बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले ईपीजी प्रतिवेदन बुझ्न नमाने जनतालाई बुझाउँछौँ : पूर्व राजदूत आचार्य

शुक्रबार, १९ साउन २०८०, १५ : ४८
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । भारतका लागि पूर्व नेपाली राजदूत एवं नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य नीलाम्बर आचार्यले कुनै पनि देशसँग तौलेर सम्बन्ध राख्न नसकिने भएकाले आआफ्नो परिस्थिति अनुसार देशसँग सम्बन्ध राख्नुपर्ने बताए ।

भारतसँग सम्बन्ध राख्दा चीन रिसाउँछ, चीनसँग सम्बन्ध राख्दा भारत रिसाउँछ भन्ने कुरा मनबाट हटाउनुपर्ने बताउँदै उनले कोसँग कति सम्बन्ध राख्ने भन्ने कुरा आफ्नो देशको नीतिमा भरपर्ने प्रस्ट पारे ।

‘छिमेक सम्बन्ध र ईपीजी प्रतिवेदन, पूर्व परराष्ट्र मन्त्री र ईपीजी सदस्यहरुसित संवाद’ विषयमा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले टंकप्रसाद आचार्यले प्रधानमन्त्री भएको बेला भारतसँग मैत्रीपूर्ण सम्बन्ध राखेको कारण नेपाल–भारतबीचको सम्बन्ध राम्रो भएको चर्चा गरे ।

पूर्व राजदूत आचार्यले दुई देशको बीचमा राम्रो सम्बन्ध रहेको र त्यसलाई अझै कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

ईपीजी प्रतिवेदन सफलतापूर्वक तयार भएको कुरा दुवै देशको सरकारले स्वीकार गरे पनि प्रतिवेदन बुझ्न नमान्नु दुःखद् कुरा रहेको आचार्यको भनाइ छ । उनले दुवै देशका प्रधानमन्त्रीले ईपीजीको बारेमा चासो लिनुपर्ने पनि प्रस्ट पारे ।

आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा ईपीजी प्रतिवेदन बुझ्न आग्रह गरेको र दुवै नेताले प्रतिवेदन बुझ्न तयार रहेको बताएको पनि उनले जनाए । ‘चुनाव सकेपछि प्रतिवेदन बुझ्ने भनेका थिए तर चुनाव सकेको धेरै भइसक्यो, अझै त्यसको बारेमा चासो लिएको पाइँदैन,’ उनले गुनासो गरे ।

आचार्यले भने, ‘भारत पक्षसँग मैले आफैँ कुरा गर्दा उहाँहरु पनि ईपीजीप्रति सकारात्मक रहनु भएको छ तर कहिले के बहाना, कहिले के बहानामा टार्दै आउनु भएको छ ।’

सरकारकै तर्फबाट ईपीजी गठन भएको कारण सरकारले नै त्यसमा चासो लिएर बुझेर उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोडसमेत दिए ।

पाँच वर्षसम्म कुर्दा पनि ईपीजी प्रतिवेदन बुझ्ने प्रक्रियामा नजानु चिन्ताको विषय रहेको बताउँदै उनले भने, ‘ईपीजी नबुझ्नु मात्र समस्या होइन, त्योसँग सीमा समस्या र विभिन्न भौगोलिक समस्या पनि छन् । त्यसका लागि विभिन्न संयन्त्र गठन गरिएको छ तर हालसम्म त्यसको बैठक बस्न सकेको छैन । समस्या ईपीजीमा मात्र छैन ।’

उनले दुई देशबीच सीमा, डुबान, आवतजावत लगायतको विषयमा केही असमझदारी देखिएको उल्लेख गर्दै त्यसलाई दुई देश मिलेर समाधान गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएको बेला ईपीजीको विषयमा बोल्दा कूटनीतिक सम्बन्ध बिग्रिन्छ भन्ने अभिव्यक्ति दिनु गलत भएको आचार्यको भनाइ छ ।

उनले भने, ‘सरकारले वातावरण बिगार्नका लागि ईपीजी गठन गरेको होइन, दुई देशको हितलाई ध्यानमा राखेर गठन गरेको हो । ईपीजीमा रहेका हामी चार जनाले दुई देशको वातावरण बिगारेको हो र ? हामीले वातावरण बिगार्न होइन, बनाउनका लागि प्रतिवेदन बनाएका हौँ ।’

नेपाल सरकारलाई कसरी कहिले प्रतिवेदन बुझाउने भन्ने बारेमा आफूहरुले सल्लाह गरिरहेको बताउँदै उनले सरकारले त्यो बुझ्न नमाने जनतालाई बुझाउने चेतावनीसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप