शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती सरकारको आय घट्यो, अनुमान भन्दा ९ अर्ब कम राजस्व सङ्कलन

मङ्गलबार, ०२ साउन २०८०, ०६ : ५४
मङ्गलबार, ०२ साउन २०८०

मकवानपुर । बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा गिरावट आएको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९-०८० मा अनुमान भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९-०८० मा राजस्व सङ्कलनमा अनुमानभन्दा ९ अर्ब  रुपैयाँ कम उठेको हो । प्रदेश सरकारका विभिन्न निकायहरुले उक्त वर्षमा अनुमान गरेभन्दा ९ अर्ब ४३ करोड रुपैयाँ कम राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमन गरेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ४५ अर्ब ८८ करोड रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्क छ ।

केही राजस्व शीर्षकको हिसाव मिलानको काम बाँकी नै रहेकाले राजस्व सङ्कलनको केही बढ्न सक्ने उनले बताए । प्रदेश सरकारले विभिन्न आय स्रोत र गत वर्षको नगद मौज्दात सहित ७० अर्ब ९३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले बताए । 

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ को सुरुवातसम्ममा नगद मौज्दातसहित ७७ अर्ब ८२ करोड रुपैयाँ सङ्कलन गरेको उनको भनाई छ । प्रदेश सरकारले सो आर्थिक वर्षमा संघीय र स्थानीय तहबाट बाँडफाँड हुने राजस्वअन्तर्गत अनुमानभन्दा २६ प्रतिशत कम प्राप्त भएको हो । संघीय र स्थानीय तहबाट बाँडफाँड हुने मुल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन् दस्तुर, मालपोत लगायतका राजस्वमार्फत् अनुमानको ७४ प्रतिशत मात्र सङ्कलन भएको छ । सो शीर्षकहरुअन्तर्गत २८ अर्ब ४५ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमान गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा २१ अर्ब ४ करोड रुपैयाँ मात्र सङ्कलन भएको हो ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत २१ अर्ब ४ करोड प्राप्त हुने अनुमान गरिएको थियो । तर, आर्थिक मन्दीका कारण संघीय सरकारले बजेट कार्यक्रम कटौती गर्दा केही कार्यक्रम फिर्ता भएको थियो । 

उक्त कार्यक्रम फिर्ता हुँदा प्रदेश सरकारले वित्तीय हस्तान्तरणअन्तर्गत १७ अर्ब ९९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा सतप्रतिशत रकम प्राप्त नभएको कार्यालय प्रमुख उपाध्यायले बताए ।

आन्तरिक स्रोतअन्तर्गत वन, सञ्चार तथा विभिन्न साना तथा घरेलु उद्योग दर्ता, नविकरण र सेवा सुविधाअन्तर्गत आर्थिक वर्ष २०७९÷०८० मा ४ अर्ब ७४ करोड रुपैयाँ आय सङ्कलन हुने अनुमान गरेको थियो । 

प्रदेश सरकारले आन्तरिक स्रोतमार्फत् बागमती सभ्यता तथा नारायणी राप्ती सभ्यतासहित अनुमन गरिएको उक्त रकममध्ये सो वर्षमा ५ अर्ब ९९ करोड रुपैयाँ आय सङ्कलन गरेको छ ।

प्रदेश सरकारले सो आर्थिक वर्षमा अनुदान फिर्ता, वेरुजु लगायतका शीर्षकमार्फत् १ अर्ब ५ करोड रुपैयाँ आय सङ्कलनको अनुमान गरेकोमा आर्थिक वर्षको अन्त्य असार मसान्तसम्ममा १ अर्ब ४४ करोड रुपैयाँ आय सङ्कलन गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

घरजग्गा रजिष्ट्रेशनमा ४० प्रतिशत घट्यो राजस्व
आर्थिक मन्दीको असरका कारण प्रदेश सरकारले सङ्कलन गर्ने विभिन्न शीर्षकका राजस्व तथा दस्तुरमागिरावट आएको छ । प्रदेश सरकारको राजस्वको मुख्य स्रोत नै घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारी साधन कर रहेको छ । दुवै शीर्षकमा गत आर्थिक वर्ष २०७९-०८० मा असार मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन शीर्षकअन्तर्गत अनुमान भन्दा ४० प्रतिशत कम राजस्व सङ्कलन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालय बागमती प्रदेश हेटौंडाको तथ्याङ्क छ । 

घरजग्गा रजिष्ट्रेशन शीर्षकअन्तर्गत प्रदेश सरकारले ७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमान गरेकोमा ५ अर्ब ४७ करोड रुपैयाँमात्र प्राप्त भएको छ । प्रदेश सरकारले सवारी साधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमति पत्र वितरण तथ नविकरणअन्तर्गत आर्थिक वर्ष २०७९-०८० अनुमान भन्दा २५ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । उक्त शीर्षकमा ७ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको अनुमन गरेकोमा ६ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

त्यस्तै, प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मुल्य अभिवृद्धि करवापत ८ अर्ब २८ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेकोमा ७५ प्रतिशत (६ अर्ब २५ करोड रुपैयाँ) आय सङ्कलन भएको छ । 

अन्तशुल्क करबापत कुल अनुमानको ७० प्रतिशत आय सङ्कलन भएको कार्यालयले जनाएको छ । उक्त शीर्षकमा ३ अर्ब ५५ करोड रुपैयाँ राजस्व प्राप्त हुने अनुमान गरिएकोमा २ अर्ब १४ करोड रुपैयाँ मात्र प्राप्त भएको छ ।

त्यसैगरी, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत कुल ८ अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा ७ अर्ब ३५ करोड रुपैयाँ प्राप्त भएको छ । 
स्थानीय तहबाट संकलित प्राकृतिक स्रोत उत्खनन् वापतको कर वापत १ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा ६६ करोड करोड रुपैयाँ प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७९-०८० मा प्रदेश सरकारको कुल अनुमानित बजेट भन्दा राजस्व सङ्कलन र नगद मौज्दात सहितको आय भने बढी देखिन्छ ।सो आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटभन्दा अनुमानित आय करिव ७ अर्ब बढी सङ्कलन गरेको कार्यालयको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षमा नगद मौज्दातमा ३१ अर्ब ९४ करोड रुपैयाँ प्राप्त भएको तथ्याङ्कमा उल्लेख छ । विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन हुन नकसकेको कारण रकम फिर्ता भइ प्रदेश सञ्चिती कोषमा सो रकम जम्मा भएकाले कुल आम्दानी अनुमान भन्दा ६ अर्ब ८९ करोड रुपैयाँ बढी देखिएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० मा नगद मौज्दात १५ अर्ब ३२ करोड हुने अनुमानसहित सरकारको आय ७० अर्ब ९३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको थियो । तर, आर्थिक वर्षको अन्त्यसम्ममा सो रकम वृद्धि भइ ३१ अर्ब ९४ करोड पुग्दा सरकारको आय ७७ अर्ब ८२ करोड रुपैयाँ आय प्राप्त हुन पुगेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप