राजा मान्ने राप्रपाको उपाध्यक्ष भएपछि दिलविकासले लगाए श्रीपेच !
काठमाडौँ । राजावादी पार्टी राप्रपाको उपाध्यक्षमा मनोनीत भएका दिलविकास राजभण्डारीले श्रीपेच लगाएको तस्बिले पार्टीभित्र चर्चाको विषय बनेको छ ।
हालै मात्रै अध्यक्ष राजेन्द्र लिङ्देनले राजभण्डारीलाई पार्टीको नवौँ उपाध्यक्षका रुपमा मनोनीत गरेका थिए ।
उपाध्यक्षमा मनोनीत भएसँगै भण्डारीले श्रीपेच लगाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो । भण्डारीले साथीको घरमा गएको बेला श्रीपेच देखेपछि कुरैकुरामा लगाएको र त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा आएको बताए ।
उनले आफूले लगाएको उक्त श्रीपेच राणाहरुले प्रयोग गर्ने पुरानो श्रीपेच भएको भन्दै यो ठूलो विषय नभएको बताए ।
आफूलाई राजा बन्न इच्छा भएर वा अरु कुनै सन्देश दिनका लागि उक्त श्रीपेच नलगाएको उनको भनाइ छ । ‘साथीको घरमा जाँदा श्रीपेच रहेछ, त्यही लगाएको भिडियो कसैले फेसबुकमा हालिदिएको छ’, उनले भने ।
उनले श्रीपेच लगाएको सार्वजनिक भिडियो पुरानो भएको दाबी गरे । तर, उनी निकट अर्का एक नेताले भने उपाध्यक्ष भएपछि नै उनले श्रीपेच लगाएर खुसी हुँदै भिडियो र फोटो खिचाएको बताए ।
राजावादी भएपनि दिलविकास राप्रपाभित्र अस्थिर स्वभावका नेता भएको निकटस्थहरुको भनाइ छ । कहिले कमल थापा नेतृत्वको राप्रपा त कहिले लिङ्देन नेतृत्वको राप्रपामा आबद्ध उनले विगतमा छुट्टै अभियान समेत चलाएका थिए ।
पछिल्लो समय भने लिङ्देन नेतृत्वको राप्रपामा आबद्ध उनी हालैमात्र उपाध्यक्षमा मनोनीत भएका हुन् । राप्रपाको पार्टी कार्यालय भत्काउन महानगरपालिकाले प्रक्रिया थालेपछि लिङ्देनले पुरानो मिति राखेर राजभण्डारीलाई उपाध्यक्ष बनाएको राप्रपा वृत्तमा चर्चा छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने पार्टीको विधानअनुसार नै भण्डारीलाई मनोनीत गरिएको बताए । राजभण्डारीलाई मनोनीत गरिएको सम्बन्धी लिङ्देनको पत्रमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको विधान बमोजिम तपाईँलाई पार्टीको केन्द्रीय उपाध्यक्ष पदमा मनोनीत गरिएको सहर्स जानकारी गराउँछु । पार्टीको नीति र सिद्धान्तप्रति प्रतिबद्ध भई पार्टीको बृहत्तर हितमा कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
राप्रपाको धुम्बाराहीमा रहेको हाइटेन्सन लाइनमुनीको कार्यालय राजभण्डारीकै स्वामित्वमा रहेको छ । महानगरपालिकाले पार्टी कार्यालय २१ दिनभित्र खाली गर्न भनेपनि राप्रपाले खाली गर्न भन्दा जोगाउनतिर ध्यान दिएको स्रोतको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण