शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन तस्करी

राहुलले भेप लिलामीबारे राखेका थिए ‘अस्वाभाविक चासो’

चिनियाँ पक्राउ गर्न कुटनीतिक पहल
बिहीबार, १४ भदौ २०८०, १५ : २०
बिहीबार, १४ भदौ २०८०

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खोजी सुरु गरेपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल ‘आत्मसमर्पण’को तयारी गर्दै थिए । खुमलटार स्थित उनी बस्ने घरमा केही दिन अघिदेखि ब्यूरोले निगरानी गरिरहेको थियो ।

इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर चीनबाट ल्याएको सुनबारे दोस्रो चरणको अनुसन्धान थाल्न ‘उच्च तह’बाट निर्देशन आएसँगै राहुल महरा पक्राउ परेका हुन् । बुधवार उनी काठमाडौंबाट पक्राउ परे । काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर राहुलविरुद्ध अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।

२०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन ‘ल्याउने समूह’मा राहुल संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ । प्रहरीका अनुसार सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङसँग राहुलको ‘कनेक्सन’ देखिएको छ ।

रातोपाटीलाई प्राप्त कल डिटेल्स रेकर्ड अनुसार वाङ र राहुलबिच सुन तस्करी भएर आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन गर्दासम्म १९५ पटक कुराकानी भएको भेटिएको छ ।

भेप ‘लिलामी’ गराउन राहुल निकै लागिपरेको विमानस्थल भन्सार कार्यालयका अधिकारीहरु बताउँछन् । विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृत भन्छन्, ‘भेप लिलाम गराउन त्यसबेला उनले अस्वाभाविक चासो राखेका थिए ।’ 

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार वाङले राहुललाई ६४ पटक फोनमा सम्पर्क गरेको देखिन्छ । राहुलले चाहिँ वाङलाई १३१ पटक टेलिफोन गरेका थिए । बुबा कृष्णबहादुर महरामार्फत राहुलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई भन्न लगाएका थिए । पूर्व सभामुख महराले ‘भेप लिलामी’बारे कुरा गरेपछि राहुल लगातार भन्सार कार्यालयमा धाएर भेप छुटाउन लागेका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार कृष्णबहादुर महराले छोरा निर्मलको नम्बरबाट फोन गरेर ७३० थान भेपबारे चासो राखेका थिए । २०७९ पुस १० मा चिनियाँ नागरिकले दुबईबाट ल्याएको भेप लिलाम गराउन महरा पुत्र राहुलले भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइलमा फोन गरेर तथा भेटेर लिलाम प्रक्रियाबारे तारन्तार चासो राखेका हुन् । 

तर, तत्कालीन भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले उनको ‘अस्वाभाविक चासो’बारे शंका गरेपछि घटना बाहिरियो । भन्सार प्रमुख पोखरेलले ‘आन्तरिक छानबिन’ पछि घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरे । पोखरेलले ब्यूरोमा गरेको घटनाविवरण कागज अनुसार कृष्णबहादुर महराले उनलाई भेप लिलाम गरिदिन आग्रह गरेका थिए ।

तर, सुर्तीजन्य पदार्थ भएको हुनाले लिलामी प्रक्रियाबारे ‘कानुनी जटिलता’ देखिएपछि ७ सय ३० थान भेप भन्सारको गोदाममा थन्किएको थियो । त्यसभित्र सुन रहेको सुराक पाएपछि तस्कर समूहसँग मिलेर विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का समेतले भेप चोरेर बेचेको अनुसन्धानबाट थाहा भएको छ ।

भन्सार कार्यालयको गोदाममा राखेको सामान चोरेर बेचेको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरोले पहिलो चरणमा उनीहरु विरुद्ध संगठित कसुर र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान गरेको थियो । सो मुद्दा अदालतमा बिचाराधिन छ । आपराधिक विश्वासघात मुद्दामा ब्यूरोले भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, बेद प्रकाश अग्रवाल, साहेव राव मर्गले, अमृत कार्की र निर्मल विकलाई पक्रेको थियो ।

दोस्रो चरणमा सुन ल्याउने समूहबारे अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘सुन ल्याउने समूहमाथि अनुसन्धान सुरु गरेका छौं, राहुलविरुद्ध पनि भरपर्दो प्रमाण भेटिएपछि पक्राउ गरेका हौँ ।’

राहुललाई संगठित रुपमा सुन तस्करी गरेको कसुरमा ६० दिन थुनामा राखेर अनुसन्धान हुनसक्छ । सुन ल्याउने चिनियाँ नागरिक लुई र दाओजिन वाङ फरार छन् ।

चिनियाँ ल्याउन कुटनीतिक पहल

भेपमा सुन ल्याउने समूहका मुख्य योजनाकार हुन् लुई र दाओजिन वाङ । उनीहरु चीन पुगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ब्यूरोले सरकारी वकिल कार्यालयमा पेस गरेको रायसहितको अनुसन्धान प्रतिवेदन अनुसार सुन ल्याउने समूहमा दुई जना चिनियाँ बाहेक लोकेन्द्र पौडेल, श्याम शाह, असिन र राहुल महरा पनि संलग्न थिए । 

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट करोडौँको सुन चिनियाँ नागरिकले ल्याएर भारतीय व्यापारीले खरिद गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मुख्य योजनाकार लुई र दाओजिन वाङलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले चिनियाँ दुतावासको सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दुतावासलाई चिनियाँ नागरिक पक्राउ गरिदिन ‘कुटनीतिक नोट’ पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

भेपले भरिएको दुई वटा सुटकेशमा आएको सुनको परिमाण कति थियो भन्ने यकिन हुन सकेको छैन । प्रहरीले १ सय ग्रामभन्दा थोरै बढीमात्र सुन बरामद गरेको छ । भन्सार कार्यालयको गोदामबाट बाहिरिएको सुन महाराष्ट्रका व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेले खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । नन्दुकुमारले न्यूरोडस्थित वटुमा सुन जाँच्ने अफिस ‘टन्च हाउस’ सञ्चालन गरेका छन् ।

विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का र सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेतले भन्सारको गोदाबाट चोरेर सो सुन नन्दुकुमारलाई बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । स्टोरको साँचो रेवन्त खड्कासँग थियो । दिनेश बस्नेत भन्सार ‘एजेन्ट’ हुन् ।

महाराष्ट्र घर भएका नन्दुकुमारले दिनेश बस्नेतसँग ९ करोडमा सुन खरिद गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । थुनामा रहेका साहेव राव मर्गले नन्दुकुमारका भाइ हुन् । प्रहरीले अनुसन्धान थालेपछि नन्दुकुमार फरार छन् । सुन किनेपछि उनी भारत गएको आशंका प्रहरीको छ ।

सुन बेचेर आएको ६ करोड रकम दिनेशले मात्रै लिएको अनुसन्धानबाट थाहा भएको छ । सो रकमबाट उनले काठमाडौं र भक्तपुरमा जग्गा किनेको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप