आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बसपार्कको एकद्वार नीतिमा बेथिति

बालेनको निर्णय मान्नेलाई सास्ती नमान्नेलाई मस्ती !

किन प्रभावकारी भएन बसपार्कबाट मात्रै यातायात सञ्चालन गर्ने निर्णय ?
शुक्रबार, १२ साउन २०८०, ०६ : ५०
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । बिहीबार साँझ पौने ७ बजे बाजुरा–अत्तरिया–काठमाडौँ चल्ने एउटा बस गोंगबुस्थित नयाँ बसपार्कभित्र रोकियो । उक्त बसबाट उत्रिएपछि यात्रुलाई सुरु भयो, गन्तव्यको अर्को तनाव । कसैलाई कलंकी जानु थियो त कसैलाई चाबहिल । केही यात्रु त भक्तपुरसम्म जानुपर्ने बताउँदै थिए ।  बसले काठमाडौँ महानगरपालिकाको निर्णय देखाउँदै पायक पर्ने ठाउँ भन्दापनि यात्रुलाई बसपार्कमै झारिदिएपछि उनीहरुको यात्रा झन्झटिलो भएको थियो ।

त्यतिमात्रै होइन, बस रोकिएको स्थानबाट सामानहरू ट्याक्सीसम्म लैजानका लागि बसपार्कमा निःशुल्क ट्रलीको समेत व्यवस्था थिएन । एउटा ट्रली प्रयोग गर्न १०० देखि १५० सम्म शुल्क तिर्नुपर्ने अवस्था थियो । ट्याक्सी प्रयोग गर्न नचाहनेहरूका लागि सार्वजनिक बससम्म पुग्न थप झन्झट छँदै थियो । 

यस्तै नियति बसपार्क भएर यात्रा गर्ने यात्रुहरुले दैनिक भोग्न बाध्य छन् । ‘हाम्रो बसपार्क राम्रो बसपार्क’ नारा दिएर लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्क सञ्चालन गर्दै आएपनि यात्रु भने सास्ती भोग्न बाध्य बनेका हुन् । 

मेयर बालेन शाहको रुचिमा काठमाडौँ महानगरपालिकाले गत असार १ देखि बसपार्कको एकद्वार नीति लागू गरेको थियो ।  जसअनुसार बसपार्कबाट मात्रै उपत्यका बाहिरिने यातायातका साधन सञ्चालन गर्ने भनिएको थियो । तर, यो निर्णय पूर्ण कार्यान्वयन नहुँदा यात्रुलाई सुविधा भन्दा सास्ती बढेको छ । 

महानगरपालिकाको निर्णयअनुसार लोत्सेले बसपार्कभित्रै काउन्टर, पार्किङ र सशुल्क ट्रलीसमेत सञ्चालन गरेर रगजग गरिरहँदा महानगरपालिकाकै निर्णय भने प्रभावकारी हुन नसकेको हो । अहिले बसपार्कभित्र सेवा भन्दा व्यापार बढी देखिने भुक्तभोगीहरु बताउँछन् ।

महानगरपालिकाले गरेको निर्णय मान्नेले मानिरहेको र नमान्नेले उलङ्घन गरिरहेपनि त्यसको अनुगमन संयन्त्र त के महानगरपालिकाले नै छुट दिइरहेको छ । महानगरको निर्णय मान्नेहरुले  बाजुरा–अत्तरिया–काठमाडौँ चल्ने बसले जस्तै  अरु ठाउँमा यात्रु नझारी बसपार्कमै यात्रु उतार्ने गरेका छन् भने नमान्नेहरूले जथाभाबी यात्रु झारिरहेको अवस्था भएपनि कारबाही गर्ने कुनै संयन्त्र भने छैन । 

जसका कारण कतिपय अवस्थामा कलंकी हुँदै बसपार्क गइने भएपनि त्यहाँ यात्रुलाई ओर्लन नदिएर यातायात सञ्चालकले बसपार्कमै झारिदिने अवस्था रहेको एक यात्रुले बताए । ‘अहिले बसवालाहरुको मनपरी जस्तै छ । महानगरपालिकाको निर्णयलाई देखाएर कसैले बसपार्कमा मात्रै भनेर अन्त रोक्न मान्दैनन् । उनीहरुलाई मन लाग्यो भने फेरि जहाँसुकै पनि रोकिदिन्छन्’, एक यात्रुले भने, ‘महानगरको निर्णय नाम मात्रैको हुँदा यात्रुले सास्ती खेपिरहनु परेको अवस्था छ ।’ यस्तो समस्या लामो दूरीका यातायातका साधनमा धेरै रहेको बताइएको छ । 

buspark1

यस्तै छोटा र मध्यम दुरीका अधिकांश यातायातका साधन भने अझै पनि बसपार्कसम्म जाने नै गरेका छैनन् । तर, उनीहरुले पनि महानगरपालिकालाई देखाउँदै पिक एन्ड ड्रपमा आफूखुसी भने गरिरहेकै छन् । जसको प्रत्यक्ष मारमा यात्रु नै पर्ने गरेका छन् । 

बालेनको निर्णय यतिबेला ‘मान्नेलाई सास्ती र नमान्नेलाई मस्ती’को अवस्था बनेको छ । यातायात व्यवसायीले महानगर देखाउँदै आफूअनुकुल यात्रु चढाउने र झार्ने गर्दा त्यसको मारमा यात्रु परेका हुन् । जसले निर्णय साँच्चै मानिरहेका छन् उनीहरुले बसपार्कमै यात्रु झारिदिन्छन्, जसले मानेका छैनन् उनीहरूले पनि आफूखुसी गरिरहेका छन् । यस्तै यात्रु चढाउनेको हकमा पनि उस्तै मनपरी छ, बसपार्कदेखि जहाँ त्यही चलिरहेकै छ । 

किन हुन सकेन बालेनको निर्णय कार्यान्वयन ?
काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिरिने लामो, मध्यम र छोटो दूरीका सार्वजनिक यातायात गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नेगरी गरेको निर्णयलाई सुरुमै यातायात व्यवसायी र सम्बद्ध मजदुरहरूले विरोध गरे । यस्तै जनस्तरबाट पनि निर्णय व्यवहारिक नभएको भन्दै आलोचना भयो । यतिसम्मकी कुनै व्यापारिक समूहको फाइदाका लागि निर्णय भएको भन्दै प्रतिनिधिसभामा समेत केही सांसदले आवाज उठाए । 

निर्णय आलोचित भएपछि महानगरपालिकाले बसपार्कबाहेक उपयुक्तस्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना र बस स्टप व्यवस्थापनका लागि जेठ ३२ गते विशेष कार्यदल बनाएको थियो । 

buspark3

कार्यदलको संयोजकमा महानगरबाट जगतमान श्रेष्ठ संयोजक रहेका छन् भने यातायात व्यवसायी तथा सरोकारवालालाई सदस्य बनाइएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले कार्यदलले प्रतिवेदन नदिएकाले कतिपय समस्याहरू अझै समाधान हुन नसकेको बताए । महानगरपालिकाले विवाद समाधान नहुँदै असार १ देखि निर्णय भने कार्यान्वयनमा ल्याएको थियो । 

कार्यदलले के गर्दै छ ?
काठमाडौँ महानगरपालिकाको ट्राफिक विज्ञ सल्लाहकार समेत रहेका कार्यदलका संयोजक श्रेष्ठ सैद्धान्तिकरुपमा कार्यदलले लगभग काम सम्पन्न गरिसकेको बताउँछन् । ‘लगभग सैद्धान्तिक रूपमा कार्यदलको काम सकिएको छ । अब प्राक्टिसमा जान हामीले काम गर्न नभ्याइरहेको हुनाले इनफोर्स गर्न नसकिरहेको अवस्था छ’, उनले भने, ‘अब दुई चार दिनमा इनफोर्स हुन्छ ।’

उनले उपत्यका बाहिरिने यातायातलाई बसपार्क नै केन्द्रित गर्ने यसअघिको निर्णय कायमै रहेको र खाली केही मिलाउन बाँकी भएकाले अहिले कडाइ नगरिएको बताए । व्यवहारिक समस्या हेर्नका लागि केही ठाउँमा यात्रुले चढ्न र झर्नसम्म मिल्नेगरी व्यवस्था गर्न लागिएको उनको भनाइ छ । 

buspark2

उनका अनुसार बालाजुको ब्याट्री कारखाना, बाफल, सुकेधारा, सिनामंगललगायतका स्थानमा यात्रुलाई चढ्न र झर्न व्यवस्था मिलाउने गरी कार्यदलमा छलफल भएको छ । सोहीनुसारको प्रतिवेदन तय गरेर पूर्ण कार्यान्वयनमा गइने उनको भनाइ छ । 

उनले कार्यान्वयनमा जान व्यवसायीदेखि चालकसम्म सबै पक्ष सहमत भइसकेको दाबी गर्दै दुई चार दिनमै कार्यान्वयनमा लैजान पहल भइरहेको बताए । उनले पूर्ण कार्यान्वयनमा नगइसकेका कारण जथाभाबी रोक्ने र बसपार्क नजानेलाई यो बीचमा कुनै कारबाही भने नगरिएको स्पष्ट पारे । 

श्रेष्ठले अरनिको यातायात व्यवसायीले आफैँ बनाएको भनिएको बसपार्क भत्किने पनि बताए । ‘बसपार्क बनाउन स्विकृति लिनुपर्छ । उसले स्विकृति लिएको छैन र बनाउन पनि पाइँदैन । त्यस कारण त्यो भत्किन्छ’, उनले भने, ‘अरूचाहिँ कार्यान्वयन हुने क्रममा छ । बिस्तारै हुन्छ ।’

श्रेष्ठले करिब ५० प्रतिशत उपत्यका बाहिरिने यातायातका साधन अहिले बसपार्कबाटै चलिरहेको दाबी गरे । 

हामीले व्यवस्थित यातायात क्षेत्र चाहेका हौँ : स्वाँर 

bijaya-swarनेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँर आफूहरूले व्यवस्थित यातायात क्षेत्र चाहेका बताउँछन् । कार्यदलले पिक अप एन्ड ड्रप र टिकट काउन्टरको विषयमा निकास खोज्ने काम गर्ने यसअघि समझदारी भएको उल्लेख गरे। पिक एन्ड ड्रप दिन महानगर सहमत बनेको उल्लेख गर्दै उनले टिकट काउन्टरको प्रधान कार्यालय नयाँ बसपार्कमै बनाउने र भएका अरु काउन्टरलाई एउटा मापदण्ड बनाएर शाखा कार्यालय जस्तो बनाउन प्रस्ताव गरिएको बताए । 

जसरी हुन्छ नागरिकलाई सुविधा दिने र यातायात क्षेत्रलाई पनि व्यवस्थित गर्ने भन्नेमा आफूहरूको साथ रहने उनको भनाइ छ । ‘हामीले व्यवस्थित यातायात क्षेत्र चाहेका हौँ । अहिले जथाभाबी गाडी रोकिने अवस्था छ । बिचौलियाहरूले टिकट काट्ने अवस्था छ । व्यवस्थित भए यो सबै बेतिथि हट्छ,’ उनले भने । 

उनले महानगरपालिकाले प्रतिवेदन दिएसँगै सबै कुराको व्यवस्थापनमा गइने बताए । कार्यदलको फाइनल कुरा बाहिर नआएकाले अहिले केही समस्याहरू भने देखिएको उनको भनाइ थियो । अहिले यात्रु ओराल्ने र चढाउनेमा मनपरी किन भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘पहिला कार्यदलको फाइनल कुरा मार्केटमा आउनु पर्‍यो नि । यो यो मापदण्ड छ भनेर नागरिकलाई सुसूचित गरेपछि पो सबै हुन्छ । हामीले यही भनिरहेका छौँ ।’

उनले अरनिको बसपार्क भत्काउने भन्दा पनि महानगरपालिकाले रिफ्रेस सेन्टरको रूपमा विकास गरिदिए समस्या समाधान हुन सक्ने विश्वास व्यक्त गरे । 

महानगरको निर्णयमै खोटः राई

vimjwala raiनेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई भने महानगरको निर्णयमै खोट हुँदा कार्यान्वयनमा उल्झन आएको बताउँछन् । भौतिक पूर्वाधारको विकास नगरीकन सवारी साधन बसपार्कमा लैजाने कुरा नै सही नभएको उनको भनाइ छ ।

 ‘बसपार्कको अहिलेको क्षमता भनेको ७५० सवारीसाधन हो । तर समग्र सवारीसाधन जाँदा करिब करिब ५ हजार ३०० सवारीसाधन पुग्छन्’, उनले भने, ‘त्यसो हुँदा भौतिक पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । दोस्रो कुरा सबै यात्रुहरू बसपार्क पुगेर चढ्ने र झर्ने भन्ने कुरा नै अव्यवहारिक छ ।’

यस्तै ३४० को हाराहारीमा रहेका बुकिङ काउन्टरसमेतको व्यवस्थापन गर्नेगरी कार्यदल बनाइएको भएपनि कार्यदलले निर्णय दिन ढिलाइ गरेको उनको भनाइ छ । उनले कार्यदललाई आफूहरूको तर्फबाट सुझाव दिइसकेको पनि बताए । 

buspark4

राईले एकद्वार नीति कार्यान्वयन गर्न कतिपय व्यापारिक स्वार्थका कारण पनि समस्या उत्पन्न भएको बताए । ‘सबै कुराहरू बसपार्कभित्र केन्द्रित गर्न महानगरपालिकाले खोजेको देखिन्छ । त्यसमा लोत्सेहरुको पनि इन्ट्रेस्ट होला । कुरा बाझिएको त्यहीँनेर हो’, उनले भने, ‘एउटा ठेकेदार कम्पनीले मुनाफामा मात्रै केन्द्रित हुने भयो । हामीले त व्यवस्थापकीय, श्रमिक, व्यवसायी र पब्लिकको समस्या पनि हेर्नुपर्ने हुन्छ ।’

 यद्यपि आफूहरू सबैलाई सहज हुनेगरी एकद्वार नीति कार्यान्वयनको प्रतीक्षामा रहेको राईले बताए । 

यसैबीच बसपार्कको जिम्मा पाएको लोत्सेले व्यवसायी र यात्रुमैत्री सेवा दिने जिकिर गर्दै आएको छ । ल्होत्सेका एचआर मेजेजर पंकज मल्लले भन्नेले जे भने पनि आफूहरूले व्यवसायी र यात्रुमैत्री सुविधा दिने दाबी गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप