आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रवासीको पत्र

नेपालका प्रधानमन्त्रीलाई पत्र–१ : हुँडलिएको नेपाली लोकतन्त्र

मङ्गलबार, १२ भदौ २०८०, १६ : २२
मङ्गलबार, १२ भदौ २०८०

प्रधानमन्त्रीज्यू नमस्ते ।

आज किन किन मलाई, तपाईंलाई सम्बोधन गरेर चिठी लेख्न मन लागेको छ । तपाईं अर्थात् नेपालको प्रधानमन्त्री । मेरो हृदय भन्छ– प्रधानमन्त्री मान्छे होइन, समय हो । मेरो हृदय भन्छ– प्रधानमन्त्री पद होइन, शक्ति हो ।

समय र शक्ति । हो, म सिर्फ त्यही समय र शक्तिको कुरा गर्न खोज्दै छु । यसका केही कारणहरू छन् । कारणहरू भन्दै र खोज्दै जाउँला । पहिले तपाईंको स्वाथ्यबाट सुरु गरौँ ।

तपाईंको स्वास्थ्य ठिकै होला भन्ने मेरो अनुमान र कामना छ । स्वस्थ्य रही रहनुहोस् । प्रधानमन्त्रीको स्वास्थ्यसँग देशको पनि स्वास्थ्य जोडिएको हुन्छ । दुवै बिरामी भएको अवस्था भयानक हुन्छ । झन नेपाल जस्तो देशमा ।

जब दुवै एकैपटक बिरामी हुन्छन्, कसैले कसैलाई स्याहार्न सक्दैन । मैले तपाईंलाई यो कुरा के भनिरहुँ ? तपाईं स्वयं भुक्तभोगी हुनुहुन्छ ।

देश बिमारमा छ । तपाईं बिमार नहुनुहोस । मेरो प्रार्थना छ । देशलाई एउटा मात्र होइन, अनेकन बिमार छन्, अङ्ग्रेजीमा ‘मल्टिमोर्बिडिटी’ भनिन्छ नि । 

जन्मजातै लिएर आएका कतिपय बिमार छन् भने समय क्रममा देखापरेका कतिपय बिमार छन् । बिमार सल्टिँदो होइन, बल्झिँदो छ । देश मल्टिमोर्बोटी’को सिकार छ ।

बडो भावुकतावश म आज यो कुरा लेखिरहेको छु । हुन त, तपाईं, तपाईंका सहयोगी, समर्थक वा अरूहरूले मलाई भन्न सक्नुहुन्छ– तँलाई के मतलब ? यसो हेर्दा, कुरा सही हो, मतलब नभए पनि हुने हो । म देश ‘छोडेर’ आएको मान्छे । यो ‘छोडेर’ भन्ने शब्दलाई मैले जानी जानी कोष्ठ भित्र राखेको छु है, हेक्का राख्नुहोस । यो पनि सम्मिmदिनुहोला मैले त्यहाँ ‘दुइटी आमाहरू’ पनि छोडेर आएको छु । एउटी, जसभित्र ‘बसेँ’ र अर्की जसमा ‘टेकेँ’ ।

तपाईंजस्तो मान्छेलाई म के सम्झाउँ– आमाहरू ‘टाइम’ र ‘स्पेस’भन्दा माथि हुन्छन् । माफ गर्नु होला, म अली भावुक भएँ ।

भावुकता, मान्छेको जन्मजात चरित्र र प्रकृति हो, म जाबो, यी सब चिजबाट कसरी बचुँ ? भावुकताका कुरा गरी साध्यै छैन । गर्दै गरौँला ।

प्रधानमन्त्रीज्यू– म यहाँ आज मेरो भावुकताको होइन, हुँडलिएको नेपाली लोकतन्त्रको कुरा गर्न खोज्दैछु ।

नेपाली लोकतन्त्रसँग मेरो पनि सानो साइनो छ । साइनो कसरी छ भने २०६२–६३ को आन्दोलनमा नेपाल पत्रकार महासङ्घ अग्रपङ्क्तिमा थियो । र, म पनि त्यतिबेला नेपाल पत्रकार महासङ्घको एउटा केन्द्रीय सदस्य थिएँ ।

अहिले यो पत्र लेख्दै गर्दा म पाटन अस्पताल पछाडिको कुनै एउटा गल्लीको एक घरमा सम्भवतः विक्रम संवत् २०६३ को सुरुका कुनै दिन तपाईंसँग भएको अर्ध भूमिगत भेट र संवादहरू सम्झिरहेको छु ।

ओ हो, ती दिन !

त्यतिबेला म नेपाल पत्रकार महासङ्घको एउटा केन्द्रीय सदस्य थिएँ, तपाईं नेपालको सत्ता र व्यवस्था नै उलटपलट गर्ने ताकत राख्ने एउटा तिलस्मी र रहस्यमयी नेता हुनुहुन्थ्यो । त्रास थियो तपाईंको । आस पनि थियो तपाईंप्रति ।

त्यो भेटमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूले त्यही त्रास र आसका बीच आआफना कुरा राख्नुभयो । मेरो भागमा परेको थियो परराष्ट्रका सम्बन्धका बारेमा कुरा राख्ने । हुन त तपाईं त्यतिबेला राज्यसत्तामा आइपुग्नु भएको थिएन । तर खै कुन त्रास र आसमा हो मैले त्यतिबेला तपाईं समक्ष केही कुरा राखेको थिएँ– नेपालको परराष्ट्र मन्त्रालय, त्यसको कमजोर आत्मविश्वास र कूटनीतिक अपरिपक्वताका विषयमा ।

सायद मलाई लागेको थियो– अब सबै ठीक पार्ने दिव्यशक्ति तपाईंमा छ ।

मलाई मेरै भ्रमप्रति आज खेद छ । खेदका हुनुका अनेक कारण र घटनाहरू छन्, म त्यतातिर धेरै जान चाहान्नँ ।

मलाई अहिले ठ्याक्कै आज सम्झना भएन, त्यो बेला तपाईंको रेन्पोन्स के थियो । १६ वर्षअघिको कुरा ।

त्यसपछिका केही महिनामा तपाईं पनि अरूहरू जस्तै नेपाली राजनीतिको ठूलो सत्ता खेलमा लाग्नुभयो । म सामान्य जीवनको खेलमा लागेँ । त्यो बेला तपाईंको आडैमा बस्नुभएका डा. बाबुराम भट्टराई अर्कै खेलमा लाग्नुभयो । खेलहरू फरक परे । खेलहरू फरक मात्र परेनन, फिक्का पनि बन्दै गए । अब ऊ बेलाको जस्तो तपाईंको त्रास र तपाईंप्रतिको आस दुवै बाँकी रहेन । अब त, तपाईंको मात्र होइन, कसैको पनि त्रास र आस रहेन । जसरी तपाईं र मेरा जीवनका जराहरू बेग्लै थिए, उसैगरी हाँगा र पातहरू पनि बेग्लै हुँदै गए ।

प्रधानमन्त्रीज्यू, तपाईंलाई एउटा अलि दार्शनिक कुरा भनौँ ? जरा र हाँगा दुवै रुखको नियन्त्रणमा नहुने चिज रहेछन् । तपाईं रुख त हुनु भयो । तपाईंमा हाँगा र पात पलाए पनि । तर जरा र हाँगा वा पातहरू तपाईंको नियन्त्रणबाट बाहिरिँदै गए । जरा माओवादको, हाँगा वा पात लोकतन्त्रको । यहाँसम्म ठिकै थियो ।

जरा उग्र राष्ट्रवादका, हाँगा कहाँका हुन हुन कहाँका ? बेपत्ता !

अब त यस्तो हुँदै गएको छ– जरै समेत हल्लिन थालेका छन् । अब त जरा कसका, हाँगा कसका, कसले छुट्याओस ? कसले छुट्याउन सकोस् ? टाढाबाट मलाई यस्तो लाग्छ– कुनै दिन यस्तो हुनेछ, न तपाईंसँग बलिया जरा हुनेछन, न हाँगा । जरा र हाँगा वा पातको फैलावट वा विकासक्रम घाम र पानीसँग जोडिएको हुन्छ । तपाईंका, घाम र पानी को वा के हुन्, मलाई थाह छैन ।

तपाईंका मात्र हुन र ?

नेपाली संस्कृति, नेपाली समाज, नेपाली आदर्श, नेपाली मूल्य, नेपाली राजनीति, नेपाली अर्थतन्त्र र नेपाली मान्यताका जरा नै आज हल्लिँदा छन् । रुख ढल्ने तरखरमा छ । म डराइरहेको छु– कतै नेपाली रुख ग्वार्लम्म नढलोस् । मैले अघि नै भनेँ– त्यहाँ मैले मेरी दुइटी आमा छोडेर आएको छु । आमाहरू ‘टाइम’ र ‘स्पेस’ भन्दा माथि हुन्छन् ।

मलाई रहर छ कुनै दिन यस विषयमा तपाईंसँग संवाद गर्ने । नेपाल आएको बेला तपाईंलाई भेट्न कोसिस गरौँला पनि वा तपाईं अमेरिका आउँदै हुनुहुन्छ, मौका दिनु भयो भने यतै पनि भेटौँला । मलाई तपाईंसँग खुलेर टाढाबाट नेपालको चित्र कस्तो देखिँदैछ छ भनेर पेटभरी गफ गर्न मन छ ।

जरा, हाँगा चित्र र गफको अलि दार्शनिक कुरापछि अब म खेलमा प्रवेश गर्न चाहान्छु । खेल जेका होऊन् ।

ती दुइ प्रकारका हुन्छन्– मैत्रीपूर्ण र प्रतिस्पर्धात्मक । ‘मैत्रीपूर्ण खेल’, जहाँ जित हारको मतलब हुँदैन । ‘प्रतिस्पर्धात्मक खेल’, जहाँ ‘मैत्रीको’ मतलब हुँदैन । मैत्रीपूर्ण खेल, जहाँ दर्शकहरूलाई अक्सर एकअर्थमा ‘बेवकुफ’ बनाइन्छ ।

प्रधानमन्त्रीज्यू तपाईंलाई पनि थाहै होला, पञ्चायतकालमा हुन्थ्ये– राष्ट्रिय पञ्चायत एघार र कलाकार एघारबीचको मैत्रीपूर्ण खेल । पछि बहुदलमा पनि एकादुई यस्ता खेल भएका छन् । ती खेलहरूको एउटा मात्रै उद्देश्य हुन्थ्यो कुनै खास कुराका लागि ‘रकम’ सङ्कलन गर्ने ।

अहिले गणततान्त्रिक नेपालको राजनीतिमा ठीक यस्तै मैत्रीपूर्ण खेल चलिरहेको छ– सत्ताको मैत्रीपूर्ण खेल, जहाँ दर्शकहरूलाई ‘बेवकुफ’ बनाइँदै छ । यसका आयोजकहरू को हुन्, ठ्याक्कै मलाई थाह छैन ।

तपाईंहरू आफैँ खेलिरहनु भएको छ कि तपाईंहरूले थाह नपाउनेगरी कसैले तपाईंहरूलाई खेलाइरहेको छ ? मलाई ठ्याक्कै थाह छैन । म त रेफ्री को हुन् भन्ने पनि जान्दिनँ ।

हेर्ने म जस्ता दर्शकहरू ठानिरहेका थियौँ– खेलमा प्रतिस्पर्धा छ । जित हारको प्रतिष्ठा छ । जित हारमा सिद्धान्त, आदर्श र मूल्य छ । गर्व र महत्त्व छ ।

के को हुन् ? दर्शकलाई बेबकुफ बनाएर पैसा बाँडेसरी शक्ति र राज्य सत्ता बाँड्ने दाउ पो देखिन्छ त खेलमा । यहाँसम्म त ठीकै थियो । तर खेल नै नियन्त्रण बाहिर छ ।

 

खेलाडी र रेफ्री दुवै शङ्काको घेरामा छन् । जहाँ खेलाडी र रेफ्री नै शङ्काको घेरामा छन, त्यो खेल नै किन खेलिएको वा खेलाइएको छ ? यो झन डरलाग्दो प्रश्न छ ।

अहिले त, झन खेल अर्को चरणमा प्रवेश गरेको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीको आगमन र त्यसका प्रतिको अस्वभाविक क्रेज । कतिपय बुद्धिजीवी र सामान्यजन, रवि उदाउँदै गरेको र तपाईंहरू अस्ताउँदै गरेकोमा हर्षबढाइँ गरिरहेका छन् ।

यो हर्षबढाइँ मलाई किन किन अन्तिम भोज जस्तो लागिरहेको छ । यस्तो अन्तिम भोज, जो फुटाउ र राज गरवालाहरूले चाहेका थिए, चाहिरहेका छन । मलाई विश्वास छ– तपाईंले म के भन्न खोजिरहेको छु भन्ने बुझिरहनुभएको छ ।

स्वर्णिम वाग्लेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश र त्यसमार्फत संसद्मा उनको प्रवेशलाई ‘प्याराडाइम सिफट’को सुरुवात भन्नेहरू देखेर टाढाबाट म छक्क परिरहेको छु ।

बुढानीलकण्ठको शिक्षा र विश्व बैङ्कको सोचले कस्तो नेपाली मौलिक विकासको कल्पना गरिरहेको छ ? अक्सर नेपाली अनभिज्ञ छन् । म त झन अनभिज्ञ छु । विकास, यसका चरित्र र यसका गुणका विषयमा पछि लेख्दै गरौँला ।

प्रधानमन्त्रीज्यू म तपाईंलाई मेरो मनमा बेला बेलामा आउने एउटा कुरा भन्छु । राष्ट्रिय स्वतन्त्र पार्टी वा अरू पार्टीहरू २०८४ को चुनावको आजैदेखि कुरा गरिरहेका छन् । मलाई भने किन किन २०८४ आउँछ जस्तै लागिरहेको छैन । आए पनि त्यो सहजै आउने छैन । जहाँ खेल नियममा छैन, जहाँ खेल लयमा छैन, त्यहाँ जित हार पनि सहज हुँदैन ।

मान्छेहरू लोकतन्त्रका आधारभूत सिद्धान्त, मूल्य र आदर्शका कुरा गर्छन् । जहाँको लोकतन्त्रले आफ्नो मूल्य र आदर्शअनुसार राजनीति र नेता चलाउन पाएको छैन, बरु उल्टै राजनीति र नेताले लोकतन्त्रलाई आफूखुसी चलाएका छन्, त्यहाँ के लोकतन्त्रको सिद्धान्त र मूल्यको कुरा गर्नु ? नेपालको राजनीतिमा तीस वर्षभन्दा यताको सबैभन्दा ठूलो भ्रम हो– नेपालको प्रजातन्त्र वा लोकतन्त्र ।

प्रधानमन्त्रीज्यू अन्यथा नलिनुहोला– नेपाल अझै राज्य बन्ने प्रक्रियामा छ । यसका म प्रशस्त आधार र तर्क दिन सक्छु । लोकतन्त्र त टाढाको कुरा ।

फेरि पनि म दोहोरयाएर भन्छु– लोकतन्त्र नेताहरूको होइन, प्रत्येक नागरिकको मूल्यमा हुन्छ । जहाँ नेताको मूल्य र व्यस्थापनको मात्र बढी कुरा हुन्छ, मान्नुस् त्यहाँ लोकतन्त्र अझै आइसकेको छैन ।

प्रधानमन्त्रीज्यू तपाईंलाई म जस्तो टाढा बसेको मान्छेले देखेको चिज भनौँँ– नेपालमा लोकतन्त्र होइन, नेतातन्त्र छ । को वा कसको प्रधानमन्त्री, कति समयका लागि ? को राष्ट्रपति ? भन्ने जस्ता लोभ, बहस र उल्झनका विषय लोकतन्त्रका आधारभूत सिद्धान्त होइनन् ।

तपाईंहरू लोकतन्त्रका आधारभूतहरू सिद्धान्त र आदर्शहरूभन्दा दिन प्रतिदिन टाढिँदो हुनुहुन्छ । असली लोकतन्त्र त्यहाँ हुन्छ, जहाँ हर व्यक्तिको हदैसम्मको मूल्य हुन्छ र त्यो मूल्यको हदैसम्म कदर हुन्छ । सामान्यजनको व्यक्तिगत अधिकारको मूल्य जति बढी हुन्छ, त्यसले नै हो लोकतन्त्र र नेताको मूल्य बढाउने । मूल्य–सिद्धान्त, आदर्श र व्यवहारले हो बढाउने । जहाँक नेता निमेषभरमा जता पनि मोडिन्छन्, जहाँ निमेषभरमा म्याच फिक्सिङ्ग हुन्छ, त्यहाँ सिद्धान्त, विचार, आदर्श र प्रतिस्पर्धा सब सिर्फ मैत्रीपूर्ण खेल हो । सत्ताको खेल । नेपालको लोकतन्त्रको खेलमा म्याच फिक्सिङ छ ।

प्रधानमन्त्रीज्यू मेरा तपाईंप्रति कुनै खासै आग्रह वा पूर्वाग्रह छैन । आग्रह र पूर्वाग्रहको बीचमा बसेर मलाई यत्ति तपाईंलाई सोध्नु छ– साँँच्चै तपाईं कस्तो खेल खेलिरहनु भएको छ ?

प्रधानमन्त्रीज्यू, तपाईंलाई यत्ति चाँहि सोध्नुछ– ३२ सिट लिएर नब्बे र असी सिट भएकाहरूमाथि घोडा चड्ने आँट तपाईंमा कहाँबाट आयो ? के यसले लोकतन्त्रको असली बग्गी हाँक्छ ? बस, म यति उत्तर खोजिरहेको छु । 

प्रधानमन्त्रीज्यू, तपाईंलाई नमीठो लाग्ने एउटा अर्को कुरा भनुँ ? भन्छु है त । जुन दिन तपाईं नेपाली काँग्रेसले सुरुका दुई वर्ष तपाईंलाई प्रधानमन्त्री नदिने भएपछि बालुवाटारबाट बालकोट पुग्नु भयो त्यो दिन, त्यो क्षण, म ओलीको ठाउँमा हुन्थँे भने म ठाडै तपाईंलाई तपाईंको प्रधानमन्त्री नम्बर अहिलेलाई पुगेको छैन भनेर फर्काइदिने थिएँ । ओली प्रजातन्त्रका मूल्य र आदर्शप्रति साँँच्चिकै इमानदार हुन्थे भने ओलीले ऊ बैले भन्न सक्नुपथ्र्यो– धारा ७६ को ३ अन्तर्गत ठूलो पार्टीको हैसियतले काँग्रेसले एकल सरकार बनाए बनाओस् तर प्रजातन्त्रमा ३२ सिटे पार्टीले नब्बे र असीहरूलाई हाँक्नु हुँदैन ।

तपाईंलाई त्यो दिन ओलीले रित्तो हात फर्काइदिएको भए, नेपालको लोकतन्त्रिक अभ्यासले भरी हात प्राप्त गर्ने थियो । यो कुराको भेउ न तपाईंका, न ओलीका वकालतीहरूले पाउँछन् । 

चाकडीले लोकतन्त्र धान्दैन । तपाईंजस्तो बुझकी मान्छेलाई यो कुरा भन्नुपर्दा म सर्म र डरमा छु । आज ओली र उनका वकालतीहरूले भनिरहेको सुन्छु– हामीले त बाध्यतामा प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेका थियौँ तर उनले धोका दिए । । ती पनि अति नक्कली कुरा गरिरहेका छन् ।

तीनको मनमा सक्कल चेत थियो भने ऊबेलै तपाईंलाई भन्न सक्थे– बरु ठूलो पार्टीको हैसियतले नेपाली काँग्रेसले सरकार बनाए बनाओस् । तर तपाईंले अहिले बल मिच्याइँ गर्नु हुँदैन । तर यसो भनेर मैले काँग्रेसका शेरबहादुर देउवाले देशको वैतरणी तार्थे भनिरहेको छैन । ऊबेला म बालकोटमा भएको भए, तपाईंलाई बालुवाटार नै फर्काइदिने थिएँ, शीतल निवास लिएर जानुको सट्टा । लोकतन्त्रमा गर्नु र हुनु पर्ने नै यही हो ।

एमालेले बाठो बन्न खोज्यो । त्यसपछि को भन्दा को कम ? बाठो बन्ने हक सबैलाई छ । सबै बाठो बन्न खोजिरहेका छन् । देश लाटिँदै गएको छ । हुँदाहुँदा ६ महिनाअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, आफू सबैभन्दा बाठो बन्ने दौडमा छ । व्यक्ति र पार्टी बढी बाठो बन्ने खेलमा देश र लोकतन्त्र लाटिँदै गएको छ दिनदिनै ।

लाटिँदै मात्र होइन, प्रधानमन्त्रीज्यू, म तपाईंलाई एउटा कुरा भनौँ– नेपाली लोकतन्त्र काम, क्रोध, लोभ र मोहको जालोमा कसरी फँस्दै गइरहेको छ भने अब यो जालो हटाउन सहज छैन । भित्र जालो बुन्नेहरू छँदै थिए, बाहिरका जालोवालाहरू पनि उत्तिकै सक्रिय छन् आज । काम, क्रोध, लोभ र मोहको जालो । जालै जालो ।

यी जालहरूका बारेमा म तपाईंलाई क्रमशः भन्दै जाउँला, तपाईं झर्को मान्नुहुन्न भने । अहिले यति चाहिँ भन्छु– नेपाल डरलाग्दा जालोमा बेरिँदै गएको म देखिरहेको छु ।

चिन्ता छ । के गर्नु, चिन्ता पनि ‘टाइम’ र ‘स्पेस’भन्दा माथिको कुरा रहेछ प्रधानमन्त्रीज्यू ।

नेपाल किन बनेन ? वा बन्न किन मुस्किल छ ? जटिलता के के हुन् ? म यसबारेमा विस्तृत रूपमा अर्को पत्रमा लेख्ने छु । जसरी होस्, तपाईंले पाएको यस पटकको समय शक्ति खेर नजाओस्, म यही चाहन्छु । अन्तिममा फेरि भन्छु– मान्छे जो होस्, प्रधानमन्त्री भनेको समय र शक्ति हो । अरू कुरा कति छन कति गर्नुपर्ने । गर्दै गरौँला ।

 टेक्सस, अमेरिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय घिमिरे
सञ्जय घिमिरे
लेखकबाट थप