बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : बकुल्लाको मूर्खता

मङ्गलबार, ३० साउन २०८०, १० : १०
मङ्गलबार, ३० साउन २०८०

नेपालीमा एउटा भनाइ छ– हतपतको काम लतपत । यसको आशय हो कुनै पनि काम गर्नुपर्दा हतार गर्नुहुँदैन । निकै परसम्म सोचविचार गरेर मात्र सुरू गर्नुपर्छ । अन्यथा कुनै पनि बेला ठूलै विपत्ति आउन सक्छ । त्यस्तै परे ज्यानै जाने खतरासमेत निम्तिन सक्छ । 

धेरै पहिलेको कुरा हो । जङ्गलको छेउ बरको रुखमा एउटा बकुल्ला गुड बनाएर बसेको थियो । एकान्त भएकाले उसले त्यो ठाउँ रोजेको मात्र थिएन वर्षौँदेखि त्यहीँ बसोबास गर्दै आएको समेत थियो । उसको दिन राम्रै बितेको थियो । दिनभर खोला तथा तलाउ किनारतिर डुलेर आहारको खोजी गथ्र्यो साँझ गुडमा आएर बस्थ्यो । त्यत्तिकैमा एक दिन कतैबाट एउटा सर्प आइपुग्यो । सायद उसलाई पनि त्यो स्थान राम्रो लागेछ क्यारे उसले पनि त्यही रुखको जरामा दुलो बनाएर बस्न थाल्यो । 

जब सर्पको आगमन भयो त्यसपछि भने बकुल्लाको दुःखको दिन सुरू भयो । साँप अलि बढी नै धूर्त थियो । कुनै पनि चराको बचेरा देख्नासाथ एकै गाँस बनाउने उसको बानी थियो । विचरो बकुल्लो पनि यसैको सिकार हुन थाल्यो । उसको भालेपोथीले बल्लबल्ल दुःख गरेर बच्चा कोरल्थे उसले कुन सड्को एकै गाँस बनाउँथ्यो पत्तै हुँदैनथ्यो । 

बकुल्लो बच्चा बचाउन नसकेकोमा दुःखी त थियो तर गर्न भने केही पनि सक्दैनथ्यो । यसका लागि कि बसाइँ नै सरेर हिँड्नुपर्ने थियो, जुन भन्ने बित्तिकै हुने कुरा थिएन । कि साँपसँग मुकाबिला गर्नुपर्ने थियो त्यो पनि उसको वशका थिएन । त्यसैले उसलाई उदासीले निकै सतायो । यस्तैमा एक दिन नदी किनारमा उदास भएर बसिरहेको बेला गँगटोले देख्यो र नजिकै आएर भन्यो–

‘मित्र ! केही दिनदेखि निकै चिन्तित देख्छु । के प¥यो त्यस्तो ? कुनै सहयोग चाहिए भन्नुहोला है ।’

गँगटोको कुरा सुनेर बकुल्लाले आफ्नो समस्या बताउँदै भन्यो–

‘मित्र ! के गर्ने हेर न । दुष्ट साँपले बसिखानै दिएन । मेरा बच्चा जति उसैको आहार हुने गरेका छन् । न बासस्थान छाडेर हिँड्न सकिने अवस्था छ । न त्यस पापीसँग मुकाबिला गर्ने तागत छ । त्यही चिन्ताले दिनको भोक र रातको निद्रा हराएको छ ।’

बकुल्लाको कुरा सुनेर गँगटो मनमनै खुसी भयो । किनभने मौका पर्दा उसका पनि बच्चाहरू बकुल्लाले बाँकी राख्दैनथ्यो । तथापि ऊसँग मुकाबिला गर्ने शक्ति नभएकाले सबै पीडा पचाएर बाहिरफेर मिलेजस्तो गर्दै आएको थियो । उसलाई लाग्यो बदला लिने यही नै उपयुक्त मौका हो तर त्यस्तो भाव देखाउन भने भएको थिएन । त्यसैले दुःखी भएजस्तो गर्दै भन्यो–

‘ओहो यो त निकै दुःखको कुरा हो मित्र ! तर हार मान्नुहुन्न ।’

‘त्यो त हो तर गर्नैै पो सकिन्छ र ?’

‘कहाँ त्यसो भनेर हुन्छ ? यस्तोमा जुक्तिले काम गर्नुपर्छ ।’

‘के जुक्ति होला र खोइ ?’

‘आँट्नुपर्छ जे पनि गर्न सकिन्छ ।’

गँगडोको कुरा सुनेर बकुल्लाले उज्यालो मुख लगाउँदै भन्यो–

‘भनन मित्र !  त्यस दुष्ट साँपबाट मुक्ति मिल्छ भने जस्तोसुकै आँट गर्न पनि पछि पर्दिन ।’

‘ठीक छ ठिक छ ।’ आफ्नो दुनो सोझ्याउन केही सोचे जस्तो गर्दै गँगटोले भन्यो–

‘जहाँ तिमी बसेका छौ नि त्यसैको केही पर न्याउरी मुसोको दुलो छ । साँप र न्याउरी मुसो जानी दुष्मन हुन् । त्यसैले आजै केही मासुको टुक्रा लगेर उसको दुलो नजिक राखिदिनु र केही टुक्रा बाटाको बीच पनि खसाउँदै बाँकी बसेको टुक्रा साँपको दुलो भएको ठाउँमा राखिदिनु ।’

‘त्यसले के गर्छ र ?’

‘ल ! त्यति पनि थाहा छैन ? न्याउरी मुसो त्यही मासु खाँदै आउने छ र सर्पको समेत काम तमाम गरिदिनेछ ।’

गँगटोको कुरा सुनेर बकुल्लो निकै खुसी भयो । जसरी भए पनि उसलाई यथाशीघ्र साँपको अत्याचारबाट मुक्ति पाउनु थियो । त्यसैले दायाँ बायाँ कतै नहेरी तत्कालै त्यस्तै ग¥यो उसले । नभन्दै भयो पनि त्यस्तै । न्याउरी मुसो मासुको गन्ध सुँघ्दै त्यहीँ आइपुग्यो र त्यहाँ रहेको मासुको साथमा साँपलाई पनि निमोटनामोठ गरेर खाइदियो तर कुरो त्यहीँ मात्र टुङ्गिएन । ऊ रुखमा रहेका बकुल्लालाई समेत भोजन बनाएर हिँड्यो । 

वास्तवमा गँगटोले बकुल्लासित नै मुक्ति पाउन त्यस्तो उपाय बताएको थियो तर हतारका कारण बकुल्लाले त्यतातिर ध्यान दिन भ्याएन र आफ्नो काल आफैँले निम्त्यायो । उसले हतार गरेर जुन मूर्खता देखायो त्यसको मूल्य आफ्नै जीवन दिएर चुकाउनुप¥यो । 

यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर हतार गर्दाको नतिजा जहाँ पनि यस्तै हुन्छ भन्ने कुरा भने सत्य हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप