बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीको अपिल

एकता र सदभावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल

शनिबार, ०९ भदौ २०८०, २२ : २९
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादको माध्यमबाट समाधान गर्न अपिल गरेका छन् । त्यहाँ भैरहेका गतिविधि र त्यसले सदभाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको बताउँदै उनले  समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट पहल लिन धरानबासी लगायत सम्पूर्ण नेपालीमा अपिल गरेका हुन् ।

शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति,  र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु ।’

प्रधानमन्त्रीले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सदभावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिने बताउँदै एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु ।’

बिमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पुर्याउन राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका  महत्वपूर्ण हुने समेत उनले बताएका छन् ।

धरानमा केही दिनअघि गौहत्या गरेका खबर बाहिर आएपछि हिन्दुवादीहरुले आन्दोलन थालेका छन् । सोही परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शुक्रबार रातिदेखि निषेधाज्ञा जारी गरेको छ ।  

pm

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप