सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

सम्झनाको तरेलीमा निर्मल लामा–२

बुधबार, ०६ भदौ २०८०, १० : २७
बुधबार, ०६ भदौ २०८०

बत्तीस सालको कुरा हो । म कीर्तिपुरमा एकवर्षे बीएड तालिम लिँदै थिएँ । झापामा झोक्की तन्नेरीहरूले खुकुरी उठाएपछि त्यस घटना प्रक्रियाको चरित्रलाई लिएर झापाली र चौथो महाधिवेशनपन्थी माझ चर्को भनाभन चलेको थियो । झापालीहरूको आलोचना गर्दै लामाजीले ‘झापाली झिल्को एक बालरोग’ यस्तै शीर्षकमा एउटा लेख लेखेका थिए । लेखमा झापालीहरूलाई आतङ्ककारी भनिएको थियो । त्यसमा मैले भिन्न मत राखेँ । घटनाको प्रकृतिमा केटौले उन्मादको छनक अवश्य पाइन्छ तर के त्यो राजनीतिक उद्देश्यबिनाको झर्रो आतङ्कवाद हो र ?

त्यसको खोल राजनीति हो, गुदी भने व्यक्तिहत्यामा जोड दिने आतङ्कवादै हो, लामाजीले जोड दिएर भने ।

बहस नरमबाट चर्कोतिर लहसियो । हाम्रा स्वर सानाबाट ठूला भए । हाम्रा अनुहार राताराता भए र कान रनक्क ताते ।

उसो भए तपाईंं पनि झापाली ? कड्केर लामाजीले मलाई सोधे ।

मसँगको व्यवहारमा लामाजी त्यसरी कड्किएको त्यो पहिलो र अन्तिम पटक हो । क्रुद्ध मुद्रामा म लामाजीसँग बिदा भएँ । कहिल्यै त्यस्तो रूप धारण नगर्ने लामाजी पनि गुत्थ फुलेका थिए । 

भोलिपल्ट बूढाले मलाई म्हेपीमा डाके ।

हिजो म बढ्तै तातेँ क्यार, भेट हुनासाथ उनले भने– ननिको नमान्नुहोला संग्रौलाजी, हिजो त्यस्तै पर्‍यो । पछि यसो सम्झेर ल्याउँदा मलाई बडो नमज्जा लाग्यो । हो, तपाईंंको सोचाइ गलत छ । तैपनि म तपाईंंको सोचाइको कदर गर्छु र तपाईंंसँग लड्छु । मकहाँ आउन नछोड्नुहोला नि ।

हस् ।

तेत्तीस सालमा नौ महिनाको उमेरमा हाम्री छोरी डेजीलाई निमोनियाले ग्रस्त पार्‍यो । निमोनियामाथि अझ लहरे खोकी थपियो । छोरी जीवन र मृत्युको दोसाँधमा पुगेपछि उपचार गराउन उनलाई बन्दीपुरबाट काठमाडौँ ल्यायौँ । शान्तभवन र कान्ति बाल अस्पतालमा पालैपालो एकएक हप्ता राखेपछि बल्ल छोरीको प्राणमा केही त्राण आयो । हामी आमाबा छोरीलाई लिएर म्हेपी गयौँ । छोरी पारिजात दिदीको कोठाको भुइँमा बसेर चराले चारो टिपेझैँ गरी अनारका दाना सुस्तरी टिपेर खाँदै थिइन्, लामाजी भित्र पसे । सबभन्दा पहिले उनका आँखा हाम्री छोरीमा परे । निहुरिएर छोरीलाई उठाउँदै उनले सोधे, यस लुरी बच्चीको नाम के हो ?

डेजी, श्रीमतीले भनिन् ।

डेजी बच्ची, लामाजीले डेजीलाई दुई पाखुरा समातेर हावामा सैसला खेलाए ।

डेजी सहज मानेर रमाउँदै किच्च हाँसिन् ।

कति ज्ञानी सामाजिक मान्छे, लामाजीले भने, ठूला बालाई कति छिटो चिनिहाल्या ?

लामाजी कुराकानीका क्रममा घरीघरी जातका कुरा गर्थे । “जातले पाएको”, “चुच्चे जात”, “थेप्चे जात”, “मतवाली”, “बाहुन” आदि । त्यो सुन्नेहरूका मनमा प्रश्न उठ्न सक्थ्यो, के लामाजीमा जातिवादको गन्ध छ ? तर सत्य त्यसको सर्वथा विपरीत थियो ।

फुकिढल डेजी फेरि चरीले झैँ अनारका दाना टिप्न थालिन् ।

काट्टीकुटी बाबु जस्तै, डेजीको मुखाकृति नियाल्दै लामाजीले टिप्पणी गरे, चुच्चे नाक उस्तै, खाने मुख उस्तै । अझ त्यतिले नपुगेर कान पनि उस्तै । लौ, यसमा पनि बाहुनकै जित भयो । अनि डेजीकी आमातिर फर्केर भने, हेर्नोस्् जमुनाजी, हामी मङ्गोल त जहिले पनि हारेका हार्‍यै । आमा भने गुरुङ, खै छोरीमा गुरुङको चिनारी ? बाहुनले जित्यो, मङ्गोलले हार्‍यो । हा..हा..!

पारिजात दिदी डेजीका बा र आमालाई पालैपालो हेर्दै शालीन मुद्रामा मुस्कुराइरहेकी थिइन् ।

लामाजी कुराकानीका क्रममा घरीघरी जातका कुरा गर्थे । “जातले पाएको”, “चुच्चे जात”, “थेप्चे जात”, “मतवाली”, “बाहुन” आदि । त्यो सुन्नेहरूका मनमा प्रश्न उठ्न सक्थ्यो, के लामाजीमा जातिवादको गन्ध छ ? तर सत्य त्यसको सर्वथा विपरीत थियो । लामाजीका लागि मान्छे जात थिएन, वर्ग थियो । नाकको बान्की, जात वा भाषा जस्तोसुकै होस्, मानिस भनेको उनको दृष्टिमा वर्ग थियो, शोषक वर्ग वा शोषित वर्ग । नेपाली वाम आन्दोलनमा जसरी बाहुन खलकबाट आएका धेरैजसो नेताहरूमा पुरोहितवादको धेरथोर गन्ध आउँछ, उसै गरी मङ्गोल खलकबाट आएका धेरैजसो नेताहरूमा पनि जातिवादको धेरथोर गन्ध आउँछ । मङ्गोल मूलबाट आएका कम्युनिस्ट बुद्धिजीवी वा नेताहरूमा लामाजी अपवाद थिए, जातिवादी गन्धबाट एकदमै मुक्त । 

मानिस विचार मात्र होइन, भावना पनि हो । अझ मुख्यतः मानिस भावना हो । यस विषयमा लामाजी संवेदनशील थिए । वाम संसारका प्रायजसो नेताहरू अरूहरूको भावनात्मक जीवनप्रति उति वास्ता गर्दैनन् भन्ने गुनासो उनकै कार्यकर्ताबाट बारम्बार सुनिन्थ्यो । उनीहरूका लागि पहिलो कुरा विचार थियो र अन्तिम कुरा पनि विचारै थियो । तर लामा अलि फरक थिए । लामासँगको भेटवार्ता सधैँ भावनाबाट सुरु भएर विचारको संसारतिर लम्किन्थ्यो ।

जमुनाजीलाई कस्तो छ ?

सन्चै छ । 

अनि सानी चरी डेजीलाई ?

उनलाई पनि सन्चै छ ।

संविधान मस्यौदा गर्ने क्रममा लामाजीले बन्न लागेको संविधानको मर्म जनविरोधी दिशातिर जाँदै छ भन्ने सूचना बाहिर ल्याइदिए । लामाले भङ्ग गर्न नहुने गोपनीयता भङ्ग गर्‍यो भनेर सारा पुँजीवादी अखबारहरू उनीमाथि खनिए ।

धन्न बाँची त्यो चरी । आमा नर्स नभएकी भए त्यो उहिल्यै गइसक्ने । कुरा बुझ्ने भएपछि उसलाई यो कथा सुनाउनुपर्छ, नर्स आमाले तिमीलाई कालको मुखबाट बचाएकी भनेर । यस्ता कुरा सुन्दा मानिसहरूमा कृतज्ञता भरिन्छ । कृतज्ञताले मानिसलाई विनम्र बनाउँछ । संग्रौलाजी, मेरो यो कुरो मनमा नोट गर्नुहोला ।

निर्मल लामा छयालीस सालको जनआन्दोलनमा वाममोर्चाका एक वरिष्ठ नेता थिए । वरिष्ठताको हैसियतले उनी संविधान मस्यौदा टोलीका सदस्य बने । त्यस बेला वाम आन्दोलनमा शुद्धतावादको आग्रह हुनुुसम्म जब्बर थियो । आफैँले लक्ष्मणरेखा कोरेर आफूलाई रेखाभित्रको स्वैच्छिक कैदी बनाउने र साँगुरो खोलभित्र लुकेर शुद्धताको रक्षा गर्ने । लामाजीले सरकारी गाडी चढे । त्यो गाडी चढाइ वामजगत््मा हुनुुसम्म खिसिट्युरीको विषय बन्यो । लामा राजाको संविधान बनाइदिन राजाको गाडीमा चढ्यो ! लामा मार्क्सवादी होइन, उदार बुर्जुवा हो ! लामाको वर्गीय अडान फितलो छ ! आदि इत्यादि ।

तर आफू कहाँ गएको हो र त्यहाँ गएर आफूले के गर्न खोजेको हो भन्ने कुरामा लामाजीमा कुनै दुविधा थिएन । 

धेरै प्रजातन्त्र ल्याउन थोरै प्रजातन्त्रको जोगाउ गर्ने, त्यस बेला उनकोे नारा यही थियो । सामन्ती संविधानको सट्टा पुँजीवादी संविधान बनाउने र पुँजीवादी संविधानका हकअधिकारको उपयोग गर्दै जनवादमा प्रवेश गर्ने दैलो उघार्ने, उनकोे अर्को नारा यो थियो ।

संविधान मस्यौदा गर्ने क्रममा लामाजीले बन्न लागेको संविधानको मर्म जनविरोधी दिशातिर जाँदै छ भन्ने सूचना बाहिर ल्याइदिए । लामाले भङ्ग गर्न नहुने गोपनीयता भङ्ग गर्‍यो भनेर सारा पुँजीवादी अखबारहरू उनीमाथि खनिए । कहाँसम्म भने एउटा अखबारले त लामाले मर्यादाहीन काम गरेर आफ्नै पदीय मर्यादाको चीरहरण गर्‍यो भन्ने अर्थ लगाउँदै उनको नाङ्गो कार्टुनसमेत पनि छाप्यो ।

मैले ‘गर्जन’ साप्ताहिकको आफ्नो स्तम्भमा लामाजीको जोगाउ पक्षमा घुँडा धसेर एउटा कडा टिप्पणी लेखेँ । टिप्पणीमा मैले हान्स क्रिस्चियन आन्डरसनको बादसाहका नयाँ लुगालाई सन्दर्भित गरेँ र बालकको भेषमा निर्मल लामाले कठोर सत्यको उद्घाटन गरेका कुराको चित्रण गरेँ ।

भेटमा लामाजीले मलाई स्याबासी दिए, कमसेकम एकजना बुद्धिजीवीले त छाती खोलेर मलाई साथ दियो । द्याट्स अ गुड कामरेड इन आम्र्स !

तर पछि टेलिभिजनमा उनले हात जोडेर क्षमायाचना गरेको दृश्य देख्दा मलाई लाज, ग्लानि र क्षोभको अनुभूति भयो । गजपको काम गरिस् सहयोद्धा भनेर मलाई स्याबासी दिनेले दुनियाँका मुखेन्जी त्यसरी घुँडा टेक्ने ? धत्तेरिका ! मलाई लामाजीको कदमको समर्थनमा बित्थामा बाठो भएर लेखेछु भनेर पछुतो लाग्यो । भोलिपल्ट भेट हुँदा मैले लामाजीसँग त्यो चुत्थो क्षमायाचनाको कुरो उठाएँ । उनले निर्विकार र सहज मुद्रामा मेरो कुरो सुने । अनि उही दार्शनिक पाराले भने, मेरो क्षमायाचना पनि ठीक हो, तपाईंंको आलोचना पनि ठीक हो ।

सरल भाषामा र सूत्रबद्ध रूपमा छोटो तर सारगर्भित भाषण गर्न जान्नु निर्मल लामाको बिछट्टको खुबी थियो । खुला डबलीमा बोल्दा उनले दस मिनेटभन्दा लामो भाषण गरेको मलाई सम्झना छैन ।

कसरी ?

कसरी भने, भित्र भइरहेको जनविरोधी कामबारे जनतालाई जनाउ दिनु मेरो दायित्व हो । त्यसैले दिएँ । अब कुरो आयो मैले अनुशासनको कारबाहीमा परेर मस्यौदा आयोगबाट निष्कासित हुने कि क्षमा मागेर संविधानमा केही अधिकारहरू लिपिबद्ध गर्ने सङ्घर्षमा डट्न आयोगमा बसिरहने ? मैले पछिल्लो विकल्प रोजेँ । मलाई जहाँसम्म लाग्छ, मैले बिल्कुल ठीक गरेँ ।

कसरी ?

कसरी भने, जीवन मानिसले चिताएझैँ सरल रेखामा हिँड्दैन । जीवन हिँड्ने बाटो बाङ्गोटिङ्गो हुन्छ । बाटामा उकाली ओराली हुन्छन्, घुम्ती र कुइनेटा हुन्छन् । बुझ्नु भो संग्रौलाजी, जीवनको द्वन्द्ववाद भनेको यही हो । दो कदम आगे, एक कदम पिछे । यसो गर्दा कमसेकम एक कदम त अगाडि नै गइयो नि, कसो ?

मलाई लामाजीको तर्कको चक्रव्यूहमा फसेझैँ लाग्यो । यसो सोचेर ल्याउँदा बूढाको कुरो ठीकै हो भन्ने पनि लाग्यो । अनि दोमनले मैले सहमति जनाएँ, होला नै ।

सरल भाषामा र सूत्रबद्ध रूपमा छोटो तर सारगर्भित भाषण गर्न जान्नु निर्मल लामाको बिछट्टको खुबी थियो । खुला डबलीमा बोल्दा उनले दस मिनेटभन्दा लामो भाषण गरेको मलाई सम्झना छैन । उनी भाषणको पोयो बाट्दा गणेशमानको शैलीमा अ..ब भन्दै लयात्मक लेग्रो तानेर कुराको गाँठो फुकाउँथे । लामाको भाषण छ भनेपछि श्रोताहरू मौरीको गोलोझैँ कुँडुलो परेर झुम्मिन्थे ।

पचास सालतिरको कुरा होला, काठमाडौँको नेपाल ल क्याम्पसमा प्रजातन्त्रबारे एउटा भाषण कार्यक्रम थियो । आयोजक थियो संयुक्त जनमोर्चा नेपाल । भाषण गर्नुअघि लामाजीले मलाई कानमा खुसुक्क भने, बुझ्नु भो संग्रौलाजी, आज म नयाँ कुरा बोल्दै छु ।

नयाँको खोजी गर्नु, साहसिकताको प्रदर्शन गर्नु र संशयको माध्यमले मानिसहरूमा खुलदुली जगाएर आफ्ना विचारलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्नु लामाजीको जीवनशैलीकै एक अङ्ग थियो भने पनि फरक पर्दैन । भाषणमा उनले भने, हामी कम्युनिस्टहरू प्रजातन्त्रलाई ध्वस्त पार्न चाहन्छौँ ।

भाषण सुनेर श्रोताहरू स्तब्ध भए । उनीहरू लामाजीका मुखबाट त्यसको उल्टो कुरो सुन्न भेला भएका थिए अर्थात् हामी प्रजातन्त्रको जगेर्ना गर्न चाहन्छौँ । लामाजीले आफ्नो भनाइको आशयको व्याख्या खुलस्त होइन, साङ्केतिक पाराले मात्र गरे । त्यो पनि साह्रै छोटोमा । अखबारहरूले लामाको अर्थको अनर्थ गरिदिए । तिनले सपाट बुद्धिले सोझो कुरा बुझे र लामाले प्रजातन्त्र ध्वस्त पार्छौं भनेर घोर प्रतिगामी कुरा बोल्यो भनी उनको गर्नुसम्म बदख्वाइँ गर्दै समाचार छापे ।

मार्क्सवादी दर्शनको धरातलमा उभिएर लामाजीले भन्न खोजेको कुरो प्रस्ट थियो । त्यो हो, अहिलेको प्रजातन्त्र भनेको वर्गीय प्रजातन्त्र हो, मूलतः हुनेखाने र टाठाबाठाहरूको भलाइ गर्ने प्रजातन्त्र । धेरै मानिसहरूको अप्रजातन्त्रमा टिकेको थोरै मानिसहरूको प्रजातन्त्र । क्रान्ति र परिवर्तनको बाटो हुँदै समाज नौलोे जनवादमा पुग्दा प्रजातन्त्रको घेरो अलि फराकिलो हुन्छ । समाजवादमा पुग्दा त्यसको घेरो झन् फराकिलो हुन्छ । तैपनि त्यहाँ सबैलाई प्रजातन्त्र प्राप्त हुँदैन । शोषण, उत्पीडन र भेदभाव गर्न चाहने नरद्वेषीहरूलाई त्यहाँ मनमाफिक गर्न पाउने प्रजातन्त्र हुँदैन । त्यहाँ तिनको प्रजातन्त्रको अपहरण हुन्छ । मानव समाज मार्क्सवादको परिकल्पनाअनुसारको साम्यवादमा पुगेपछि वर्गभेद, जातिभेद, लिङ्गभेद र क्षेत्रभेदका सबै पर्खालहरू भत्किन्छन् । मानव समाज सभ्यताको त्यो उचाइमा पुग्दा वर्गीय सीमाभित्र कैद भएको प्रजातन्त्र ध्वस्त भइसकेको हुन्छ र मानिस–मानिसबीचको नाता शोषक र शोषित, शासक र शासितको हुन छाडेर उच्च परोपकारितामा आधारित सहबन्धुत्व र सहयोगको नातामा फेरिन्छ । लामाजीले भन्न खोजेको नयाँ कुरो यही थियो । तर यस पटक भने उनकोे भाषणको छोटोपनले उनलाई साफ धोका दियो ।

तपाईंंको भाषणले हावा खायो नि लामाजी, अखबारहरूमा उनको निन्दा पढेर मैले टेलिफोनमा भनेँ ।

हो, साँच्ची नै हावा खायो । विषय जटिल पर्‍यो, व्याख्या पुगेन । भाषणमा मेरो कमजोरी नै यही हो, लामो व्याख्या गर्न जाँगर नमान्नु । हो, यसपाला अलि अनर्थै भएछ । कुरो प्रस्ट्याउन एउटा लेख लेख्नुपर्ला ।

मलाई थाहा भएसम्म लामाजीको छोटो भाषण बेठीक ठाउँमा परेको एक मात्र घटना त्यही हो । त्यसलाई छाडेर उनकोे भाषणको लम्बाइ सधैँ ठिक्कको, प्रभावकारी र सुन्दर अनुभव भएको हो । धेरैजसो वाम नेताहरू माइक समाएपछि किर्नो भएर त्यसमा टाँसिइरहन्छन् । सबै श्रोता निदाइसक्दा पनि तिनका गति न पतिका पट्यारलाग्दा कर्कश आवाजहरू टुङ्गिँदैनन् । निर्मल लामाका सङ्क्षिप्त, सटीक र सार्थक भाषणहरूले तिनलाई भनिरहेझैँ लाग्छ, इस्, तेरो एकमुखे जनवाद ।

सम्झनाका कुइनेटाहरूबाट

गोलमेल संस्करण !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप