भीएआरको निर्णय र इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि उठायो प्रश्न
सारांश
- अर्जेन्टिनाले इजिप्टमाथि ३-२ को विवादास्पद जित निकालेपछि विश्वकपको वैधतामाथि प्रश्न उठेको छ।
- इजिप्टका प्रशिक्षकले फिफाले अर्जेन्टिनालाई प्रतियोगितामा टिकाइराख्न चाहेको आरोप लगाएका छन्।
- भीएआरको निर्णय र खेलमा देखिएको राजनीतिक प्रभावले प्रतियोगिताको निष्ठामाथि शंका उत्पन्न गरेको छ।
एटलान्टा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनो जोडिएको विश्वकप विवाद सेलाउन नपाउँदै अर्को विवाद सुरु भएको छ। एटलान्टामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टमाथि ३-२ को विवादास्पद जित निकालेपछि नयाँ प्रश्न उब्जिएको हो।
मंगलबार भएको नकआउट खेलमा साविक विजेता अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो। तर, इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाको जितसम्म पुर्याउने घटनाक्रममाथि चौतर्फी प्रश्न खडा भएको छ।

एक दिनअघि मात्र ट्रम्पले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रेड कार्डपछिको एक खेलको प्रतिबन्ध हटाउन फिफालाई आग्रह गरेको खुलासा गरेका थिए। फिफाले उक्त आग्रहलाई विवादास्पद रूपमा स्वीकार गरेको थियो।
सुरुमा प्रतिबन्धित भएर पनि पछि खेल्न पाएका बालोगुनको उपस्थिति आयोजक अमेरिकाका लागि काम लागेन। बेल्जियमले अमेरिकालाई ४-१ ले हराउँदै प्रतियोगिताबाट बाहिर पठाइदिएपछि उक्त विषय साम्य भएको थियो।
- विश्वकपमा ट्रम्पको चासो
फिफाको रेड कार्डसम्बन्धी निर्णयलाई लिएर दर्शकको आक्रोश फिफा र ट्रम्प दुवैतर्फ लक्षित थियो। यता इजिप्टको आक्रोश भने पूर्ण रूपमा फिफाप्रति लक्षित छ। इजिप्टका प्रबन्धकको भनाइमा फिफा ‘विश्व च्याम्पियनलाई प्रतियोगितामा टिकाइराख्न चाहन्थ्यो’।
मुख्य प्रशिक्षक होसाम हसनले म्याच अफिसियलहरूमाथि दबाब दिइएको आशंका गरेका छन्। फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्येका एक लियोनल मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न यस्तो गरिएको उनको भनाइ छ।
_fNTqJCMa6G.webp)
खेलपछि हसनले बीइन स्पोर्ट्ससँग भने, ‘सायद उनीहरू मेस्सीलाई प्रतियोगितामा कायम राख्न चाहन्थे। फुटबलमा कहिलेकाहीँ प्राविधिक पक्षभन्दा बाहिरका बाह्य तत्वहरू हाबी हुन्छन्। विश्व च्याम्पियनले हरेक स्तरमा सहयोग पायो।’
शंकास्पद निष्ठा र राजनीतिक प्रभावका कारण यो प्रतियोगिता पहिल्यैदेखि विवादित छ। विज्ञहरूका अनुसार अहिले खेलकुद र राजनीतिबिचको भिन्नता अझै धमिलो बन्दै गएको छ।
सांघाईस्थित एमलियोन बिजनेस स्कुलका अफ्रो-युरेसियन खेलकुदका प्राध्यापक साइमन चाडविकले अल जजीरासँग भने, ‘बालोगुन काण्डपछि कुन निर्णय वैधानिक हुन्, कुनमा विश्वास गर्न सकिन्छ र कुनमा सकिँदैन भनेर कसलाई थाहा हुन्छ र ?’
उनले थपे, ‘यदि ट्रम्प प्रशासनले यस प्रतियोगितालाई नजिकबाट नियालिरहेको छ भने एउटा कुरा याद राख्नुपर्छ : अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिले ट्रम्पका कट्टर समर्थक हुन्।’
ट्रम्प र उनका अर्जेन्टिनी समकक्षीबिच घनिष्ठ सम्बन्ध छ। अमेरिकामा हुने ट्रम्प समर्थक राजनीतिक भेलाहरूमा मिले प्रायः सहभागी हुन्छन्। ट्रम्पले अर्जेन्टिनाका यी अति-दक्षिणपन्थी पपुलिस्ट नेतालाई आफ्नो ‘मनपर्ने राष्ट्रपति’ समेत भनेका छन्।
हसनले विश्वकपमा प्यालेस्टाइनको खुलेर समर्थन गरेका थिए। यही कारणले गर्दा केही अधिकारीहरूमा ‘निर्णय गर्दा पूर्वाग्रह देखिएको’ हुन सक्ने चाडविकको धारणा छ।
सोमबार खेलअघिको पत्रकार सम्मेलनमा हसनले प्यालेस्टाइन, विशेषगरी नाकाबन्दीमा परेको गाजा पट्टीका जनताका लागि भावुक अपिल गरेका थिए।
- अर्जेन्टिनालाई फाइदा
इजिप्टको अग्रतालाई खुम्च्याउने भीएआरको निर्णय र त्यसपछि अर्जेन्टिनालाई फाइदा पुग्ने गरी गरिएका निर्णयहरूबारे बोल्दै चाडविकले खेलको त्यो समय ‘असामान्य’ रहेको बताए।
_4UGiYhTzUk.webp)
उनले एउटा प्रश्न पनि उठाए। रेफ्रीले तत्काल फाउल नदिएको घटनालाई इजिप्टले दोस्रो गोल गरिसकेपछि मात्र भीएआरले किन देख्यो भन्ने उनको प्रश्न थियो।
खेलमा रेफ्रीको स्तरमाथि प्रश्न उठाउँदै चाडविकले भने, ‘त्यो गोल र भीएआरको निर्णयमा पक्कै पनि केही असामान्य कुरा थियो। अर्जेन्टिनाले एउटा गोल गर्दा त्यो असामान्यता झनै प्रष्ट भयो।’
उनले थपे, ‘गोलको मुभ बन्दा अर्जेन्टिनी खेलाडीले एउटा नियम उल्लंघन गरेका थिए। त्यसलाई इजिप्टका खेलाडीले अघि गरेको भनिएको गल्ती जस्तै मान्न सकिन्थ्यो। आलोचकहरूले निकै गम्भीर दाबी गरिरहेका भए पनि खेलका दौरान रेफ्रीको निर्णय भने एकरुपको थिएन।’
सामाजिक सञ्जालका टिप्पणीकार र फुटबल विज्ञहरू यस निर्णयलाई लिएर आक्रोशित छन्। जोसे माउरिन्होले त यस खेललाई ‘दिनदहाडै भएको लुट’ समेत भनेका छन्। तर, केही फुटबल विज्ञहरूको भनाइमा ती निर्णयहरू निकै सूक्ष्म थिए।
फुटबल विश्लेषक अली एल गार्नीले भने, ‘लुट्नु अलि कडा शब्द हुन सक्छ।’
‘रेफ्री र भीएआर दुवैले गरेका निर्णयहरू जता पनि जान सक्थे। ती फिफ्टी-फिफ्टी (५०/५०) अवस्थाहरूमा अर्जेन्टिनालाई फाइदा पुग्यो’, उनले थपे।
युरोपेली र उत्तर अफ्रिकी फुटबलको लामो रिपोर्टिङ गरेका गार्नीले भने, ‘इजिप्टको गोल रद्द हुनुअघिको घटना स्पष्ट रूपमा फाउल नै थियो। यहाँ प्रश्न के हो भने, गोलको वैधानिकता जाँच्न भीएआर कति पछाडिसम्म जान मिल्छ ?’
यद्यपि, स्कोर अर्जेन्टिनाको पक्षमा २-० भएको भए भीएआरको प्रयोग हुन्थ्यो वा हुन्थेन भन्नेमा उनले आशंका व्यक्त गरे।
_YeikiW6KLe.jpg)
उनले भने, ‘यदि त्यो गोल अर्जेन्टिनाले गरेको भए के रद्द हुन्थ्यो त ? त्यस्तो हुने सम्भावना निकै कम थियो।’
‘इजिप्टका लागि झनै नराम्रो कुरा के भयो भने, अर्जेन्टिनाको तेस्रो गोलअघि मोहमद सलाहमाथि त्यस्तै प्रकारको फाउल भएको देखिन्थ्यो। तर त्यतिबेला भीएआरले कुनै हस्तक्षेप गरेन,’ गार्नीले भने।
यसैबिच, चाडविकले अर्को प्रश्न उठाए। इजिप्टका मारवान अत्तियाले लिसान्द्रो मार्टिनेजको जर्सी हल्का तान्दै खुट्टा कुल्चिँदा मैदानमा रहेका रेफ्रीले फाउल नदिएको अवस्थामा भीएआर अधिकारीहरूले किन त्यो विषय उठाए भन्ने उनको प्रश्न छ।
भीएआर समस्याको तार्किक समाधान सुझाउँदै चाडविकले भने, ‘फ्यान र दर्शकहरूलाई सम्भावित गल्तीको मूल्यांकन सुन्ने व्यवस्था मिलाउनुपर्छ। उनीहरूले विभिन्न तर्कहरू सुन्न पाउनुपर्छ र निर्णयको आधारबारे स्पष्ट जानकारी पाउनुपर्छ।’
इजिप्टका खेलाडीहरू भावनामा बग्न नहुने भए पनि ‘भीएआरको निर्णयले उनीहरूमाथि अन्यायको महसुस गराएको’ कुरा चाडविकले स्वीकार गरे।
उनले भने, ‘यस प्रविधिको उद्देश्य शंकालाई कम गर्नु र निर्णयमा एकरुपता ल्याउनु थियो। तर, यस खेलमा यसको प्रयोगले मानसिक र व्यवहारिक रूपमा गम्भीर असर पुर्यायो।’
‘वास्तवमा, कार्ड देखाएर स्थितिलाई झनै भड्काउनुभन्दा रेफ्रीले आफ्नो विवेक र निर्णय क्षमताको प्रयोग गर्दै अवस्थालाई शान्त पार्नु पर्थ्यो।’
चाडविकले मेस्सी र अर्जेन्टिनाको पक्षमा म्याच फिक्सिङ भएको हल्लालाई खारेज गरे। तर, उनले ती चर्चित फुटबलरको ‘स्टार पावर’ को प्रभावलाई भने स्वीकार गरे।
उनले अन्त्यमा भने, ‘यसमा कुनै शंका छैन, मेस्सी यस्ता बक्स अफिस आकर्षण हुन् जसलाई गुमाउने जोखिम यो प्रतियोगिताले मोल्न सक्दैन।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण