बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : नमागिएको सुझाव दिन खोज्दा....

आइतबार, १४ साउन २०८०, १० : ०८
आइतबार, १४ साउन २०८०

नबोलाएको स्थानमा जानु र नमागिएको सल्लाह वा सुझाव दिनु दुवै उस्तै हो । दुवैको अवस्था करिब उस्तै हुन्छ । न इज्जत पाइन्छ न महत्त्व नै रहन्छ । त्यस्तै परे सोच्दै नसोचेको दुर्घटना निम्तिनसमेत बेर लाग्दैन । 

त्यसैले बुढापाकाहरू भन्छन् जानु पनि त्यहीँ पर्छ, जहाँ बोलाइएको छ, सल्लाह वा सुझाव पनि उसैलाई दिनुपर्छ जसले मागेको छ वा जसले त्यसलाई सदुपयोग गर्छ वा गर्न सक्छ । अन्यथा नदुखेको कपाल डोरी लगाएर दुःखाउनु जस्तै हुनेछ । भाइबहिनीहरूको जानकारीका लागि तल एउटा त्यस्तै कथा प्रस्तुत गरिएको छ । 

धेरै पहिलेको कुरा हो । ठुलो जङ्गलको एउटा रुखमा भँगेराको भालेपोथी बस्थे । उनीहरूको जीवन सुखद थियो । आफ्नो प्रकृति र स्वभाव अनुसार सुखपूर्वक जीवन व्यतीत गर्दै आएका थिए । उनीहरूको सानो गुँड थियो, जुन उनीहरू आफैले दुःख गरेर बनाएका थिए । दिनभर कहिले गाउँलेहरूका खेतबारीमा गएर चर्थे, कहिले गाउँलेहरूकै घर आँगनमा पुगेर चारो टिप्थे, कहिले जङ्गलकै आसपास घुमेर पेट भर्थे र साँझ गुँडमा फर्केर सुखपूर्व रात बिताउँथे । 

समय बित्दै गयो । यत्तिकैमा एक दिन साँझ उनीहरू बसेका रुखको हाँगोमा पानीले  भिजेको बाँदर काम्दै आइपुग्यो । पुसको महिना थियो बिहानैदेखि सिमसिम पानी परेको । पुसको महिना यसै पनि चिसो हुन्छ । त्यसैमाथि दिनभरको सिमसिम पानीले गर्दा चिसो निकै बढेको थियो । छिमेकमा आएर बसेको जाडोले कामिरहेको बाँदरको अवस्था देख्दा दया लाग्यो र भालेले पोथीसँग भन्यो– 

‘भुन्टी हेर त ! छिमेकमा को बस्न आएको छ । हेर्दा त मानिस जस्तै छन् तर मानिसनै त पक्कै होइनन् होला । नत्र आफ्नो घर छाडेर काम्दै रुखको हाँगोमा बस्न किन आउँथे होला र । त्यसैले सहयोगबारे सोध्ने हो कि ?’

भालेको कुरा सुनेर पोथीलाई मन परेन । उसले झर्किँदै भनी–

‘चुप लागेर बस बुढा ! चिन्नु न जान्नु घचेटी माग्नु । हामीलाई कसले चासो दिएका छन् र हामीले दिनु । थोरै दुनियाँभरको चासोको ठेक्का लिइबसेका छौँ ।’

पोथीको कुरालाई भालेले प्रतिवाद गर्दै भन्यो–

‘ल ! के कुरा गरेकी त्यस्तो ? साँझको बेला छ । आफ्नै दैलो अगाडि अतिथि जाडोले कामिरहेका छन् । हुन सक्छ भोका पनि पो छन् कि ? सोधखोज गर्नुपर्दैन ? यही त हो गृहस्थीधर्म भनेको ?’ 

भालेले गृहस्थीधर्म अनुसारकै कुरा गरेको भए पनि पोथी सहमत हुन सकिन र ठुस्केजस्तो गर्दै भनी–

‘जे मन लाग्छ त्यही गर बुढा ! कम्तीमा म चाहिँ सहमत छैन । एक त नचिने प्राणी, अर्को उसले केही भनेकै छैन भने बेकारमा किन बढी जान्ने हुन खोज्ने ? हुन सक्छ मानिसले पठाएका कुनै जासुस पो हो कि हाम्रो चियो गर्न । कहाँ चाहिने भाँडाका छन् र यी मानिस । देख्ने बित्तिकै गुलेली ताक्छन् । बुझ्दै नबुझी अघि बढ्दा भरे अप्ठ्यारे प¥यो भने त्यसको जिम्मा कसले लिन्छ ?’

पोथीको कुरा पनि आफैँमा गलत थिएन तर भालेले गृहस्थीधर्मलाइँ लत्याउन सकेन र ढोकामा आएर भन्यो–        

‘महोदय ! को हुनुहुन्छ । कहाँबाट आउनुभएको हो । भिजेर निथ्रुक्क हुनुभएको रहेछ । लाग्छ जाडोले राम्रै सताएको  छ । केही सहयोग चाहिए भन्नुहोला है । अप्ठ्यारो मान्नुपर्दैन । सकेको सहयोग गर्नेछु ।’

भँगेराको कुरा बाँदरलाई मन परेन । उसलाई तत्कालै गएर मुखै चिथोरी दिउँ कि जस्तो पनि नलागेको होइन तर त्यो हदसम्म भने गएन । यस्ता क्षुद्र प्राणीको पछि लागेर किन आफ्नो इज्जत घटानु भन्ने सोच्दै मौन रहनु नै उचित ठान्यो । उसको मौनता देखेर भँगेरो सकसक झन् बढ्यो । त्यसैले कारण जान्न खोज्दै भन्योे–

‘बोल्नुभएन नि महोदय ! मलाई सुन्नु भएन ? मानिसको जस्तै आकृतिको हुनुहुन्छ । घरै छैन होला भन्न त सक्दिन । किनकि मानिसहरू सबैले घर बनाएका हुन्छन् तर तपाईँ भने यस्तो जाडोमा पनि रुखको हाँगोमा बस्न आउनुभएको छ । कि अल्छी मानेर घर बनाउने विचार नगर्नु भएको हो ?  यदि हो भने त राम्रो भएन है । हामी जस्ता पक्षी प्रजातिका प्राणी त गच्छे अनुसारको गुँड बनाएर बसेका छौँ । तपाईँ त झन् मानव प्रजातिका प्राणी । भो छाडौँ यी कुरा । अहिलेलाई यति भन्नुस् के सेवा गरौँ ।’

बाँदरलाई उसै त कुन कानमा सुन हुन बेर लागेन । ऊ यसै पनि रिसाइरहेको थियो त्यसमाथि भँगेराको नमागेको सुझाव सुन्नुपरेपछि के चाहियो र । उसले रिस थाम्न सकेन र बडो जान्ने भएर घरको कुरा गर्दो रहेछ, तँलाई त्यति बढी घरको घमन्ड रहेछ होइन पाजी ! लौ जा तेरो घर भन्दै जुरुक्क उठेर उसको गुँडै भत्काइदियो । उसको आफ्नो घर त यसै पनि थिएन नै । अर्काको घर पनि देख्न सकेन र भत्काइदियो । त्यसै दिनदेखि बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि भत्काउँछ भन्ने उखान चल्न थाल्यो ।

अर्धाङ्गिनीको सल्लाह लत्याएर नमागिएको सल्लाह र सुझाव दिन जाँदा घरबार विहीन हुनुपरेकाले विचरो भँगेरो पुर्पुरोमा हात लगाएर बस्न लाग्यो ।  

यो एउटा उदाहरण हो । आखिर जहाँ पनि नमागिएको कुराको सल्लाह र सुझाव दिन खोज्दा यस्तै अवस्था आउन सक्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप