सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

सम्झनाको तरेलीमा निर्मल लामा — १

बिहीबार, २५ साउन २०८०, १३ : ५९
बिहीबार, २५ साउन २०८०

नेपाली कम्युनिस्ट आन्दोलनका धेरैजसो नेतासँग मेरो नजिकको आइजाइ र हिमचिम न हिजो थियो, न आज छ । तैपनि मेरा एकाध भेट प्रायः सबैजसो नेतासँग भएका छन् । कसैसँग सडकका जुलुसमा, कसैसँग डबलीका भाषणमा, कसैसँग कोठे गोष्ठीमा र कसैसँग अन्तरङ्ग खोपीहरूमा । यस्ता भेटघाटले मेरो मनमा छाडेका छाप सम्झन लायकका र बिर्सन नसकिने धेरै छैनन् । 

उसो त कुनै नेतासँगको एउटा भेटले ती नेतालाई फेरि भेटूँभेटूँ लाग्ने अनुभूति मेरो मनमा जगाइदिएका प्रेरक घटना सारै थोरै छन् भने पनि हुन्छ । बरु नेतालाई भेटेर छुट्टिँदा राजनीतिका बटारिएका पारिभाषिक शब्द र सूत्रहरूको चाङ, अन्य वाम समूह वा गुटहरूको अखण्ड निन्दा र सोलोडोलो सत्यको एकाधिकारी आफू र आफू मात्र भनेजस्ता नेताजीका एकोहोरा आग्रहको भारीले थिचिएर मेरो मनको डँडेल्नो बाङ्गिएका उदाहरण कति छन् कति ! 

त्यस्ता भेट मेरा लागि सरस, सहज, सुखद र प्रेरणादायी प्रायःजसो भएनन् । ती भेटवार्तामा दैनिक जीवनका पलप्रतिपलका अनुभूति र अनुभव, आकाङ्क्षा र सपनासँग जीवन्त रूपले जोडिएका सन्दर्भ प्रायः हुँदैनन्, जीवनदेखि परका बिरानाजस्ता लाग्ने राजनीतिका सूत्र, घटना, सन्दर्भ र दृष्टान्तका अमूर्त शृङ्खला मात्र हुन्छन् । नेताका छेउमा जीवनको जिउँदो ज्ञान र अनुभव, उल्लास र सार्थकताको अनुभूति खोज्ने रहरले जाँदा अक्सर पट्यार, झिँज्याहट र विकर्षण मात्र हातलागी हुन्छ । जीवनदेखि धेरै टाढा कतै निर्जन टापुमा बस्ने पुस्तकपन्थी, सपाट, अरुचिकर, अनुभूतिशून्य र संवेदनाहीन कुनै सूत्रजीवीलाई भेटेजस्तो । त्यसैले, जीवनको स्पन्दन, जीवनको उमङ्ग र जीवनको उल्लासको न्यानो पाउने आशाले नेताजीका छेउमा जाँदा प्रायशः हातलागी हुन्छ केवल चिसोपन, एकरसता, निरसता र वितृष्णा मात्र ।

मेरो अनुभवमा केही अपवाद नभएका होइनन् । जस्तो कि निर्मल लामा, चित्रबहादुर केसी, स्वनाम लामा आदि । नामको यो सूचीमा अरु केही नाम थप्न म सकुँला तर यो सूची लम्बिन धेरै गाह्रो मान्छ । एकपटक भेटेपछि घरीघरी भेट्न पाए हुन्थ्योे भने जस्तो लाग्नेमध्येका नाम हुन् यी । सिंहदरबारको थोत्रो नोकरशाहको जस्तो अररो मानसिकता नभएका, मनका दैला उघारेर बात मार्ने, राजनीतिका सूत्रहरूलाई क्षण प्रतिक्षणको जीवनको धड्कनसँग जोडेर हेर्न रुचाउने, जनसाधारणले पनि बुझ्ने भाषा बोल्ने नामहरू । हाँस्न र रुन नबिर्सेका नामहरू । रकमी कम र मानिसजस्ता बढी लाग्ने नामहरू । जीवन राजनीतिक सूत्रहरूका लागि होइन, राजनीतिका सूत्रहरू जीवनका लागि हुन् भन्ठान्ने नामहरू । व्यङ्ग्यविनोद र ठट्टा गर्न बिर्सिनसकेका नामहरू । मानिसको भावनात्मक र मनोवैज्ञानिक जीवन पनि हुन्छ भन्ने सत्यलाई स्वीकार गर्न सक्ने नामहरू । 

निर्मल लामासँग मेरो पहिलो भेट कहिले, कहाँ र कुन सन्दर्भमा भयो, मलाई सम्झना छैन । तर सुरुताकाको एउटा घटना मेरो बोधो स्मृतिपटमा कहिल्यै नबिर्सने गरी छापिएको छ । यो तीस सालतिरको कुरो हुनुुपर्छ । तिनताक म तनहुँ, चुँदीको टुहुरेपसलमा मास्टरी गर्दै थिएँ । काठमाडौं आउँदा म सधैँ म्हेपी जान्थेँ, जहाँ पारिजात, निर्मल लामा र सुकन्या वाइबालाई भेट्न पाइन्थ्यो । एकदम पारिवारिक र अन्तरङ्ग वातावरणमा ।

पुस महिना । ढुस्स फुलेको दिन धमिलो, चिसो र वैरागलाग्दो थियो । सोह्रखुट्टे भएर जाँदा लामाजीहरू अचेलको सुकन दिदीको घरभन्दा अलि वर बस्थे । त्यहाँ अजङ्गको टहरो थियो, जसमा घरमालिकले होला, विकासे कुखुराको विशाल खेती गरेका थिए । कुखुराहरूको अटुट कर्कश कोलाहलका बीचमा बस्थे लामाजी र पारिजात दिदीहरू । कुखुराको टहरोबाहिर फराकिलो बारी थियो । त्यस दिन दिउँसो म पुग्दा लामाजी त्यही बारीको बीचमा थिए । बडाबडा चम्कामाथि निकै ठूलो डेक्ची बसालेको थियो र ढोड र झिँजाको धिपधिपे आगोबाट पतपत धुवाँ आइरहेको थियो । छेउमा फलामे कुर्सीमा बसेर हात सेकिरहेकी थिइन् पारिजात दिदी ।

अभिवादनपछि लामाजीले भने — संग्रौलाजी ! आज बडो शुभ साइतमा आउनुभो । हेर्नोस् न, यहाँ भव्य उत्सवको तयारी हुँदै छ । यो पाक्दै गरेको परिकार के हो अन्दाज गर्न सक्नुहुन्छ ?

म ओठ जाम गरेर चुपचाप उभिइरहेँ ।

मलाई थाहा छ, तपाईंं अन्दाज गर्न सक्नुहुन्न, लामाजीले भने, तपाईंंको जातले दिँदैन । यो सर्वहारा सिरप हो । लौ त अब अन्दाज गरिहेर्नोस् ।

फेरि पनि म ओठ जाम गरेर चुपचाप उभिइरहेँ ।

यो राँगाका खुट्टाको सिरप हो । उनले आफैँ पहेलीको गाँठो फुकाए । फलमासु जति पुँजीपतिहरूले खान्छन्, तिनले छाडेका खुट्टा सर्वहाराका भागमा पर्छन् । तर बुझ्नुभो संग्रौलाजी ! सर्वहारा सिरपको स्वाद र पोसिलोपन पुँजीपतिहरूलाई थाहै छैन । थाहा पाए भने तिनले हाम्रा हातबाट यो पनि खोस्छन् । अनि सर्वहाराका भागमा के बाँकी रहन्छ, भन्नोस् त ? खालि खुर मात्र । 

यति भनेर लामाजी उन्मुक्त हाँसो हाँसे । त्यो हाँसोमा विनोद, व्यङ्ग्य र पीडाको विचित्रको सम्मिश्रण थियो ।

जीवनका हरेक सानातिना घटना र सन्दर्भलाई राजनीतिसँग जोडेर आफ्नो ज्ञान र अनुभव अरुहरूलाई बाँड्ने जादुमय कला थियो लामाजीसँग । उनका वार्ता, व्याख्या र वृत्तान्तहरूमा हास्य र व्यङ्ग्यको चोट्टिलो पुट हुन्थ्योे । श्रोताले पत्तै नपाईकन नजानिँदो गरी उसलाई उनी दर्शन र राजनीतिको शिक्षा दिन चम्मु थिए ।

ल सुन्नोस्, यी खुट्टा र फलमासु भनेका जनवाद र समाजवाद हुन् । हाम्रो जनवादको लडाइँ यिनै खुट्टाका लागि लडिने लडाइँ हो । सर्वहाराले फलमासु खान त समाजवादमै पुग्नुपर्छ । खुट्टा हाम्रो क्रान्तिको पहिलो चरण हो, फलमासु दोस्रो चरण । हाऽ हाऽ हाऽ हाऽऽ ! 

कुराको तालमा लामाजी ढोड र झिँजा थप्छन्, सर्वहारा सिरप चलाउँछन् र धुवाँले निसास्सिएका आँखा मिच्छन् ।

सर्वहारा सिरपको बैगुन एउटै छ । हाड गलाएर सिरप निकाल्न यसलाई घन्टौँ पकाउनुपर्छ । त्यसबाहेक यसका गुनैगुन... ।

तीन घन्टाजति बात मारेपछि म बिदा माग्न भनेर उठेँ ।

कतै बित्दो काम छैन भने आज यतै बसौँ, लामाजीले आग्रह गरे । आज म तपाईंंलाई सर्वहारा सिरप चखाएर बाहुनको जात काढ्दिन्छु, उनी फेरि उस्तै उन्मुक्त काइदाले हाँसे ।

बित्दो केही थिएन, म बसेँ ।

रिमरिम साँझ परेपछि हामी भित्र पस्यौँ । डेक्चीको सर्वहारा सिरप पनि हामीसँगै भित्र आयो ।

जाडो छ, तपाईंंको कान तताउने बानी छ कि छैन ? सर्वहारा सिरप भाग लगाउँदै लामाजीले मलाई सोधे ।

छैन भन्ने भावमा मैले मुन्टो हल्लाएँ ।

मेरो त छ । मलाई मेरी आमाले आफ्नो दूधसँगै रक्सी खान सिकाएकी हुन् । जातले पाएको कुरा हो, आज म अलिकता कान तताउँछु ।

निर्मल लामा र पारिजात दिदी कान तताउँदै सिरप पिउन थाले । मैले चिसा कान लिएर निख्लो सिरप मात्र पिइरहेँ ।

मेरो कान तताउने बानी कठोर आलोचनाको तारो भएको छ, बुझ्नु भो संग्रौलाजी ? तपाईंं त पोल नखोलिदिनुहोला नि, कसो ?

खोल्दिनँ, लामाजीको सिको गर्दै ठट्याइलो पाराले मैले भनेँ — तपाईंंले खुवाउनुभएको यो सर्वहारा सिरपलाई घुस खुवाएको ठानेर म तपाईंंका ताता कानलाई गुपचुप पारिदिन्छु ।

पारिजात दिदीले सिरप र ताता कानको तालमा भनिन्, हेर्नोस्् है लामाजी ! संग्रौला हेर्दा मात्तै लाटो, हेर कुरा कति बाठा !

हामी तीन जनाको समवेत हाँसोले कोठा जिउँदोजाग्दो र रमाइलो भयो ।

केही समयपछि उही म्हेपीको अर्को वासमा मैले एउटा कथा सुनाएँ, नलेखिएको इतिहास । मेरा श्रोता उनै तीनजना थिए— पारिजात दिदी, निर्मल लामा र सुकन दिदी । यो कथा सात सालको क्रान्तिमा जनयोद्धाले तनहुँको बन्दीपुरमा धावा बोलेको घटनामा आधारित थियो ।

तब न संग्रौला, कथा सुनिसकेपछि पारिजात दिदीले सराहनाको मुद्रामा प्रतिक्रिया गरिन् ।

दिदीको वचन भुइँमा खस्न पाएकै थिएन, बहिनी सुकनले हत्तपत्त टिप्पणी गरिन्, हेर निर्मल ! तिमेर्को समाजवादमा यस्तो कथा लेखिँदैन है ।

दार्शनिक मुडमा लामाजीले प्रतिटिप्पणी गरे ः ठीक भन्यौ सुकन, हाम्रो समाजवादमा यस्तो कथा लेखिनेछैन । यो शोषण र अत्याचारले जन्माएको कथा हो । यस्तो कथा जन्माउने सामाजिक धरातललाई हामी भत्काइदिन्छौँ । यो बन्धनमा परेको श्रमको कथा हो । हाम्रो समाजवादमा मुक्त भएको श्रमको झन् सुन्दर कथा लेखिनेछ ।

कथामा चारतारे झन्डा बोक्ने एकजना नेता छ, सुसुल्खुट्टे । उसले गाउँको सोझो मगर लाहुरेलाई उल्क्याएर राणाका सिपाहीहरूसँग लड्न बन्दीपुर लैजान्छ, जहाँ ऊ मारिन्छ । विशेष गरेर त्यस लाहुरेको छाँटको मेरो लाहुरे बोलीलाई मेरा तीनैजना श्रोताले मन फुकाएर तारिफ गरे । तर के फुलनाउँ राख्ने चलन नेपाली संस्कृतिमा छ र ? सुसुल्खुट्टे भन्ने नामलाई लिएर लामाजीले प्रश्न उठाए । निकै लामो छलफलपछि पारिजात दिदीको तर्कमा लामाजी सहमत भए र मेरो सुसुल्खुट्टे पास भयो ।

तिनताक निनु राल्फा उर्फ निनु चापागाईं पनि सायद म्हेपीमै बस्थे । उनी राल्फाबाट माक्र्सवादतिर फर्किने कष्टपूर्ण मानसिक प्रक्रियामा थिए । भेट हुँदा गम्भीर र अल्पभाषी निनुजीसँग मेरो त्यति कुराकानी हुँदैनथ्यो । निर्मल लामा माक्र्सवादी सिद्धान्त र व्यवहारको शिक्षाद्वारा निनुजीमा भावनात्मक वा 

संस्कारगत परिवर्तन ल्याउने कार्यमा घुँडा धसेर लागेका थिए । त्यसलाई उनी ‘डिक्लास गर्ने’ भन्थे । त्यसै भेटमा होला, निनुजीको डिक्लास गर्न अँगालिएको व्यावहारिक प्रक्रियाबारे लामाजीले बडो ठट््याइलो पाराले हामीलाई सुनाए । 

अब निनु नयाँ मान्छेमा फेरिँदै छ, उनले भने — कम्तीमा पनि आफ्नो काम आफैँ गर्ने र श्रमलाई घृणा गर्न छाड्ने नयाँ मान्छे ।

श्रम लामाजीको जीवनको सबभन्दा प्यारो अङ्ग थियो । वास्तवमा श्रम त उनकोे सबभन्दा प्रिय कविता नै थियो । अनि उनी आफ्नो सम्पर्कमा आउने सबै बौद्धिक व्यक्तिको जीवनमा श्रम अभिन्न अङ्ग भएको देख्न चाहन्थे । त्यो पनि उपदेश दिएर होइन, आफैँ गरेर देखाएर । उनले बताएअनुसार उनले सबभन्दा पहिले आफूले खाएको थाल माझेर निनुजीलाई देखाएछन् । अनि एकाधपटकको प्रदर्शनपछि निनुजीलाई आफूले खाएको थाल आफैँ माझ्न लगाएछन् । हाँस्दै उनले आफ्नो अनुभव सुनाए, पहिले त ख्याल गाह्रो मानेको हो र ? तर गर्दै जाँदा बानी बस्दै गएको छाँट छ ।

अनि त्यसपछि ? अनि त्यसपछि लामाजीले उल्का गरेछन् । चर्पी ठीक छैन, पाँच–सात दिनमा भसक्कै भरिन्छ । अनि पानीले बगाएर होइन दिसा झिकेर चर्पीको निकास खोल्नुपर्छ । निनुजीको व्यावहारिक शिक्षाको पाठ अब चर्पी सफा गर्ने काममा पुगेछ । गरेर देखाउने र गरेर सिक्ने सिद्धान्तअनुसार लामाजीले पहिले निनुजीलाई चर्पीको फड्के किनारमा साक्षी राखेर गरेरै देखाएछन् ।

मैले आज दिसा हातैले झिकेर निनुलाई देखाएँ । बिचरालाई अब यो खड्गो कसरी काट्ने हो भन्ने भएको छ । मैले दिसा झिक्दाखेरि निनुको अनुहार, बाफ रे ! यो उसको पहिलो अग्निपरीक्षा हो । मलाई लाग्छ, पास त पासै होला ।

डिक्लास गर्ने कठोर परीक्षाको त्यो कथा सुन्दै पारिजात दिदी भित्तातिर फर्केर हाँसिन् ।

आफ्नो प्रशिक्षण अभियानको कथा कहँदै लामाजीले पनि दङ्ग परेर बत्तिसी दन्त देखाउँदै दर्शन छाँटे, निम्नबाट उच्चतिर, सरलबाट जटिलतिर, थालबाट चर्पीतिर । हाऽ हाऽ हाऽ हाऽऽ ! दैनिक जीवनका झिनामसिना कामकुरालाई दार्शनिक, राजनीतिक र सांस्कृतिक शिक्षाका उदाहरण बनाउन लामाजी खली थिए ।

कुरा २०३१ सालको हो । काशीमा चौथो महाधिवेशन हुन लागेको थियो । लामाजीले मलाई तनहुँबाट काठमाडौँ झिकाए ।

त्यहाँ नेपाली समाजका क्रिम मानिसहरू भेला हुन्छन् । त्यो वास्तविक ज्ञानको अमूल्य पाठशाला हो । मौका चुकाउनुहुँदैन संग्रौलाजी ! तपाईंंले पर्यवेक्षक भएरै भए पनि जानुपर्छ, लामाजीले मछेउ प्रस्ताव राखे । 

मैले आनाकानी गरेँ । म पार्टीमा थिइनँ, बिरानो ठाउँमा, बिराना मानिसहरूको त्यो भेलामा म के नाताले जानू ? फेरि त्यो काम जोखिमपूर्ण थियो । बित्थामा मैले किन जोखिम उठाउनू ? म मानसिक रूपले तयार थिइनँ ।

मोहनजीले संग्रौलालाई कसै गरी ल्याउनू भनी खबर पठाउनुभा’छ । आफ्नो प्रस्तावमा पाइन हाल्दै लामाजीले मोहनविक्रम सिंहको नाम लिए ।

लामाजीको वचन हार्न नसकेर म जाने भएँ । त्यसबखत नन्दकुमार प्रसाईं जेलबाट भर्खरै छुटेका थिए । उनलाई प्रशासनले काठमाडौं खाल्डोबाट बाहिर नजान कडिकडाउ आदेश दिएको थियो । प्रसाईंजीलाई थानकोट कटाएर भगाउने जिम्मा मेरा निम्छरा काँधमा पर्‍यो । उनी रूप फेरेर पुलिसका आँखा छल्ने मनसुवाले कसैसँग सापटी मागेको सुट लगाएर हिरो भए । अनि उनले कतैबाट गगल्स पनि हात पारे । उस्तै परे बर्कोभित्र लुकेर बिरामी भएको 

स्वाङ पार्ने विचारले हामीले एउटा बर्को पनि बोक्यौँ ।

काठमाडौंबाट रात्रि बस छुट्यो । थानकोट जतिजति नजिक आउन थाल्यो, मेरो मुटु उतिउति छिटो ढुकढुकायो । सुटेडबुटेड कामरेडको साथ लाग्दा मलाई पनि थानकोटे पुलिसले पोको पार्ने पो हो कि ! थानकोट चौकीनजिक पुगेपछि हाम्रो सुटबुटधारी कामरेड बिरामी भएर बर्कोभित्र डल्लो पर्‍यो । त्यस बेला थानकोटे पुलिस यात्रुहरूका पोकापन्तुरा छाम्ने र उधिन्नेदेखि लिएर ‘सन्दिग्ध’ मानिसको सिकार समेत गर्थ्यो ।

यो के हो ? बर्काको बडेमाको डल्लो हेर्दै पुलिसले केरकार गर्‍यो ।

बिरामी हो, बजियाले बिताउने पो हो कि भनेर डरले खुम्चिँदै मैले भनेँ ।

पुलिसले बर्को उघार्न खोज्यो । बर्कोभित्रको सुटेडबुटेड गगल्सवाल हँ, हँ, हुँ, हुँ गर्दै कन्न थाल्यो । थानकोट उताको डाँडो काटेर बस ओरालो लागेपछि बल्ल हाम्रो तन्दुरुस्त बिरामीको घुम्टो उघ्रियो ।

हाव खगेन्द्रजी, काटियो त हाव खड्गो, दिग्विजयको मुद्रामा प्रसार्इंजीले भने । अनि मेरो हात समातेर हल्लाउँदै उनी मुटु मिचिमिचीकन हाँस्न थाले ।

चौथो महाधिवेशन काशीको श्रीकृष्ण धर्मशालामा भएको थियो । त्यो भेलाका दुई जना प्रमुख आकर्षण थिए, मोहनविक्रम सिंह र निर्मल लामा । तिनको घनिष्ट मैत्री, निकटता, आत्मीयता र सहकार्य देखेर कतिपय टाठाबाठा सहभागीले तिनलाई नेपाली माओ र चाओको संज्ञा दिए । छलफलका दुई सत्रबीचको अन्तरालमा हुने छोटो विश्रामकालमा नेपाली माओ र चाओ धर्मशाला परिसरभित्रको पोखरीको फेरो मार्दै, गफ गर्दै बेत्तोडसँग घुम्थे । सारा सहभागीहरू किनारमा उभिएर माओ र चाओलाई एकाग्र चित्तले हेर्थे । 

महाधिवेशनमा मोहनविक्रमले दुई कुरामा निर्मल लामाको आलोचना गरे । रक्सी बढ्ता खाएको र काठमाडौंमा एउटा कमिटी बनाउन नसकेको । लामाजीले गम्भीर मुद्रामा तर सहज रूपले आलोचना सुने । अनि आफ्नो जोगाउ पक्षमा कुनै निहुँ वा तर्कको जोरजाम गर्नतिर नलागीकन उनले आलोचना खुरुक्क स्वीकार गरे । त्यो सरलता, त्यो विनयशीलता र त्यो इमानले लामाजीलाई महाधिवेशनमा होँचो होइन, झन् अग्लो बनाइदिएझैँ लाग्यो मलाई ।

चीनका माओ र चाओ जीवनका अन्तिम दिनसम्म अनुपम मित्र रहे, यता नेपालका माओ र चाओका मन भने धमिलिएर, पटकपटक फाटेर धुजाधुजा भए । कहिले चाओले माओलाई कारबाहीमा पार्ने, कहिले माओले चाओलाई कोर्रा लगाउने प्रकरणहरूको शृङ्खला नै तयार भयो । कहाँसम्म भने निर्मल लामालाई त सीआईडीको आरोप लगाउनसम्म बाँकी राखिएन ।

अस्पतालमा जीवनका अन्तिम दिन गनिरहेका लामाजीलाई मैले सोधेको थिएँ, तपाईंंलाई सिआइडीको आरोप लगाएको मोहनजीले नै हो त ?

उनले जवाफ दिए, मोहनजीले होइन, तर... । त्यो ‘तर’पछि रहस्यको कुन पन्तुरो लुकेको थियो, सो कुरा लामाजीकै चित्तमा गोप्य रह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप