हुन्थ्यो । हालसम्म उनले विज्ञापन गरेबापत २५–३० हजार रुपैयाँ आर्थिक लाभ लिएको बताएका छन् ।

त्यस्तै गणेश देवकोटालाई पनि ई–मेल र टेलिग्रामबाट विज्ञापनको अफर आएको थियो । उनले यसबापत ५० हजार रुपैयाँ आर्थिक लाभ लिएको बताएका छन् । जलन घर्तिमगरले पनि यसै गरी आफ्नो युट्युब च्यानलमा वान एक्स बेटको विज्ञापन राखेका थिए । तर, हालसम्म उनले आर्थिक लाभ नलिएको बताएका छन् । ‘दिने कुरा थियो, हालसम्म प्राप्त गरेको छैन,’ उनले बयानमा भनेका छन् ।

त्यस्तै, सरोज घिमिरेले आग्रह गरेपछि युट्युब सिरियल ‘गाह्रो छ हो’ मा वान एक बेटको प्रचार गरिदिएको बेगम नेपाली (भटभटे माइला)ले बयान दिएका छन् । उनले यसबाट ८० हजार रुपैयाँ आर्थिक लाभ लिएको खुलाएका छन् ।

मरिचमान श्रेष्ठलाई पनि ढेडु बुढो भन्ने सरोज घिमिरेले नै विज्ञापनको अफर गरेका थिए । आफ्नो च्यानलमा विज्ञापन गरे बापत श्रेष्ठले करिब ५० हजार आर्थिक लाभ लिएको बताएका छन् । राजु पौडेल (राजु मास्टर)लाई पनि घिमिरेले नै विज्ञापनबापत १५–४० हजार कमाई हुने सुनाएका थिए । त्यसपछि पौडेलले मास्टर टिभीमा जुठे टेलिसिरियलमा सो विज्ञापन प्रसारण गरेका थिए । उनले यसबाट ५५ हजार रुपैयाँ आर्थिक लाभ लिएको खुलाएका छन् ।

उता घिमिरेका अनुसार अपरिचित व्यक्तिले ईमेलमा विज्ञापनको अफर गरेका थिए । पछि टेलिग्राममा कुरा गर्दा २० सेकेन्डको विज्ञापन गर्दा पैसा कमाइन्छ भनेर सरोज घिमिरे र परिवार नामको च्यानलमा विज्ञापन अपलोड गरेको बताएका छन् । आफूले दुई महिना जति विज्ञापन बजाएको र त्यसपछि अरूले पनि विज्ञापन गरेको देखेपछि राजु पौडेल, बल्छी ध्रुवे र भटभटे माइलालाई पनि सम्पर्क गराइदिएको बयान लिएका छन् । उनले आफूले भने ८० हजार रुपैयाँसम्म आर्थिक लाभ लिएको बताएका छन् ।

रोशन खतिवडाले पीके भाइन्समा वान एक्स बेटको विज्ञापन गरेबापत ५० हजार रुपैयाँ कमाई गरेको बताएका छन् ।

काठमाडाैँ जिल्ला अदालतमा थुनछेक बहसका लागि बयान लिने क्रम जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप