सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए जापानको २३ पदका लागि ४९ जनाको भिडन्त

शुक्रबार, १२ साउन २०८०, २३ : ३१
शुक्रबार, १२ साउन २०८०

जापान । एनआरएनए जापानको जुलाई ३० मा हुने निर्वाचनमा २३ पदका लागि ४९ जनाले भिडन्त गर्ने भएका छन् । यसैगरी चार वटा पदमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । 

५३ जनाले उम्मेदवारी दर्ता गराएकोमा महासचिव पदका कमल बास्तोला, कोषाध्यक्ष पदका राकेश रुम्बा र रामबहादुर खड्का र युवा संयोजक पदका राजु भण्डारी सुनिलले उम्मेदवारी फिर्ता  लिएसँगै चुनावी मैदानमा ४९ जना भिड़ने निश्चित भएको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ । 

युवा संयोजकमा भण्डारीले उम्मेदवारी लिएसँगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् भने महिला सचिवमा चन्द्रा अधिकारी केसी, सह कोषाध्यक्ष महिलामा अन्जु भण्डारी र महिला संयोजकमा हेमा पाण्डेको मात्र एकल उम्मेदवारी परेकोले उनीहरूलाई पनि समितिले निर्विरोध निर्वाचित घोषणा गरेको हो । 

आइतबार हुने निर्वाचनका लागि अध्यक्ष १ पदमा चार जना, उपाध्यक्षमा ५ पदमा ८ जना, महिला उपाध्यक्ष १ पदमा २ जना महासचिब १ पदका लागि २ जना, सचिव ३ पदका लागि ६ जना, कोषाध्यक्ष १ पदका लागि २ जना, सह कोषाध्यक्ष १ पदका लागि २ जना, सदस्य ८ जनाको लागि १७ जना, महिला १ पदका लागि २ जना भिडन्तका लागि तयार भएका हुन् । 

उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउन अन्तिम प्रयास गरिरहेका छन् । एनआरएनए जापानको अध्यक्षमा नविन निउरे, रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी र संगीता अधिकारी सुवेदी आगामी कार्यकालको नेतृत्वका लागि तम्तयार भएका छन् ।

चारै जनाले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन । पत्रकार सम्मेलन मार्फत आफ्ना योजना र धारणा सार्वजनिक गरेका चारै जना मौजूदा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष रहेकोले कसको पल्ला भारी छ यसै भन्न नसकिने देखिएको छ । 

नेपाल पत्रकार महासंघ जापान शाखाले गराएको बहसमा आएका प्रतिक्रिया, आत्मविश्वास अनि पब्लिक रिलेशन र जापानबासी नेपालीको प्रतिक्रियाका आधारमा युवा पुस्ताका नविन निउरेको जितको नजिक रहेको देखिएको छ  । हालका वरिष्ठ उपाध्यक्ष निउरेले गरेका राम्रा काम र उनको सहनसिल स्वभावका कारण अहिले उनको माहोल बढेको देखिएको हो । 

अध्यक्ष पदका प्रत्यासी श्रेष्ठ जापानबासी नेपालीहरु र जापानिजहरु बीच आवश्यक सहकार्य तथा समन्वयका लागि जापानमा भएका सबै सघसंस्थालाई एकिकृत गरी एनआरएनए जापानले अभिभावकीय जिम्मेवारी निर्वाह गर्न आफुले सक्षम रहेकोले आफ़नो जीत निश्चित रहेको दाबी गरेका छन्।  

अर्की प्रत्यासी सुबेदीले पहिलो पटक एनआरएनए जापानमा महिलाले नेतृत्व गरेर इतिहास रच्ने अभियानमा छिन् । सामाजिक कार्यमा सक्रिय अध्यक्ष पदका प्रत्यासी अधिकारीले धेरै बोल्न भन्दा सधै ईमान्दारितापूर्वक समाजिक गर्नका लागि अध्यक्ष पदमा आउन लागेको बताए ।

सामाजिक सेवामा समर्पित गैर आवासीय नेपाली संघको नेतृत्वमा सधै राजनीतिक किचलोका कारण व्यावसायिक दक्ष युवाको आकर्षण घटेको आरोप लागिरहँदा एनआरएन जापानको अध्यक्षमा यस पटक युवा पुस्ताका नविन निउरेको उम्मेदवारीलाई जापानमा बसेका धेरै संघ सँस्था नेपालीहरुले समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप