बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नीतिकथा :  कर्मफल

मङ्गलबार, १२ भदौ २०८०, १२ : १२
मङ्गलबार, १२ भदौ २०८०

संसारमा जे रोपिएको छ त्यस्तै फल्छ । अहिलेसम्म एउटा चीज रोपेर अर्को फल प्राप्त भएको उदाहरण कतै भेटिएको छैन । फरक यति हो राम्रो काम गर्नेले राम्रै फल पाउँछन् नराम्रो कर्म गनेले नराम्रै फल । हुनसक्छ यदाकदा अवस्था र परिस्थिति अनुसार फल प्राप्तिमा केही विलम्ब पनि होला । तथापि कुनैनकुनै दिन त्यसलाई नभोगी सुख पाइन्न । कर्मफल नभोगी सकिँदैसकिन्न । यो ईश्वरीय नियम हो । यसमा तलमाथि हुनै सक्दैन, स्वयं ईश्वरले समेत यसलाई तलमाथि गर्न सक्दैनन् । 

धेरै पहिलेको कुरा हो  । एक जना सेठजी रेलमा चडेर कतै जाँदै थिए । साथमा थिए एक सन्यासी महन्त । रेल कुदिरह्यो उनीहरूबीच कुराकानी चली रह्यो । कहिले वेदान्तको कुरा हुन्थे कहिले व्यवहारको कुरा चल्थे । अघिल्लो स्टेशनमा पुगेपछि अर्को एकजना भद्र मानिस पनि चडे त्यसै डिब्बामा । उनको हातमा एउटा गह्रौँ सुटकेस थियो । उनीहरूको अगाडि आएर नवागन्तुक सज्जनले सुटकेस राख्दै भने–

‘महात्मन् ! ल्याउनुपर्ने अर्को सुटकेस पनि छ । एकैसाथ ल्याउन नसकेकोले उतै छाडेको छु । चाँडै नै आउँछु, त्यति बेलासम्म यसको हेरविचार गरिदिनुहोला है ।’

सन्न्यासी त केही पनि भनेनन् । सेठजीले भने एक पटक तलदेखि माथिसम्म नवागन्तुकलाई हेरे । देख्दा निकै सज्जनजस्ता लागेकाले नाइनास्ति केही नभनी स्वीकृतिसूचक टाउको हल्लाए । सेठजीलाई सुटकेस जिम्मा लगाएर नवागन्तुक गए तर फर्केर भने आएनन् । निश्चित समयमा रेल गाडी हिँड्यो । उसलाई हिँड्नुसँग मतलव थियो । को चड्यो को चडेन उसको विषय थिएन तर सेठजीलाई भने समस्या प¥यो, अब सुटकेस कसको जिम्मा लगाउने । त्यसैले अघिल्लो स्टेशनमा पुगेर उनले सुटकेस स्टेशन मास्टरलाई जिम्मा लगाउँदै भने–

‘महाशय ! एक यात्रीको सुटकेस यता प¥यो । सायद उनी अर्को स्टेशनतिर होलान् । तिनको खोजतलास गरी सुटकेस जिम्मा दिनहुन आग्रह गर्छु ।’

तर, स्टेशन मास्टरले चेकजाँच नगरी सुटकेस लिन मानेनन् र खोलेर देखाउन आग्रह गरे । ए बाबा ! जब सेठजीले सुटकेस के खोलेका थिए त्यसभित्र त एउटी महिलाको लास पो रहेछ विभत्स किसिमको । स्टेशन मास्टरले तत्कालै सुटकेशसहित सेठजीलाई पुलिसको जिम्मा लगाए । यहाँ उनको दोष थिएन । मात्र सहयोग गरेका थिए, जुन कुरा साथमा हुने सन्यासी महन्तलाई राम्रै थाहा थियो । त्यसैले उनले यथार्थ बताउँदै सेठजीको निर्देशितता सिद्ध गर्ने कोसिस गरे तर कसैले पनि सुन्ने कान लगाएनन् । हेर्दाहेर्दै निर्दोष सेठजी प्रहरी खोरभित्र पुगे । यस्तो देखेर सन्न्यासीलाई साह्रै नराम्रो लाग्यो । निर्दोष मानिस फस्यो भनेर चिन्तित भए तर उनीसित कुनै उपाय थिएन ।

त्यसैले उनी सेठजीलाई त्यहीँ छाडेर अघि बढ्न बाध्य भए । साथीलाई अघिल्लै स्टेशनमा छाडेको भए पनि साथीको चिन्ताले भने छाडेको थिएन । उनकै चिन्ता गर्दागर्दै महन्तको आँखा लाग्यो र एउटा नमिठो सपना देख्न पुगे, जहाँ उनलाई आफ्नै गुरुजी आएर भनिरहेका थिए–

‘बेकारमा यस सेठको चिन्ता किन गर्छौँ बाबु ! यिनले आफ्नै कर्मको फल पाएका हुन् । भगवान्को दरबारमा अन्याय हुँदैन । भगवान् आफू पनि अन्याय गर्दैनन् र अरूले गरेको पनि मन पराउँदैनन् र त्यस्तै फल प्राप्त दिने गर्छन् । यिनलाई पनि त्यस्तै भएको हो । यिनले १५ वर्ष अघि यस्तै काम गरेका थिए । त्यसैको फल अहिले पाएका हुन् ।’

यत्तिकैमा उनको आँखा खुल्यो । त्यसपछि अघि बढ्न मन लागेन र ओर्लेर पुन उनै सेठलाई खोज्दै आए । सेठलाई भेटेपछि महन्तले भरखरै देखिएको सपनाको कुरा गरे । उनको कुरा सुनेर सेठजीले लामो सास फेर्दै भने–

‘महात्मन् ! आश्चर्य नमान्नुहोस् । तपाईँले देख्नुभएको सपना सत्य हो । १५ वर्ष अघि मबाट अनायसै यस्तै काम भएको थियो । त्यति बेला मसँग आँपको बगैँचा थियो तर चोरले चोरी गरेर हैरान पार्थे । यत्तिकैमा एक रात रिसले चुर भएर चियो गर्न गएको थिएँ । जब चोरहरू आएर आँप टिप्न लागे तब ढुङगाले हान्न थालेँ । अरु चोरहरू भागेर कता लागे कुन्नि एउटी महिलालाई भने ढुङ्गा लागेर मरिन् । मेरो उद्देश्य उनीहरूलाई भगाउनु थियो, मार्नु थिएन तर भइदियो त्यही । त्यसपछि कसैले पनि नदेखुन् भनेर हतपत गरी पर कतै खाल्टो खनेर पुरिदिएको थिएँ । आज त्यसैको फल भोग्दै छु ।’

सेठको कुरा सुनेर महन्तको आँखा खुल्यो । उनलाई पाप र पुन्यको फल भगवान्ले एक दिन दिएरै छाड्छन् भन्नेमा पूर्ण विश्वास भयो र आफ्नो बाटो लागे । 

धेरै पहिलेदेखि पढ्दै र गुरुहरूबाट सुन्दै आएको यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर आफूले गरेको कर्मको फल आफैँले नभोगी सुख पाइन्न भन्ने कुरा भने सत्य हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप